अन्य

एजुकेशन फन्ड वृद्धि हुँदै, २५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

नेवा एजुकेशन फण्डबाट छात्रवृत्ति प्रदान गरिदै। तस्बिरः नागरिक

धरान– गत फागुनमा आयोजना भएको सातौं नेवा च्यारिटी १० के रनबाट आयोजक धरान रनलाई ७ लाख ७७ हजार ६२ रुपैयाँ जोगिएको छ।

आयोजक संस्थाले जोगिएको रकममध्ये ४ लाख रुपैयाँ नेवा एजुकेशन फन्डमा थप गरेको जानकारी दिएको छ भने १५ हजार रुपैयाँ मृगौला रोग पीडित पत्रकार प्रवीण राईलाई सहयोग गर्ने घोषणा गरेको छ। नेवा एजुेकेशन फन्ड धरान रन संस्थाले नै विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिलाउन स्थापना गरेको फन्ड (कोष) हो। पाँचौ संस्करणबाट २ लाख ५० हजार जम्मा गरेर यो कोष स्थापना गरिएको थियो। छैटौं संस्करणपछि ३ लाख ५० हजार थप गरेर कोष ६ लाख पु-याइएको थियो भने यसपाली ४ लाख थपेर १० लाख पु-याइएको धरान रनका अध्यक्ष रमु राईले जानकारी दिए।

अध्यक्ष राईका अनुसार कोषको प्रत्येक ३ महिनामा आउने ब्याजबाट विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री प्रदान गरिँदै आएको छ। छात्रवृत्तिअन्तर्गत यो कोषबाट हाल १५ वटा सामुदायिक विद्यालयका २५ जना विद्यार्थीलाई सहयोग गरिरहेको अध्यक्ष राईले जानकारी दिए। ती विद्यार्थीलाई शनिबार छात्रवृत्तिअन्तर्गत विभिन्न शैक्षिक सामग्री प्रदान गरिएको थियो। ‘विद्यार्थीलाई स्कुल ड्रेस, जुत्ता, ब्याग, कपी, कलमलगायत जे जे आवश्यक पर्छ, सबै सहयोग गर्छैं। स्कुलको सबै पढाइ खर्च व्यहोर छौं,’ उनले भने,‘यी विद्यार्थीको मार्कसिट हेरेर र उनीहरुको घरमा पुगेर परिवारको आर्थिक अवस्था पनि अध्ययन गरेर मात्र छात्रवृत्तिका लागि छनौट गरिएको हो।’

१० के.रनबाट जोगिएको बाँकी रकम ३ लाख ६२ हजार ६२ रुपैयाँ धरान रनको खातामा रहने पनि संस्थाले जनाएको छ। उक्त रकमबाट साप्ताहिक धरान रन, आगामी वार्षिक रुपमा हुने नेवा १० के.रन, रक्तदान कार्यक्रमलागयतको व्यवस्थापनमा खर्चिने पनि धरान रनले जानकारी दिएको छ।

धरान रनले मनायो आठौं वार्षिकोत्सव

स्वच्छ धरान, स्वस्थ्य धरानको नारा दिएर हरेक शनिबार बिहान ७ बजे आयोजना हुने धरान रनले शनिबार आठौं वार्षिकोत्सव मनाएको छ। धरान–८ स्थित यलम्बर पार्कमा बिहान नियमित दौडसँगै २५ पाउण्डको केक काटेर धरान रनले वार्षिकोत्सव मनाएको हो। धरान रन २०६८ सालमा दर्ता भएको थियो। यसले हरेक शनिबार बिहान यलम्बर पार्कबाट ३.५ किलोमिटर दुरीको दौड गर्दै आएको छ।

धरान रनको अवधारणा विस्तार हुँदै दमक रन, भोजपुर रन, पोखरा रन र हालै ताप्लेजुङ रन पनि सुरुआत भइसकेको छ। शनिबार बिहान ४ सय १७ हप्ता दौडसँगै आठाैं वार्षिकोत्सव मनाइएको अध्यक्ष रमु राईले जानकारी दिए। साथै, भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको उनले बताए। रक्तदान कार्यक्रममा ६७ पिन्ट रगत संकलन भएको थियो।

प्रकाशित: २२ वैशाख २०७६ ०५:५३ आइतबार

नेवा_च्यारिटी धरान_रन एजुकेशन_फन्ड