अन्य

नाटकमा सरुभक्तको पुनरागमन

पोखरा थिएटरमा मञ्चित सरुभक्तको नाटक बाकसको दृश्य। र नाट्यकर्मी सरुभक्त

प्रकट पगेनी ‘शिव’
‘आमा आइसीयुमा हुनुहुन्छ सुधार होला भन्दा झन्झन् च्याप्दो छ, डाक्टरले भेन्टिलेटरमा राख्नु पर्छ भन्दै छ। हिँड्हिँड् छिटो हस्पिटल जाऔं।’ माथिको सम्वाद हो पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटक ‘बाकस’को। २५ वर्षपछि सरुभक्त ‘बाकस’ बोकेर फेरि रङ्गमञ्च फर्किएका छन्। आफ्नै लेखनमा तन्नेरी नाट्यकर्मी परिवर्तनलाई साथ लिएर निर्देशन गरिरहेका सरुभक्तले अब भने नाटक र निर्देशनलाई निरन्तरता दिनेछन् भन्नेमा नाटकप्रेमी विश्वस्त छौं।

सरुभक्तसँगको मेरो अभिनय यात्राले चालिस वर्ष पूरा गरिसकेको छ। सरुभक्तको लेखन तथा निर्देशनमा मञ्चित नाटक ‘एउटा घरको कथा होइन’ बाट मैले जीवनको पहिलो अभिनय यात्रा सुरु गरेको थिएँ। ०३५÷०३६ सालमा पृथ्वीनारायण क्याम्पस पढन आउने क्रममा सरुभक्त, उषा भट्टचन (शेरचन) तीर्थ श्रेष्ठ, विक्रम गुरुङ, एकेन्द्र गुरुङ, लाल गुरुङ, अर्जुनजंग शाही, दुर्गा शेरचन, जसकाजी गुरुङहरूसँग भेट भयो। उनीहरू ‘एउटा घरको कथा होइन’ नाटक तयार गर्दै थिए। त्यसमा एउटा कलाकारको खाँचो थियो र त्यो खाँचो मैले पूरा गरेको थिएँ।

‘बाकस’ आउनु ठूलो कुरा होइन। ठूलो कुरा त सरुभक्तको रंगमञ्चमा पुनरागमन हुनु हो। सरुभक्तले नेपाली साहित्यका विविध विधामा उचाइ प्राप्त गरे पनि मूलतः उनी नाटककारै हुन्। नाटक उनको निजत्वपन हो। ४० वर्षको सहयात्रामा मैले उनलाई नाटककारकै रूपमा लिएको छु।

०३६ साल देखि ०४२ सम्म मैले सरुभक्तद्वारा लिखित तथा निर्देशित एउटा घरको कथा होइन, याम भरिको चिसो सपना, अग्नि पर्खाल, गोलाद्र्धको कालो आकाश, त्यो पत्थर मूर्ति बन्न सक्दैन जस्ता नाटकमा अभिनय गरें। त्यो करिब ६÷७ वर्षको अवधी जीवनकै स्वर्णीमकाल वन्न पुग्यो। त्यसै बीचमा सरुभक्त, उषा दिदी, तीर्थ श्रेष्ठ, विक्रम गुरुङ, विजय बजिमय, विनोद गौचनसँगको सहयात्राले मेरो साहित्यिक यात्रा पनि सुरु भयो।

सरुभक्तसँगै विश्व शाक्यसँगको सामीप्यले पनि मलाई रङमञ्चप्रति आकर्षित पा¥यो। विश्व शाक्यद्वारा निर्देशित नाटकहरू, भोको घर, स्वर्गको सपना नरकको यात्रा र क्षितिजमा उदाएको कालो सूर्यमा अभिनय गर्ने अवसर मिलेको थियो। ०४१ सालमा रोजगारीको सिलसिलामा लुम्ले कृषि केन्द्रमा आवद्ध भएपछि मेरो रङमञ्च यात्रा रोकिन पुग्यो। रङमञ्च मात्र होइन लुम्ले कृषि केन्द्र गएपछि कविताको पाटो पनि छोपियो र गीत तथा गजल लेख्न थालें। त्यसैमा रमाएँ।

०५२ सालमा लुम्लेबाट फेरि पोखरा फर्किएँ। त्यो १० वर्षको अन्तरालमा सूर्योदय युवा क्लब र प्रतिविम्व नाट्य समूहले सरुभक्तका धेरै नाटक मञ्चन गरिसकेको थियो। नयाँनयाँ कलाकार जन्मिसकेका थिए। प्रकाश घिमिरे, अनुप बराल, शोभा पराजुली, प्रमिला तुलाचन, माओत्से गुरुङ, हेमन्ती पुन, खगेन्द्र लामिछाने जस्ता अहिलेका वरिष्ठ कलाकार त्यसबेलाका उपज हुन्। जसले पोखरेली रङमञ्चलाई निरन्तरता दिँदै नेपाली रङमञ्च र नेपाली चलचित्रमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।

म पोखरा फर्किंदा पुराना कलाकार कोही थिएनन्। उषा भट्टचन उषा शेरचन बनेर काठमाडौं बसिन्। अर्जुनजंग शाही  दुर्गा शेरचनसँग विवाह गरेर चलचित्र र प्रहरी सेवातिर लागे काठमाडौं बसे। एकेन्द्र, जसकाजी, अरुण खै कता लागे। विक्रम गुरुङ हङकङ गए। लाल गुरुङ हङकङको सेनामा गए। त्यो समयमा पुराना कलाकारहरू छिन्नभिन्न भइसकेका थिए। पुराना कलाकारमा दुई जना पोखरामा थियौं सरुभक्त र म। पछि सरुभक्त पनि काठमाडौंतिरै लागे र म लागें प्रगति स्कुल बाटुलेचौरतिर।

प्रगति स्कुल पोखरामा म विषयरहित विषय शिक्षक थिएँ। लाइव्रेरी हेर्थें र अभिनय कला सिकाउथें। प्रगतिमा बालनाटक मञ्चन गरिएन। बालकलाकारहरू भए पनि हामीले आधुनिक र प्रयोगात्मक नाटक मञ्चन ग¥यौं। सरुभक्तका गाउँको कथा यस्तै हुन्छ “रेलिमाइ रेलिमाइ रेलिमाई” क्रिया याने नाम सर्वनाम विशेषण, अग्निपर्खाल, सुरेन्द्र नकर्मीको ‘सडक नाटक’ विप्लव ढकालको “निलाम्वरको आकाश युद्ध” र मेरो आफ्नै “नयाँबाटो” मञ्चन गरियो। पोखराको रङमञ्च मृत प्रायः भएका बेला जसोतसो प्रगति स्कुलले सीमित साधन र स्रोतमा भए पनि रङमञ्चलाई जीवित पारेको थियो। प्रगति स्कुलका करिव डेढ दर्जनभन्दा बढी कलाकारले आज स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै आफूलाई विस्तारित गर्न सफल भएका छन्।

‘बाल कलाकार चाहिए प्रगति स्कुलमा उपलव्ध हुन्छ’ भन्ने एउटा संस्कार पनि नाटक र चलचित्र क्षेत्रमा विकसित भइरहेको छ। एउटा कुरा के हुँदो रहेछ भने रंगमञ्च छुटे पनि अन्तःस्करणमा रहेको कलाकारिता भावनाले बालबालिकालाई अभिनय सिकाउँदा वा नाटक निर्देशन गर्दा आफै कलाकार बनेर अभिनय गरिरहेको अनुभूत गरिंदो रहेछ। जुन अनुभूति मैले प्रगति स्कुलमा पाएँ।

‘बाकस’ समसामयिक कथामा आधारित नाटक हो। आमा अर्थात् नेपाल आमा विरामी भएको प्रतिकात्मक रूपमा प्रस्तुत गरिएको छ भने छोराछोरीहरू (राजनैतिक कार्यकर्ता) ले आमालाई बेवास्ता गरेको अनि खाडी मुलुक र अन्य मुलुकमा सपना खोज्न गएकाहरू बाकसमा लाश बनी फर्किएको कथा देखाउन खोजिएको छ। कुनैकुनै सम्वाद अलि क्लिष्ट लागे पनि कलाकारहरूको जीवन्त अभिनयले सरल तथा बोधगम्य बनाएका छन्। कतिपय सम्वाद र अभिनयले दर्शकका आँखा रसाउँछन्। यही हो अभिनयको जीवन्तता।

जसरी २५ वर्षपछि सरुभक्त नाटक निर्देशनमा फर्किए त्यसरी नै म पनि ३५ वर्षपछि रंगमञ्चमा अभिनयका लागि फर्किएँ। पोखरा थिएटरको गन्धर्व नाटघरको प्रस्तुति र परिवर्तनको निर्देशनमा केही महिना अघि ‘बितेका कुरा’ नाटकमा अभिनय गर्ने अवसर मिल्यो। त्यस अवसरले पनि मलाई भविष्यमा वा आउने दिनमा रङमञ्चमा आउने लालसा र उत्कण्ठा जगाएको छ। सरुभक्त र मेरो ४० वर्षे सुमधुर सम्बन्धले हामी दुवैलाई फेरि रंगमञ्चमा अवतरण गर्ने सुनौला मौका दिने क्रममा छ।

पोखरा नाटकघरको निर्माण र संचालनपछि पोखरेली नाटकप्रेमीहरूले नेपाली र विदेशी नाटक हेर्ने अवसर पाइरहेका छन्। अबको जीवन नाटक क्षेत्रमै र रंगमञ्चमै बिताउने अठोट लिएका पोखरा नाटकघरका संस्थापक मध्येका एक एवं पोखरा नाटकघरका निर्देशक परिवर्तनको यस भनाइले “अब नाटक हेर्छ पोखरा” लाई चरितार्थ बनाउने नै छ। बाकस आउनु ठूलो कुरा होइन। ठूलो कुरा त सरुभक्तको रङमञ्चमा पुनरागमन हुनु हो। सरुभक्तले नेपाली साहित्यका विविध विधामा उचाइ प्राप्त गरे पनि मूलतः उनी नाटककारै हुन्। नाटक उनको निजत्वपन हो। मैले उनलाई यो ४० वर्षको सहयात्रामा नाटककारकै रूपमा लिएको छु।

करिब एक घन्टा दश मिनेट समयावधिको नाटक हेरेर बाहिर निस्कँदा धेरै भाइबहिनीहरूले सोधे, ‘दाइ किन नखेल्नु भएको ?’ ‘समय निकाल्न नसकेर’ भनेर पन्छिएँ। मनमा भने पछुतो लागिरहेको थियो। परिवर्तनले ‘माग्ने बुढा’को भूमिका निर्वाह गरिदिन अनुरोध गरेका थिए। घरायसी कारणले गर्दा म त्यस नाटकमा सहभागी हुन सकिन। ‘अर्को नाटकमा खेल्छु’ भनेर ती भाइबहिनीहरूलाई आश्वस्त पारें। अबको नाटकमा भने जेजसरी भए पनि समय निकाल्नु पर्ला। त्यसमा पनि सरुभक्तकै नाटक र सरुभक्तकै निर्देशन भइदिए झन् बेस हुनेछ। सरुभक्त ! तिम्रो २५ वर्ष पछिको निर्देशनको पुनरागमनलाई हार्दिक वधाई ! अबका दिन हामी बीचका समय सापेक्षित भएर रहने छन्।

प्रकाशित: २१ वैशाख २०७६ ०६:४४ शनिबार

आइसीयु सरुभक्त पुनरागमन नाटक