अन्य

रेडक्रसलाई जग्गादान

मालपोतमा जग्गा रजिस्ट्रेसन गरेपछि। तस्बिरः नागरिक

म्याग्दी– यहाँका एक साहित्यकारले रेडक्रसको अभियानलाई प्रभावकारी बनाउन जग्गादान गरेका छन्। बेनी नगरपालिका–६ अर्थुङेका स्थानीय एवम् जिल्लाका पुराना साहित्यकार ध्रुवलाल शर्माले नेपाल रेडक्रस सोसाइटी अर्थुङे छाप उपशाखाको बहुउद्देश्यीय भवन निर्माणका लागि करिब तीन आना जग्गा रजिस्ट्रेसन पास गरिदिएका हुन्।

लामो समय रेडक्रस अभियानमा समेत सक्रिय रहेका शर्माले उपशाखामार्फत भवनसहितको संरचना बनाउने प्रस्तावले उत्साहित भएको बताउँदै सहयोग गरेको बताए। जग्गाको बजार मूल्य करिब पाँच लाख रुपैयाँ भएको अनुमान गरिएको छ।

शर्माले उपलब्ध गराएको जग्गाको छेउमा रहेको करिब साढे दुई आना जग्गा पनि स्थानीय मित्रकुमारी खड्काले दान गर्ने घोषणा गरेकी छन्। उपशाखालाई प्राप्त भएको जग्गामा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्ने योजना रहेको छ।

प्रकाशित: २१ वैशाख २०७६ ०६:१७ शनिबार

रेडक्रस साहित्यकार ध्रुवलाल_शर्मा जग्गा_दान