अन्य

मापदण्डविपरीतका होर्डिङ बोर्ड हटाउन बेवास्ता

काठमाडौं महानगरपालिकाले उपत्यकाका विभिन्न क्षेत्रमा मापदण्डविपरित राखिएका होर्डिङ बोर्ड हटाउन बेवास्ता गरेको छ। राजधानीको चावहिल, टुसाल, नयाँ बानेश्वर लगायत चोकमा विभिन्न संघसंस्था र व्यवसायिक कम्पनीले होर्डिङ बोर्ड राखेका छन्।

कोरण्डो नामक कम्पनीले चावहिल चोकको एक घरमा पूरै घर ढाक्ने गरी कारको होडिङ बोर्ड राखेको छ। बौद्धस्थित टुसालमा पनि सडक छेउको एक घरमा पूरै घर ढाक्ने गरी एनसेल कम्पनीले मापदण्डविपरीत एनसेलको विज्ञापन राखिएको छ।

यति मात्रै होइन, घरका छतमा समेत विज्ञापनका सामग्री राखिएका छन्, जसका कारण सहर कुरूप बनेको छ। सार्वजनिक ठाउँमा मापदण्डविपरीत होर्डिङ बोर्ड राखिँदा पनि महानगरले बेवास्ता गरेको सर्वसाधारणले गुनासो गरेका छन्।

सम्पदा बचाउ अभियानता गणपतिलाल श्रेष्ठले  सार्वजनिक ठाउँमा राखिएका विज्ञापनका होर्डिङ बोर्डले सहर कुरूप बनाए पनि महानगरपालिकाले हटाउन नसकेकोले बताए। ‘उपत्यकाका विभिन्न चोकमा ठुल्ठूला विज्ञापनका बोर्ड देखिन्छन्। यसले ज्यानको जोखिमसँगै सहर नै कुरूप बनाएको छ,’ उनले भने, ‘तर, यसतर्फ महानगरको ध्यान जान सकेको छैन।’

यसलाई हटाउन जनप्रतिनिधिले चासो दिनुपर्ने उनको भनाइ छ। महानगरपालिकामा पहिले पनि आर्थिक चलखेल गरी बोर्ड राख्ने र हटाउने गरिएको उनले सुनाए।

कोरण्डो नामक कम्पनीले चावहिल चोकको एक घरमा पूरै घर ढाक्ने गरी कारको होडिङ बोर्ड राखेको छ। बौद्धस्थित टुसालमा पनि सडक छेउको एक घरमा पूरै घर ढाक्ने गरी एनसेल कम्पनीले मापदण्डविपरीत एनसेलको विज्ञापन राखिएको छ।


महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचारसामाग्री नियमन नीति २०७० ले जारी गरेको नीतिमा ‘काठमाडौं महानगर क्षेत्रका सार्वजनिक स्थानमा अनाधिकृत ढंगले राखिएका सम्पूर्ण व्यावसायिक होर्डिङ बोर्ड तथा प्रचार सामग्री राख्न पूर्ण रूपमा निषेध गरिएको छ। त्यसैगरी महानगरका सबै प्रकारका निर्मित घर टहराको छत, कौशी, छानामा कुनै प्रकारका प्रचारका सामग्री तथा बोर्ड राख्न निषेध गरिएको छ। यस्तै, रोड डिभाइडरमा विज्ञापन गर्न पूर्ण रूपमा निषेध गरिएको छ। सरकारी बाहेकका निजी जग्गामा बोर्ड राख्दा सधियार तथा सडकतर्फ कम्तिमा १० फिट जमिन छोडेको हुनुपर्ने र उचाइको हकमा जमिन सतहबाट बढीमा ३० फिटमात्र हुनुपर्ने, अनिवार्य रूपमा बोर्डमा सोलार बत्ती जडान गरेको हुनुपर्ने, यो नीतिविपरित राखिएका सार्वजनिक स्थल, पोल र घर भवनको छाना तथा कौशीमा राखिएका बोर्डहरू तत्काल हटाउनुपर्ने, सडक पेटी तथा सार्वजनिक स्थानमा कुनै पनि प्रकारका द्धार स्टल डिस्प्ले राख्न पूर्ण प्रतिबन्ध रहेको विज्ञापन नीतिमा उल्लेख गरिएको छ।

काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले होर्डिङ बोर्ड मापदण्डविपरीत राखिएको पाइएमा तत्कालै हटाउने बताइन्। ‘मैले पहिला पनि नगरपरिषद्को बैठकमा महानगरमा स्वीकृति लिएर मात्रै होर्डिङ बोर्ड राख्ने र मापदण्डविपरीत राखिएको होर्डिङ बोर्ड हटाउनु पर्छ भनेर कुरा उठाएको थिएँ,’ उनले भनिन्। मापदण्डविपरीत सार्वजनिक ठाउँमा राखिएको विज्ञापनका होर्डिङ बोर्डले सहर कुरूप बनाएकाले वडा २८ भित्रको सबै बोर्ड हटाई जरिवानासमेत लगाएको उनले बताइन्।

‘मापदण्डविपरीत राखिएको बोर्डले सहर नै कुरूप बनाएको छ। सुरक्षित नभएकाले सर्वसाधारणको ज्यान पनि जान सक्छ,’ उनले भनिन्, ‘मैले वडा २८ मा रहेको यस्ता बोर्ड हटाएर नागरिकलाई चेतना दिई जरिवानासमेत तिराएको छु।’
विज्ञापनको होर्डिङ बोर्ड सार्वजनिक ठाउँमा राख्नु परेमा महानगरपालिकासँग स्वीकृति लिनु पर्छ। बजेट छुट्याएर अनुगमनको लागि कर्मचारी राखिएकाले उनीहरूले पनि यस्ता होर्डिङ बोर्ड हटाउनु पर्ने बताइन्।

गत मंसिरमै नागरिककर्मीसँगको कुराकानीमा काठमाडौं महानगरपालिकाका तत्कालीन प्रवक्ता ज्ञानेन्द्र कार्कीले मापदण्डविपरीतका होर्डिङ बोर्ड तत्कालै हटाउने बताएका थिए।

कतिपय व्यवसायी कम्पनीहरूले महानगरसँग स्वीकृति नलिई सार्वजनिक ठाउँमा विज्ञापन र प्रचारप्रसार सामग्री राख्ने गरेको महानगरको दाबी छ।

प्रकाशित: २० वैशाख २०७६ ०५:१२ शुक्रबार

होर्डिङ_बोर्ड मापदण्ड काठमाडौं_महानगरपालिका