अन्य

अब नयाँ बसपार्कमा बिचौलिया निषेध

नयाँ बसपार्क क्षेत्रमा जभाभावी ढंगले सार्वजनिक बसको टिकटमा बिचौलिया गर्नेलाई निषेध गरिने भएको छ।

नयाँ बसपार्क गोंगबु क्षेत्रमा अत्याधिक मात्रामा बिचौलियाको मनपरी भएसँगै बिचौलिया प्रथाको नियन्त्रण गर्न लागिएको हो। बसपार्कको व्यवस्थापकीय जिम्मेवारी लिएको लोत्से बहुद्देश्यीय प्रालि र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाईमा नयाँपार्क क्षेत्रमा टिकटमा बिचौलिया गर्नेलाई कारवाही गर्न लागिएको हो।

प्रालिका अध्यक्ष दीपक कुँवरले सरकारले बसपार्कमा बिचौलियाको कारणले यात्रुले सास्ती भोग्नुपरेकोले नियन्त्रण गर्न लागेको बताए। ‘बिचौलियाले जहाँ मन लाग्यो, त्यही टिकट काट्ने। जुनसुकै ठाउँबाट यात्रु चढाउँदा धेरै समस्या देखियो,’ उनले भने, ‘हामीले यातायात व्यवसायीसँग समन्वय गरेर बसपार्कलाई बिचौलिया मुक्त बनाउन खोजेका छौं।’

ल्होत्से र महासंघले नयाँ बसपार्कमा कार्यरत टिकट काउन्टरका कर्मचारीलाई अनिवार्य पोशाक र परिचयपत्र वितरण गरेको छ।

अध्यक्ष कुँवरले एक साताअघिदेखि बसपार्कमा कार्यरत कर्मचारीलाई व्यवस्थित गर्न लागेको बताए। ‘बस काउन्टरका अधिकारिक कर्मचारीलाई परिचय र ड्रेस उपलब्ध गराएका छौं,’ उनले भने, ‘परिचयपत्र र ड्रेस नलगाउने कुनै पनि बिचौलियालाई बसपार्क क्षेत्रमा प्रवेश निषेध गर्नेछौं। जसबाट बिचौलिया नियन्त्रण हुने अपेक्षा गरेका छौं।’

महानगरीय ट्राफिक प्रहरी प्रभाग गोंगबुका सहायक प्रहरी निरीक्षक झलक थापाले पछिल्लो समय बसपार्क एरियामा बिचौलियालाई कडाई गरिरहेको बताए।

‘सबै निकायसँग समन्वय गरेर बसपार्कबाट बिचौलिया नियन्त्रण गर्न लागेका छौं,’ उनले भने, ‘बिचौलियाकै कारणले बसपार्क क्षेत्रमा यात्रु ठगिने गरेका छन्।’

उनका अनुसार यात्रु ठगिएको उजुरी आउनसाथ तत्कालै कारवाही प्रक्रिया अगाडि बढाएको दाबी गरे। ‘बसपार्क क्षेत्रमा सम्पूर्ण बस पार्किङ गर्न नमिल्दा सडकमा नै पार्किङ गर्नुपर्ने अवस्था आएको छ। त्यसैले अन्य निकायलाई व्यवस्थित गर्न अनुरोध गरेका छौं।’

ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष कुँवरले यात्रुले बारम्बार बिचौलियाबाट ठगिएको गुनासो आएकाले नै बिचौलिया मुक्त अभियान सुरुवात गरिएको बताउँछन्। ‘हामीले वर्षाैदेखि बसपार्क  एरियाबाट बिचौलियामुक्त गर्न खोजेका थियौं। अहिले यातायात व्यवसायीको पूर्ण समर्थन पाएकाले अब बिचौलिया नियन्त्रण गरेर नै छाड्नेछौं।’

उनका अनुसार बसपार्क एरियामा जथाभावी ढंगले बस टिकट काउन्टर भएकाले व्यवस्थित गर्नेतर्फ आवश्यक कदम अघि चालेको बताए। अध्यक्ष कुँवरले बसपार्क क्षेत्र वर्षाैदेखि अस्तव्यस्त भएकाले सुधार्न समस्या भएको दाबी गर्छन्। ‘हामीले धेरै पहिलादेखि नै बसपार्कलाई व्यवस्थित गर्न खोजेका थियौं,’ उनले भने, ‘बिचौलियाले गुन्डागर्दीको प्रयोग गर्दै असफल बनाउन प्रयत्न गरिरहे। तर, अब हामी कुनै पनि हालतमा बिचौलियासँग झुक्दैनौं।’

रोकिएन बिचौलिया
सरकारले सिन्डिकेट अन्त्य भएको घोषणासँगै नयाँबसपार्क क्षेत्रलाई व्यवस्थित गर्ने घोषणा गरेको थियो। सिन्डिकेट अन्त्य घोषणा गरेको एक वर्ष बितिसक्यो । तर, सरकारी तवरबाट बसपार्कलाई व्यवस्थित पार्ने अझैसम्म ठोस कदम चाल्न सकेको छैन।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सिन्डिकेट अन्त्य गरेसँगै यातायात क्षेत्रबाट बिचौलिया नियन्त्रण गर्दै इ–टिकेटिङ प्रणालीमा लैजाने घोषणा गरेका थिए। तर, घोषणा गरेको लामो समय हुँदा पनि इ–टिकेटिङ कार्यान्वयन हुन सकेको छैन। जसको कारणले सार्वजनिक सवारीसाधनका यात्रु ठगिने क्रम रोकिएको छैन।

‘कहिले भनेजस्तो सवारीसाधनमा यात्रा गर्न पाइँदैन,’ गोंगबुमा भेटिएका अनिल नेपालले भने, ‘सरकारले सिन्डिकेट अन्त्य भएको घोषणा ग-यो। तर, बसपार्क क्षेत्रमा रहेको बिचौलिया प्रथा भने अझैसम्म हटाउन सकेको छैन।’

उनका अनुसार सरकारले बिचौलियाको अन्त्य गरेर बसपार्क क्षेत्रलाई सुधार्नुपर्ने बताउँछन्।

प्रालिका अध्यक्ष कुँवरले सरकारले सिन्डिकेट अन्त्य भए पनि यातायात संघ÷समिति मातहत रहेको बिचौलिया प्रथा अन्त्य गर्ने कुनै पहल नगरेको गुनासो गरे। ‘सिन्डिकेन्ट अन्त्य भए पनि नयाँ बसपार्कमा बिचौलिया र दलालको गतिविधिमा कुनै कमी आएन,’ उनले भने, ‘त्यसैले बसपार्क क्षेत्रलाई व्यवस्थित गर्न हामी आफैं जुटेका छौं।’

ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा इ–टिकेटिङमार्फत् व्यवस्थित गर्न खोजे पनि सरकारबाट सहयोग नपाएको गुनासो गरेका छन्।

‘अहिले बसपार्क बिचौलिया प्रथा र यात्रु तानातानको गर्ने स्थितिबाट गुज्रिएको छ। त्यसैले एकद्वार प्रणालीको इ–टिकेटिङ प्रणाली लागू गर्नुपर्ने बेला भइसक्यो,’ उनले भने, ‘सरकारले इ–टिकेटिङमा सहयोग गरे तत्कालै कार्यान्वयन गर्दै अघि बढ्ने थियौं।’

उनका अनुसार अबको केही समयभित्रै नयाँ बसपार्कको मुहार फेरिने दाबी गरे। ‘सधैं यस्तै भद्रगोल ढंगले सञ्चालन गरेर हुँदैन,’ अध्यक्ष कुँवरले भने, ‘ल्होत्सेले नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउनेतर्फ केन्द्रित भएको छ।’

पछिल्लो समय ल्होत्सेले बसपार्कमा रहेका ६ सयभन्दा धेरै अस्थायी टहरा हटाएर व्यवस्थित गरेको छ। ल्होत्सेले बहुउद्देश्यीय भवनदेखि बालउद्यान लगायतका संरचना तयार पारेको छ। यसले राजधानीको गोंगबुस्थित नयाँ बसपार्कको मुहार फेरिने भएको छ। अस्तव्यस्त, फोहोर र असुरक्षित मानिने देशकै ठूलो यो बसपार्कलाई व्यवस्थित मात्रै होइन, अत्याधुनिक र सुविधासम्पन्न बनाउन लागिएको हो। यो बसपार्कको रेखदेख तथा व्यवस्थित गर्न महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ०७२ मा नयाँ सम्झौता भएको थियो। सम्झौता अनुसार प्रालिले बसपार्कको आधुनिकीकरण र व्यवस्थित गराउने योजना रहेको थियो। प्रालिका अध्यक्ष कुँवरले नयाँ बसपार्कलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने क्रम तीव्र भएको बताए। ‘हामीले बसपार्कलाई हेर्ने दृष्टिकोण मात्रै होइन, मुहार नै फेर्ने काम गरिरहेका छौं,’ उनले भने।

चार सय सवारी अट्ने पार्किङलाई आठ सय सवारी अट्ने गरी निर्माण गरिने सम्झौता छ। बसपार्कमा सात तले व्यापारिक भवनसहित बाल उद्यान, यात्रुका लागि वेटिङ रुम, सपिङ मल, बैंकिङ काउन्टर, लकर सेवा आदि रहनेछ। उच्च स्तरका होटेल तथा रेस्टुरेन्टसमेत सञ्चालन गरिने कुँवरले बताए। ‘टाढाबाट आउने यात्रुका लागि आरामदायी कक्षको समेत व्यवस्था गरिनेछ। जसमा यात्रुले सहज ढंगले आराम गर्न पाउनेछन्,’ उनले भने, ’बसपार्क पूर्णतया सिसी क्यामेराको निगरानीमा हुनेछ। महानगरपालिका र ल्होत्सेबीच ०५६ मा पनि सम्झौता भएको थियो। सम्झौताअनुसार ४५ वर्षका लागि बसपार्क सञ्चालन तथा व्यवस्थापनको जिम्मा ल्होत्सेलाई दिइएको थियो। ल्होत्सेले ४५ वर्षपछि सम्पूर्ण पूर्वाधारसहितको बसपार्क महानगरलाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ। ०७२ सालअघिसम्म प्रालिले वार्षिक ५१ लाख रूपैयाँ तिर्दै आएको थियो। नयाँ सम्झौताअनुसार प्रालिले ९८ लाख राजस्व तिर्नुपर्ने  महानगरपालिकाले जनाएको छ। प्रालिले ग्राण्डी हस्पिटलसँग सहकार्य गरेर बसपार्कमा स्वास्थ्य क्लिनिक सञ्चालन गरेको जनाएको छ। बसपार्कमा प्रेसर, सुगर लगायतको मात्रा जाँच्ने गरिन्छ।

दुई करोडको लागतमा महानगरीय ट्राफिक प्रहरी प्रभाग गोंगबुको कार्यालय समेत व्यवस्थित गराएको कम्पनीले जनाएको छ । कम्पनीले सिप्रदीसँग समन्वय गरेर मोटर रिपेरिङ सेन्टर सञ्चालनमा ल्याएको छ।

‘काठमाडौंबाट लामो दुरीमा छुट्ने सवारीको भेहिकल फिटनेस जाँच गरेर मात्रै पठाउने तयारी गरेका छौं,’ उनले भने, ‘बसपार्कमा नै भेहिकल फिटनेस जाँचले दुर्घटना हुनबाट जोगाउने अपेक्षा गरेका छौं।’

यस्ता सेवा उपलब्ध हुनेछन्
अन्तर्राष्ट्रिय स्तरको बसपार्क निर्माण सम्पन्न भएसँगै यात्रुको लागि विभिन्न सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ। यात्रुमैत्री हेल्प डेस्क, बाल उद्यान, ब्रुमर राखेर दिनहुँ बसपार्क सरसफाई, हरियाली पार्क, भेहिकल सर्भिस र फिटनेस सेन्टर, स्वास्थ्य क्लिनिक लगायतका सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ। प्रालिले बसपार्कमा एक दिन पार्क गरेका सवारीसाधनबाट २ सय ७५ रूपैयाँ लिने गरेको छ।

 

प्रकाशित: १६ वैशाख २०७६ ०७:४६ सोमबार

नयाँ_बसपार्क बिचौलिया टिकट