अन्य

रोचक दस्तावेज

नवीन अाचार्य
शिवहरि घिमिरेको पुस्तक ‘होचो ढोका’ पारम्परिक मिथक र संस्कृतिको दस्तावेज बनेको छ। काठमाडौं उपत्यकाका विभिन्न ठाउँको भ्रमण, बुढापाका र विज्ञहरूसँगको भलाकुसारी र थप अध्ययनबाट उनले पुस्तक लेखेका हुन्। यसले उपत्यकाका बासिन्दाको स्मृतिमा रहेका कतिपय रहस्यमय विषयलाई रोचक ढंगमा पस्केको छ।

मिथक समाजका विभिन्न समयका जीवन्त सम्झना हुन्। संस्कृतिका मिथकीय पात्र र प्रवृत्तिले तत्कालीन समाजको यथार्थ तस्बिर प्राप्त हुन्छ। होचो ढोका जस्ता पुस्तकले यस्ता गाथाहरुलाई पुस्ताैँ पुस्तासम्म जोगाइराख्न मद्दत पुग्छ। कला, संस्कृतिमा रुचि राख्नेका लागि यो पुस्तक उपयोगी देखिन्छ।

समाचार संकलन गर्दा फिल्डमा खटिने संचारकर्मीले समाजका धेरै कथाव्यथाको जानकारी पाउन सक्छ भन्ने घिमिरेले पुष्टि गरेका छन्। यसबाट कलमजीवीलाई ग्राउण्ड जिरो रिपोर्टिङमा उत्प्रेरणा मिल्न सक्छ। पुस्तकका सबै सामाग्री रोचक छन्।


पत्रकार घिमिरेले लोप भएका सांस्कृतिक पक्ष पनि उजागर गरेका छन्।

होचो ढोका किन राखियो भन्ने सवालमा पुस्तकले उपत्यकाका राजाहरूले टोलमा गएर नेवार समुदायका छोरीचेली जिस्क्याउने गरेको र उनीहरूबाट छोरीचेली जोगाउन होचोढोका बनाउने प्रचलन स्थापित भएकोे उल्लेख गरेका छन्। कतिपय जानकारहरूले यसलाई भुकम्पीय जोखिमबाट बच्न घरमा होचो ढोका राख्ने गरिएको तर्क पेश गरेका छन्। पुस्तकभित्रकै अर्को तथ्यअनुसार घरभित्र चिसो नपसोस्, चोरी नछिरोस् भन्नेजस्ता तथ्य पनि राखिएको छ।

समाजले बिर्सिएका र लोप भएका सांस्कृतिक पक्ष उजागर गरेर नयाँ पुस्तालाई जानकारी गराउन पुस्तक सफल देखिन्छ। पुस्तकमा आफू जन्मनुभन्दा सयौं वर्ष पहिलेका सांस्कृतिक पक्ष र समाजको धरातल चित्रित गर्ने कोसिस गरिएको छ। पुस्तकका धेरैजसो रचना मिथकमा केन्द्रित छन्।

यसमा लेखिएका मिथकबारे आम बुझाइ एउटै नहुन सक्छ। हाम्रा परम्परा तथा मिथक सबै सकारात्मक हुन्छन् भन्ने छैन। कतिपय प्रथा तथा कुरीति पनि हुन सक्छन्। त्यस्ता प्रथा तथा कुरीती पनि यसमा समेटिएको छ। ती चिजहरूको अध्यनबाट हाम्रो समाज र सभ्यताको विकास क्रम बुझ्न सहज हुन्छ। पहिले हाम्रो समाज कहाँ थियो र वर्तमानमा हामी कहाँ छौं भन्ने यसले प्रस्ट पार्छ। हाम्रो सामाजिक सभ्यताको विकास क्रमको दूरी मापन गर्न पुस्तकले सहयोग पु-याउँछ।

पुस्तकले उपत्यकामा पहिले भएका तर अहिले नासिएका चिजहरूलाई पनि समेट्ने प्रयास गरेको छ। सांस्कृतिक सम्पदाले गुमाएको मौलिकता समेट्न खोजेको देखिन्छ। मोफसलमा ओझेलमा परेको ऐतिहासिक सराय नाच, लाहुरे टाँसिएको भिरकोबारे पुस्तकले उठान गरेको छ।

‘होचो ढोका’ घिमिरेको पहिलो कृति भएकाले कमजोरीमुक्त हुन नसक्ला। तर आफ्नो कला संस्कृति र पहिचानलाई पुस्तकमार्फत् प्रर्बद्धन उनले गरेका प्रयास प्रशंसनीय छ।

अर्को कुरा, अहिले साहित्यमा मिथक बढी प्रयोग भएको पाइन्छ। पुस्तकमा पनि त्यस्तै किसिमका रमाइला मिथक सांस्कृतिक परम्परा जोडिएको छ। अर्को अर्थमा हाम्रो समाजमा रहेका पौराणिक लोककथा पनि मिथकमै आधारित छन्। पुस्तकमा पनि त्यस्ता प्रसंग आउँछन्। पुस्तकभित्र मिथक मात्रै अटेका छैनन्, उपत्यकाका धरोहर संस्कृतिक केही पाटा पनि समेटिएको छ।

यति हुँदाहुँदै पनि किताबका केही भ्रमिक पक्ष पनि छन्। किताबमा प्रमाण र तथ्यको प्रयोग कम देखिन्छ। ७३ वटा शीर्षकमा लेखिएका सांस्कृतिक कथा छिटाछोटा छन्।  

होचो ढोका
मूल्यः ३२५
लेखकः शिवहरि घिमिरे
प्रकाशकः स्वदेश प्रकाशन  

प्रकाशित: १४ वैशाख २०७६ ०५:०३ शनिबार

‘होचो_ढोका’ शिवहरि_घिमिरे संस्कृति नेवार_समुदाय