अन्य

नागरिक नायक सत्यमोहन

अरुका लागि बाँच्नेहरू आदरणीय हुन्छन्। समाजको भलो हुने कामले आत्मसंतुष्टि मिल्छ। मान्छे जुनसुकै पेशामा रहे पनि इमान्दार भएर काम गरेमा समाजलाई फाइदा पुग्छ। आफ्नो स्वार्थ भुलेर समाजका लागि तन, मन र धन समपर्ण गर्नेहरू नै नायक बन्छन्। त्यस्तै एक नायक हुन्–संस्कृतिविद् सत्यमोहन जोशी।

सय वर्षको उमेरमा टेक्नै लाग्दा पनि संस्कृतिविद् जोशी सामाजिक काममा सक्रिय छन्। उनी विसं १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मेका थिए। यही वैशाख २० गते उनी सय वर्षमा पाइला टेक्दै छन्। उनले धेरै मान सम्मान पाएका छन्। नेपालमा मदन पुरस्कार तीन पटक पाउने एक मात्र व्यक्ति पनि सत्यमोहन नै हुन्। उनले विसं २०१३ सालमा पहिलोपटक मदन पुरस्कार पाएका थिए।

उनको गद्य कृति ‘हाम्रो लोकसंस्कृति’ले पुरस्कार जितेको थियो। दोस्रोपटक विसं २०१७ मा ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थका लागि मदन पुरस्कार पाए। त्यस्तै तेस्रोपटक विसं २०२८ सालमा ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि उनी सहित पाँच जनाले संयुक्त रुपमा मदन पुरस्कार पाएका थिए।

हाम्रो सरकारले उनलाई ०७४ वैशाख २१ गते ‘वाङ्मय शताब्दी पुरुष’ उपाधि दिएको थियो। नेपाल रिपब्लिक मिडियाले आफ्नो एघारौं वर्ष प्रवेशका अबसरमा बुधबार उनलाई ‘नागरिक नायक’ घोषणा गरेर सम्मान ग-यो। उनीसँगै जनकपुरका अभियन्ता पवन सिंघानिया र सिन्धुपाल्चोकका शिक्षक पूर्णबहादुर गौतमलाई नागरिक नायक घोषणा गरिएको थियो।

उनीहरूलाई मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जनही एक लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरेका थिए। 

लोकसंस्कृतिको अध्ययन, विकासका साथै साहित्य लेखनमा जिन्दगी विताए जोशीले। बुढ्यौलीमा समेत उनी दिनदिनैजसो विभिन्न कार्यक्रममा पुगेर प्रेरणादायी मन्तव्य दिन्छन्। सबैलाई आफ्नो भाषा, कला र संस्कृति जोगाउन प्रेरित गर्छन्।


सय वर्षको उमेरमा टेक्नै लाग्दा पनि संस्कृतिविद् सत्यमोहन जोशी सामाजिक काममा सक्रिय छन्।

विगतमा उनले मुलुकका लागि धेरै काम गरे। राष्ट्रिय विभूति अरनिकोको खोजी पनि उनैले गरेका हुन्। उनका निबन्ध, प्रबन्ध, कविता, कथा, नाटक र अनुसन्धानात्मक गरि ७० वटा पुस्तक प्रकाशित छन्।

सादा जीवन उच्च विचारकै कारण उनले जीवनमा सफलता प्राप्त गरे। र, सबैलाई आफ्नोपनमा गौरव गर्न सिकाए। संसारमा अजम्मरी कोही छैन, एक दिन मरेर जानु पर्छ। त्यसैले हामी सबैले सत्यमोहन जोशी जस्तै सम्मानित भएर बाँच्ने काम गर्नु पर्छ।

प्रकाशित: १४ वैशाख २०७६ ०३:०० शनिबार

सत्यमोहन_जोशी पूर्णबहादुर_गौतम विनोदराज_ज्ञवाली नागरिक_नायक