अन्य

गुराँसे शैलुङ

डुक्पा छिरिङ मोक्तान
डाँडै डाँडाहरूको संगम हो शैलुङ (३२००मिटर)। इतिहास, प्रकृति र संस्कृतिको त्रिबेणीधाम। यतिवेला शैलुङ क्षेत्रमा गुराँस र चिमाल फक्रिएको छ। गुराँसको सौन्दर्यमा रमाउनेहरूको भिड लाग्न थालेको छ। नयाँ वर्षदेखि डाँडामा गुराँससँग सेल्फी खिच्नेहरू बढेका छन्। रातो रंगको गुराँस र सेतो रंगको चिमालले डाँडा रंगीन बनेको छ।

शैलुङमा एक सय आठ थुम्का छन्। डाँडाबाट गौरीशंकर हिमसृङखला नजिकै देखिन्छ। त्यसबाहेक चरिकोट बजार, काठमाडौंको घाँटी लगायत डाँडापाखा पनि देखिन्छन्। भुस्वर्ग उपमा पाएको छ शैलुङले। शितल डाँडामा आनन्द अनुभव हुन्छ। त्यहाँ वर्षैभरि घुम्न सकिन्छ। फूलको सौन्दर्य हेर्न चैतदेखि मंसिरसम्म उपयुक्त मानिन्छ। साउन–भदौमा पनि भुइँफूल फूल्छन्। भुइँफूलले डाँडै पहेंलो बन्छ।

विशेष गरेर बौद्ध तथा हिन्दु धर्मावलम्बीका लागि पावन तीर्थस्थल भएकाले जनैपूर्णिमाका दिन मेला लाग्छ। आन्तरिक पर्यटक बढ्दै जाँदा स्थानीय खुसी बनेका छन्। दोरम्बा गाउँपालिकाका अध्यक्ष कमान सिंह मोक्तान भन्छन्, ‘बाह्य पर्यटकको भन्दा आन्तरिक पर्यटकको चहलपहल बढेको छ।’

गुराँस फूलेर राताम्मे भएको शैलुङमा शुक्रबारदेखि प्रथम शैलुङ महोत्सव सुरु भएको छ।

शैलङुमा मात्र नभई डडुवा, दोरम्बा, कालापानी र गुराँसे आसपास पनि वन राताम्मे भएका छन्। दोलखा र रामेछापको संगम मानिन्छ शैलुङ। दोलखाको शैलुङ, मेलुङ गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालका भित्र पर्छ। पर्यटन प्रवद्र्धनका लागि शुक्रबारदेखि प्रथम शैलुङ महोत्सव सुरु भएको छ। महोत्सव आइतबारसम्म चल्ने छ।

विपी राजमार्गमा खुर्काेटको पुल बनेपछि काठमाडौबाट शैलुङ जान सजिलो भएको छ। शैलुङ बेस क्याम्प खोलाखर्कसम्म मोटर बाटो छ। त्यहाँबाट आधा घन्टा हिँडे डाँडामा पुगिन्छ। खोलाखर्कमा होटल र होमस्टे सुविधा छ।

प्रकाशित: १४ वैशाख २०७६ ०२:१३ शनिबार

शैलुङ गुराँस चिमाल