अन्य

जब रङहरूले छेपारो बदले

छेपारोको बारेमा विभिन्न उखान बनेका छन्, जस्तैः ‘छेपारे’। अर्थात् भोलिभन्दा भन्दै छेपारोले कहिल्यै घर बनाउँदैन। छेपारोको रातको बास त देखिएन। तर, घामपानीको यो साता बगैँचामा डुल्दै गरेका छेपाराको तस्बिर खिँच्दा ‘छेपारे प्रवृति’को भने निकै सम्झना आयो।

जस्तो की: महाभूकम्पका चार वर्ष बितिसक्दा पनि हामीले त्यसबाट पाठ लिन सकेनौं। छेपाराको उखानजस्तै हाम्रो प्रवृत्ति बिस्तारै विगत भुल्दै जाने र विपत्तिबाट कहिले पाठ नसिक्ने देखियो। सरकारको पनि त्यस्तै देखियो। उसले पनि बास बनाउने कुरा भोलिलाई सर्यो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ३ वर्षमा आवासीय भवन पुनर्निर्माण सक्ने कार्ययोजना बनाएको थियो। तर, ३ वर्ष ४ महिना भइसक्दा आधा काम पनि सकेको छैन। विगतबाट पाठ नसिक्दै यस पटक पनि कर्मकाण्डीरूपमा सरकारसँगै हामीले पनि  बिहीबार फेरि एकपटक भूकम्पलाई सम्झना ग-यौं।

सधैं छेपारोले मात्र रङ बदल्दैन, कहिलेकाहीँ रङहरूले पनि छेपारो बदल्छन्। घामपानीको  यो साता राजधानीमा छेपाराका तस्बिर खिँच्दा यस्तै महसुस भयो।

अर्काे उखान छ– छेपाराको जस्तो रङ फेर्ने। आफ्नो अडानमा नरही छिनछिनमा सोच परिवर्तन गर्ने प्रवृत्ति। जुन अहिले नेपाली समाजमा हरेक पाटामा देख्न पाइन्छ। धेरै देशमा छेपारालाई बगैँचा–फूलबारीको शोभाका रूपमा लिन्छन्। यसै साता फूलमा, गहुँका बालामा र हरिया पातमा  रमाउँदै गरेका छेपाराको तस्बिर लिने मौका मिल्यो।

पानीपछिको घाम ताप्न आएका होलान्, कहिले  कुनै छेपाराको रातो फूलमा रमाउँथे। कतै कुनै छेपारो हरियो पातमा लुक्थे। कोही पहेलो फुलमा हराउथे। मैले छेपारेले रङ बदलेको तस्बिर त खिँच्न पाएको छैन। तर, घामपानीको यो साता फूल र पातका रङले छेपारा बदलेको दृश्य भने खिँच्न भ्याए।

प्रकाशित: १४ वैशाख २०७६ ०१:३५ शनिबार

छेपारो घामपानी महाभूकम्प