अन्य

जबरजस्ती फोहर संकलन केन्द्र हटाउँदै वडा कार्यालय

काठमाडौं महानगरपालिका–३२ वडास्थित स्थानीयले फोहर संकलन गर्दै आएको ठाउँमा वडा कार्यालयले डोजर चलाउन थालेको पाइएको छ। फोहर थुपार्दै आएको निजी जमिनमा डोजर चलाएर पुनः सूचना जारी गरेपछि स्थानीयले त्यसको ठाडो विरोध गरेका छन्।

वडा अध्यक्ष नवराज पराजुलीले जवर्जस्ती फोहर संकलन गरेको ठाउँमा डोजर चलाउन खोजेको त्यस क्षेत्रमा फोहर व्यवस्थापन गर्दै आएका विकुप्रसाद देउलाको आरोप छ। ‘वडा कार्यालयले फोहर व्यवस्थापन गर्न सकिरहेको छैन, हामीले वानेश्वर, कोटेश्वर, तीनकुने, पेप्सीकोलालगायत क्षेत्रको फोहर संकलन गर्दै आएका छौं,’ उनले भने, ‘ठाउँ अभावमा केही जग्गा भाडामा लिएका छौं, वडा अध्यक्षले फोहर संकलन गरेको देखिसहेनन्।’

यहाँ फोहर संकलन नगर्ने हो भने यस क्षेत्र दुर्गन्धित बन्छ। तर, वडा कार्यालयले जग्गा प्लटिङको लागि वर्षौदेखि फोहर संकलन गर्दै आएको स्थानीयको निजी जग्गा खाली गर्न आदेश जारी गरेको छ।

वडा अध्यक्ष पराजुलीले फोहर फैलिएर दुर्गन्धित भएका कारण उक्त ठाउँलाई पुर्न निर्देशन दिएको बताए। ‘फोहरले प्रदूषित पारेपछि हामीले बन्द गर्न भनेका हौं,’ उनले भने, ‘त्यसको विकल्प वडा कार्यालयले खोज्छ।’

प्रकाशित: १३ वैशाख २०७६ ०५:२७ शुक्रबार

फोहर_संकलन काठमाडौं_महानगरपालिका–३२ फोहर_व्यवस्थापन