अन्य

चल्तीमा जिन्स पाइन्ट

सन् १८७३ मा जेकब डेभिस र लेभी स्ट्रउसले डेनिम जिन्सको सुरुवात गरेका थिए। बलियो अनि टिकाउ हुने भएकाले कारखानामा काम गर्ने मजदुरका लागि बनाइएको हो, डेनिम जिन्स। यही विशेषताका कारण अहिले विश्वभर फेसनको रूपमा निकै चल्तीमा रहेको छ, डेनिम जिन्स। अहिले विश्वभर नैजिन्सका अनेक फेसन, डिजाइन चलेको छ। कुनै समय मजदुरको पोसाक रहेको जिन्स अहिले हरेकको दैनिक पहिरन भएको छ। महिला होस् वा पुरुष, सहज अनि छरितो पोसाकको रूपमा जिन्स प्रयोग गरिन्छ।

नेपालमा अहिले जिन्सकोे बिग साइजफेसन निकै चल्तीमा छ। विशेष, सिक्टिन्थ, एट्टिन्थ, नाइन्टिन्थका फेसन अहिले रिसाइकल भएको फेसन डिजाइनर बताउँछन्। हाइवयस्र्ट, लो वयस्र्ट, फ्लोरल, प्यारालाल, बटम कट लगायत फेसनमा डेनिम जिन्स निकै ट्रेन्डमा चलेको देख्न सकिन्छ। जिन्समा फ्लोरल प्रिन्टेड, साइड प्रिन्टेड, ग्रञ्ज, डर्टि जिन्स निकै चलेको फेसन डिजाइनर रमिला नेमकुल बताउँछिन्। पाटनढोकास्थित रहेको कासा बुटिकमा मौसम ट्रेन्ड अनुसारका ड्रेस बनाइन्छ।

कासा बुटिकको सञ्चालनमा आएको दुई वर्ष भइसक्यो। फेसन डिजाइनर रमिला नेमकुल विभिन्न फेसन अनुसारका ड्रेसप्रति मानिसकोरुचि रहेको बताउँछिन्। ओभर साइज जिन्सका कलेक्सन ट्रेन्डिङमा रहेको उनले बताइन्।

९० दशकको फेसनको ट्रेन्डले नेपालमा हैकम जमाएको पाइन्छ। सेलिब्रेटीदेखि सर्वसाधारणले ९० दशकको फेसन पछ्याएको देखिन्छ। समय परिवर्तनसँगै नेपालीमा फेसनप्रति निकै सचेत भएको उनी बताउँछिन्। नेपालको फेसन दुनियामा जिन्स माथिल्लो स्तरको फेसनेबल ड्रेस हो। इटालीको जिनोवाबाट जिन्सको नाम राखिएको हो।

जिन्सको धेरै डिजाइन लगाउन रुचाउनेमा महिला–पुरुष बराबर रहेको व्यापारी रुपेश महर्जन बताउँछन्। न्युरोडस्थित योर च्वाइस कलेक्सनका सञ्चालक रुपेश जेन्स कलेक्सनको व्यापार गर्छन्। ‘चिसो मौसमभन्दा गर्मीमा धेरै फेसनेबल जिन्स आउने गर्छ,’ उनले भने। युवा विशेष जिन्स लगाउन रुचाउने उनी बताउँछन्। उनी भन्छन्, ‘चुजदेखि नर्मल अनी हार्ड जिन्स देखि सफ्ट जिन्ससम्म हामीकहाँ खोज्न आउँछन्।’

ग्रञ्जमा स्काई ब्लुु निकै चल्तीमा रहेको उनी बताउँछन्। गत वर्ष सफ्ट जिन्सको ट्रेन्ड निकै रहेको उनले बताए। यसपालीको सिजनमा ग्रञ्ज, नर्मल जिन्स चल्तीमा रहेको उनले बताए। ब्ल्याक कलरको जिन्सभन्दा ब्लु, लाइट ब्लु डेनिम जिन्स धेरै युवाको रोजाइमा परेको उनी अनुभव सुनाउँछन्। लिवाइज ब्ल्याक, डेनिम जिन्स, डर्टी पाइन्ट, सफ्ट चुज, लाइट ग्रञ्ज, ह्याब्बी ग्रञ्ज, नि कट सफ्ट जिन्स आदि निकै चल्तीमा रहेको उनले बताए।

अनुजा मालाकार डेनिम जिन्समा सजिएर हिँड्छिन्। हाइवयस्ट जिन्स क्रप्ट टिसर्ट उनलाई निकै सुहाएको थियो। अहिले ट्रेन्डीमा रहेको घुडादेखि खुट्टासम्म बटन भएको प्यारालाल डिजाइनको जिन्सको फेसन चलेको भएर लगाएको उनी बताउँछिन्। प्यारालाल जिन्समा आफूलाई कम्र्फटेबल महसुस हुने उनी बताउँछिन्। उनी भन्छिन्, ‘गर्मी मौसममा टाइट अनि चुज जिन्स लगाउन नै सक्दिनँ। खुला खालको डेनिम जिन्स लगाउँदा सजिलो र हलुका महसुस गर्छुु।’ हाइवयस्ट डिजाइनमा लगाएको प्यारालाल जिन्सले गर्मी मौसममा कुल अनि युनिक लुक्स दिने उनी अनुभव सुनाउँछिन्। ‘इन्ट्रामा विदेशी मोडलले घुडासम्म बटम भएको कट पाइन्ट लगाएपछि मैले पनि त्यस्तै पाइन्ट किनेर लगाएकी हुँ,’ उनले हाँस्दै भनिन्।

जिन्सको कपडा लगाउँदा अफ्ठ्यारो अनि गाह्रो हुन्छ भन्ने सोच गलत रहेको छ। जिन्सलाई कम्र्फटेबल महसुस गरी दैनिक जीवनमा प्रयोग गर्ने प्रयोगकर्ता बढेको पाइन्छ। साना उमेरका नानीदेखि पाकासम्मको रोजाइ हुन्छ जिन्स। जिन्स लगाउन रुचाउनेमा पर्छन्, किशोर केसी। जिन्स पाइन्टमा किशोरलाई ग्रञ्ज पाइन्ट लगाउन मन पर्छ। ‘सट र जिन्स मेरो मनपर्ने पोशाक हो, प्रायः म हरेक ठाउँमा यही लगाउँछु,’ उनले भने। विज्ञान पढ्दै गरेका उनी सामान्य जिन्स लगाउँछन्। ब्ल्याक जिन्सभन्दा ब्लु जिन्स लगाउन मन पराउने उनी जिन्सको फेसन कहिल्यै आउट नहुने बताउँछन्। उनी भन्छन्, ‘जिन्स पाइन्ट निकै बलियो हुन्छ, एक पटक किन्यो भने तीन–चार महिनालाई ढुक्क, फेसन पनि सधैं रहिरहन्छ।’

फेसन फलो गर्नेको रोजाइमा मात्र नभएर फेसनलाई त्यति वास्ता नगर्नेको समेत रोजाइमा रहेको पाइन्छ, जिन्स। महिलाका लागि फेसनेबल अन्य धेरै विकल्प भए पनि पुरुषको लागि भने जिन्स नै रहेको व्यापारी सञ्जु शर्मा बताउँछन्। उनी भन्छन्, ‘फेसन गर्नको लागि महिलालाई भनेर अनेक डिजाइन बजारमा उपलब्ध छन्, पुरुषको तुलनामा महिलाको लागि डिजाइन असीमित छ।’

फेसन अर्काे नआउँदासम्म त्यही डिजाइन लगाउनुपर्ने उनी बताउँछन्। जिन्समा खास फेसन, डिजाइन नहुने उनी बताउँछन्। ‘रंग र जिन्सको क्वालिटी फेरबदल हुन्छ। तर, डिजाइन त त्यही नै दोहोरीरहन्छ,’ उनले भने। अधिकांश युवालाई आफैले कस्तो जिन्स राम्रो, बजारमा कुन चलेको छ भनी सल्लाह दिनु पर्ने उनी अनुभव सुनाउँछन्।

विशालनगरस्थित रहेको इजी जिन्स टेलर विगत १४ वर्षदेखि सञ्चालनमा रहेको छ। पुराना जिन्सको कपडालाई बनाउने कामबाट सुरु गरिएको उक्त पसलमा अहिले इच्छा अनुसारको डिजाइनको पाइन्ट अर्डर अनुसार बनाउने गरिन्छ। विशेष गरी पुरानो ग्राहकसँगै ओभर साइजका महिला–पुरुष जिन्स पाइन्ट, ज्याकेट, सर्टको अर्डर दिन आउँने बताउँछन्, किशोर राज।

सुरुवातमा जिन्स सिलाउनेको संख्या धेरै रहेको उनी अनुभव सुनाउँछन्। उनी भन्छन्, ‘सिलाएको जिन्स लगाउने बानी भएकालाई सधैं सिलाएर नै लगाउनु पर्छ, नत्र आजकाल बजारमा जस्तो पनि जिन्स आएको छ।’

नीलो रंगको डेनिम र कालो रंगको जिन्स पाइन्ट सिलाउन आउनेहरू धेरै रहेको उनी बताउँछन्। बजारमा चलेको हरेक डिजाइनको जिन्स बनाउने किशोर भन्छन्, ‘महिलाको तुलनामा पुरुष धेरै आउने गर्छन्, बाहिर पसलमा पाइने पाइन्टको मूल्यको आधा मूल्यमा भनेजस्तै सामान बनाउँछौ।’ चाहे अनुसारको डिजाइन र क्वालिटीको जिन्स बनाउने उनी बताउँछन्।

पसलमा क्वालिटी नचिनेर जिन्स पाइन्टमा झुक्किएको अनुभब सुनाउँछन्, बानेश्वरका रोमहर्ष वली। इन्जिनियरिङ अध्यापन गराउँदै आएका उनी भन्छन्, ‘हेर्दा जिन्स सबै उस्तै लाग्छ, किनेर ल्याएपछि रंग जाने, भुवा उठ्ने, खुइलिने समस्या हुने भएर नै मैले जिन्स सिलाएर लगाउँछु।’

आफ्नो रोजाइको जिन्स बजारको मूल्यभन्दा पनि कममा पाइने भएकाले सिलाएर लगाउन उपयुक्त लागेको उनी बताउँछन्। बाटोमा बेच्न राखेको जिन्स पाइन्टको मूल्य र पसलमा त्यही जिन्सको मूल्यमा फरक पाएपछि अर्डर दिन सुरु गरेको उनी अनुभव सुनाउँछन्। अर्डर दिएर सिलाउन नेटबाट फोटो देखाउने उनी बताउँछन्।

 

प्रकाशित: ९ वैशाख २०७६ ०५:५० सोमबार

जिन्स डेनिम_जिन्स फेसन