अन्य

नेपाली हस्तकला चिनाउँदै सकियो ललित व्यापार मेला

ललितपुरमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेलाको लागि उचित ठाउँको बन्दोबस्त मिलाउनुपर्नेमा ध्यानाकर्षण गराउँदै ललित अन्तर्राष्ट्रिय व्यापार मेला आइतबार समापन गरिएको छ। ललितपुर उद्योग वाणिज्य संघले पुल्चोक, नटोलस्थित मदनस्मारकको प्रांगणमा मेला आयोजना गरेर संघ, प्रदेश र स्थानीय तहलाई सो विषयमा ध्यानाकर्षण गराएको हो।

यसअघि अधिकांश मेला, महोत्सव पाटन दरबारक्षेत्रस्थित भण्डारखाल बगैँचामा हुने गथ्र्याे। मेला सञ्चालन भएको स्थानले पनि यस पटकको मेलामा नयाँपन दिएको मेलाका अवलोकनकर्ताले प्रतिक्रिया दिएका छन्। मेलामा प्राप्त भएको प्रतिक्रियालाई विश्लेषण गर्दै संघका अध्यक्ष कृष्णलाल महर्जनले भने, ‘विद्यालय वरपर पर्याप्त खुला ठाउँ भएकाले यो ठाउँ पनि मेलाको लागि उचित त छ। तर, यसको सीमितता छ।

विद्यालय बन्द हुने समयमा बाहेक अन्य समयमा मेला गर्न नमिल्ने अवस्था छ।’ यस्तो अवस्थामा मेलाको लागि ठाउँकोे खाँचो रहेको विषयमा यस मेलाले सबैलाई ध्यानाकर्षण गराएको संघका अध्यक्ष कृष्णलाल महर्जनले बताए। यस किसिमका अधिकांश मेला राजधानीको भृकुटीमण्डप वरपर हुने गथ्र्याे। ललितपुर राजधानीसँगै जोडिएको जिल्ला भए पनि यस किसिमका मेला आयोजना गर्ने ठाउँ अभावले आर्थिक विकासमा प्रभाव पार्ने बताउ“दै अध्यक्ष महर्जनले भने, ‘ललितपुरको आर्थिक विकास र सामथ्र्यलाई बढाउन मेलाको महत्व रहन्छ।

मेलाको लागि एउटा ठाउँ बनाउनै पर्छ।’ चैत्र २७ गते बुधबार भएको मेलाको उद्घाटन समारोहमा पनि मेलाका संयोजक समेत रहनुभएका अध्यक्ष महर्जनले मेलाको लागि ठाउँ बनाउनुपर्ने विषयमा संघ, प्रदेशका सांसद् महानगरपालिकाका जनप्रतिनिधिसमक्ष सो ध्यानाकर्षण गराएको थियो। सोही समारोहमा ललितपुर क्षेत्र नं ३ का सांसद् पम्फा भुसालले मेलाको ठाउँको प्रबन्धका लागि आफ्नो तर्फबाट यथासक्य पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

मेलामा चीनमा उत्पादित दैनिक उपभोग्य, खेलकुदको सामग्री, भारत, पाकिस्तानका लत्ता कपडा, नेपाली हस्तकलाको सामानको उल्लेख्य बिक्री वितरण भएको बताइएको छ। तन्ना, लुगा, ब्लाकेट लगायतको कारोबार उत्साहजनक रहेको  व्यवसायी बाबुराजा ज्यापूले बताए। मेलामा अहिलेसम्म उल्लेख्य कारोबार भएको संघका संघका कार्यकारिणी सदस्य एवं प्रचारप्रसार संयोजक मिलन शाक्यले जानकारी दिए। मेलामा राखिएका १२ फिटका बुद्धमूर्ति, दुई मिटरको पद्मसम्भव,  करिब पाँच फिट सहस्रभुज लोकेश्वर सबैको आकर्षक विषय बन्यो। ललितपुरमै उत्पादित ती धातुका ती मूर्तिलाई हरेर धेरै त्यसमा कुँदिएको कलात्मक बुट्टाको प्रशंसा गरेका थिए। त्यसैगरी  मेलामा नेपाल आर्ट भिलेजको स्टलमा कलाकार राजकुमार महर्जनले मानव मूर्ति बनाएको जीवन्त प्रदर्शनी पनि धेरैका लागि रोचकका विषय बन्यो।

मेलामा करिब सय स्टल रहेका थिए। भारत, पाकिस्तान, बंगलादेश, चीन लगायत विभिन्न देशको उत्पादित लत्ताकपडा, दैनिक उपयोगी  र सज्जावटका गरी ३० स्टल थिए। त्यसैगरी नेपाली हस्तकलाका सामग्री, धातुकला लत्ताकपडा, पस्मिना, लगायत ७० स्टल राखिएको थियो।

प्रकाशित: २ वैशाख २०७६ ०६:०२ सोमबार

ललित_व्यापार_मेला हस्तकला