अन्य

महत्त्वाकांक्षाको उडान

सन्तान रहरले जन्माउनु पर्छ, बाध्यतामा होइन। सायद यस्तै केही थाहा थियो, शृंखलाका बुबा विरोध खतिवडालाई। जसै घरमा दोस्रो सन्तानका रुपमा शृंखला जन्मिइन्, विरोधले चिच्याउँदै एक जना साथीलाई सुनाएका थिए, ‘सुनिस्, मेरी छोरी जन्मिई!’

विरोधको त्यो उत्साह र छोरी शृंखलाको यो उँचो उडानको तादात्म्य त्यसै भएको छैन। त्यहाँ एउटा हुर्काइ र लालनपालनको लामो शृंखला छ। त्यहाँ सन्तानलाई सानैदेखि आत्मनिर्भर बनाउने र सपना देख्ने छूट छ। र, त्यहाँ सन्तानको सपनालाई अलपत्र पार्ने मात्र होइन, स–साना सहयोगबाट ‘डट–कनेक्ट’ गर्न सिकाउने प्यारेन्टिङ कौशल पनि छ।

शृंखलालाई भेटेपछि हरकोहीलाई त्यस्तै लाग्छ।

त्यसैले त उनले मिस नेपालको टाइटल जितेपछि उनले कतै भनेकी छन्, ‘मिस नेपाल जित्नु ठीकै हो, राम्रै हो तर म यत्तिमै सन्तुष्ट हुने युवती होइन। म ठूलो सपना देख्ने युवती हुँ। ठूलो सपना भन्नाले नेल्सन मण्डेला या अनुराधा कोइरालाजस्तो बन्ने सपना। र, सपना देख्नु कुनै अपराध होइन तर यसलाई पूरा गर्न कसर छाड्नु भने अपराध हुन सक्छ।’

आखिर कस्तो प्यारेन्टिङले वा कस्तो जीवनको घुम्ती र अप्ठेराले कुनै युवतीलाई यत्तिको महत्त्वाकांक्षी र उपलब्धिका लागि लड्ने बनाउँछ त? यो पंक्तिकारसँग कुरा गर्दै शृंखलाले भनिन्, ‘जुझारुपनाले किनभने हाम्रो परिवारमा सन्तानका लागि एटूजेड गरिदिने व्यवस्था थिएन। सबै काम आफैँले गर्नुपथ्र्यो। मेरो बुबा–आमा दुवै जना राजनीति गर्नुहुन्छ। यस्तो बेलामा उहाँहरुसँग समय हुँदैन। हामीले सबै कुरा आफैँ सिक्ने, गर्ने अनि अप्ठेरो परेको बेला सहयोग माग्ने सिकाउनु भयो। यसले आफ्नो जिम्मेवारी आफैँ लिने बानीको विकास भयो र भनाइ नै छ, जिम्मेवारीले शक्ति बढाउँछ। मैले त्यो शक्ति सानै उमेरदेखि महसुस गरेँ।’

सपना
शृंखलाको परिवारमा कहिल्यै ठूलो स्वरले छोराछोरीलाई गाली गरिएन। राम्रो कुरामा सधैँ उत्साह दिइयो। एउटा अन्तरवार्तामा शृंखलाकी आमा मुनुले भनेकी छन्, ‘नेगेटिभ प्यारेटिङलाई हामीले कहिल्यै प्रोत्साहन गरेनौँ। सबै कुरा सेयर गर्ने वातावरण बनायौँ। स्कुलमा हरेक दिन भएका कुराकानी सेयर गर्ने बानीले केटाकेटीको जीवन कता जाँदैछ भन्ने थाहा हुन्छ र तिनलाई सही बाटोमा लैजान मद्दत पुग्छ।’

जुन दिन शृंखलाले घरमा आफू मिस नेपालमा भाग लिनेबारे आमा मुनुलाई सुनाइन्, सुरुमा त मुनुलाई यो उचित बाटो होइन कि जस्तो लाग्यो। ‘शृंखलाले नै मलाई यसको महत्त्व बुझाइन्,’ ती दिन सम्झँदै एउटा भिडियो अन्तरर्वार्तामा मुनुले भनेकी छन्, ‘छोरीले नै मिस नेपाल ठूलो कुरा होइन, म त मिस वल्र्ड मा पुग्न चाहन्छु र त्यसका लागि यस्तो यस्तो तयारी गर्नुपर्छ र गर्छु भनेर कन्भिन्स गरेपछि म सहमत भएँ।’

मुनु त सहमत भइन्, बुबा विरोधको स्वीकृति पनि उत्तिकै आवश्यक थियो। यसका लागि पनि दुवै जना मिलेर सहमत गराए। त्यसो त मिस नेपालमा भाग लिनुअघि कार्यक्रमको महत्व, हुने फाइदा र अनेकन कुराको जानकारी अभिभावकले लिएर मात्रै स्वीकृति दिएका थिए।

जब कतै शृंखलाले शिरमा क्राउन लगाइएको तस्बिर वा भिडियो देख्थिन्, कुनै दिन मेरो शिरमा पनि यस्तै क्राउन लाउँदा कस्ती देखिन्छु होला भन्ने उनी सोच्थिन्। एउटा स्त्रैण गुण पनि हो, राम्रोमा झट्ट आँखा गइहाल्छ। त्यस्तै लगाउँँ लागिहाल्छ। बालापनमा पनि उनलाई राम्रो लुगा लगाउने शोख थियो। यस्तो शोख पूरा गरिदिन उनकी आमा मुनु पनि कम थिइनन्। सानैदेखि आकर्षक लुगा किनिदिने, सफा बनाएर हिँडाउने एउटा बानी नै लगाइदिइन्। यसले पनि शृंखलामा एक किसिमको आत्मविश्वास बढाउन भूमिका खेल्यो। आफूलाई कसरी अलग रुपमा देखाउने भन्ने उनको चाहना कसरी पनि देखिन्छ भने, एक दिन जापानबाट उनका बाबा विरोधले जापानी राष्ट्रिय पोशाक किमोनो ल्याइदिएका थिए। त्यो पोशाक विभिन्न विवाह समारोहमा लगाएर गइन्। आफूलाई फरक बान्की र पोशाकमा भिडभन्दा कसरी अलग देखाउन सकिन्छ भन्ने चेत किशोरवयमै पलाएको थियो।

उनलाई थाहा थियो, सुन्दरता भन्ने कुरा जन्मजात पाइने कुरा हो। यसमा कुनै मिहिनेत गर्नु पर्दैन। यो बाबुआमाको जिनको करामत हो। त्यसैले मानिसको सौन्दर्यले मात्र मानिसलाई पूर्ण बनाउँदैन। मानिसलाई करुणा, नैतिक मूल्य र मान्यता, बौद्धिकताजस्ता कुराले मात्र पूर्ण बनाउँछ र त्यो हासिल गर्न मिहिनेत नै गर्नुपर्छ, सित्तैमा आउँदैन। यी सबै आफ्नो जीवनमा छ कि छैन उनलाई थाहा छैन तर तिनै कुरा सिक्न र अँगाल्न उनी हरदम मिहिनेत गरिरहेको बताउँछिन्।

उनी अध्ययनका हिसाबले आर्किटेक्ट हुन्। इन्जिनियरिङ पढेकी एउटी युवती आखिर किन सौन्दर्य प्रतियोगितामा आइन् भन्ने तपाईंको जिज्ञासा यतिबेला शान्त भएको हुनुपर्छ किनभने सानैमा उनलाई क्राउनप्रतिको आशक्ति थियो। मैले उनलाई सोधेँ, ‘क्राउन मात्रै जित्नु थियो भने त यसैका लागि मिहिनेत गरेको भए भइहाल्थ्यो नि, होइन र?’

जवाफमा उनले हाँस्दै भनिन्, ‘मिस नेपाल त म एक वर्ष मात्र हुन्छु तर जिन्दगी त्योभन्दा धेरैधेरै लामो हुन्छ। त्यति लामो जीवनमा तपाईंले मिस नेपालको ब्याज मात्र खाएर बस्न सुहाउँदैन। त्यसका लागि एउटा सक्षम नागरिक बन्नुपर्छ। मेरो पढाइ, त्यही सक्षमताका लागि हो।’

यसपछि उनी केहीबेर मौन भइन्। मौन हुनुको कारण थियो किनभने जसरी म उनीसित बात मारिरहेको थिएँ, एउटा मौकाको कुरा थियो। मौका यस अर्थमा कि उनी ‘नागरिक परिवार’को कभर फोटो सूटका लागि आएकी थिइन्। उनको अति व्यस्तताले मसँग कुरा गर्ने बेग्लै समय ननिस्किएला भन्ने लागिरहेको थियो। यता मेकअप म्यानले उनको अनुहारमा ‘टच’ गर्दै थिए भने यता मेरा जिज्ञासा पनि उनले शान्त पारिरहेकी थिइन्।

केही क्षणको मौनतापछि उनले थपिन्, ‘हामीकहाँ मिस नेपाल हुनका लागि धेरै पढ्न नपर्ने किसिमको एउटा सोच छ। राम्रो करियर भएको मानिस डाक्टर, इन्जिनियर वा अरु नै कोही पनि मिस नेपाल हुनुपर्छ भन्ने मान्यता मेरो थियो।’ फेरि मिस नेपालमा भाग लिने उनी मात्र एक्ली आर्किटेक्ट इन्जिनियर पनि त होइनन्! यसअघि नै केहीले भाग लिएकै हुन् तर यो पदवि हात पारेपछि भने पहिलो भने बनिन्।

लक्ष्य
मिस नेपालमा भाग लिउञ्जेल उनको लक्ष्य भनेको मिस नेपालको ताज पहिरिनु थियो। जुन दिन उनले ताज हात पारिन्, त्यसपछि सारा उपलब्धि उनका लागि सामान्य बन्न पुगे। ‘मिस नेपाल जित्छु भन्ने महत्वाकांक्षा र आत्मविश्वास दुवै थियो,’ उनले भनिन्, ‘तर जब यो जितेँ, केही दिनपछि सारा कुरा सामान्य हुन थाले। पहिले जब अन्तरवार्ताका लागि भिड लाग्थ्यो, सबैले माया दिन्थे ती सबै देख्दा म सपनामा त छैन भन्ने लाग्थ्यो।’

यसपछि उनको आँखा मिस वल्र्डमा पुग्यो। उनले कयौँ अवसरमा मिस वल्र्ड नै जित्ने लक्ष्य राखेर अघि बढेको बताउने गरेकी थिइन् तर ब्युटी विद पर्पोज र मल्टिमिडिया अवार्ड भने जितेरै आइन्।

यो कुराकानी गर्दा मिस वल्र्डमा सहभागी भएर उनी फर्किसकेकी थिइन्। यत्तिका अवधिमा उनले जति सम्मान र माया पाइन्, त्यसले उनलाई चकित मात्र पारेन, जीवनमा अझ धेरै गरेर देखाउनुपर्ने जिम्मेवारी बढाएको महसुस गराइरहन्छ।
‘गाउँघरतिर गयो, यो त मेरी छोरीजस्तै भनेर मुसार्नु हुन्छ, माया गर्नुहुन्छ,’ शृंखलाले भनिन्, ‘उहाँहरुको त्यो सामीप्य, त्यो माया र केही गर्छे भन्ने भावना देख्दा भने खरो उत्रन अझ धेरै प्रेरणा पाउँछु।’

मिस वल्र्डमा जाँदा त्यहाँका प्रतियोगीले नेपालका बारेमा पहिलो पटक सुन्दै थिए। उनीसँगको सङ्गतपछि कस्तो प्रतिक्रिया दिए त नेपालबारे? ‘प्रतियोगीहरुमध्ये निकै कमलाई नेपालबारे थाहा रहेछ,’ उनले जवाफमा भनिन्, ‘उनीहरुले चाहिँ नेपाल ठूलो जनसंख्या भएको, धनी देश होला भन्ने कल्पना गरेका रहेछन् किनभने सबैभन्दा बढी भोटिङ पाउने म नै थिएँ। यस हिसाबले कुनाकुनामा इन्टरनेट पुगेको देश रहेछ भन्ने लाग्यो। मैले त्यहाँ नराम्रो कुरा देखाउनु थिएन तर भारत र चीनको बीचमा रहेको देश भन्दा उनीहरुलाई अचम्म लागेको थियो।’

‘अहिले कम्तीमा उनीहरुलाई पर्यटनको सम्भावना भएको एउटा सुन्दर देशको रुपमा चिनेको पाउँदा मलाई बडो खुसी लाग्छ,’ उनले भनिन्।

आत्मविश्वास
शृंखलाको सबैभन्दा ठूलो पुँजी आत्मविश्वास हो। यसैले उनलाई मिस वल्र्ड प्रतियोगितामा दुई वटा टाइटल जितायो पनि। यही आत्मविश्वास उनले अन्यत्र पनि लागू गर्ने बताउँछिन्। ‘मिस नेपालको तालिम अवधिमा मैले जे जति सिकेँ, त्यसले धेरै फरक पा-यो,’ उनले भनिन्, ‘मानिसको सबैभन्दा ठूलो पुँजी यही रहेछ भन्ने लाग्यो।’

अच्छा, लक्ष्यको कुरा गर्दैगर्दा उनको प्रधानमन्त्री हुने लक्ष्यको कुरा पनि उठ्यो। नेपालको पहिलो महिला प्रधानमन्त्री हुने उनको लक्ष्यका बारेमा उनलाई सम्झाउँदा उनी मुसुक्क हाँसिन्। ‘खासमा भन्ने हो भने जीवनमा के ठूलो उद्देश्य राख्ने भन्दा मान्छेको दिमागमा यही प्रधानमन्त्री भन्ने पद आउँदोरहेछ,’ उनले भनिन्, ‘बुबा–आमा राजनीतिमा हुनुहुन्छ। मेरो सबकन्सस माइन्डमा राजनीति गरुँ भन्ने पनि बसेको होला। त्यसैले फ्याट्ट म भविष्यमा के बन्छु भन्दा त्यही बनूँ न भन्ने लागेको होला। जब म आज सबैले माया गर्ने व्यक्ति भएँ, त्यसपछि केहीगर्नका लागि प्रधानमन्त्री नै हुनुपर्छ भन्ने लाग्दैन। राम्रो काम गर्न, राम्रो उद्देश्य हुनुपर्छ र इमान्दार प्रयास भयो भने तपाईंले गर्न नसक्ने कुरा केही छैन रहेछ भन्ने भर्खरै बुझ्दैछु। हुन त सबैभन्दा शक्तिशाली कार्यकारी प्रधानमन्त्री हुने हुनाले नेपालको अधिकांश समस्या सम्बोधन गर्न सकिन्छ कि भन्ने लाग्दोरहेछ।’

उसो भए उनले समस्या के–के देखिरहेकी छन् नेपालको? जवाफमा उनले एउटा भिडियोमा भनेकी छन्, ‘कर्मचारीतन्त्रको भ्रष्टाचार। यो सच्चिनेबित्तिकै न्यायपालिका र कार्यपालिकाका गलत क्रियाकलाप सच्याउन सकिन्छ। यसपछि सिस्टम राम्रोसँग चल्छ। यसले विकासको गति बढ्छ र विकासको स्तर पनि राम्रो हुन्छ।’ जुन प्रश्नले उनलाई मिस नेपाल बनाएको थियो, त्यसमा उनले प्रष्टीकरण दिँदै थपिन्, ‘नेपालमा युवाशक्तिको कुरा त हुन्छ तर त्यसलाई सशक्तीकरणका काम इमान्दारीपूर्वक भएका छन् भन्ने मलाई लाग्दैन। त्यो हुन जरुरी छ अनि मात्र नेपाली युवाले काम खोज्दै विदेश धाइरहनु पर्दैन। सशक्त युवाले देशभित्रै केही बाटो खोज्छ। यस्तोमा युवा ‘जब सिकर्स’ हुँदैन, ऊ ‘जब क्रिएटर्स’ बन्न पुग्छ।’

विवाद
मिस वल्र्डमा भाग लिएर जब शृंखला फर्किइन्, त्यसलगत्तै उनले चेपाङ समुदायका लागि केही सहयोग बाँड्न त्यहाँ पुगिन्। जाडो मौसम थियो। क्रिसमस नजिक आउँदैथ्यो। केहीले जाडोका सामग्री भेला पारिसकेका थिए। केहीले रमाइलो वातावरण बनाउँदै थिए। यस्तोमा व्यस्तताको केही समय चोरेर उनी चेपाङबस्तीमा समाजसेवाका लागि पुगेकी थिइन्।

यस्तोमा कसैले चेपाङ युवायुवतीको टाउकोमा क्रिसमस टोपी लगाइदिएको भनेर आलोचना भयो। खासमा उनले बालबालिकाको खुसी देखेर फेसबुकमा पोस्ट गरेकी थिइन्। केही क्षणमै उनको आलोचना हुन थाल्यो। मिस नेपालले क्रिस्चियन धर्म प्रचार गरिन् भन्ने आरोप पनि लाग्यो। शृंखला भन्छिन्, ‘एक त त्यो क्षेत्र क्रिस्चियन चेपाङहरुको बस्ती रहेछ। त्यहाँ सामग्री साथीभाइले ल्याएर बाँडेका बेला कसैले टोपी लगाइदियो। उनीहरुको खुसी देखेर मैले फोटो खिचेँ र खुसी बाँडेकी हुँ। अब यसलाई कसैले गलत अर्थ दिन्छ भने त के भन्न सकिन्छ र? तर आरोप लागेजस्तो म धर्म परिवर्तनका लागि गएकी थिइनँ। समाजसेवाका लागि नै गएकी थिएँ।’

उनी यस किसिमको विवादलाई पनि सकारात्मक रुपमा नै लिन्छिन्। ‘यो घटनाले मलाई साना कुरामा पनि सर्वसाधारणको कति ठूलो चासो हुँदोरहेछ भन्ने मलाई सिकायो,’ उनले भनिन्, ‘भविष्यमा यस्ता विवादबाट बच्नका लागि सचेत पनि गरायो।’

एक दिन उनले फेसबुकमा ‘अब त मोटाउन थालेँ, खाने कुरामा सचेत हुनुप-यो’ भनेर लेखिन् तर उनलाई आलोचना गर्नेहरुले यसमा पनि छाडेनन्। भने, ‘तिमीले के भन्न खोजेको? मोटो मान्छे नराम्रो हुन्छ? उनीहरु खाने कुरामा सचेत हुँदैनन्? मोटो हुनु भनेको खराब कुरा हो र?’

फेरि अर्को दिन यस्तो भयो । उनी मिस वल्र्डमा भोटिङ हेरिरहेकी थिइन् । जताततै उनलाई जिताउने अभियान चलिरहेको थियो। कसैले टिप्पणी ग-यो, ‘देशमा मिस नेपाललाई भोटिङ गर्नुभन्दा पनि निर्मला पन्तको जस्तो गम्भीर मुद्दा देशमा छ। त्यतातिर पनि ध्यान पथ्र्यो तर देश पूरै शृंखलालाई जिताउन लागिपरेको छ र अर्को महत्वपूर्ण मुद्दा अलपत्र परेको छ।’

शृंखला भन्छिन्, ‘वास्तवमा जसले यस्तो कुरा उठाउनुहुन्छ, उहाँहरु एकदमै सही हुनुहुन्छ। यो देशमा शृंखलाभन्दा महत्वपूर्ण मुद्दा अरु पनि छन्। त्यो बेला त निर्मला पन्तजस्तो गम्भीर मुद्दा थियो। मैले भन्दा उनले बढी चासो र मत पाउनु पर्ने हो। यस्तो भावना म पनि बुझ्छु तर मलाई नै विवादमा मुछ्ने तरिका भने मन परेन। निर्मला पन्तको मुद्दाको आफ्नो महत्व छ तर मिस वल्र्डमा शृंखलाले देशलाई नै प्रतिनिधित्व गर्ने कुराको अर्को महत्व छ। यी दुवै कुरालाई एकै ठाउँमा मिसाउनु हुँदैन। मिसाउनु भनेको हाँसोउठ्दो कुरा हो।’

‘लोकप्रिय हुनु भनेको पनि गाह्रै कुरा रहेछ !’ उनले कुराकानीको बिट् मार्दै भनिन्, ‘आफ्नै बारेमा कमेन्ट गर्दा पनि सचेत हुनुपर्ने रहेछ! यस्तो अवस्थामा त कतिपय कुरा पचाउनै पर्ने जस्तो लाग्यो मलाई।’
आखिर उनले रोजेको पनि त यही हो! यो महत्वाकांक्षाको उडान सुरु गर्ने उनी नै त थिइन्!

प्रकाशित: २८ चैत्र २०७५ ०६:३१ बिहीबार

शृंखला_खतिवडा मिसनेपाल मिस_वल्र्ड विरोध_खतिवडा नागरिक परिवार