अन्य

मिस नेपालको अन्तर्य

निरन्तरको अनुभव र संघर्षले मिस नेपाललाई एउटा सशक्त नारी उत्पादन गर्ने संस्था बनाएको छ । यो कसरी जन्मियो र २५ वर्षे यात्रामा कहाँ आइपुग्यो?

२५ वर्षअघि मिस नेपाल जस्तो केही प्रतिस्पर्धात्मक कार्यक्रम गर्नुप-यो, साथ र सहयोग चाहियो भन्दा धेरै साथीहरुले गोपाल कक्षपतिलाई बौलायौ कि क्या हो भने। त्यो बेला नेपालमा यस्तो कार्यक्रमका बारेमा सोच्न पनि सकिँदैनथ्यो किनभने त्यस्तो परम्परा थिएन पनि।

गोपाललाई चुनौती मन पर्छ। अबको उनको चुनौती थियो, यो प्रतियोगितालाई मूर्त रुप दिने। उनलाई कार्यक्रम गर्न त मन लाग्यो तर सौन्दर्य प्रतियोगिता कसरी गरिन्छ भन्ने उनलाई भुत्लोभाङ केही थाहा थिएन। मात्र यस्तो कार्यक्रम गरौँ भन्ने हुटहुटी थियो उनमा। त्यसबाहेक आवश्यक कुनै जानकारी र योग्यता उनी र उनका साथी कसैमा पनि थिएन। आफूमा योग्यता छैन भने बनाउनुपर्छ भन्ने उनलाई लाग्यो। त्यसपछि गोपाल आफ्नो योग्यता बनाउन मुम्बई हान्निए, एक साथीका साथ। त्यहाँ टाइम्स अफ इन्डिया पत्रिकाका सञ्चालकले मिस इन्डिया कार्यक्रम आयोजना गथ्र्यो, अहिले पनि गर्छ र मुख्य आयोजक फेमिना म्यागेजिन छ। त्यहाँ गएपछि गोपालले आफूहरु नेपालबाट आएको र यस्तै कार्यक्रम काठमाडौँमा गर्नुप-यो, कसरी गर्ने भनी जिज्ञासा राखे। त्यो बेला मिस इन्डिया हुन लागेको समय थियो। उनीहरुलाई कार्यक्रम हेर्ने निम्ता मात्र होइन, भित्री तयारी पनि हेर्ने सुविधा उपलब्ध गराइयो।

‘भोलिका दिनमा मेरा मान्छेहरु आवश्यक पर्छन् भने पनि म ८/१० जना पठाइदिन सक्छु,’ कार्यक्रम आयोजक एक जना महिलाले हौसला नै दिइन्।

भारतीयहरु यस्तो कार्यक्रम गर्नका लागि सहयोग गर्न तयार भएको देखेर उनलाई अचम्म लाग्यो। यसपछि त उनको हौसला ह्वात्तै बढेर आयो। भोलिका दिनमा मिस नेपालले जितेर मिस एसिया प्यासिफिकमा जाने हो, त्यसैले तिनीहरुसँग पनि किन सहकार्य नगर्ने? यसपछि उनले फिलिपिन्सको मनिलास्थित कार्यालयसँग पत्राचार गरे। ‘मिस वल्र्ड त त्यो बेला हाम्रो दिमागमा नै थिएन,’ गोपालले सम्झँदै भने, ‘किनभने हामीले आफूलाई साह्रै सानो सोच्थ्यौँ। त्यसैले संसारको सोच्न सक्तैनथ्यौँ।’

मिस एसिया प्यासिफिकसँग सहयोग लिने कुरा सोच्दासोच्दै उनलाई अचानक एक बिहान लाग्यो, जेजस्तै कार्यक्रम होस्, आफैँ गर्नुपर्छ। अरुको नैतिक समर्थन त चाहिन्छ तर आफैँले प्रयास गरेर कार्यसिद्धि गर्नुको पनि त उत्तिकै मज्जा छ!’

यसपछि उनले तत्काल बैठक बोलाए र साथीहरुलाई सुनाएँ, ‘हामी अब इन्डियाबाट पनि कुनै सहयोगी बोलाउने छैनौँ न त फिलिपिन्सबाट! हामीले यो कार्यक्रम आफ्नै बुताबाट गरौँ। अरुको सहयोग बिना पनि काम गर्न सक्छौँ भनेर देखाउन जरुरी छ।’

यो कुरा सुनेपछि त साथीहरु ट्वाँ परेर हेर्न थाले। कसैले त मुखेञ्जी नै भने, ‘तिम्रो दिमाग त ठीक छ? इन्डिया र फिलिपिन्सबाट सबै जना आउन रेडी भइसकेका छन्। हामी आफैँ पनि यस्तो कार्यक्रम गर्न अनुभवी छैनौँ। यस्तो बेलामा कसरी एक्लैले गर्न सक्छौँ?’

गोपालले जोड दिए– सफल भए पनि नभए पनि एक पटक प्रयास त गरिहेरौँ ! यसपछि कार्यक्रम कसरी बनाइँदोरहेछ भनेर २५÷३० वटा मिस वल्र्डका भिडियो क्यासेट उनीहरुले दिनरात हेरे । भिडियो लाइब्रेरी जसले चलाउँथे, त्यहाँबाट भाडामा ल्याएर हेरेपछि गोपाललाई लाग्यो– हामी पनि यस्तै मोडलमा कार्यक्रम गर्न सक्छौँ।

भिडियो हेर्दै गर्दा यी सब गर्न एक जना कोरियाग्राफर चाहिने रहेछ भन्ने दिमागमा लागेपछि गोपालको दिमागमा झट्ट रचना गुरुङ आइन्। त्यो बेला रचना भर्खरै हङकङबाट नेपाल आएकी थिइन्। त्यो बेला दरबारमार्गमा निकै चलेको नाङ्लो रेस्टुराँको मोडलिङका लागि कुराकानी पनि भएको थियो। मिस नेपालमा कोरियाग्राफी गराउन उनैलाई जिम्मा दिनुप-यो भनेर उनले सोच्न त सोचे तर रचनालाई फेला पार्न एक महिनाभन्दा बढी समय लाग्यो।

त्यो बेला अहिलेको जस्तो मोबाइल थिएन, न त गुगल। ल्यान्डलाइन फोन त दुर्लभ हुने बेलामा उनलाई फेला पार्ने कुरा बडो सकसपूर्ण थियो। जब रचना गुरुङ भेटिइन्, उनलाई गोपालले मिस नेपालको आइडिया सुनाए। यो सुनेपछि त उनी बडो खुसी भइन्। रचनालाई उनले जिम्मेवारी दिँदै भने, ‘मिस वल्र्डजस्ता कार्यक्रम कसरी हुन्छन्, सोधीखोजी गर, राम्रो कार्यक्रम गर्नुपर्ने चुनौती छ। अब मिलेर केही गरौँ।’

कोरियोग्राफीको जिम्मा रचनालाई दिए पनि अर्को महŒवपूर्ण काम बाँकी नै थियो। मिस नेपालमा भाग लिने हरेक प्रतियोगीका कपडाहरुको डिजाइन कसले गर्ने त? त्यो बेला दरबारमार्गमा सिर्जना मल्ल (राणा)को एउटा बुटिक थियो, इमेज बुटिक। सिर्जनालाई गएर गोपालले भने, ‘मिस नेपाल गर्न लागेको, ड्रेस डिजाइनरको भूमिका तिमी लिइदेऊ।’

सिर्जनालाई पनि गज्जब लाग्यो। संसारभरिका सौन्दर्य प्रतियोगिता त उनलाई थाहा थियो तर मिस नेपाल किन हुँदैन वा हुन सकिरहेको छैन भन्ने उनलाई लागिरहेका बेला यस्तो कार्यक्रममा सहभागी नै हुने निम्ता गोपालले दिइरहेका थिए।

क्रमशः एक दुई तीन गर्दै मानिसहरु काठमाडौँ जेसिसले आयोजना गर्ने ‘मिस नेपाल’का लागि जोडिदै गए। यसरी नेपालको एउटा सफलतम वार्षिक कार्यक्रमको आधारशीला तयार भयो।

किन मिस नेपाल?
काठमाडौँ जेसिसमा जोडिएदेखि नै गोपाल कक्षपतिलाई लाग्थ्यो, जेसिसले आयोजना गर्ने कयौँ लिडरसीप र बिजनेससम्बन्धी कार्यक्रममा महिला सहभागिता साह्रै न्यून हुन्छ। आखिर किन यस्तो भएको होला? तालिममा उनीहरुलाई किन चासो नभएको? यस्तो तालिममा ग्ल्यामर जोड्दा पो उपस्थिति बढ्छ कि?

खासमा जेसिसमा महिला सहभागिता जोड्ने उद्देश्यले मिस नेपालको आयोजना गरिएको थियो। नभन्दै सुरुवाती चरणमा तालिममा भाग लिनेभन्दा बढी युवतीहरु मिस नेपालमा सहभागी भए। उनीहरुलाई एउटा सक्षम महिला व्यवसायी बन्नका लागि आवश्यक आधारभूत सम्पूर्ण जानकारी, तालिम र आत्मविश्वास दिलाउने उनको सपना थियो। मिस नेपाल त्यसैतर्फ उन्मुख छ। यो युवतीहरुलाई तालिम दिलाउने एउटा राम्रो प्लेटफर्म बन्न पुगोस् भन्ने उनको इच्छा अहिलेलाई पूरा भएको छ।

‘अहिले पनि मिस नेपाल हे-यो भने ६० प्रतिशत क्षमता अभिवृद्धि र ४० प्रतिशत मात्र ग्ल्यामर छ,’ गोपाल भन्छन्, ‘अन्य ब्युटी प्याजेन्टमा भने ठीक उल्टो हुन्छ वा क्षमता अभिवृद्धिमाथि निकै कम नजर हुन्छ।’

पहिलो पटक २०५० सालमा मिस नेपाल आयोजना हुने हल्ला चर्किदै जाँदा गोपाल कक्षपतिमाथि यो कार्यक्रम नगर्न/नगराउन दबाब बढ्दै जान थाल्यो। त्यो बेला नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको द्वारबाहिर कार्यक्रम हुनुभन्दा केही दिनअघिदेखि नै यसविरुद्ध टेन्ट नै गाडेर विरोध प्रदर्शन भइरहेको थियो।

यहाँ नेपाललाई सौन्दर्यको विश्व मापदण्डमा पु-याउने सपना पूरा हुने कि नहुने भन्ने द्वन्द्व थियो। यहाँ १७ जना युवतीको मिस नेपाल हुने आकांक्षा पनि थियो । यहाँ विरोधी स्वरसँगको चर्को विमति पनि थियो।

यस्तो अवस्थामा कार्यक्रम हुने अघिल्लो दिन अन्तिम पटक ग्रान्ड रिहर्सल आयोजना भयो। यो रिहर्सलमा न त युवतीहरुको चालढाल मिल्छ, न त अन्य कुराको कोअर्डिनेसन मिल्छ। एक छिन त गोपाललाई लाग्यो– यो कार्यक्रम उनको महत्वाकांक्षाको सबैभन्दा ठूलो दुःस्वप्न होला जस्तो छ।

ठीक यतिबेला रचना गुरुङको आत्मविश्वासले काम ग-यो। उनले भनिन्, ‘अहिले यहाँ जति पनि कमजोरी भएको छ, त्यो भोलि सबैले सुधार गर्नुपर्छ नत्र ठूलो बेइज्जती हुन्छ।’ उनले रातभर मिहिनेत गरिन्, भोलिपल्ट पनि उत्तिकै खटिन्।

कुरा यत्तिमै सीमित थिएन। टेलिभिजनमा देखिने कुराको तयारीबाहेक अन्य नदेखिने कुराका तयारी पनि अझै अधुरा नै थिए। गोपल ती क्षण सम्झँदै भन्छन्, ‘लाइभ जानु केही मिनेटअघिसम्म मञ्चमा पेन्टिङ गर्ने काम पनि सकिएको थिएन। यता कार्यक्रम हुने एक सेकेन्डअघिसम्म पनि हामी भरिसक्य सबै कुरा सुधार्ने प्रयत्नमा लागिपरिरहेका थियौँ।’

अन्ततः निश्चित समयमै कार्यक्रम सुरु भयो। कयौँ कमजोरीका बाबजुद मिस नेपाल कार्यक्रम नेपाल टेलिभिजनमा पनि प्रत्यक्ष प्रसारण भयो। रुवि राणा प्रथम मिस नेपाल भइन् र एसिया प्यासिफिकको प्रतियोगीका रुपमा छनोट पनि भइन्।

कार्यक्रम सकिएर जसै उनी बेल्का अबेर घर फर्किए, उनमा एक किसिमको सन्तुष्टि थियो– कम्तीमा नेपालको भागमा एउटा वृहद् स्तरको मिस नेपाल आयोजना त गरियो! कमजोरी नभएका होइनन्, कम्तीमा अर्को वर्ष तिनलाई सुधार्न त सकिन्छ!

भित्र उता मिस नेपाल आयोजन हुँदै गर्दा बाहिर प्रहरीले विरोधकर्ताहरुमाथि लाठी चार्ज गरिरहेको थियो। कयौँको टाउको फुट्यो, कयौँ लछारपछार पारिए। कतिपयलाई प्रहरीले चौकीसम्म लग्यो।

विरोधको स्वर
गोपालले मिस नेपाल सम्पन्न गर्छु भन्ने सन् १९९३ बाट देखेको सपना एक वर्षभित्र पूरा भयो। यसै बीच उनले ठूलो विरोध पनि खप्नु प-यो। युवतीहरुलाई नंग्याएको आरोप पनि उनीमाथि लाग्यो। र, यस्तो आरोप उनले २०६५ सालसम्म झेलिरहे। कतिसम्म भने कम्युनिस्टहरुको नजरमा भयङ्कर भिलेनसम्म बने। कतिले त कलिला युवतीको शोषणसमेत गरेको आरोप लगाए।

माओवादी आन्दोलन उत्कर्षका बेलामा त मिस नेपाल आयोजकका रुपमा हिडन ट्रेजरको कार्यालयमै ताला लगाइयो। उनलाई त २०६२ सालताका यो कार्यक्रम आयोजना ग-यौ भने हत्यासमेत गरिदिन्छु भनेर धम्की दिइयो। भौतिक आक्रमणसम्मको आतंक मच्चाइए पनि गोपाल र उनको टोली डगेन।

हरेक वर्ष कार्यक्रम हुनुभन्दा एक हप्ताअघिबाट कम्युनिस्टहरुले विरोध गर्थे। उनीहरुलाई हरेक वर्ष कार्यक्रम सकिएपछि बसेर यसका कमीकमजोरीबारे छलफल गरौँ भन्दा सुन्दा पनि सुन्दैनथे। जब कार्यक्रम सुरु हुन लाग्यो अनि मात्र उनीहरु झल्याँस्स ब्युँझन्थे अनि वक्तव्यबाजी, आतंकित पार्ने खेल र धम्कीपूर्ण फोनहरु आउँथे।

२०६५ सालमा एक पटक विरोधीहरुसँग बसेर छलफल गर्ने कार्यक्रम बनाए उनले। यसका लागि छनोट गर्दा ३४ वटा संस्थाका महिला प्रतिनिधि आए। अब यो बेला पर्याप्त समय थियो। कार्यक्रम हुन अझै आठ महिना बाँकी थियो। सबैका आवाज समेटेर केही गरौँ भन्ने भावनाले घर गरिरहेको थियो।

एक साथ ३४ संस्थाका ३४ जना महिला प्रतिनिधिसँग छलफलमा बस्दा त एकछिन गोपाल अल्मलिए। यति धेरै संस्था छन् भन्ने उनलाई कहिल्यै लागेको थिएन। त्यस बेला उनीहरुले गोपाल लगायत हिडन ट्रेजरमाथि यस्तायस्ता आरोप लगाए कि त्यस्ता आरोप त जीवनमा कहिल्यै सुनेका थिएनन्। ‘हामी राक्षस हौँ, हामी महिलाका अपराधी हौँ, तिनलाई बिगार्ने तत्व हौँ भनी सुनाइँदैथ्यो,’ त्यस बेलाको बैठक सम्झँदै गोपालले भने, ‘घरिघरि त मेरो दिमाग खुस्केको हो कि? म यति गिरेको मान्छे हो त? भन्ने पनि लागिरहन्थ्यो। हामीले युवतीहरुबाट चाहिँदो–नचाहिँदो फाइदा लिएको कुरा सुनाइयो। तर किन हो, मैले धैर्य भएर उहाँहरुको मागका बारेमा सुनिरहेँ, उहाँका कुरा सुनिरहेँ।’

विरोध समूहका ३२ वटा मागहरु थिए। गोपालले प्रत्येक बुँदामाथि छलफल चलाए। दुई दिनसम्म बुँदागत कुराहरुमा गहन छलफल भए। दोस्रो दिनसम्म आइपुग्दा अधिकांश बुँदा औचित्यहीन बनिसकेका थिए भने चार वटा बुँदामा भने अधिकारकर्मीहरु अड्डी कस्न थाले। तीमध्ये एउटा बुँदा थियो, मिस नेपालमा विदेशी कम्पनीको प्रायोजन हटाउनु पर्ने। गोपालले भने, ‘यो माग कार्यान्वयन गर्न मलाई कुनै अप्ठेरो छैन। नेपाली प्रायोजक ल्याइदिनुस्, विदेशी भोलि नै छाडिदिन्छौँ।’

विदेशी कम्पनी नै किन चाहियो भन्ने सन्दर्भमा केही छलफल हुँदा वास्तविकता के प्रकट भयो भने नेपाली कम्पनीको लगानी थोरै हुन्छ, तिनीहरु यस्ता कार्यक्रम प्रायोजन गर्ने अवस्थामा हुँदैनन्। यसबाट लिन सक्ने फाइदा पनि थोरै नै हुन्छ। जसले लगानी गर्न सक्छन्, तिनीहरुलाई सुहाउँदो प्रोडक्ट हुँदैन। यावत् समस्या सम्झाइसकेपछि विदेशीले पनि प्रायोजन गर्न पाइने कुरामा उनीहरु सहमत भए।

यसमा सहमत भए पनि उनीहरुको अर्को अड्को थियो, ‘मिस नेपालबाहेक जुनसुकै नाम प्रयोग गर्दा हुँदैन? यो त केही सीमित युवतीको प्रतियोगिता हो, पूरै नेपालले यसमा भाग लिँदैन। उसो भए किन मिस नेपाल नाम राख्ने?’

यो विषय त गोपाललाई पहिलेदेखि नै खट्केको पनि हो। सारा नेपाली युवती, गाउँगाउँका, जिल्ला–जिल्लाका युवतीले यसमा भाग लिएको दिन उनको उद्देश्य पूरा हुन्थ्यो। आखिर यसमा प्रयास नभएको पनि होइन। शहर–शहरमा गएर यसबारे उनले छलफल पनि चलाइरहेका हुन्छन् तर पनि सहभागिता न्यून हुन्छ। तर नाम नै परिवर्तन गर्ने कुरामा कुनै तुक थिएन। चर्का कुरा उठ्दै जाँदा उनले जवाफमा भने, ‘जसरी तपाईंहरुको संगठनको नाम किन यस्तो राखेको भनेर अरुले औँला उठाउन पाउँदैनन् वा उठाउनु मुर्खता हुन्छ, त्यस्तै हामीले राखेको नाम भयो भएन भनेर सुझाव दिनु एउटा कुरा होला तर यो अलि तर्कसंगत कुरा हुँदैन।’

उनीहरुको अर्को अड्को थियो, ‘तपाईंहरुले मिस नेपाल ज्यादै तडकभडकपूर्ण रुपमा देखाउनु हुन्छ। अलि कम गर्नुप-यो।’

यसमा पनि उनको असहमति थियो, भने, ‘हेर्नुस्, यो एउटा ग्ल्यामर प्लस क्षमता प्रदर्शन कार्यक्रम भएकाले यसमा भएको ग्ल्यामर वा तडकभडक कम गर्नुस् भन्ने कुरा अलि गाह्रो हो। अन्य देशको तुलनामा त यो झनै कम हुन्छ। हामीले त सहभागीहरुको क्षमता अभिवृद्धिमा जोड दिने हो। अब यसमा थोरबहुत सुन्दरता र ग्ल्यामरको पक्ष पनि हुनु त पर्छ नै।’

उनीहरुको चित्त बुझाउन कसरी कोरा प्रतिस्पर्धी युवतीहरुलाई तालिममार्फत् सक्षम बनाइन्छ भन्ने पनि उनले बुझाए। यसपछि यो माग पनि उनीहरुको कुनै गुनासो रहेन।

उनीहरुले अन्तिममा भने, ‘यो वर्षका लागि कार्यक्रम थाँति राखिदिनु प-यो। कम्युनिस्ट सरकार छ अनि हामीले नै मिस नेपाल गरिरहेको देख्दा अलि पच्दैन।’

अब सबै तयारी भइरहेका बेला उनीहरुको कार्यक्रम नै स्थगन गर्ने कुराले गोपाललाई झट्का दियो तर पनि भने, ‘हेर्नुस्, यो हरेक वर्ष कार्यक्रम हुँदै आएको हो, हामीले रोक्न मिल्दैन। यो त सिधा अन्तर्राष्ट्रिय ख्यातिसँग जोडिएको कुरा पनि हो। त्यसैले यसको स्थगन गर्ने कुरै उठ्दैन।’

ल ठीकै छ भनेर विरोधकर्ताहरु निस्किए तर सन् २००८ को मिस नेपाल हुने अन्तिम अवस्थामा जिल्ला प्रशासन कार्यालयले पत्र काटेर कार्यक्रम आयोजना रोक्न आदेश दियो। कार्यक्रममा भएको ठूलो लगानी स्वाहा भयो तर प्रशासन नै कार्यक्रमप्रति वक्र भएपछि के लाग्यो र!

फेरि जब सन् २००९ का लागि तयारी शुरु गर्नुपर्ने भयो, उनले विरोध समूहसँग बैठक बसे। यस पटक उनीहरुको आवाज सुस्त भइसकेको थियो। एउटा सहमति बन्यो। विरोधकर्ताहरु आउने र केही घण्टा विरोध गरेर फर्कने।

सन् २०१० मा पनि विरोधकर्ताहरुले भने, ‘हामी आधा घण्टाको विरोध कार्यक्रम गर्छौं, तपाईंहरुले आफ्नो तरिकाले कार्यक्रम गर्नु भए हुन्छ।’ सन् २०११ देखि भने विरोधकर्ताहरुको कार्यक्रम पनि हुन छाड्यो, बिना अवरोध कार्यक्रम सञ्चालन पनि हुन थाल्यो।

तर विरोध हुन छाड्नु र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली युवतीको सौन्दर्य परख हुन थाल्नु पनि एकै साथ जस्तो हुन थाल्यो। क्रमशः तगडा युवतीहरुले आफ्नो छाप अन्तर्राष्ट्रिय मञ्चमा छाड्न थाले।

गोपाल भन्छन्, ‘यो वर्ष मिस नेपालको तयारी गरेको २५ वर्ष पुग्दैछ। २२ जना मिस नेपाल हामीले बनाइसकेका छौँ। कार्यक्रम आयोजकको अनुभवले हामीलाई यतिबेला एउटा अनुभव दिलाएको छ। त्यो अनुभव, निरन्तरको कमजोरी हटाउने प्रयत्नले हामीलाई धेरै कुरा सिकाएको छ र शायद यही कुराले प्रतियोगीहरुको पर्फमेन्समा पनि प्रभाव पारिरहेको होला।’

जेसिससँगको विवाद
मिस नेपाल कार्यक्रम काठमाडौँ जेसिसमा रहँदा गोपालको आइडिया भए पनि पछि म जेसिसमा उनी रहेनन्। उनको कार्यकाल सकिएपछि मिस नेपाललाई के गर्ने भन्ने विवाद छेडियो। गोपालको मत थियो, ‘यस्तो कार्यक्रम कुनै स्वतन्त्र संस्थाले गर्नुपर्छ, जेसिसले होइन किनभने यहाँ नेतृत्व परिवर्तन भइरहन्छ र हरेक नेतृत्वको प्राथमिकता मिस नेपाल नहुन सक्छ।’

यसमा विवाद भएपछिका तीन वर्ष जेसिसले नै कार्यक्रम ग-यो तर ठूलो घाटा बेहोर्नुप-यो। यसपछि हिडन ट्रेजरमार्फत् नै यो कार्यक्रम गर्ने सहमति भएपछि सन् १९९७ बाट पुनः मिस नेपाल आयोजन भयो। यहीँबाट कार्यक्रममा केही भिन्नता पनि आयो। विजेतामध्ये पहिलोलाई मिस वल्र्डमा सहभागी गराउने र रनरअपलाई मिस एसिया प्यासिफिकमा पठाउने योजना बन्यो। अहिले चार जना विजेता छानिन्छन् र पहिलो हुने मिस नेपाल वल्र्ड, दोस्रो हुने मिस नेपाल अर्थ, तेस्रो हुने मिस नेपाल इन्टरनेसनल र चौथो हुनेलाई मिस युनिभर्सको प्रतियोगितामा पठाइन्छ।
यस पटक अर्थात् सन् २०१८ का मिस नेपाल वल्र्ड शृंखला खतिवडा हुन् भने मिस नेपाल अर्थ प्रिया सिग्देल हुन्। त्यस्तै मिस नेपाल इन्टरनेसनलको प्रतिधित्व रोनाली अमात्यले गरेकी थिइन् भने मिस युनिभर्स नेपालको प्रतिनिधित्व गर्नेमा मनिता देवकोटा थिइन्।

निरन्तर राम्रोको प्रयास
मिस युनिभर्समा गएदेखि नै नेपालले राम्रो प्रदर्शन गर्दै आइरहेको गोपालको दाबी थियो। ‘त्यो बेला सुरुदेखि नै हाम्रा प्रतियोगीहरुले धेरै राम्रो प्रदर्शन गर्दै आइरहेका थिए तर त्यति धेरै प्रचार भएको पाइनँ,’ उनले गुनासो मिश्रित स्वरमा भने, ‘हाम्रो स्रोत र साधन साह्रै थोरै छ अनि सपना भने विश्वको प्रतिस्पर्धामा! तापनि हामीले निरन्तर प्रयास ग-यौँ। यो एफोर्ट नै हाम्रालागि त भिक्ट्रीजस्तो महसुस भइरहेको छ।’

मिस वल्र्डमा आजको मितिसम्म १९५ देशमध्ये १६/१७ देशले मात्र जितेका छन्। २०१२ देखि नेपाली प्रतियोगीहरुले केही उपलब्धि ल्याउन सकेका छन्। त्यस वर्ष मिस वल्र्डमा सृष्टि श्रेष्ठले केही उपलब्धि देखाइन्। २०१३ मा ईशानी श्रेष्ठले पनि एउटा टाइटल जितिन्। मिस युनिभर्समा टप टेन भए पनि त्यति चर्चा हुन सकेको देखिन्न। नेपालमा मिस वल्र्डमा १९९७ देखि पठाइरहेको र यसको चर्चा भइरहेको हुनाले त्यही मात्र चासोको वृत्तमा परेको हुनसक्ने उनको धारणा छ।

उनको सपना छ, चाँडै नै हाम्रा प्रतियोगीले मिस वल्र्ड र अन्य प्रतियोगितामा प्रथम होऊन्। त्यो दिन कहिले आउला!

प्रकाशित: २६ चैत्र २०७५ ०९:४७ मंगलबार

मिस_नेपाल गोपाल_कक्षपति प्रतिस्पर्धा नागरिक परिवार