अन्य

‘प्राइभेट डेरीले राम्रो सर्भिस दिन्छ’

हेरम्बबहादुर राजभण्डारी, ८६ वर्षको उमेरमा पनि सक्रिय छन्। २००७ साल प्रजातन्त्रको उदय भएको समयमा एलएलसी जाँच दिएर सरकारी सेवामा प्रवेश गरेका राजभण्डारीले करिब ४३ वर्ष सरकारको सेवा गरे। पढेका मानिसलाई जागिरमा जताततै अवसरै अवसरको माहोल हुँदै उकालो लाग्दै कृषि सचिवको जिम्मेवारी सम्हालिरहेका राजभण्डारीसँग प्रजातन्त्रको पुनस्र्थापनापछिको निर्वाचित सरकारको अनिवार्य अवकाशको अचानोमा पारेको कटु अनुभव छ।

जागिर खाँदै उच्च शिक्षा हासिल गर्दै अगाडि बढेका राजभण्डारीले डेरी विद्यामै पिएचडी गरेका छन्। नेपाल दुग्ध संस्थानमा दुई–दुईपटक महाप्रबन्धकको जिम्मेवारी वहन गरेका राजभण्डारी, निजी क्षेत्रको अग्रणि नेपाल डेरीका संस्थापक हुन्। ३५ वर्ष अघि स्थापना भएको नेपाल डेरी अहिले दूधजन्य लगायत विविध खाद्यपदार्थ उत्पादनमा लागि परेको छ। डेरीको कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालिरहेका राजभण्डारी सरकारी जागिर जुनसुकै बेला खोसिन सक्ने अवस्थाको आँकलन गर्र्दै २०३९ सालमै सानो स्केलमा डेरी संचालन गरेको र त्यसैलाई अगाडि बढाउँदै लगेको अनुभव सुनाउँछन्। ‘नेपाल डेरी निजी डेरीहरूमध्येको पायोनियर हो’ राजभण्डारी भन्छन् ‘निजी डेरीमा हामी अगुवा हौं।’ नेपालको दुग्ध उद्योग, कृषि व्यवसायलगायत नेपालका सम्भावनाका क्षेत्रबारे भण्डारीको विज्ञता छ उत्तिकै अनुभव । चिनियाँ गाई ल्याएर फर्म चलाउने सरकारी नीतिका कटु आलोचक हुन् राजभण्डारी। ‘ चिनियाँ गाई ल्याएर नेपालका किसानलाई दिने हो भने ठिकै छ’ राजभण्डारीले भने, ‘चिनियाँ गाई ल्याएर फर्म चलाउने अनि नेपालमा दूध बेचेर पैसा चीन लैजाने नीति राष्ट्रघाती हो।’ राजभण्डारीले  नागरिक परिवारका लागि विश्वमणि पोखरेलसँग गरेको कर्पोरेट कुराकानी।


लामो समयको सरकारी सेवापछि अवकाश प्राप्त जीवन जिउनुको साटो डेरी लगायतका उद्योगमा हात हाल्नुभएको देखिन्छ। अहिले ८६ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ। के कारण हो जागिर छोडेपछि उद्योगमा लाग्ने?
२००७ सालदेखि मैले जागिर खाएको हुँ। एलएलसी जाँच दिएपछि नै सरकारी सेवामा लागेको हुँ। मुलुकमा प्रजातन्त्र आएको थियो, जताततै अवसर दियो। त्यतिखेर बोलाइबोलाइ जागिर दिइन्थ्यो। ग्राम विकास विभागबाट मेरो जागिर सुरु भएको हो। पछि मैले जागिरकै क्रममा अध्ययन गर्ने अवसर पाएँ। यसरी पढ्दै, जागिर खाँदै करिब ४३ वर्ष नेपाल सरकारको कर्मचारीको रुपमा बित्यो। जागिर खाँदै गर्दा सुरु भएको नेपाल डेरीमा सक्रिय भएको पनि २५ वर्ष बितिसकेको छ। मेरो रुचि र पढेको विषय भए पनि दुग्ध विकास संस्थानमा काम गर्ने अवसर दिइएन। दुग्ध विकास संस्थानमा गएर म केही गर्न चाहन्थेँ, केही गर्न सक्छु भन्ने सोच र चिन्तन थियो र साथमा युवा जोस जाँगर पनि। २०२९ सालमा मात्र मलाई त्यो अवसर प्राप्त भयो। दुई पटकको करिब ८ वर्षको महाप्रबन्धकको कार्यकालमा काठमाडौंको बालाजु, हैटौंडा, विराटनगर र पोखरामा दुग्ध विकास संस्थानका आधुनिक प्रशोधन केन्द्रहरू स्थापना भएका हुन्। मेरो विचारमा संस्थानमा रहँदा मैले धेरै उपलब्धिमूलक काम गरेको जस्तो लाग्छ। अहिलेको संस्थानलाई आधुनिक र व्यावसायिक रुप दिने काम भएको हो त्यसबेला। यसैबीच पशु विकास तथा पशु स्वास्थ्य भन्ने नयाँ विभाग स्थापना भयो। संस्थान पछि म त्यही नयाँ विभागमा सरुवा भएँ। त्यसबेला डा. थीरबहादुर सिंह विभागको निर्देशक हुनुहुन्थ्यो।  म भन्दा सिनियर र पशु विकासको क्षेत्रमा प्रशस्त योगदान गरेर खोरेतलगायतका भ्याक्सिनहरू प्रयोग र विकासमा उहाँको योगदान थियो। वास्तवमा पशु स्वास्थ्यका क्षेत्रमा जग हाल्ने मानिस हुनुहुन्थ्यो। दरबारमा लामो समय काम गरेको, सिनियर साथै उहाँको अवकाश अवधि धेरै समय नभएकोले हुनसक्छ उहाँलाई विभागको प्रमुख र मलाई उपप्रमुखको जिम्मेवारी तोकियो। मलाई लाग्यो दुग्ध विकास संस्थानमा सफल भएको र लामो समय त्यहाँ महाबन्धक भएको नाताले मनै प्रमुख हुनुपर्ने हो।  मभन्दा पाको, अनुभवी र चाडै अवकाश पाउने भएकोले उहाँलाई प्रमुख र मलाई उहाँ मुनि राखेको हुनुपर्छ। म ४ वर्षसम्म त्यही विभागमा बसेँ र २०४२ सालमा विभागको निर्देशक भएँ। त्यसबेला पशु स्वास्थ्य, पशु विकास, दुग्ध उत्पादन, चरन विकासजस्ता क्षेत्रमा उल्लेखनीय काम भएको थियो। २०४६ सालमा बढुवा भएर म कृषि मन्त्रालयमा पुगेँ। ४६ सालको जनआन्दोलनपछि बनेको अन्तरिम सरकारको कृषि मन्त्रीमा झलनाथ खनाल हुनुहुन्थ्यो। खनालले मलाई रोज्नु भयो, म कृषि मन्त्रालयको सचिव बन्न पुगेँ। २०४८ को निर्वाचनपछि बनेको सरकारको कृषि मन्त्रीमा शैलजा आचार्य आइन्। शैलजाले झलनाथलाई मनपर्ने मानिस रहेछ, कम्युनिस्टलाई मन पर्ने सचिव भनेर मलाई हटाउनु भयो। म त्यसपछि ऐश्वर्यलाल प्रधानले नेतृत्व गरेको आपूर्ति मन्त्रालयमा पुगेँ।

म दुग्ध विकास संस्थानको महाप्रबन्धकबाट हटेपछिका चलखेलहरूका कारण कतै सरकारी सेवाबाट हटाइ हाल्यो भने के गर्ने भन्ने कुरा मनमा खेलिरहेको थियो। म मात्र होइन म जस्ता प्रशासक, विषय विज्ञले काम गर्ने थलो आवश्यक छ भन्ने कुरा आयो। २०३९ सालतिर म लगायतका केही मिलेर डेरी उद्योग संचालनको काम सुरु गरिसकेका थियौं। त्यो सानो स्केलमा थियो। अहिलेको नेपाल डेरी एनडिएस रहेको महाबौद्धमा हामीले प्राइभेट डेरी सञ्चालन गरेका थियौं। म, मेरो ससुरा डा. भीमबहादुर प्रधान जो वीर अस्पतालको सुपरिटेन्डेन्ट हुनुहुन्थ्यो उहाँ पनि मेरो विचारमा सहमत हुनुभयो। उहाँ पनि सरकारी जागिरको भर छैन, जुनसुकै बेला निष्कासन हुन सक्छ भन्ने मानसिकतामा हुनुहुन्थ्यो। सरकारी सेवाबाट अवकाश पाएका कतिपय मानिस डिमोरलाइज हुन्छन्। निराश हुन्छन् र उनीहरूको केही वर्षमै निधनसमेत हुने गरेको पाइन्छ। केही न केही काम त गर्नै पर्छ भन्ने सोच राखेर डेरी थालेको। काम ग-र्यो भने मात्र काम पनि हुन्छ, माम पनि हुन्छ भन्ने कुरा लिएर सुरु भएको हो डेरी उद्योग। उद्धव अधिकारी जो बनेपाका हुनुहुन्थ्यो र वाणिज्य मन्त्रालयमा काम गर्नुहुन्थ्यो। उहाँसँग छलफल गरेर दूध ल्याउने जिम्मा उद्धवजीले लिने गरी कुरा भयो। लेखाजोखा पनि उहाँले नै हेर्ने कुरा भयो। अहिले पनि उहाँ नेपाल डेरीमा आबद्ध हुनुहुन्छ कम्पनीको फाइनान्स डाइरेक्टरको रुपमा। मेरो साढुभाइ त्रिभुवन विश्वविद्यालयको रिडर स्वर्गमान सिंह थियौं। शिवबहादुर नेपालीलगायत सुरुमा हामी ७ जना
थियौं, ३ जनाले छोड्दै जानुभयो। सरकारी सेवा गरेर व्यापार गर्ने भनेर सरकारका केही मानिसले दुःख दिन थालेको अवस्थामा केही साथीहरूले छोड्ने भए। मेरो बरु गद्र्धन काटियोस् व्यवसाय छोड्दिन भन्ने अडान गर्दै व्यवसायमूलक कामबाट पछि हड्दिन भन्ने सोच आयो। त्यस्तो अवस्थामा केही साथीहरू हट्ने कुरा भयो। हामीले सुरुमा १०, १० हजार राखेका थियौँ। त्यसैलाई हिसाब गरेर छोड्न चाहने साथीहरूलाई सम्पत्ति मूल्यांकन गरेर हिसाब मिलायौँ। एक जनाको ८० हजारको मूल्यांकन आयो। त्यसबेला मैलै दुई जनाको शेयर किनेँ भने मेरो ससुरा भीमबहादुरले एकजनाको शेयर लिनु भयो। अहिले कम्पनीको कुल ७ सेयरमध्ये मेरो, मेरी श्रीमती स्नेनलता, छोराको नाममा गरेर ५ वटा सेयर छन्, उद्धव र स्वर्गमानको एक–एक गरेर जम्मा ७ वटा सेयर छन्।

बनेपा, कुशादेवीलगायतका क्षेत्रबाट दूध आउँथ्यो। सुरुमा कुशादेवीमा जम्मा हुन्थ्यो, त्यहाँबाट बनेपासम्म बोकेर ल्याउने, बनेपाबाट बसमा काठमाडौं बसपार्कसम्म ल्याउने गरिन्थ्यो। बसपार्कबाट दूधका क्यानहरू बोकेर महाबौद्ध ल्याइन्थ्यो र त्यहीँबाट बिक्री गरिन्थ्यो। ४० लिटर जाने दैनिक ४, ५ क्यान दूध आउँथ्यो त्यसबेला। सुरुमा हामीले काम गर्दै गयाैँ, कमाएको जति त्यसैमा लगानी हुन्थ्यो। दशैं तिहारमा केही पैसा बाँड्ने बाहेकको हिसाबकिताब भएको थिएन। यसरी लामो समय चल्ने अवस्था थिएन।

कम्पनीमा जाने कुरा कसरी भयो त? सानो स्केलबाट सुरु भएको योजना कसरी अगाडि बढ्दै अहिलेको अवस्थामा आइपुग्यो?

लगानी कर्ताबीच छलफल भयो र कम्पनीमा जाने भन्ने कुरा भयो। सबैभन्दा बढी शेयर मेरै भएकोले मैले महाबौद्धमा मेरो नाममा भएको घर, घडेरी एभरेष्ट बैंकमा राखेर कम्पनीलाई अगाडि बढाउने काम भयो। एभरेष्ट बैंकले २, ३ करोड लगानी ग-यो। त्यसैबाट खुमलटारमा जमिन किनेर दूध प्रशोधन केन्द्र स्थापना भयो।

नयाँ निर्वाचित सरकार आएपछि ममाथि गरिएको व्यवहारका कारण म शरणार्थी जस्तो बनेर आपूर्ति मन्त्रालयमा केही महिना काम गरेँ। त्यो बेला विभिन्न जिल्ला गएर जिल्लाको सामाजिक, आर्थिक अध्ययन गर्ने अवसर मिल्यो। हुम्ला, जुम्ला, मुस्ताङ, रामेछाप लगायतका विभिन्न जिल्लाको अध्ययन गरेर कस्ता खाले कार्यक्रम संचालन गर्न सकिन्छ भन्ने कुराको अध्ययन गर्ने र रिपोर्ट तयार गर्ने काम भयो।

इकोलोजिकल भिलेजसम्बन्धी एउटा सेमिनारमा जापानको टोकियोमा बोलाएको थियो। म त्यहाँ गएको बेला यता गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले ३० वर्ष सेवा अवधि र ५८ वर्ष उमेर हदको नियम लगाएर ठूलो संख्याका कर्मचारीलाई अवकाश दियो। त्यो खबर मैले टोकियोमै पाएको हो। त्यसबेला १५५ जना सचिवदेखि फस्ट क्लासका कर्मचारी थिए। सरकारको सोच १५, १६ सालमा जागिर खाएर माथिल्लो पदमा पुगेकाहरू सबैलाई निकाल्नु पर्छ भन्ने थियो। पञ्चायती व्यवस्थाबाट आएका हटाउने भित्री उद्देश्यले यस्तो नीति लिइएको हो। मलाई यो घटनाले केही फरक परेन। कारण, डेरी चलिरहेकै थियो। त्यो बेला कतिपय मेरा साथीहरू भने विचलित भएको पाएँ मैले। उनीहरू म कहाँ आएर तपाईंले बेलैमा काम थालेको भन्थे। म भने डेरीलाई अगाडि बढाउँदै, विस्तार गर्दै यहाँसम्म आइपुगेको छु।

नेपाल डेरी अहिले विभिन्न खाले दुग्ध उत्पादन, बेकरीलगायत रेष्टुरेष्ट पनि चलेको देखिन्छ। कसरी विस्तार हुँदै गयो तपाईंको उद्यम?
सुरु–सुरुमा त हामीले महाबौद्धबाट दूध बेच्थ्यौँ। तताएर कतारामा दही जमाएर बेच्ने गरिन्थ्यो। तर एक पछि अर्को गर्दै उत्पादन थपिँदै गए। दही दूधको बजार सधैँ उस्तै हुँदैन। जाडो महिनामा दही बिक्दैन। चाडबाडमा धेरै जान्छ, अरु बेला जाँदैन। त्यसपछि दूधबाट क्रिम, चीज बनाउने काम सुरु भयो। आइसक्रिमलगायतका उत्पादनहरू थपिँदै गएका थिए। काठमाडौं दरबारमार्गमा राम्रोसँग चलिरहेको निरुलाज आइसक्रिम थियो। त्यहाँ हाम्रो आइसक्रिम जान्थ्यो। माओवादी सशस्त्र युद्धको समयमा निरुलाजमा माओवादीको युनियन प्रवेश ग-यो र दुःख दिन थाल्यो। युनियनले दुःख दिएर टिक्न नसकेपछि निरुलाज बन्द भयो। उसले  त बन्द ग-यो तर हामी पनि त्यसैसँग सती जानुपर्ने स्थिति आयो। कारण ठूलो परिणाममा क्रिम उसले लिँदै आएको थियो। अब के गर्ने भन्ने भन्दा भन्दै आफैँले आइसक्रिम बिक्री गर्ने कुरा भयो। निरुलाजका सिपालु मानिस र केही उपकरण हामीले लियौँ र आइसक्रिमको उत्पादन र व्यापार सुरु भयो। तर आइसक्रिम पनि गर्मीमा मात्र चल्ने खास गरेर भ्यालेन्टाइन पछि यसको खपत हुने। अब कसरी दूधको पैसा दिने, स्टाफलाई कसरी तलब दिने भन्ने कुरा सोच्दासोच्दै महाबौद्धमा रेष्टुरेष्टको विचार आयो, दूधका परिकारका साथसाथ मःमसहितको रेष्टुरेष्ट खोलियो। त्यहाँबाट सुरु भयो एनडिज भन्ने कम्पनी र त्यसको कारोबार। खासमा नेपाल डेरी टिकाउन एनडिज सुरु भएको हो।  एकजना कलाकारले नेपाल डेरीको लोगो बनाउन दिएको उनले एनडिजको लेखेर लोगो बनाएर दिए। अनि नेपाल डेरीका साथ साथ एनडिज भन्ने छुट्टै कम्पनी दर्ता भयो। नेपाल डेरीले दूध, दही चिज आदि उत्पादन गर्छ। एनडिजले केक पिज्जा, मःम उत्पादन गर्न सक्ने भयो। नेपाल डेरीबाट दूधबाट बन्ने पदार्थ, दूधबाट मात्र बन्ने मिठाई उत्पादन गर्नसक्छ। एण्डिज पछि मानिसका मागहरू बढ्दै गए। मानिसले जे–जे खोज्दै गए त्यसैअनुसार उत्पादन थपिँदै गए। त्यसपछि मोडर्न फुडको कुरा आयो। ५६ सालमा एण्डिज अस्तित्वमा आयो भने पछि रेष्टुरेष्ट आवश्यक सामग्री उत्पादन गर्ने मोडर्न फुडको जन्म भयो। मानिसका आवश्यकता र नेपाली डेरी टिकाउन गरिएका उद्यम पछि हामीलाई दक्ष जनशक्ति आवश्यक पर्न थाल्यो।

दक्ष जनशक्तिको माग कसरी पूरा भयो त?
हामी कहाँ आएर काम गर्ने मानिसहरू सामान्य पढेलेखेका  थिए। काम गर्दै सिक्दै जाने भयो। यसरी त भएन भन्ने भयो, राम्रा उत्पादनका लागि जनशक्ति पनि उत्तिकै सिपालु हुनुपर्छ भन्ने मान्यतामा हामीले नेपाल डेरी इन्सिच्युट अफ म्यानेजमेण्ट भनेर तालिम केन्द्र स्थापना गर्नुपर्छ भन्ने कुरा अयो। ६२, ६३ सालमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले केन्द्र स्थापना गरियो। यो केन्द्रमा ५० प्रतिशत शेयर नेपाल डेरीको छ भने बाँकी सरकारी सेवामा आबद्ध वा त्यहाँबाट अवकाश प्राप्त प्राविधिक, विषय विज्ञहरू छन्। खाद्य विज्ञानको दक्षता भएका ३३ जना यो केन्द्रमा आबद्ध छन्, सबैले १ लाख, २ लाख शेयर हालेका छन्। डा. लक्ष्मण शेरचनले यसको नेतृत्व गर्नुभएको छ। यसका पछाडि टीकाबहादुर कार्की पहिलेको गुणस्तर नियन्त्रण विभागको निर्देशकजस्ता अवकाश प्राप्त कर्मचारीहरू हुनुहुन्छ। यस्तोमा हामी विशेषज्ञहरू बेला मौकामा सँगै बस्ने मौका पनि हुन्छ, कुराकानी गर्ने अवसर हुन्छ। सरकारले रिटायर्ड गर्दैमा हाम्रो ब्रेन त रिटायर्ड भएको हुदैन नि। आफैँ उपयोगी छ त्यसको प्रयोग गराैँ भन्ने हो। हामीले नेपाल डेरीको अपिसको माथ्लो तलामा तालिम कक्ष बनायौँ। सरकारलाई दोष पनि नलगाऔँ, माग्दा पनि नमागाैँ भन्ने नीतिमा हामी काम गर्दै आएका छौँ। हामीले आफूले जानेको कुरा सिकाउँछौँ, कहिलेकाहीँ जापाना, नेदरल्यान्डबाट विशेषज्ञ मगाएर तालिमहरू दिन्छौँ। यसरी आवधिक तालिम दिएर भएन कलेज खालेर नै शिक्षा दिनुप-यो भन्ने भयो। हामीले तालिम केन्द्रलाई कलेजमा रूपान्तरण गर्ने सोच बनायौँ। तर त्यहाँ त ठूलो चलखेल हुँदो रहेछ। त्यत्तिकै खोल्न पाइन्न रहेछ। भष्ट्राचार नभै लाइसेन्स पनि नपाइने रहेछ भन्ने भएपछि हामीले छोटो बाटो अपनायौँ। कलेज खोजौँ, सबैले ड्याम्म पैसा राखौँ र चलाऔँ भन्ने भयो। यसैबीच पार्टनहरू आपसमा नमिलेर कोल्याप्स हुन लागेको एउटा कलेजको कुरा आयो। स्कुल अफ इनभाइरोमेन्ट एण्ड साइन्स एण्ड म्यानेजमेन्ट (स्किम) कलेजको मेजर शेयर हामीले किन्यौँ। यो कलेज नयाँ बानेश्वरमा छ। कलेज भनेपछि सिकाउने मानिस राम्रा हुनुपर्दछ, कलेजको सुविधा राम्रो हुनुपर्दछ, हेर्दै राम्रो र व्यवस्थित हुनुपर्छ। अहिले यो कलेजमा ५ सय जति विद्यार्थी छन्। पहिलेको शेयर धनीहरूका समस्या सेटल हुँदै गएपछि हामी नयाँ हिसाबले जाने सोचमा छौं।

नेपालका धेरै दुग्ध उद्योगहरूबीच नेपाल डेरी आफैँमा भने कहाँ उभिएको छ, उसको अवस्था कस्तो हो?
अहिलेको अवस्थामा विश्लेषण गर्दा यो कुनै धेरै पैसा वालाको उद्योग भएको थियो भने निकै उभो लागेर जाने थियो। तर हामी चाहिँ डेरीका लागि आवश्यक जनशक्ति उत्पादन, डेरी उद्योग विकासमा लगानी गर्दै गयौँ। कमाइ जति यसैमा लगानी गर्ने, थोरै लाभाशं मात्र लिँदै जाने नीतिमा हामीले काम ग-यौँ। हामी विस्तार विस्तार अगाडि बढेका हाैं। सुरुमा सानो घरेलु उद्योग, त्यसपछि मझौला उद्योग हुँदै अहिले ठूला उद्योगको रुपमा अगाडि बढ्दै छ। अहिलेको अवस्थामा भन्नुपर्दा नेपाल डेरी प्राइभेट सेक्टरको पायोनियर्स हो। प्राइभेटमा नम्बर वान। नेपाल डेरी देखेर पाटनका कृषकहरूले कहाँ सहरका मानिसले डेरी चलाएका छन् यो त हाम्रो काम पो भन्दै हिमाल डेरी सुरु गरे। त्यस्तै भक्तपुरका सैजुहरूले  हाम्रो पुस्तौनी पेशा हो भन्दै भक्तपुर डेरी स्थापना गरे। यसरी नेपाल डेरीको स्थापना पछि एक पछि अर्को गर्दै डेरीहरू अस्तित्वमा आएका हुन्। उपत्यकाभित्र साना ठूला गरेर संस्थागत रुपमा आएका डेरी ३३ वटा छन्। नेपालभर यस्ता डेरीको संस्था एक हजार बढी छ। प्राइभेट डेरीमा नेपाल डेरी नै अगाडि छ। एडिजकै ब्रान्ड नेममा विभिन्न स्थानमा स्टलहरू खुल्ने क्रम जारी छ।
हामीकहाँबाट होलसेल मूल्यमा सामान लग्दछन्। आफूले बिक्री गर्दछन्। काम गरेबापतको नाफा उनीहरूको, ब्रान्ड एडिजको।

यसको कारोबारको अवस्था बताउनुस् न कति छ? कसरी विस्तार भएको छ?

हालको अवस्थामा यसले कारोबार गरेको त दैनिक १४, १५ हजार लिटर हो। तर पछिल्लो समयको अवस्था अलिक भिन्न छ। नेपाल डेरीलगायत प्राइभेटबाट डेरीहरू आएपछि गाई भैंसी पालनमा बढोत्तरी भयो। किसानहरू उत्साहित भएर दूध उत्पादनमा लागे। दूध उत्पादन बढ्यो। दूध, कुखुराको मासु, अण्डामा आत्मनिर्भर हुने नीति सरकारले लियो। तर पछिल्लो समय उत्पादित दूधले बजार पाउन छोड्यो। दूध र दुग्धजन्य उत्पादन जति गरे पनि किसानको दूध खपत नहुने अवस्था आयो अहिले। यस्तो अवस्था आएपछि मैले मेरो छोरा अरनिको राजभण्डारी जो अहिले नेपाल डेरी इन्डस्ट्रिज एसोसिएसनको अध्यक्ष छन् उनलाई किसानको दूध किन्दिन भन्न मिल्दैन भन्ने नीति लिन भने। म पनि संघको अध्यक्ष भैसकेको हो। मैले सबै डेरीवालाहरूलाई बोलाएर छलफल गर भन्ने सुझाव दिएँ। किसानको दूध लिन्न भन्न मिल्दैन भन्ने सोच राख्नुपर्दछ भन्ने सुझावअनुसार डेरीवालाको बैठक बस्यो र किसानले उत्पादन गरेको दूध लिनै पर्ने नीति अपनायो। डेरीहरूले किनेको दूध बेच्न सकेजति बेच्ने र बेच्न नसकेको दूध सबै एकै ठाउँ जम्मा गरेर चल्न नसकेको हैटौंडाको पाउडर दूध उद्योगलाई दिने र उद्योग सञ्चालन गर्ने कुरा भयो। उद्योगसँग कुरा भयो। उद्योगको लगानी नलाग्ने, पाउडर दूध उत्पादन गरेबापतको सञ्चालन खर्च उसले लिने र एसोसिएसनको नाममा पाउडर दूध उत्पादन भै रहेको छ।

अहिले कति दूधबाट पाउडर बनिरहेको छ?
अहिले हेटाैँडा र पोखराको सुजल पाउडर दूध उद्योग दुवै सञ्चालनमा छन्। एसोसिएसनको अगुवाइमा प्रत्येक उद्योगले आफ्नो दूधबाट पाउडर उत्पादन गर्नसक्ने अवस्था छ। आफ्नो भागमा परेको पाउडर दूध उनीहरू आफैँले बेच्न सक्छन्। अहिले म सुन्दैछु करिब २ करोडको पाउडर, करिब २ करोड ५० लाखको वटर उत्पादन भैसकेको छ। यसरी हेर्दा किसानले मिल्क होलि डे मा जानु परेको छैन। तर, डेरीवालाको पैसा फसेको छ। यस्तो अवस्थामा हामीले सररकारलाई भारतबाट आयात हुने पाउडर दूधको आयात रोख्न भनेका छौं। करोडौंको पाउडर दूध भारतबाट आउँथ्यो। अब हामी पाउडर दूध आफैँ उत्पादन गर्दछौँ, भारतबाट आयात हुने सबै रोकिनु पर्दछ भनेका छौँ। कुखुराको अण्डा, मासु आयात गर्न नपाए जस्तै अव पाउडर दूध पनि आयात गर्न पाइँदैन।

आयात रोकेपछि आम उपभोक्ता मारमा पर्ने गरेको देखिन्छ नि? नियन्त्रित बजारमा उद्यमीले काम गरेर नाफा कमाउने उपभोक्ता भने मारमा पर्ने अवस्थालाई कसरी लिने?
भारत र यहाँको अवस्था भिन्न छ। भारतमा उत्पादन लागत यहाँको भन्दा निकै कम पर्दछ। त्यहाँका उद्योगले सस्तोमा दूध किन्न पाउँछन्। यहाँ भने लागत मूल्य नै धेरै पर्छ। त्यसबाहेक उत्पादित सामानको गुणस्तरको कुरा आउँछ। हामीकहाँ गुणस्तरमा महत्व दिइन्छ। यहाँ सरकारको काम उत्तिकै छ। किसानलाई कमभन्दा कम लागत पर्ने गरी घाँस, दाना लगायतका कुरामा सहुलियत दिनुप-यो। त्यसो भयो भने मात्र हामी प्रतिस्पर्धामा जानसक्छौं। भारतमा पनि पाउडर दूधको मूल्य उकालो लागेको छ। मेरो जानकारीमा आएअनुसार अहिले २५ किलोको एक बोरा पाउडर दूध ११ हजारमा बिक्री हुन्छ। डेरी वालाहरूले बैंकको ब्याज लगायतका लगानी बाबजुद एक बोरा दूधबाट ५ सय मुनाफा मात्र लिइरहेका छन्। ५ सय नाफा लिएर भए पनि किसानलाई राहत दिइरहेका छन्। उत्पादन भए जति दूध किनिरहेका छन्।

किसानको दृष्टिमा कसलाई दूध बेच्दा बढी लाभ छ? प्राइभेट डेरीबाट कि सरकारी डेरीबाट?
प्राइभेटले दिने भनेको सुविधा हो। सरकारले जनतालाई सेवा दिँदैन। सरकारी डेरीको दूध, दही किन्न भन्दा प्राइभेटको किन्न सहज छ। खानेपानी, बिजुली सरकारका सेवा होइनन्? कुनै सेवा लिनुप¥यो, कुनै समस्या आयो भने त्यहाँका कर्मचारीलाई पैसा नदिई कामै हुँदैन। प्राइभेटले राम्रोसँग सर्भिस दिन्छ। तलबमा बसेको मानिसले सेवा दिने सोच्दैन, जति गरे पनि त्यही तलब त हो नि भन्ने हुन्छ। यस्तो समस्या अहिले कर्पोरेट सेक्टरले नै भोग्न थालेको छ। प्राइभेट डेरीकै कुरा गर्दा सानो हुञ्जेल एउटै मानिसले सबै काम गर्दछ। स्टोर राख्ने, बिक्री गर्ने, एकाउण्ट राख्ने काम एउटैले गर्नसक्छन्। जब व्यापार बढ्दै जान्छ अहिले त्यहाँ एउटै मानिसबाट भैरहेको काम हुँदैन। मै स्टोर किपर मैले विक्री गर्ने हो र?  भन्ने जस्ता कुरा हुन्छन्। निजी क्षेत्रमा अहिले सरकारी जस्तै ब्यूरोकेटिक सोच हाबी भैरहेको देखिन्छ। प्राइभेट सेक्टर पनि युनियन जस्ता कुराले ग्रसित हुँदै गएको देखिन्छ। जापानीजहरूले उत्पादनशीलता र सर्भिसलाई जसरी प्राथमिकतामा राखेका छन् त्यस अनुसार जानु पर्दछ। यस्तो काम सरकारी निकायबाट त हुनै सक्तैन। निजी क्षेत्रले उत्पादनशीलता जस्ता कुरालाई आधार बनाउन सक्छ। तर, निजी क्षेत्र पनि युनियनबाट ग्रसित देखिन्छ। २०६३ सालमा मलाई दबाबमा पारेर सर्भिस शुल्क लिने व्यवस्था भएको हो। त्यसबेला १९ बुँदेमा एकातिर हस्ताक्षर गर्ने म नै हुँ। एनडिजमा सेवा शुल्क दिन थालेपछि नाङलोमा त्यस्तै कुरा आयो, त्यसरी सबै तिर फैलियो। सबै रेष्टुरेन्टमा यो फैलियो। हुँदा हुँदा खानेपानी, बिजुली अफिस र बैंक, अस्पताल जताततै सर्भिस चार्ज लिन थालियो। यस अवस्थामा मैले छोरालाई भने अब नो सर्भिस चार्ज। कुरा के हो भने कुनै पनि कर लिनका लागि त्यो संसदबाट पास भएको हुनुपर्दछ। त्यस्तो चार्ज बजेट वक्तव्यमा  उल्लेख हुनुपर्दछ। नियम, कानुनअनुसार मात्र कर वा शुक्ल उठाउन सकिन्छ। अति हुन थालेपछि अहिले सर्भिस चार्जबारे राम्रो बहस सुरु भएको छ र यो खारेज हुने क्रममा छ। यो मामला अदालतसम्म पुगेको छ र अदालतले सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ।

तपाईं लामो समयदेखि डेरी उद्योगको क्षेत्रमा हुनुहुन्छ। डेरीको विषय विज्ञ, डेरी उद्यमी र लामो समय सरकारको उच्च तहमा रहेर काम गरेको अनुभवका आधारमा नेपालमा पशुपालन, दुग्ध उत्पादन र योसँगै जोडिएको उद्योगको कस्तो सम्भावना छ?
कृषि, पशुपालनका नाममा वर्षेनी सरकारको ठूलो धनराशि खर्च पनि भैरहेको छ। खास कुरो किसानको उत्पादनले बजार पाउनु पर्दछ। बजारसम्म पुग्नुपर्दछ र किसानको उत्पादन बिक्री पनि हुनुपर्दछ। बिक्री हुन सकेन भने उत्पादनको काम छैन, खर्च मात्र हुन्छ। किसानलाई निराशा मात्र हात लाग्छ। त्यसैले सरकारी निजी दुवैको प्रयास किसानको उत्पादनको बजार सुनिश्चित गर्ने भन्ने हुनुपर्छ। नेपाल डेरीले किसानको बजार सुनिश्चित होस् भन्नका लागि केही काम गरेको छ। पोहोर मात्र हामीले पूर्वी नेपालको इलाम र पश्चिमको डडेल्धुराबाट दुग्ध उत्पादन गर्ने, त्यहाँबाट उत्पादित सामग्री यहाँ ल्याएर बेच्ने नीति लियौं। किसानको लागत र उसको निश्चित मुनाफासमेत जोडेर उनीहरूको उत्पादन किन्ने व्यवस्था गरिएको थियो। हामीले त्यसरी काम गर्नेहरूलाई सुरुमा तालिम दियौँ, त्यसपछि आवश्यक उपकरण, भौतिक पूर्वाधार विकास गर्ने प्रबन्ध मिलायौँ।  इलाममा चिज बनाउने र डडेल्धुराबाट खुवा बनाउने भन्ने नीति थियो। पोल्यो भने तपाईंको पनि हात पोल्नु पर्दछ, मेरो पनि हात पोल्नु पर्दछ। राम्रो भयो भने तपाईलाई राम्रो हुनुपर्दछ, हामीलाई राम्रो हुनुपर्दछ भन्ने मान्यतामा काम अघि बढाइयो। दूध किसानको, घर किसानको मिहिनेत किसानको भएपछि त्यसबाट उत्पादन गर्दा लाग्ने लागत किसानलाई थाहा भै हाल्छ, त्यसमा नाफाको प्रतिशत जोडेर मूल्य राख्ने। त्यो मूल्यमा नेपाल डेरीले उत्पादन किन्ने र बिक्री गर्ने नीतिमा हामी छौँ। यो नीति चिजको हकमा कार्यान्वयन भएको छ, महिनाको २ हजार २५ सय केजीसम्म चिज आइरहेको छ, बिक्री भैरहेकै छ। उता डडेल्धुराबाट आउनुपर्ने खुवा भने आइरहेको छैन, त्यसमा व्यवधानहरू आए। किन यस्तो भयो भनेर बुझ्दा पो थाहा भयो, इलामको उद्योग निजी रहेछ, डडेल्धुराको सहकारी परेछ। डडेल्धुरामा राजनीति भएछ। सुदूर पूर्व इलाम र सुदूर पश्चिमको यो पछिल्लो अनुभवले सहकारीबाट काम नहुने रहेछ भन्ने देखियो। खुवाबाट मिठाई बनाउने राम्रो योजना थियो, कामै भएन। सहकारीलाई पशु सेवाले कारखाना घर बनाइदिएको थियो, हामीले ४, ५ लाख लाग्ने उपकरणहरू दिएका थियौँ, तालिम दिइएको थियो र बजार सुनिश्चित थियो, त्यै पनि काम भएन। इलाममा रिन्जी फुर्वा शेर्पाको निजी फर्म रहेछ। यो आफ्नो निजी भएकोले काम भयो। अब सरकार भने पनि सबैको हो, कसैको पनि होइन। कामै भएन। मुलुकभर सहकारीको हल्ला भैरहेको माहोलमा ल त हेराैँ भनेर प्रयोग गरेको परिणाम देखिहालियो। मेरो विचारमा सहकारीको नारा त राजनीति गर्नेहरूका लागि मात्र हुन्छ होला। उत्पादन, व्यापार उद्योगमा यसको काम देखिँदैन। मेरो पछिल्लो अनुभवले सहकारी भनेको राजनीतिक संयन्त्रका लागि मात्र उपयोगी हुन सक्ला। सहकारीमा सबैको उत्तरदायित्व,  निजी रुपमा कसैको उत्तरदायित्व होइन भन्ने हुन्छ।

तपाई मुलुकका डाँडाकाँडा पुग्नुभएको छ, कृषि, पशुपालनमा ठूलो सरकारी खर्च भैरहेको छ? यो अवस्थालाई कसरी लिनुहुन्छ?
नेपालमा पशुपालनको सम्भावना कस्तो छ, उत्पादन र बजारका दृष्टीकोणमा।

कृषिमा अनुदान, सहयोगका कुरा मिलेर बाँडीचुडी खान रचना गरिएका योजना हुन् जस्तो लाग्छ मलाई त। नेपालमा कृषि र पशुपालन दुवैको प्रचुर सम्भावना छ। दुवै एक अर्कासँग जोडिएका छन्। पशुुपालनबाट आउने प्रांगारिक मल, कृषिमा प्रयोग हुन्छ । तर मुख्य कुरा कहाँ के गर्ने? त्यो भने अध्ययन गरेर मात्र गर्नुपर्दछ। अध्ययन सरकारले गर्ने हो। सरकारको भूमिका अध्ययन गरेर क्षेत्र छुट्याउने र आवश्यकताअनुसारका योजना लागू गराउने हो। हिमाली क्षेत्रमा चौंरी, भेँडा च्याङ्ग्रा राम्रो हुन्छ। यिनीहरूको दूध वा मासु दुवै राम्रो मानिन्छ। हिमाली जडिबुटी खाएका यस्ता पशुको उत्पादनले राम्रो बजार पाउँछन्। अहिले याक चिजको मूल्य केजीको १८ सय छ, अरु पहाडी क्षेत्रका चिजको मूल्य किलोको ७ सय। यो अवस्थाले उत्पादनको महत्व र गुणस्तर औँल्याउँछ। याक चिजजस्तो पहाडी क्षेत्रमा हुँदैन, तर गाईवस्तुको मल हालेर फलेका अन्नलगायतका उत्पादनको मूल्य पनि बढी नै हुन्छ, अर्गानिक उत्पादन गर्न सकियो भने त्यसबाट धेरै भाउ पाउन सकिन्छ।

पशुपालन नेपालले प्राथमिकता दिनुपर्ने क्षेत्र हो कि होइन? तपाईं के भन्नु हुन्छ?
उच्च महत्व दिनुपर्ने क्षेत्र हो यो। नेपालका सम्भावनामध्येको हो पशुपालन। खुला बजार, इब्लुटिओ जस्ता नीतिले नेपाल बाहिरका उत्पादनहरूको डम्पिङ ग्राउण्ड भएको जस्तो देखिन्छ। मेरो विचारमा त दूध  अनुदान लिन पनि हुँदैन। विभिन्न अन्तर्राष्ट्रिय संस्थाले विभिन्न नाममा पाउडर दूध अनुदान दिन्छन्। यसो हेर्दा त राम्रो हो, अनुदानमा दूध। तर, गहिरिएर हे-यो भने उनीहरूले अरु विकसित देशको उत्पादन हामीकहाँ अनुदानका रुपमा आएको होइन र? यसले गर्दा नेपाली किसानको दूधलाई मार पर्दैन र? खै संवेदनशील भएको। विदेशीले अनुदान दिने भन्छन्, आधा मूल्यमा दूध दिने भन्दै यहाँ ल्याउँछन्। त्यसैले अनुदानमा होइन, उत्पादनमा जोड दिनुपर्दछ। यसो गर्दा सुरुमा केही महँगो पर्न सक्छ तर पछि गएर सबै मिल्दै जान्छ।

सरकारले ४०, ५० वर्षअघिदेखि पशुपालनलाई प्राथमिकता दिँदै आएको हो। तर खासै गति लिएको पाइँदैन? किन यस्तो अवस्था? तपाईंको विश्लेषण।
स्वदेशी उद्यमीलाई, किसानलाई केन्द्रमा राखेर काम गर्नुपर्दछ। आजकल चीनबाट गाई ल्याएर यहाँ गाई फर्म खोल्ने तयारी सुनिँदैछ। यसो गर्न हुँदैन। विदेशी लगानीको नाममा गाई फर्मको योजना छ। हामीले गर्न नसक्ने कुरामा पो विदेशी लगानी गर्ने हो। चीनबाट गाई ल्याएर यहाँका किसानलाई गाई दिने, दूधको उत्पादनलाई सहयोग गर्ने भन्ने होइन। नेपालमा चिनियाँ गाईको फर्म खोल्ने, नेपाली जनतालाई दूध बेच्ने र पैसा चीन लग्ने योजना हो यो। त्यसैले त्यसको विरोध हुनुपर्दछ। विदेशी लगानी यहाँका किसानलाई मार नपर्ने गरी पो लिनुपर्ने हो। हामीलाई सहयोग पुग्ने गरी पो योजना अघि सानुपर्ने हो। गाई उनीहरूलाई फार्मिङ गर्न दिनु हुँदैन। ती चिनियाँ गाई हाम्रा किसानलाई वितरण गर्ने हो भने ठिक्कै छ। किसानले चिनियाँ गाईबाट उत्पादन लिन्छन्, खान्छन् बेच्दछन्। होइन उनीहरूलाई नै फार्मिङ गर्न दिने हो भने त उनीहरूले उत्पादन गर्दछन्, प्रशोधन गर्दछन् राम्रो प्याकेटमा सहरी उपभोक्तालाई बेच्छन्, उता गाउँका किसान मारमा पर्छन र नेपाली पैसा जति सोहोरेर चीनतिर जान्छ। हामी त्यसको विरोधमा छौँ। गाई ल्याउने कुरो नराम्रो होइन, त्यस्ता गाई हाम्रा किसानलाई दिनुपर्दछ। अहिले जसरी नेपालमा पशुपालन र दूध उत्पादन भैरहेको छ त्यसैमा सरकार केन्द्रित हुनुपर्छ। विदेशीलाई दूध फर्म खोलेर, फ्याक्ट्री राखेर त्यसको लाभांश विदेश लैजान दिनु हुँदैन। विदेशी लगानी भौतिक पूर्वाधारलगायतका क्षेत्रमा गर्ने हो। कहाँ गाउँका किसानको विरुद्ध विदेशी लगानी भित्रिन दिने? सोच्ने कुरा हो यो। सरकारले अघि बढाएको चिनियाँ गाई फर्म राष्ट्रघाती हो, यो कार्यान्वयन हुनुहुन्न।

नेपाललाई कृषि प्रधान देश भनिन्छ। तपाईंको लामो अनुभवले के भन्छ? कृषिको हैसियत कस्तो हो?
मेरो विचारमा त कृषिको मात्र विकास गर्ने भनेर पुग्दैन। नेपालका सम्भावनाका क्षेत्र पर्यटन, जलविद्युत हुन्। त्यस्तै न धेरै चिसो न गर्मी भएको यो देश शिक्षाको केन्द्र बन्न सक्छन्, सुविधा सम्पन्न अस्पतालहरू स्थापना हुन सक्छन्, राम्रो सेवा दिन सकेको अवस्थामा नेपालमा एक खालको आकर्षण बढ्छ, लगानीको क्षेत्र विस्तार हुन्छन्, आर्थिक गतिविधि अगाडि बढेको अवस्थामा मात्र कृषि उत्पादनले बजार पाउँछ। त्यस्तो अवस्थामा मात्र कृषि, पशुपालनबाट राम्रो मुनाफा हुन्छ। कृषि विकासका नाराले मात्रा केही हुँदैन। सबैभन्दा पहिले कृषि उत्पादनको बजार हुनुप-यो। बजार नभै उत्पादन मात्र भएर हुँदैन। कृषि विकासका लागि अरु सेक्टरको विकास हुनुपर्दछ। कृषि उत्पादनको माग बढाउने खालको अर्थतन्त्र आवश्यक छ। उत्पादनले मात्र हुँदैन, बजार चाहिन्छ। उत्पादन भयो बजार भएन भने मुस्ताङका स्याउ गाई भैंसीलाई ख्वाएको भनेजस्तै हुन्छ। पहिले माग, त्यसपछि उत्पादन। सबैभन्दा पहिले उच्च माग उत्यादन गर्ने अर्थतन्त्र चाहिन्छ, आर्थिक कारोबार चाहिन्छ। आम नागरिकको किन्ने क्षमतामा वृद्धि हुनुपर्छ। पर्यटनको विकास भयो, नेपाल शिक्षा स्वास्थ्यको केन्द्र बन्न सक्यो भने आपसे आप कृषि उत्पादनले बजार पाउँछ। सबैभन्दा पहिला मार्केटको विकास गर्नुप-यो।

मार्केट कसरी विकास गर्ने त? तपाईंको सुझाव।
मार्केट भन्ने बित्तिकै उत्पादक, उपभोक्ताबीचमा काम गर्ने पक्ष आउँछ। त्यसलाई मझौला गर्ने वा बिचौलिया गर्ने भनाैँ। किसानले उत्पादन गरेको कुनै पनि कुरा उपभोक्ताकोमा सोझै त पुग्दैन नि। बीचमा कोही, केही वाहक चाहिन्छ। किसानको मिहिनेत र लगानी मात्र लगानी होइन नि, उत्पादनलाई बजारसम्म पु-याउन हुने ढुवानी लगायतका लगानी पनि त्यसैमा जोडिन्छ। बीचमा काम गर्नेले आफ्नो लगानी, मिहिनेत गरेको हुन्छ। उसले त्यसमा आफ्नो मुनाफा पनि जोड्छ। यो सबै लगानी भयो एउटा उत्पादनको। किसानदेखि बिचौलिया हुँदै उपभोक्ताको ढोकामा पुग्ने बजार प्रणालीबारे हामीकहाँ गलत धारणा छ। हामी बिचौलिया भनेर आलोचना गर्दछौँ, नकारात्मक किसिमले हेर्दछौँ। उनीहरू मार्केटिङ एजेन्ट हुन् भन्ने भावना विकसित हुनुपर्छ। बिचौलियाबारे आलोचना गर्नेभन्दा उनीहरूलाई एउटा सिस्टममा ल्याउन सक्यो भने त्यो सबैको हितमा हुन्छ। अनैतिक भैरहेको छ भने त्यसलाई व्यवस्थित गर्ने काम सरकारको हो। बीउ, बिजन, सिंचाइलगायतका पूर्वाधार सँगसँगै किसानका उत्पादनको बजार सुनिश्चित गर्ने काम सरकारको हो। किसानको हातमा पैसा पार्ने नीति र काम सरकारले लिनुपर्दछ, अनि मात्र कृषिमा विकास हुन्छ। किसानले उत्पादन गरेका उत्पादनको लागत मूल्य, किसानको नाफा समेत जोडेर सरकारले किन्ने व्यवस्था हुुनुपर्दछ। यो भूमिका सरकार निजी क्षेत्र दुवै मिलेर खेल्न सक्छन्।

तपाईंको दैनिकी बताउनु न कसरी बिताउँदै हुनहुन्छ ८६ वर्षे उमेर?
सबेरै उठ्छु, म फेरि भगवान्मा अलिकति आस्था भएको मान्छे हुँ। सबैभन्दा पहिले योगा गर्दछु, त्यसपछि टिभि हेर्ने, पत्रपत्रिका र फेसबुक खोलेर साथी भाइहरूको अवस्था थाहा हुन्छ। कोही  अमेरिकाबाट, कोही युरोपबाट, कोही कतैबाट फेसबुकमै जोडिन्छन्। त्यति गर्दागर्र्दै पूजा गर्ने बेला हुन्छ, सफासुग्धर गर्दाउर्दा आठ बज्छ। प्रत्येक दिन परेवा चारो पर्खिएर बसेका हुन्छन्, छतमा। परेवालाई उनीहरूले पर्खिएर बसेको समयमा चारो दिएन भने भोलिदेखि आउँदैनन्। पूजापाठ गर्न आधा घण्टा जति लाग्छ, त्यसपछि खाना खाएर अफिस जान्छु। खानपिनमा अहिले अलिक नियन्त्रण छ। ब्लड सुगर मार्जिन रहेछ, त्यसैले भातको साथ रोटी पनि खान्छु। अण्डा सातामा २ वटा  र भएसम्म बोकोको मासु  तर मासु घटाएर फलफूल सागपात नै बढी रुच्छ। मेरा धेरै साथीहरू यो संसार छोडेर गैसके। कतिपय विभिन्न खालका बिरामीले ग्रसित छन्। त्यसैले मलाई लाग्छ, खानामा केही सावधानी अपनाउनुपर्छ। आजकल कतिपय मानिस अल्जाइमर्सबाट पीडित छन्, कति डाइमेन्सियाबाट प्रभावित छन्। मलाई के लाग्दछ भने दिमागलाई चाहिले पोषक तत्व नपुगेरको त्यस्तो भएको हो कि भन्ने। कतिपय मानिस डाइटिङ भनेर खानेकुरा बारिरहेका हुन्छन्, त्यसो गर्दा शरीर र दिमागलाई आवश्यक तत्व पुग्दैन।  जस्तो ओखर फोड्दा ओखरभित्रका खण्डहरूमध्ये कुनै कुनै गुदी चाउरिएको, कुनै सुकेको हुन्छ। त्यस्तै हाम्रो ब्रेन पनि आवश्यक तत्व नपुगेर त्यस्तो रोग लाग्ने हो कि।

अफिस आयो,  यता उता  काम अहयो, साथीभाइ आउँछन् कुराकानी ग-यो। मैले बोर्ड गाइडलाइन दिने हो। त्यसैको आधारमा कम्पनीमा काम भैरहेको हुन्छ। कम्पनीमा सबैको जिम्मेवारी तोकिएको छ। छोरा अरनिकोले सबै खाले काम सम्हालिरहेका छन्।

नेपाल डेरी, एनडिजमै परिवारका सदस्यहरू सक्रिय छन्, कसरी मिलाउनु भएको छ जिम्मेवारी?
खासमा परिवारहरूमा विवाद आउनुको कारण आम्दानीको स्रोत विभाजनमा कुरा नमिल्दा हुने हो जस्तो मलाई लाग्छ। सम्पत्तिको वितरण न्यायपूर्ण भएन भने त्यसले विवाद सृजना गर्दो रहेछ। महाबौद्धका विभिन्न पसलबाट आएको वहाल पनि सबै जनालाई बाँडिदिन्छु। अमेरिकामा बसेको जेठो छोराको नामको खातामा पैसा जान्छ। मैले एउटा नीति लिएको छु, एउटा समानुपातिक नियम बनाएको छ। आम्दानी मेरो खातामा मेरी श्रीमती स्नेहलता राजभण्डारीको खातामा, अमेरिका बस्ने जेठो छोरो, यही काम गर्ने कान्छो छोरो, यही बसेर काम गर्ने कान्छी बुहारी र छोरीको खातमा आम्दानी जम्मा हुन्छ। कम्पनीमा काम गरेबापत राम्रै तलब पाउँछन्। मैले उनीहरूले कमाएको खोज्दिनँ, त्यत्ति सोधीखोजी पनि गर्दिनँ। विभिन्न कम्पनीबाट हुने आम्दानीमध्ये कम्पनीमै लगानी भैरहेको हुन्छ। आम्दानीको करिब ४० प्रतिशत त बैंकको किस्ता र ब्याजमा जान्छ।

तपाईंको कम्पनीको बारेमा बताउनुस् न?
नेपाल डेरीमा किसानबाट दूध आउँछ, प्रत्येक १५ दिनमा दूधका लागि करिब १ करोड जान्छ। डेरी लगायतका विभिन्न कम्पनीमा करिब २ सय जतिले काम पाएका छन्। यो वर्ष करिब ५० करोड कारोबार हुने लक्ष्य राखेको छ, हेरौँ कति हुन्छ।

परिवारका सदस्यहरूबारे बताउनुस् न। कसलाई के जिम्मेवारी दिनु भएको छ?
श्रीमती स्नेहलता राजभण्डारी जो फुड साइन्सकी रिडर्स हुन् लामो समयसम्म पद्म कन्या क्याम्पसमा अध्यापन गराएकी छन्। उनी कम्पनीमै छिन्, कम्पनीको मोडर्न फुड उनले हेर्छिन्। जेठो छोरो सुनिल राजभण्डारी अमेरिकाको ओराकल कम्प्युटर कम्पनीमा कार्यरत छन्, राम्रो जिम्मेवारीमा। जेठी बुहारी भावना राजभण्डारी आर्किटेक्ट हुन्, अमेरिकामै छन्। जेठो छोरा बुहारी दुवै केही महिनापछि अमेरिका छोडेर यतैको उद्यम व्यापार सम्हाल्न फर्कँदैछन्, उनीहरूलाई नेपाल फर्कन मैले जोड गरिरहेको छु। कान्छो छोरा अरनिको एनडिजको निर्देशक हुन्, कम्पनीको सबै थोक उनैले सम्हालिरहेका छन्। कान्छी बुहारी जसवन शाक्य राजभण्डारी कम्पनीकै जिम्मेवारीमा छन्। छोरी अन्जला राजभण्डारी मोडर्न फुडको निर्देशक हुन्, उनले पनि फुड साइन्समा उच्च तहको अध्ययन गरेकी छन्। ज्वाई श्रवण प्रधान आर्किटेक्ट हुन्। छोरो छोरीबाट अहिलेसम्म ५ जना नातिनातिना छन्।

प्रकाशित: २६ चैत्र २०७५ ०७:२५ मंगलबार

डेरी_उद्याेग नागरिक परिवार