गएको मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाउन म न्युयोर्क आइपुगेकी थिएँ । देश ठूला होऊन् या साना, समाज विकसित होस् या अविकसित, नारीको अवस्था भने अझै पनि गुणात्मक रुपमा सुधार हुन नसकेको यहाँ व्यक्त धारणामा टड्कारो सुनिन्थ्यो । यहाँ गुनासाका कुरा मात्र भएनन्, आक्रोश मात्र पोखिएनन् । समस्या समाधानका लागि भइरहेका पहल र गर्न सकिने साना परिवर्तनका कुरा पनि भए ।
अब त यो पक्का भइसक्यो, नारी उत्थानका कुरामा नारी मात्र कुर्लेर र उर्लेर हुँदैन । संसारको आधा हिस्सा सामाजिक अन्याय, असमानता भोग्नु भनेको अर्को आधा हिस्सालाई पनि अप्रत्यक्ष रुपमा प्रभाव पर्नु हो । त्यसैले बालबालिका र महिलामाथि हुने सबै किमिसका विभेदलाई न्यूनीकरण गर्नका लागि पुरुष सहभागिता पनि उत्तिकै आवश्यकता रहेको कुरामा यहाँ जोड दिइएको थियो।
हुन पनि एउटी नारी शिक्षित भई भने उसले पूरै परिवारलाई शिक्षित बनाउन सक्छे तर ऊ अशिक्षित, कुण्ठित र असुरक्षित भई भने उसले दिने योगदान अवश्य पनि कम हुन्छ र संसार बस्न अयोग्य हुन्छ ।
वैदिक कालदेखि नै हाम्रो समाजमा स्त्री जातिलाई सरस्वती, लक्ष्मी र दुर्गाको उपमा दिँदै आएको छ । जुन स्त्रीमा यी तीन गुण छन्, उसले समाजलाई उन्नत बनाउँछन् भन्ने भावना पहिलेदेखि नै अभिव्यक्त हुँदै आएको हो । यही हिसाबले स्त्रीलाई शिक्षादीक्षाले युक्त बनाउनुपर्छ, लक्ष्मीजस्तो सुसम्पन्न रहनुपर्छ र दुर्गाजस्तो शक्तिशाली हुनुपर्छ भन्ने सन्देश प्राचीन कालदेखि नै बुझाइँदै आइएको छ ।
एउटी सुसंस्कृत र सुपठित नारीले कस्तो पुस्ता तयार गर्छे ? अवश्य पनि आफूजस्तै सुसंस्कृत र सुपठित नै पुस्ता बनाउँछे । त्यसमाथि लक्ष्मीको कृपाले धनधान्य अर्थात् धनसम्पत्तिमा अधिकारयुक्त नारीले आउँदो पुस्तालाई त्यसको समुचित उपयोग र उद्यमशीलतामा ध्यान दिन अवश्य पनि सिकाउँछे । त्यस्तै दुर्गाजस्तो सक्षम र सबल नारी, जो चाहिँदो कुरामा कसैसित डराउँदिन, उसले सत्यका लागि लड्न सधैँ प्रेरित गरिरहन्छे । यो उसको जीवनका लागि पनि अति सकारात्मक पक्ष हो भने आउँदो पुस्ताका लागि पनि यी गुण छाडेर जाने हो ।
जुन स्त्री विद्या, सम्पत्ति र आत्मविश्वासले पूर्ण हुन्छे, उसले निर्माण गर्ने समाज अवश्य पनि सुसंस्कृत हुन्छ ।
अहिले विद्या, सम्पत्ति र शक्ति (आत्मविश्वास)ले परिपूर्ण स्त्री कल्पनातित बन्न पुगेकी छ । यो एउटा सपनाकी स्त्रीमा परिणत भएकी छ । यो कल्पनातित स्त्रीलाई वास्तविकतामा परिणत गर्न अब ढिला भइसकेको छ । जति जति समाज सुदृढ र विकसित हुँदै गइरहेको छ, विविध कारणले स्त्री जातिमाथि उति उति आपत, समस्या र अत्याचार बढिरहनु सभ्यतामाथिकै प्रहार हो भन्ने बुझ्न जरुरी छ ।
यस्ता कुरा बुझ्न र बुझाउन आठ मार्चले हरेक वर्ष घच्घचाइरहेको हुन्छ । कम्तीमा यही दिनले संसारभरिका स्त्री÷पुरुष सबैलाई सबलताको पाठ पढाइरहेको हुन्छ, स्त्री जातिलाई केही नयाँ गर्न उक्साइरहेको हुन्छ र सम्पूर्ण सभ्यतालाई एउटा चुनौती पेस गरिरहेको हुन्छ । यो कुनै चानचुने कुरा होइन ।
हुनु पर्ने त के हो भने अहिलेको एक्काइसौँ शताब्दीमा स्त्री÷पुरुष दुवै बराबर हैसियतमा रहनुपर्ने हो । दुवैले उही कामको समान ज्याला पाउनु पर्ने हो । स्त्री भएकै कारण उसको श्रम शोषण नहुनु पर्ने हो । घरमा उसमाथि अन्याय र हेलाहोचो बन्द हुनुपर्ने हो । सनातन युगदेखि महिलाको त्रिआदर्श (शिक्षा, सम्पत्ति र शक्ति)लाई पछ्याउँदै मानिस वास्तविक रुपमा आदर्श जीवन बिताउन सक्षम भइसक्नु पर्ने हो । त्यो हुन सकेको छैन ।
स्त्री/पुरुष भिन्दाभिन्दै प्रकृतिका तर एउटै सपना बुन्ने जाति हुन् । उनीहरुको प्रकृतिले एकअर्कालाई बुझ्न कठिन बनाइरहेको छ । नारी समस्यालाई स्वाभाविक समस्या मानेर यसलाई लुकाउने, यसको समाधानार्थ पहल नगर्ने प्रवृत्तिका कारण उनीहरु पछाडि परेको सत्यतालाई महसुस गर्दै साझेदारी, सम्वाद र सशक्त कार्यान्वयनमा जोड दिनु आजको आवश्यकता हो ।
आठ मार्चको कार्यक्रमले एक दिन मात्र समाज, समुदाय, देशलाई यसबारे घच्घचाएर पुग्दैन । हरेक दिन महिला दिन हुनुपर्ने हो । हरेक दिन नारीमाथि भएका अप्ठेरा, अहसजता र अत्याचारविरुद्ध आवाज उठाई तिनको निराकरणका लागि पहल नभई ‘खास’ परिवर्तन महसुस गर्न सकिँदैन भन्ने कुरा प्रमाणित नै भइसकेको छ । तसर्थ, यसका लागि नारी मात्र एक्लो यात्रामा हिँडेर हुँदैन, साथ र सहयोगका लागि नर पनि उत्तिकै आवश्यक छ ।
र, यही कुरा आठ मार्चका गतिविधि, सभासेमिनार र सम्मेलनहरुले जोड दिएको छ । हुन त कतिपयको आलोचना पनि उठ्ने गर्छ, यस्ता सभासेमिनारको के अर्थ जबकि तल्लो तहका स्त्रीको समस्या समाधानमा रत्ति भूमिका खेल्न सकेको छैन । यो एउटा लोकप्रिय आरोप पनि हो । तर हामीले बुझ्नुपर्ने पक्ष के छ भने निरन्तरको दबाब, छलफल, नीतिनिर्माणमा भएका सहभागिता र सहकार्यका कारण शताब्दीअघिका नारीको अवस्थाभन्दा अहिलेका नारीका कयौँ समस्या न्यूनीकरण भइरहेका छन्। हिजोसम्म सहज मातृत्व स्वास्थ्य, नारी शिक्षाजस्ता कुरा आकाशका फलजस्ता प्रतीत हुन्थे भने अहिले ती सहज हुन पुगेका छन् । संसारभरि नै सन्तान जन्माउँदा मृत्यु बेहोर्ने महिलाको संख्या आश्चर्यजनक तरिकाले घट्न पुगेको छ । नेपालको तराई भेगमा बिहान–बेलुकी अँध्यारो छोपेर शौचालय धाउनुपर्ने समस्या क्रमशः समाधानको बाटोमा छ । हेर्दा यी सामान्य समस्या हुन्, उपेक्षित समस्या हुन् तर तिनको क्रमशः सुधारका कारण महिला स्वास्थ्यमा आश्चर्यजनक सकारात्मक प्रभाव पारिरहेका छन् । एउटी स्वस्थ नारीले घर र समाजमा खेल्ने भूमिका कम आँक्न सकिन्न ।
यस्ता कुरामा भएका ससाना सुधार, शिक्षा र सशक्तीकरणले देशभर नै सशक्त भूमिका खेलिरहेको छ । यो सकारात्मक पक्ष हो तर अझै पनि यी समस्या निमिट्यान्न भइसकेका छैनन् । तिनलाई हामीले अझै ध्यान दिएर गुणात्मक जीवन जिउने महिलाको जुन अधिकार छ, त्यसलाई रक्षा गर्नुपर्ने बेला आएको छ ।
प्रकाशित: २३ चैत्र २०७५ ०९:३५ शनिबार