झलमल्ल हिमाल। तलतल काठमाडौं उपत्यकाको पूरा छवि। चारैतिर हरिया डाँडा, एउटा होइन, दुइटा होइन, अनगिन्ती आपसमा खप्टिएझै देखिने। कति सुन्दर प्रकृति ! जता हे-यो उतै हरियाली। त्यसमाथि पनि गुराँसको लालीले वनै राताम्मे। नयाँ दुलहीले रातो सारी लगाएझैं देखिने पहाडहरू।
अहिले यस्तै दृश्य देखिन्छ नल्लु लामिडाँडातिर। फागुनदेखि नै फुल्छन् गुराँस। काठमाडौं वरपरका जुनसुकै डाँडा चढे पनि देखिन्छ गुराँस। यही गुराँसे पदमार्गमा फागुन २६ गते प्रकृतिप्रेमी समूहको १४१ औं हाइकिङमा पुगेका थियौं हामी। चापागाउँ, लेले हुँदै नल्लु भन्ज्याङसम्म गाडीमा गयौं। हाम्रो पदयात्रा गन्तव्य थियो लेले सरस्वतीकुण्ड हुँदै नल्लु भन्ज्याङ, लामिडाँडा, फुल्चोकी हाफ र त्यहाँबाट देउराली हुँदै लेले मनकामनासम्म।
गुराँसे हाइकिङका लागि ललितपुरको लामिडाँडा क्षेत्र उपयुक्त छ। गुराँसको लाली चढेका बेला तरतरी पसिना चुहाउँदै पदयात्रा गर्नुको आनन्द हाइकर्सले मात्रै अनुभव गर्न सक्छन्।
केहीबेर पदयात्रा गन्तव्यबारे जानकारीपछि पदयात्रा सुरु भयो। महाभारत श्रृखलामा पर्ने दक्षिण ललितपुरको लामिडाँडा पदयात्राका लागि उपयुक्त छ।
लेले
ललितपुरको लगभग मध्य भागमा पर्ने स्यानो उपत्यका हो–लेले। इतिहास, प्रकृति र संस्कृतिको त्रिवेणीधाम। चारैतिर हरिया डाँडाले पहरा दिइरहेको, बीचमा काँठे बस्ती। उर्वरा जमिन भएको लेलेमा तरकारी र खाद्यान्न राम्रो उत्पादन हुन्छ। त्यसैले गाउँलेको मुख्य पेशा कृषि र पशुपालन हो। लिच्छवी र मल्लकालीन पुरानो नेवार बस्ती लेले। त्यहाँ क्षेत्री, तामाङ, नगरकोटी आदिको बसोबास छ। देवतैदेवताको शहर लेलेको महत्वपूर्ण सम्पदा सरस्वती कुण्ड हो।
किंवदन्तीअनुसार उहिल्यै गुरु वृहस्पतिले यो ठाउँमा तिलको थुप्रो लगाएर महादेवको तपस्या गरे। तपस्यामा बसेको तेस्रो दिन संक्रान्तिमा तिल शिलामा परिणत भई महादेवले दर्शन दिए। महादेव ‘मेरो मात्र आराधना गरेर पुग्दैन, सरस्वतीको पनि आराधना गर’ भनेर अन्र्तध्यान भएछन्। महादेवको आदेशअनुसार वृहस्पतिले तपस्या गरे। सरस्वती जलका रूपमा प्रकट भइन्। जुन वृहस्पतिले पिए। जल पिएकाले उनको कण्ठमा गएर सरस्वती बसिन्।
त्योभन्दा पहिला सरस्वती गुरु शुक्राचार्यको कण्ठमा बस्थिन्। आफ्नो ठाउँ छाडी सरस्वती वृहस्पतिको कण्ठमा बस्न थालेपछि शुक्राचार्य रिसाए। उनले श्राप दिए, ‘तिमीले जलका रूपमा यही कुण्डमा बस्नु परोस्।’ कुरा नबुझी शुक्राचार्यले श्राप दिएपछि सरस्वतीले पनि शुक्राचार्यलाई श्राप दिइन्, ‘तिमीले शुक्रकिटका रूपमा संसार सृष्टि गर्न सहयोग गर्नु परोस्।’
सरस्वतीको श्राप पाएर शुक्राचार्य पहेँलो पानीका रूपमा परिणत भई कुण्ड बन्यो। जसलाई ज्ञानकुण्डका रूपमा पुजिन्छ। तिलको थुप्रोबाट शिव उत्पत्ति भएकाले तिलेश्वर महादेव भनियो। सरस्वती जलका रूपमा प्रकट भएकीले सरस्वती कुण्ड र शुक्राचार्य पानीका रूपमा परिणत भएको ठाउँलाई ज्ञानकुण्ड भनियो।
सरस्वती कुण्ड नजिक सरस्वतीका साथै गणेश, कुमार, नवदुर्गा लगायत मूर्ति छन्। सरस्वती कुण्डमा श्रीपञ्चमीका दिन मेला लाग्छ। विशेषतः विद्यार्थी जान्छन्। तिलेश्वर र सरस्वती कुण्ड नजिकै उत्तरमा पशुपतिनाथ मन्दिर छ। काठमाडौंको पशुपतिनाथभन्दा यो मन्दिर पुरानो मानिन्छ जुन विसं ५२६ मा स्थापना भएको थियो। मन्दिरमा माघे संक्रान्ति, बाला चर्तुदशी, साउन, शिवरात्रि, जनै पूर्णिमा र श्रीपञ्चमीमा मेला लाग्छ।
नल्लु भन्ज्याङ
लेले कुण्डबाट २ किमी माथि छ भन्ज्याङ। गोटीखेल जाने मुख्य हाइवे हो भञ्ज्याङ (१,८०० मिटर)। यहाँबाट दायाँ लागे ४ किमीमा छिन् पाथिभरा, त्यहाँ पुग्न डेढ घन्टा लाग्छ। भन्ज्याङमा पसल छैन। नल्लु भन्ज्याङबाट १ किमीमा छ लामीडाँडा भन्ज्याङ।
लामिडाँडा
लामो डाँडा भएकाले नामै लामिडाँडा भएको भनाइ छ। तामाङ जातिको बसोबास भएको डाँडामा बस्ती छैन। उहिल्यै बाख्रा फार्म थियो, अहिले छैन। भारदेउको लामिडाँडामा पिकनिक स्पट, भ्यूटावर बनाउन सके हिमालको छहारी अनि हरियालीमा आँखा डुलाउँदै एक दिन सजिलै बिताउन सकिन्छ।
डाँडाको दक्षिणमा भारदेऊ बस्ती छ। महाभारत श्रृखलामा पर्ने हुनाले हरियाली यहाँको विषेशता। पहाडी इलाका भएकाले उकालीओराली छ। लामिडाँडाको प्रवेश भन्ज्याङमा सानो पसल छ। अरु छैनन्। गोटीखेल जानेहरू यहाँ चिया नास्ता गर्छन्। यहाँबाट उत्तरमा हिमाल खुलेका बेला पश्चिमदेखि पूर्वसम्मै हिमाल खुल्छन्। दायाँबायाँ जंगलबीचमा बाटो, चराचुरुङ्गीको प्राकृतिक आवाज सुन्दै हरिया डाँडामा आँखा डुलाउँदै पदयात्रा गर्दा उकालीमा थाकेको शरीरमा ऊर्जा भरिन्छ।
फुल्चोकी हाफ
लामिडाँडाबाट ३ किमी ठाडो उकालो चढे पुगिन्छ लामिडाँडा र फूल्चोकीको संगम जसलाई फुलचोकी हाफ भनिन्छ। यहाँबाट ५ किमी दूरीमा छ फूल्चोकी। चारैतिर वन क्षेत्र, राताम्मे गुराँस फुलेको वातावरण। यहाँबाट नजिकै हिमाल देखिन्छ भने चारैतिर खुल्ला दृश्य पनि। चौरमा बसेर खाजा खाना सकिन्छ। ध्यान दिनु पर्ने कुरा खाजा वा खाना खाएपछि फोहर यत्रतत्र नफाल्ने। आफूले बोकेका खानाका प्लास्टिक, बोटल तथा खोलहरू आफैंसँग बोकेर ल्याउने अथवा सम्बन्धित ठाउँमा व्यवस्थापन गर्ने।
देउराली
डाँडाबाट डेढ किमी ठाडो ढुंगा ओच्छाइएको ओरालो झरे पुगिन्छ देउराली (१,९०० मिटर)। चौबाटो छ देउरालीमा। सिधा बाटो लागे गोदावरी पुगिन्छ। उत्तर लागे बडीखेल चौर हुँदै बडीखेल गाउँ पुगिन्छ। पश्चिम ढुंगा ओछ्याइएको बाटो लागे लेले मनकामना मन्दिर पुगिन्छ। यहाँबाट लेले मनकामना करिब डेढ किमी छ। देउरालीमा एकछिन आराम गर्न सकिन्छ।
हामीले फुल्चोकी हाफ (२,४५० मिटर)मा बसेर स्वास्थवद्र्धक खाजा खायौं। हाम्रो पदयात्रामा हामी स्वास्थवद्र्धक आहारमात्र खुवाउँछौं। खाजा पछि एक छिन साँगीतिक कार्यक्रम गरेर हामी सिधा ओरालो झ-यौं। ढुंगा ओच्छाइएको ठाडो ओरालो। करिव ३ घन्टामा मनकामना मन्दिर हुँदै लेले पुग्यौं जहाँ हामीलाई बसले कुरिराखेको थियो।
भारदेउको लामिडाँडा हाइकिङका लागि निकै उपयुक्त छ। जंगलको बाटो शितल। चराको चिरबिर। थरिथरिका बोटबिरुवा अवलोकन गर्दै हिँड्न पाइन्छ। घना जंगल भएकाले जंगली जनावरहरू बाँदर, वनविरालो, बँदेल, मृग आदि देख्न पाइन्छ।
मौसम अनुसार फल्ने ऐंसेलु, चुत्रो, आरुबखडा, काफल आदि खाँदै हिँड्न सकिन्छ। टिपेर कोेसेली ल्याउन पनि पाइन्छ। यतिबेला गुराँसको वैंश फक्रिएको छ। हिमाल हेर्दै गुराँसको सौन्दर्यमा पदयात्रा गर्ने कि ?
कसरी पुग्ने : ललितपुर लगनखेलबाट लेले सरस्वती कुन्ड हुँदै नल्लु भन्ज्याङसम्म १८ किमी बसमा। भन्ज्याङबाट लामिडाँडा हुँदै फूल्चोकी हाफ, देउराली, लेले मनकामना हुँदै सरस्वती कुन्डसम्म पदयात्रा। नल्लु भन्ज्याङ–लामिडाँडा–फुल्चोकी हाफ ६.५ किमी। फुल्चोकी हाफ– देउराली १.५, देउराली–मनकामना १.५ किमी, मनकामना–कुण्ड ४ किमी। जम्मा पदयात्रा दुरी १३ किमी। समय ६ घन्टा।
प्रकाशित: २३ चैत्र २०७५ ०६:५७ शनिबार