काठमाडौं - उपत्यका उजाड कंक्रिटे सहर भइसकेको छ। यहाँको हरियाली र खाली जमिन वर्षैपिच्छे घट्दो छ। हाल उपत्यकाको जमिनमा ठडिएका रूखको संख्या पनि धेरै छैन। सहरका रुख एक दिनभरी गणना गर्न सकिनेजतिकै पातलो भइसकेका छन्। तीनै रुखलाई नै तारो बनाएर सरकारी निकायले विकास निर्माणका काम अघि बढाउने क्रम जारी छ।
पछिल्लो एक दशकमा विकास निर्माणका विभिन्न वहानामा यहाँका रूख कटान हुँदै आएका वातावरणविद् भुषण तुलाधरको भनाई छ। उनका अनुसार सहरलाई हरियाली बनाइराख्न खर्च पनि बढी लाग्छ। अर्को पक्षलाई हेर्दा धेरै अग्ला रूख सहरी क्षेत्रका लागि उपयुक्त मानिँदैन। त्यसकारण पनि सहरमा टुपुक्कका, होचा र फूल फुल्ने रुख रोप्न आवश्यक देखिन्छ। ‘हामीले सहरमा संरचना बनाउँदा कंक्रिटतर्फ मात्रै ध्यान दियौं, हरियाली जोगाइराख्नुपर्छ भन्नेतिर खासै ध्यान दिएनौं, नयाँ बिरुवा रोप्ने योजना ल्याए पनि ती योजना अघि बढेका छैनन्, त्यसैले हामीले हरियालीको महत्व अझै बुझ्न सकेका छैनौं भन्ने लाग्छ,’ उनले भने।
सरकारी तथ्यांकलाई हेर्दा बितेका तीन वर्षमा देशभर केही प्रतिशत मात्रै वन वृद्धि भए पनि सहरी क्षेत्रमा भने रुखको संख्या खुम्चँदै गएको छ। वन मन्त्रालयले उपत्यका बाहिर वनजंगलको संख्या बढेको तथ्यांक सार्वजनिक गरे पनि उपत्यकामा रूखको संंख्या कति छ भन्ने तथ्यांक मन्त्रालयसँग छैन। विज्ञहरुको भनाई अनुसार सहरी इलाकामा वर्षेनी रुखको संख्या घढ्दो छ। यही शैलीमा सहरको विकास गर्दै अघि बढ्ने र विरुवा काँट्दै जाने हो भने सहरको महत्व नै हराउने विश्व साइकलयात्री पुस्कर शाहको भनाई छ। उनले विकास निर्माण गर्दा पुराना रुख जति काटिन्छन् त्यही संख्यामा नयाँ रुख रोप्नुपर्ने भएता पनि सरकारी निकायले त्यसतर्फ ध्यान नदिएको बताए। ‘विकास निर्माणका धेरै रुख काटिए कतैकतै फूलका बिरुवा देखिए पनि हरियाली फर्काउन सकिएको छैन,’ उनले भने, ‘चक्रपथको कथा झन् उराठिलो र दयनीय छ, सडक पनि त्यति सुरक्षित छैन, साइकल लेन हराएको छ, सडक आसपास सयौं रुख काटेर निमिट्यान्न पारिएको छ, पुराना रुख काट्दै जाने र नयाँ रुख रोप्न बिर्सने हो भने सहरमा हरियाली देख्न मुस्किल पर्नेछ।’
तीन वर्षमा काटिए ४ हजार रूख
बितेका तीन वर्षमा उपत्यकामा चार हजार एक सय हाराहारी रूख काटिएका छन्। विकास निर्माणका क्रममा सहरी क्षेत्रका रुख काटिएको सरकारी तथ्यांक छ। वन मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार आसपासका डाँडाकाँडाबाहेक अहिले उपत्यकाको सहरी इलाकाभित्रको घना जंगल कतै छैन। सडक, चउर र घरको बीचमा फाट्टफुट्ट रुख छन्। ती रुखलाई पनि क्रंक्रिटका भवनले असर पार्ने देखिएको छ। डिभिजन वन कार्यालय काठमाडौंका अनुसार विकास निर्माणकै क्रममा सहरी इलाकाभित्रका रुख काटिएका हुन्।
कहाँ कति रुख काटिए ?
१. माथिल्लो त्रिशुली ३ ‘ए’ केभी जलविद्युत् आयोजनाकाे आर्थिक वर्ष २०७५/०७६ मा १८ सय २८
२. मस्र्याङ्दी–काठमाडौं २ सय २० केभी प्रसारण लाइन आर्थिक वर्ष २०७४/०७५ मा १ सय २१
३. थानकोट–चित्लाङ सडक आयोजना आर्थिक वर्ष २०७३/७४ १ सय ७१
४. भक्तपुर, नगरकोट, सिपाघाट, बल्खु र दक्षिणकाली सडक आर्थिक वर्ष २०७३/७४ ७ सय ६१
५. गोकर्ण–साँखु सडक आर्थिक वर्ष २०७५/०७६ १६
६. त्रिपुरेश्वर–नागढुंगा सडक आर्थिक वर्ष २०७४/०७५ आर्थिक वर्ष १ सय ७० वटा
७. कान्ति लोकपथ सडक आर्थिक वर्ष २०७५/०७६ मा ७ सय १५
८. कान्ति लोकपथ सडक आर्थिक वर्ष २०७५/०७६ मा १२ सय काटिँदै
९. कोटेश्वर–कलंकी आर्थिक वर्ष २०७४/०७५ मा १२ सय ४८
रूख कटान गरिएपछि काठमाडौं उपत्यकाका भित्री सडक झन् उजाडिने अवस्थामा छन्। सहरलाई हरियाली बनाउने रुखको संख्या घट्दै गए पनि यसबारे सरकारी तथा निजी निकायहरू गम्भीर छैनन्। वन मन्त्रालय, सडक विभाग, वन विभाग, सडक डिभिजन कार्यालय, डिभिजन वन कार्यालयकै सहल्लाह र स्वीकृतिमा उपत्यकाका रूख काटिएका हुन्। तर, सरकारी निकायले विकास निर्माणका काममा अप्ठेरो पर्ने भयो भनेर काटेका रूखको कुनै अभिलेख राखेका छैनन्। उपत्यकाभित्र रूख कति छन्, कति काटिए, कति काटिँदै छन् भन्ने विषयमा वन क्षेत्रको सबैभन्दा माथिल्लो सरकारी निकाय वन मन्त्रालय नै अनविज्ञ छ। उपत्यकाका केही स्थानमा सयौं वर्ष पुरानो इतिहास बोकेका रूख भएतापनि तीनको विवरण सरकारी निकायमा भेटिनन्।
वन मन्त्रालयका सचिव विश्वनाथ वलीले देशभरको वन क्षेत्रले ६६ लाख हेक्टर जमिन ओगटेको जानकारी दिए। तर, सहरी क्षेत्रको हरियाली र वन क्षेत्रलाई हेर्दा पुग्दो नभएको उनको भनाई छ। ‘सहरी इलाकाभित्र त्यस्तो खास कुनै घना जंगल छैन, हामीले सहरभित्र एक–दुई रूख भएको ठाउँलाई वनभित्र गणना गर्दैनौं र सहरमा छरिएका ती रूखको छुट्टाछुट्टै विवरण पनि हामीले राखेका छैनौं,’ उनले भने। उनका अनुसार सहरी क्षेत्रमा छरिएका रूख काट्नुका कारण धेरै छन्। सहरमा बढी पाइने रुख लहरे पिपलको जरा कमजोर हुने भएकाले हावाहुरीले ढाल्ने र त्यसले दुर्घटना निम्त्याउन सक्ने भएपछि उपत्यकाका भिविन्न ठाउँमा काटिँदै आएको वलीको भनाई छ। उनले विकास गर्न लागिएको ठाउँमा अध्ययन गरेर मात्रै रूख काटिएको दाबी गरे। उनका अनुसार बिजुली तथा टेलिफोनका तारका कारणले पनि उपत्यकाका कतिपय ठाउँमा रूख नभई फूल मात्र रोप्नुपर्ने अवस्था छ। त्यसको लागि मन्त्रालयले अहिले सहरी हरियाली योजनाअन्र्तगत ‘अर्बन फरेस्ट्री’ को कार्यक्रमको पनि अभ्यास गर्न लागेको छ।
वृक्षरोपण जिम्मेवारी कसको ?
सहरमा विकास निर्माण गर्दाखेरी काटिएका रूखको सट्टा त्यस्तै कुनै ठाउँमा नयाँ रूख रोप्नुपर्ने नियम छ। तर, सहरमा हुँदाहुँदैका सग्ला रूख कटान गर्न समय लाग्दैन। त्यसको साटो नयाँ रूख रोप्न समय लगाइन्छ। सरकारी निकायले नै रूख रोपेको छ भने त्यसको स्याहार हुँदैन। त्यसकारण पनि सहरमा रूखको संख्या घट्ने देखिन्छ।
एक वर्षअघि महानगरपालिकाअन्तर्गतको वातावरण व्यवस्थापन विभागले गत वर्षचक्रपथ, लाजिम्पाट र अनामनगरमा ५ सय रूख रोपेको थियो। तर, त्यसमध्ये धेरैजसो रूखका बिरुवा सुकिसकेका छन्। थोरै मात्रै विरुवा सहरको धुलोमा मिचिएरै भए पनि हुर्कने क्रममा छन्। सडकका आसपासमा रूख रोप्ने जिम्मा सडक विभागको हो। उपत्यकाभित्र नयाँ रूख रोप्नुपरे वन विभागले नै उपलब्ध गराउँछ। तर, पछिल्लो समय उपत्यकाभित्र पर्याप्त रूख रोपिएका छैनन्।
उपत्यकाका लागि उपयुक्त रूख
वनस्पतिविद्को भनाई अनुसार उपत्यकामा हरेक किसिमको वनस्पतिको लागि उपयुक्त जमिन मानिन्छ। यहाँको मौसक र हावापानी सदावहार भएकाले यहाँ हरेक प्रकारका विरुवा रोप्न सकिन्छ। तर, पछिल्लो सहरी वनावट हेर्दा यहाँ अग्ला प्रजातिका रूख रोप्नु त्यति उपयुक्त मानिँदैन।
वनस्पतिविद् तीर्थवहादुर श्रेष्ठले पहिले पहिले उपत्यकामा लहरे पीपल र मसलाका रूखहरू धेरै हुन्थे। अहिले यी रूखहरू प्रायः देखिँदैनन्। अहिले काइँयो, ज्याकरण्डा र सल्लो पनि उपत्यकामा बढी देख्न पाइन्छ। श्रेष्ठका अनुसार पछिल्लो समय उपत्यकाभित्र कपूर, पैयुँ र पुहाँलेलगायत प्रजातिका रूख उपयुक्त मानिन्छ। यी रूखको जरा बलियो हुने र धेरै अग्लो नहुने भएकाले उपत्यकाको लागि यस्ता रूख उपयुक्त हुन्छन्।
प्रकाशित: २२ चैत्र २०७५ ०६:५६ शुक्रबार