अन्य

‘कल्पनाको सहर अझै बनेको छैन’

नवराज लम्साल, कवि

तपाईको बुझाई, विचार र भोगाईमा सहर भनेको के रहेछ ?
सामान्यतया सुविधाहरु भएको ठाउँलाई सहर भन्ने गरिन्छ। आम मानिसको बुझाई पनि यही छ। म अलि फरक ढंगले गाउँ र सहरलाई बुझ्छु। गाउँबाट सहर पसियो। उतातिर छोडेर आएको गाउँ र यहाँ आएकोलाई सहर भन्ने बुझाई रह्यो। यहाँ सहर हुनु भनेको सबथोक हुनु हो भन्ने लाग्छ। सबथोक हुनु भनेको– ठाउँ ठाउँमा शौचालय हुनु।  सडक क्लीन हुनु। नजिकै केही बगैंचा हुनु, त्यहीँ आसपास सफासुग्घर घरहरू हुनु। खानेपानी, बिजुलीवत्ति, शैक्षिक संस्था र  यातायात सुविधा हुनु। राज्यले दिने सेवा सुविधा सुरक्षित र समान किसिमका हौंन। एकले अर्कालाई माया र वास्ता गरुन्। सहर भन्ने बित्तिकै यस्तैयस्तै कुराहरू मनमा खेलिरहन्छन्।

सहर पस्नुपूर्व संगालिएका परिकल्पना, आशा र योजना धेरै किसिकका हुन्छन्, तपाई के सोचेर सहर पस्नुभयो ?
म २०४० साल फागुन महिनामा ८ कक्षा पढ्न काठमाडौं छिरेको थिएँ। यो भीडमा मैले ३५ वर्ष बिताइसकेँ। मैले त्यो बेला कल्पना गरेर आएका सहरमा एउटा दुर्घटना छ। म २००७ साल फागुन ७ गते काठमाडौं आए। फागुन ७ गते काठमाडौं आउँदाको साँझ काठमाडौं अत्याधिक झिलिमिलि थियो। चोक चोकमा, गल्लीगल्लीमा, बाटो बाटोमा वत्ति बलिरहेको त्यो झिलिमिलि दृश्य नियालिरहँदा मेरो बाल मस्तिष्कले भनेको थियो– आहा ! काठमाडौं। सहर यस्तो पो हुन्छ। सहर यस्तो रहेछ। तर, भोलीपल्ट साँझ मैले अघिल्लो दिन देखेको सुन्दरता सहरमा पाइनँ। धेरै पछिसम्म पनि पाइनँ। हिजो त्यो सुन्दरता थियो आज ८ ठै गते किन छैन ? म तड्पिरहेँ। तर, म परिपक्व भएपछि÷केही समयपछि थाहा पाएँ म काडमाडौं छिरेको साँझ प्रजातन्त्र दिवस रहेछ। त्यो दिवस मनाउनको निम्ति वत्ति बालेर, दीपावली गरेर झिलिमिलि बनाइएको रहेछ। मैले म काठमाडौं छिर्दा पाएको त्यो भव्य झिलिमिलि हरेक पनि कल्पिरहन्छु। जब मैले त्यो दिन (फागुन ७) गतेको भोलीपल्टको काठमाडौं देखेँ त्यसपछि मलाई काठमाडौं अलिकति ढोगी ढोगी जस्तै लाग्यो। अलिअलि नक्कली, बनावटी हो की भन्ने लाग्यो।  अहिले म परिपक्व भएको छु। काठमाडौंलाई नजिकबाट पढेको छु। सहरमा हुने त्यस्ता स्वभाविक प्रक्रिया बुझेको छु। तर, विर्सन्नँ त्यो सहर पस्दाको साँझ।

घुमेकामध्ये मन परेको सहर कुन हो ?
म अलि पहिल्यै गएँ, फ्रान्सको राजधानी पेरिस। त्यो अवसर वक्तित्वकलामा नेपाल प्रथम भएपछि पुरस्कार थाप्नका लागि जुरेको थियो। त्यो २०४८ सालतिरको कुरा हो। सम्भवतः विदेश गएको पहिलापटक भएर होला मलाई पेरिस भन्दा सुन्दर संसारको अरु कुन ठाउँ पो होलार भन्ने लागेको थियो। त्यसपछि म अमेरिका गएँ। अमेरिकाको ७÷८ वटा राज्यहरु घुमेंँ। त्यहाँ पुगेर कोलोराडो घुम्दाखेरी मलाई नेपाल नेपाल जस्तो लाग्यो। त्यसकारणले सुन्दर लागेको थियो। त्यसपछि फिलिपिन्सको मनिला, बैंकक र केही हदसम्म दिल्लीको त्यो केन्द्र पनि मलाई सुन्दर लागेको थियो। मलाई बेइजिङ पनि सुन्दर लागेको थियो। सहरको बीचमा पर्ने ‘ओभरहडे व्रिज’ छन्। त्यो चित्र ज्यादै सुन्दर लाग्यो। यतिमध्येमा पनि मलाई सबैभन्दा पहिले भेटेको भएर पनि होला पेरिस ज्यादै सुन्दर लाग्छ। अहिले पनि दिमागमा बसिरहेको छ। त्यसकारण एउटै सहर सम्पूर्णतामा सुन्दर भन्दापनि कुनै सहर बाटोको कारणले प्रिय लाग्छ, कुनै हरियालीको हिसाबले प्रिय लाग्छ, कुनै सफासुग्घरको हिसाबले प्रिय लाग्छ। पाकिस्तानको इस्लामावादबाट भारतसँगै जोडिएको पश्चिम वंगाल पारि पर्ने ४ सय ५० किमी दुरीमा पर्ने त्यो बाटो हेर्दा, अनि दिल्लीबाट अगरा जादाको दृश्य पनि प्रिय नै लाग्यो।   

काठमाडौं कस्तो लाग्छ ?
जहाँ सार्वजनिक सौचालय यथेस्ट हुँदैनन् मलाई ती सहर सहरजस्तो लाग्दैनन्। मलाई मेरो काठमाडौंप्रति कति धेरै प्रेम होला म भन्न सक्दिनँ। तर, म काठमाडौंमा बाहिर निस्कदा मैले चढेको मोटरसाइकल पार्किङ गर्ने ठाउँ भेट्दिनँ र मैले सार्वजनिक सौचालय भेट्दिनँ त्यतिखेर मलाई यो सहर सहरजस्तो लाग्दैन।

भनेपछि तपाईले सोचेको, परिकल्पना गरेको सहर नेपालमा अझै बन्न सकेको छैन ?
त्यो कोणबाट हेर्ने हो भने त हो। तर, नेपालमा चाहीँ मलाई भक्तपुर प्रियः लाग्छ। मलाई पोखरा प्रिय लाग्छ। केहीहदसम्म धरान प्रिय लाग्छ। इलामको सुन्दरता पनि प्रिय नै लाग्छ। त्यसरी फरक ढंगले हेर्दा त फरक फरक ठाउँ नेपालमा पनि छनु। सुन्दरताका हिसाबले एउटामात्रै छान्दा भक्तपुर प्रियः लाग्छ। अनि अरु हिसाबले पोखरा, धरान, इलाम प्रिय लाग्छ।

काठमाडौं प्राकृतिक र पौराणिक छ, यहाँको अद्भुत कला–संस्कृति र प्राकृतिक सुन्दरता अन्तका सहरमा सायदै पाइएला, तपाईको विचारमा काठमाडौंका यी सुन्दर पक्ष केले छोपिदियो ?  
काठमाडौंलाई बिगारेको हामीजस्तै मान्छेले हो। म अरुलाई दोष दिएर पानीमाथिको ओभानो हुन चाहन्न। म जस्ता मानसिहरु जो ३५ वर्षदेखि काठमाडौंमा बसेर सपना पुरा गर्न खोजको छन् तीनको पनि गल्ती देख्छु। म आफ्नो भाग्य बदल्न कक्षा ८ मा पढ्न काठमाडौं छिरेँ। मैले मेरो नामको अगाडि डाक्टर लेखेँ। मसँग दुईटा महाकाव्यसहित सातवटा पुस्तक छन्। म रेडियो नेपालमा कार्यक्रम महाशाखाको प्रमुख छु, यो सप्पै चिज मलाई काठमाडौंले नै दिएको हो। तर यो काठमाडौं सुन्दर बनाउन मैले सोचिनँ होला। सहरको सफाइमा मैले योगदान पु¥याइनँ होला। तर, शुक्रबार कार्यालयबाट आफ्नो घर नैकापतर्फ फर्कदैगर्दा सोल्टिमोडमा पुग्दा माटो मुछिएको एउटा डल्ला मेरो हेलमेटमा उछिट्टिएर आयो। के लाग्यो भनेर मैले अलि पर मोटरसाइकल रोकेर हेरेँ। एउटा डल्लो थियो। मैले त्यो कुरा घरमा श्रीमतिसँग पनि भने कति असुरक्षित छ काठमाडौं। त्यो माटो मुछिएको डल्लो कसैको झ्यालबाट फालिएको थियो। धेरैपटक बसबाट फालेका थोत्रा बतल, सुन्तला र केराका बोक्रा, पोको पारेको फोहर बाटोमा फालेको देखेको छु। विहानभरी बागमति सफाई अभियानमा सरिक भएर बेलुकी त्यही ठाउँमा फोहर फाल्ने सहरवासी पनि यही नै छन्। यो पक्षलाई हेर्दा नागरिक तहबाट काठमाडौंलाई बिगार्ने काम भइरहेको देखिन्छ। अर्को पक्षलाई हेर्दा यसको संरचना नीति निर्माण गर्ने तहबाट यसको संरचना सून्दर बनाइएन। सरकारको पूर्वाधार बनाउँदै गर्दा खेलाँची गरियो। त्यसकारणले बिग्रिएको छ काठमाडौं। अर्को पक्ष अव्यवस्थित घर, टहरा, सार्वजनिक सवारी साधनले पनि सहरी इलाका कुरुप बनाएको छ। संसारभरी सडक बनाउँदा साइकलमैत्री सडक बनाइन्छ। साइकललाई पनि यातायातको साधनको रुपमा गनेर त्यसलाई ठाउँ दिइन्छ। तर, यत्रो ठूलो सहर काठमाडौंमा साइकललाई बाटो छैन। साइकल लेन नभएको कारण काठमाडौं कस्तो नसुहाउने सहर देखिन्छ। सहरी संरचना बनाउँदै गर्दाको अर्को भूल अपांगता भएकालाई पनि हेरिएन।

सहरको विकास गर्दैगर्दा हामी कहाँनेर चुक्यौं भन्ने लाग्छ ?
हामीले अहिलेमात्रै होइन  हाम्रो विकासको मोडलमै पनि कमजोरी र अपरिपक्वता छभनेपछि हाम्रो विकासको मोडलमै पनि कमजोरी र अपरिपक्वता छ। धुलो समयले ल्याएको हो, पीच भएपछि जाला, पानी कम भएको पनि पछि बाहिरबाट ल्याएपछि हल होला, भनेजस्तो बगैंचा बनाउन ठाउँ नपुगेको होला त्यो पनि म मान्दछु। तर, संरचना बनाउने हिसाबका भएको कमजोरी सल्ट्याउन कठिन छ। यो नागरिक र सरकारी निकायबीचको गल्ती हो भन्ने लाग्छ मलाई। अर्को कुरा, मैले अमेरिका जादा के देखेको थिएँ भने बाटोमा छेउछाउमा जंगल थिए, त्यो जंगलमा हवाइजहाजमाथिबाट पानी खसालेर जंगलका रूख पखाल्दै गरेको देखेको थिएँ। त्यो मलाई ज्यादै अनौंठो लागेको पक्ष हो। त्यसको कारण मैले जानिनँ। तर, त्यसलाई देख्दा मलाई काठमाडौंको याद आयो। हामीसँग सुन्दर बगैचा छैन, सहर सफा राख्ने तौर तरीका र नियम छैन। अनुशासनको छैन। भएका केही पार्कहरु पनि फोहर छन्। सौचालय फोहर छन्। त्यसैले सहरको सुन्दरता बिगार्ने हामी नागरिक नै हौं।

काठमाडौंको मनपर्ने पक्ष केहो ?
यहाँको संस्कृति र सम्पदा मलाई सबैभन्दा मनपर्छ। काठमाडौंका मन्दिर, टुँडाल, सभ्यता, चोकहरु, नेवारी संस्कृति वडा विचित्र छ। धेरै मान्छले भन्छन् कि भन्दैनन् त्यो कुरा बेग्लै होला। मेरो विचारमा देशभरीका मान्छे काठमाडौंका आएर काठमाडौंको नेवारहरुको खाटी संस्कृति विथोल्यौं कि भन्ने पनि लाग्छ। उनीहरुको पर्व पक्ष बज्ने बाजा, लवाई, भोजभतेर ज्यादै राम्रो लाग्छ। भोजभतेरसँग नकारात्मक कुरा बेग्लै होला तर यो संस्कृति निकै फरक र सांस्कृतिक छ।

यहाँको मन नपर्ने पक्ष ?
काठमाडौंको फोहर र हामीले व्यवस्थित गर्न नसकेको कुरा दिक्क लाग्छ।

मन भएर पनि पुग्न नपाएको त्यस्तो ठाउँ वा सहर छ ?
म नेपालका तीन ठाउँ मनाङ, मुस्ताङ र हुम्ला जान पाएको छैन। यी ठाउँमा मलाई पुग्ने सहर छ। अहिले पनि यही ठाउँमा कहिले जाउलाँ भन्ने लागिरहन्छ।

नेपाल बाहिर कहाँ कहाँ पुग्नुभएको छ ?
चीन, भारत, पाकिस्तान, थाइल्याण्ड, स्वीडेल, फ्रान्स, फिलिपिन्स र अमेरिका गएको छु।

कस्ता रहेछन् त्यहाँका सहर ?
बखान गर्न नसकिने अदुभूत लाग्छन् त्यहाँका सहर। अमेरिकाको कुरा गर्दा त्यहाँ कसैको घर नजिकै कतै बाटो भत्कियो, बिग्रियो वा कुनै समस्या भयो भने त्यो नगरपालिका आएर घरधनीसँग क्षमा माग्छ। आधिहुरी आएर घरको सिसा फुटायो, झ्याल ढोका भत्कियो भने क्षतिपूर्ति दिएर जान्छ। क्षमा माग्छन्। नगर प्रशासनले आफ्नो उत्तरदायित्व वहन गर्छ र सहरवासीले पनि त्यही किसिमको उत्तरदायित्व निभाउँछन्।

तपाई के सपना बोकेर सहर छिर्नुभएको थियो ?
त्यतिखेर त म पढ्नकै लागि काठमाडौं आएको हुँ। गाउँमा हाइस्कुल थिएन, कित पढ्न छोड्नुपथ्यो कित गाउँ छाड्नुपथ्यो, त्यसैले मैले आफूलाई बनाउन गाउँ छाडेँ। म एकजना पुरोहितको छोरा हुँ भन्दाखेरी गर्भ लाग्छ। पुरोहितले गर्नुपर्ने सबै काम मैले गाउँमै सिकेको थिएँ। बुबाआमाले मलाई संस्कृति पढाउने रहर बुन्नुभएको थियो। त्यसैले मैले पण्डित हुनुको लागि संस्ृकृत विश्व विद्यालय रानीपोखरीमा पढेँ। तर, ‘बा’ले सोचजस्तो पण्डित हुने रहर मर्दै गयो। पुराण भनिनँ, रेडियो नेपालमा आएर कथा भनेँ। यसमै रमाउन सिकेँ।

त्यहाँका सहर घुमिरहँदा हाम्रो देशका सहर पनि यस्तै भइदिए हुन्थ्यो भन्ने लाग्दैन ?
यो कुरा मेरो मनमा खड्किरहन्छ। हामीकहाँ नागरिक चेतना कमी भएको हो। नीति नियम र दवाबले बेला बेलामा कानुन तोड्नेलाई कारबाही त भएको देखिन्छ। तर, नागरिक आफै भित्रैबाट नियममा बस्छु भन्ने भावना उजागर भएको छैन। त्यो नैतिकता र अनुशासन नागरिक आफैमा उजागर हुन जरुरी छ। दण्डले मानिस नियममा आउन्न मानिसलाई उत्प्रेरणाले नियम र अनुशासनमा राख्नुपर्छ। नागरिकमा चेतना भर्नु नै सबैभन्दा ठूलो कुरा हो। म धेरै ठाउँमा पुग्दा त्यहाँका सहर देख्दा म आफ्ना सहरलाई सम्झिरहन्थेँ। मेरा सहर पनि यसैगरी विकासित भइदिए हुन्थ्यो भन्ने सोच्थेँ।

सहर सफा राख्न सहरवासीको भुमिका कस्तो रहला ?
मेरा घरमा साना साना रुखका विरुवा छन्। मसँग धुपी छ। पारिजात छ। करवीर छ। अम्बा छ। मसँग आँप छ। जाइजुई छ। आरुबखडा छ। सानो छ ठाउँ, तर सबैथोक रोपेको छु। मजस्तै गरी अरुले पनि अलिकति भएपनि हरियाली रोप्न जोड दिए सहर सुन्दर हुन्थ्यो। तोकिएको ठाउँमा फोहरका पोकाहरु फाले सुन्दर हुन्थ्यो भन्ने लाग्छ। सहरभित्रको सबै माग सफा राख्नुपर्छ भन्ने सोच भए हुन्थ्यो भन्ने लाग्छ।

सरकारी निकायको भूमिका नि ?
सहर सनाउने सबैभन्दा ठूलो अभिभारा सरकारी निकायसँगै नै हुन्छ। अहिले त स्थानीय सरकारलाई सहर र गाउँ सपार्ने जिम्मा दिइएको छ। काठमाडौंको कुरा गर्दा, महानगरसँग यति ठूलो साधन र स्रोत छ। अस्पतालमा विरामी लिएर गएको मान्छेसँग र स्कूल कलेजको छेवछाउमा गएको मान्छेसँग पनि ठेक्कामा दिएर साइकलसम्मको भाडा महानगरले उठाएको देख्दा निकै ठूलो दरिद्रता बेचे जस्तो लाग्छ। काठमाडौंको सानो व्यवसाय गर्ने र मोटरसाइकलमा यात्रा गरिन्छ भने दिनभरीमा पार्किङ गरेको शुल्क सय भन्दा बढी तिर्नुपर्ने बाध्यता छ। एउटा नागरिक पौरख गरेर खानको लागि काठमाडौंमा कुद्दा उसले दिनमा १० ठाउँमा पार्किङ गर्दाको भाडा सय रुपैयाँ तिर्नुपर्ने स्थिति छ। यस्तो पनि सहर हुन्छ ? यहाँ सार्वजनिक सौचालय नपाएर दिसापिसाब खटाएर हिड्नुपर्ने बाध्यता छ। त्यस्तो पनि सहर हुन्छ। अर्कोकुरा, काठमाडौंमा धेरै रेष्टुरेन्टहरुमा सौचालय छैन। त्यसैले यसमा चासो दिन आवश्यक छ।

मिठो लाग्ने खानेकुरा के हो ?
भन्दा आदर्श जस्तो नहोस्। मलाई संसारमा जे पाइन्छ त्यही खान मन लाग्छ। म जे पनि मन पराउँछु। म मटन धेरै मन पराउँछु। मलाई सबैकुरा मनपर्छ। छान्दाखेरी खशीको मासु प्रियः लाग्छ। त्यसबाहेक चिनी नराखेको ब्ल्याक कफीको चुस्की लिन मलाई ज्यादै मनपर्छ। मैले सहरमा आएर खान सिकेको र मनपर्ने ब्ल्याक कफी क्यापाचिनो, अमेरिकानो पिउन मन लाग्छ। सायद म यो सहरमा नआएको भए ‘मिस’ गर्ने चिज यही हुन्थ्यो होला।

काठमाडौं आसपासमा घुम्न जानुप-यो भने कुन ठाउँ रोज्नुहुन्छ ?
धेरैपटक चन्द्रागिरी गएको छु। मलाई दक्षिणकालीको खाल्डोमा पुगेर वरीपरी हेर्दै रमाउन मन लाग्छ। कहिलेकाहीँ गोदावरीको चउरमा गएर पल्टेर बस्दाको मज्जा पनि म बिर्सिन्नँ। विद्यार्थीकालमा झोलामा चाउचाउ र चिउरा हालेर म गोदावरीको चउरमा पुगेको छु। त्यही बसेर केही अक्षरहरु सिकेको छु। प्रस्तुतिः शिवहरि घिमिरे

प्रकाशित: १८ चैत्र २०७५ ०८:०१ सोमबार

विचार सपनाको_सहर कल्पना कवि