अन्य

चौंरी महोत्सवको निम्तो

गुराँस फूल्न थालिसक्यो। बिस्तारै चौंरीगाई हिमालतिर चढ्दै छन्। उच्च पहाडी क्षेत्रमा गोठ पाल्ने संस्कृति रोचक देखिन्छ। बस्तीबाट माथि खर्कमा चौंरी पालिन्छ। डाँडामा चौंरी चरेका देखिन्छन्। दूध, घ्यु र छुर्पीका लागि गोठाला व्यस्त छन्। अचेल गोठलाई पशुपालनका रूपमा मात्र नलिई गोठ संस्कृतिका रूपमा समेत हेर्न थालिएको छ। यसै सन्दर्भमा फेरि फालेलुङ चौरी महोत्सव गरिँदै छ। तेस्रो चौंरी महोत्सव वैशाख १ गतेबाट चार राते (३,३४० मिटर)मा सुरु हुँदै छ।

चौंरीसँग पर्यटनलाई गाँसेर महोत्सव गर्न लागिएकोे फालेलुङ  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मौसम ढुंगेल बताउँछन्। पाँच वर्षमा गाउँपालिकाले १० हजार पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। चारराते नेपाल–भारत सीमा नजिकै पर्छ। पर्यटकीय गन्तव्य सन्दकपुर र फालेटबीच पारेर महोत्सव गर्न लागिएको। हिमाल नजिकै देखिने यो ठाउँमा पाँचथर र ताप्लेजुङका चौंरी र चौंरीपालक भेला गर्ने लक्ष्य छ। नेपालमा पहिलो पटक चौंरी महोत्सव यहीँ भएको हो। पोहोर  युरोप, अमेरिका, भारत र भुटानबाट महोत्सवमा पर्यटक आएका थिए। यसपालि छिमेकी मुलुक चीनबाट समेत आउने आशा गरिएको छ।  

चौंरी, चौरीजन्य उत्पादन र परम्परागत संस्कृतिको प्रर्दशन, याक राइड आदि महोत्सवका आकर्षण हुन्।  

गुराँस फुलेर डाँडा ढाकिएका हुन्छन्। हिमाल नजिकै देखिन्छ। यही मौकामा महोत्सव हुन्छ। गोठ संस्कृति प्रवद्र्धन, पर्यापर्यटनको अवलोकन, स्थानीय गन्तव्यको पहिचान गर्ने हेतुल नेपाली नयाँ वर्षमा महोत्सव लगाउने गरिएको सहआयोजक दिपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल वान्तवा बताउँछन्। नेपाल भारतको सिमा नजिकै रहेको यो ठाउँ आकर्षक छ। पाँचथर सदरमुकाम फिदिम र इलामबाट पनि गाडीमा महोत्सवस्थल पुगिन्छ। कच्ची पहाडे बाटो भएकाले फोरविलर गाडी लिएर जानु बेस हुन्छ। महोत्सवमा चौंरी प्रर्दशन, चौरीजन्य उत्पादनको प्रर्दशन, याकराइडिङ, अवलोकन भ्रमण, परम्परागत संस्कृति प्रदर्शन गरिन्छ।

ओझेल परेको भूगोल भए पनि घुम्न र रमाउन मिल्ने ठाउँ छन्। सन्दकपुरदेखि तिम्बु पोखरीसम्म रेन्ज पर्छ। हिमाली दृश्य  अवलोकन गर्दै यहाँको प्रकृतिमा रमाउने प्रशस्त ठाउँ छन्। यही रुट भएर पदयात्रा गर्दै कञ्चनजंगा आधार शिविरसम्म पुग्न सकिन्छ। सन्दकपुर, चारराते, तीनसिमना, फालोट, चिवाभञ्याङ चल्तीका गन्तव्य हुन्। यतैबाट तिम्बु पोखरी पुग्ने चलन छ। डाँडैडाँडा घुम्दै रमाउनेहरू भेटिन्छन्। सन्दकपुर बाहेकका ठाउँमा गोठमा बस्नु पर्छ। यहाँको मौसमको भर हुन्न। जैविक विधिताको धनी क्षेत्र। रेडपाण्डा पाइने संरक्षित क्षेत्र।   

सन्दकपुरमा बर्सेनि ठूलो संख्यामा पर्यटक आउँछन। उनीहरू यहाँका डाँडामा रमाउँछन्। बंगाली पर्यटक समूहमा आउँछन्। यो क्षेत्रमा पर्यटक अड्याउन सक्ने प्रशस्त ठाँउहरू भए पनि पूर्वाधार र प्रचारको अभाव छ। यही अभाव ख्याल गर्दै महोत्सव लगाउन थालिएको आयोजक फालेलुङ–कञ्चनजंगा पर्यापर्यटन प्रवद्र्धन संस्थाका महासचिव डिल्ली आन्जुम केरुङ बताउँछन्। यसबाट क्रस बोर्डर टुरिजम विकास हुने उनको विश्वास छ।

उच्च पहाडी क्षेत्रमा रमाउने गन्तव्य प्रशस्त छन्। बस्नका लागि लेकाली गोठ हुन। सन्दकपुरमा पर्यटकका लागि होटल छन्। गोठ सञ्चालक सहयोगी छन्। चौंरी महोत्सवमा गोठ सञ्चालकसँग छलफल गर्न पाइन्छ। वैशाखमा पारिलो घाम लाग्ने हुँदा लेकमा सजिलो हुने छ।  तालतलैया प्रशस्त छन्। बहुमूल्य जडीबुटी पाइन्छ। सीमा क्षेत्र भएकाले पनि घुम्न आउनेको आर्कषण उत्तिकै देखिन्छ।  महोत्सवमा आउने पाहुनाको स्वागतका लागि तम्तयार रहेको गोठ सञ्चालक जंग राईले बताए।

यात्रामा लेक लाग्ने सम्भावना हुन्छ। औषधिमुलोको जोहो गरेर निस्कनु बेस हुन्छ। मेची राजमार्गको पौवाभञ्याङदेखि डाँडैडाँडा घुम्ने। बेस्सरी हावा चल्ने हुँदा न्याना लुगा, बर्सादी, ओखती र खानेकुरा बोक्नु पर्छ। समुहमा यात्रा गर्दा सजिलो हुन्छ।

प्रकाशित: १६ चैत्र २०७५ ०७:१४ शनिबार

चौंरी_महोत्सव गुराँस हिमाल