प्रकाश कोइराला
संघर्ष क्षेत्रीको उपन्यास ‘साकुरा’मा आधुनिक युवाको प्रेम, मोजमस्ती र घृणाको वर्णन पाइन्छ। उपन्यासको मुख्य पात्र ‘प्रभाकर’ लेखक र प्रेमीको अवतारमा उम्दा लाग्छन्। नायिका ‘साकुरा’ पनि फूलजस्तै कञ्चन, मायालु र निर्दाेष छिन्। मोटिभेसनल स्पिकरका रूपमा प्रेरणादायी प्रवचन दिने ‘प्रभाकर’, सडक विभागमा कार्यरत इन्जिनियर ‘जेनिस’ र राष्ट्र बैंककी जागिरे ‘साकुरा’ मेधावी र तिक्ष्ण बुद्धिका पात्र हुन्। आजका युवा प्रेम र युद्धमा जे पनि जायज हुन्छ भन्छन्। त्यही प्रवृत्ति छाएको छ उपन्यासमा।
रिचर्ड, काली, निर्मलजस्ता झण्डै एक दर्जन पात्रको उपस्थिति र उपकथाले उपन्यासलार्ई प्रभावशाली बनाएको छ। मुख्य पात्र ‘राइटर’मा लेखकले आफ्नै स्वभाव र पेशाको अन्तरघुलन गरेका छन्। पूर्वाधमा उपन्यास रोमाञ्चक छ। घुमघाम, चुम्बन र सहवासबारे उदार रूपले वर्णन गरिएको छ।
प्रेमका नाउँमा अपराध गर्नेहरूले सजाय पाउनुपर्छ भन्छ उपन्यास
लोकेसनमा लेखक खरो उत्रिएका छन्। गुल्मी, लमजुङ, काठमाडौं, पोखरा, मुस्ताङ, धरान, धनकुटा आदि सहरबारे दुरुस्तै वर्णन गरिएको छ। मेहेनत र भ्रमण गरेर वस्तुस्थिति अध्ययन गरेको बुझिन्छ। उत्तराद्र्धमा उपन्यास गहन रूपमा अघि बढे पनि पात्रमा देखापर्ने विचलित प्रवृत्ति र आपसको शंकाले घटनाक्रम सनसनीपूर्ण देखिन्छ। सामाजिक सञ्जालले जीवनमा निम्त्याउने दुर्घटनाबारे पनि सचेतना जगाइएको छ। प्रेमी–प्रेमिकामा आइपर्ने मतभेद, मानसिक तनाव र त्यसबाट उत्पन्न हुने दुर्घटनाले उपन्यास विभत्स मोडमा पुग्छ।
प्रहरी प्रशासनको ढिलासुस्तीको पनि छनक पाइन्छ। प्रेमका नाउँमा अपराध गर्नेहरूले सजाय पाउनुपर्छ भन्छ उपन्यास।
उपन्यासमा कवितात्मक बिम्ब–प्रतिबिम्बको प्रयोग गरिएको छ। संरचनागत रूपमा उपन्यास राम्रो छ। ‘साकुरा’ उपन्यासलाई प्राविधिक संरचनागत हिसाबले उत्तम मान्न सकिन्छ। उपन्यासकारले भाषा र व्याकरणमा मेहेनत गर्दै ग्रामीण परिवेशको यथार्थ चित्रणमा कलम चलाउँदै गए भविश्य सुनौलो देखिन्छ।
प्रकाशित: २ चैत्र २०७५ ०६:३३ शनिबार