नगेन्द्रराज रेग्मी
चीन र भारतजस्ता दुई ठूला राष्ट्रका बीचमा नेपाल छ। उत्तरमा चीन र दक्षिणमा भारतसँग सिमाना जोडिएर नेपालको मानचित्र बनेको छ। भारतसँग जोडिएको हाम्रो मैदानी भू–भागलाई हामी तराई–मधेस भन्छौ। यसले नेपालको ३४ हजार वर्गकिलोमिटरभन्दा बढी क्षेत्रफल ओगटेको छ। यहाँ झण्डै एक करोडको जनसंख्या रहेको अनुमान गरिन्छ। यसरी यत्रो जमिन आवादी गरेर यति ठूलो संख्यामा बसोबास गरिरहेका जनतालाई आधार मानेर सर्जक गणेश अधिकारीले ‘मालिकहरूको मधेस’ नामक उपन्यास पाठकमाझ ल्याएका छन्।
मधेसको जनजीवनलाई आधार मानेर थुप्रै सर्जकले नेपाली कथा साहित्यलाई उर्वर बनाए पनि उपन्यास विधातर्फ भने धेरै कलम नचलिरहेको परिस्थितिमा आएको यो कृतिलाई सकारात्मक रूपमा लिन सकिन्छ। ‘साहित्यभन्दा पनि मधेस लेख्ने कोशिश गरिएको छ’ भन्दै उपन्यासकारले आफ्नो भनाइमा लेखेका छन्, ‘सम्पूर्ण मधेसले भोगिरहेको अन्याय यस पुस्तकमा अट्दैनथ्यो। एउटा सानो झ्यालबाट चिहाउँदा मधेसमा सनातनदेखि हुँदै आएको अन्याय जति देखिन्छ, त्यति मात्र लेखिरहेछु।’ उनले यसो भने पनि लाग्छ– उनले झ्यालबाट होइन पूरै ढोकाबाट हेरेर लेखेजस्तो लाग्छ, मिहिन पारले केस्रा–केस्रा पारी घटनाको विश्लेषणात्मक पर्घेलाईले गर्दा यसमा केही पक्ष छुटेको जस्तो नै लाग्दैन।
वास्तविक मधेसमा रहेका मधेसी दाजुभाइका पीडा, उनीहरूमाथि भइरहेको शोषण, दमन र उत्पीडनका बारेमा गहन र सूक्ष्म पारख गरी यो कृति तयार पारिएको छ। पुलकितलाललाई नायक बनाएर उसैका मुखद्वारा उपन्यासकार त्यहाँका नालीबेलीको वर्णन गर्न सिपालु देखिन्छन्। कृतिमा युगौ–युगदेखि तराई मधेसमा हुँदै आएको अत्याचार र त्यहाँका अशिक्षित, निमुखा जनतामाथि सदियौंदेखि भएको शोषण, दमन, अत्याचारको विशद् र मार्मिक चित्रण गरिएको छ। उनले सामन्ती तथा जमिन्दारी प्रथाको पनि निकै उछित्तो काढेका छन्। त्यहाँ हुने जालझेल, कुटिल प्रपञ्च, त्यहाँको गरिबी, अन्धविश्वासजस्ता विविध खालका विकृति–विसंगतिलाई सटिक र यथार्थपरक ढंगले उद्घाटित गर्ने प्रयास पनि यस कृतिभित्र मिहिन पाराले गरिएको छ। पछिल्लो चरणमा भएका माओवादी ‘जनयुद्ध’ र तराई आन्दोलनको घटनालाई पनि यस कृतिले समेटेको छ। त्यसका अलावा मधेसमा लाग्ने गरेका हटिया, मेला, पर्व र जात्रा जस्ता कुरामा पनि त्यत्तिकै ध्यान पु¥याइएको छ। त्यहाँका पात्रपात्राको रहनसहन, भाषा र भेषभूषा, गीत–संगीतजस्ता तराईका मौलिक, सांस्कृतिक झाँकीहरू पनि उनले सविस्तार वर्णन गरेका छन्।
यसलाई आञ्चलिक उपन्यासको कोटीमा राखेर हेर्न सकिन्छ। कृतिका धेरै ठाउँमा त्यहाँको स्थानीय भाषाको प्रयोगले उपन्यासलाई जीवन्त बनाएको छ। सर्वसाधारण पाठकलाई कतै यो भाषा नबुझेर दुर्बोध्य पनि लाग्न सक्छ। यतापट्टि उपन्यासकारले त्यति ध्यान नदिएको हो कि ? नत्र उनीहरूले बोलेको स्थानीय भाषालाई कोष्ठभित्र नेपालीमा अनुवाद गरेर दिन सकेको भए अझ बढी सम्प्रेषणीय हुन सक्ने थियो। तर, यसो भए पनि अनुमान गरेर उक्त विषयवस्तु बुझ्नलाई त्यति कठिन पर्दैन। समालोचक हरि अधिकारीले यसलाई मधेसी जनजीवनको मार्मिक चित्र भन्दै पुस्तकको खरो र दरो टिप्पणी गरेका छन्। उनले एकजना नवोदित लेखकको पहिलो कृतिबाट पाठकले आशा गर्न सक्ने भन्दा बढी प्राप्त गर्नुलाई अद्भूत उपलब्धिका रूपमा मानेका छन्। आशा गरौं अधिकारीबाट निरन्तर यस्ता साहित्यिक कृति प्राप्त भइरहन सकोस्।
प्रकाशित: २ चैत्र २०७५ ०६:२५ शनिबार