अन्य

सुर्तीजन्य पदार्थको नियन्त्रण विद्यालय र अस्पतालबाट

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा  सुर्ती र सुर्तीजन्य वस्तुको बिक्री वितरण तथा प्रयोगमा रोक लगाउने भएको छ। 

सार्वजनिक स्थानमा सुर्तीजन्य तथा धूम्रपान सेवनमा निषेध गरेको छ । तर, सम्बन्धित निकायको अनुगमन तथा नियमन नहुँदा निषेध कार्यक्रम प्रभावकारी हुन सकेको छैन । महानगरपालिकाले  अस्पताल, अस्पताल, विद्यालय जस्ता क्षेत्र छुट्टाएर कुनै एक स्थानमा सुर्तीजन्य वस्तुको बिक्री वितरण तथा उपयोगमा रोक लगाउने योजना अघि सार्ने भएको छ।

महानगरपालिका उपमेयर हरिप्रभा खड्गीले महानगर क्षेत्रभित्रका व्यवसायमा सुर्ती र सुर्तीजन्य वस्तुको कारोवारलाई वस्तुगत तथ्यमा उतारेर नीतिमार्फत् नियमन गरिने बताइन्। ‘धूम्रपानले पार्ने प्रभाव डरलाग्दो छ । यसले प्रयोगकर्तालाई मात्र नभई, उसको नजिकमा रहेको व्यक्तिलाई पनि प्रत्यक्ष असर पार्ने गर्छ,’ उनले भनिन्, ‘महानगरपालिकाले प्रभावकारी ढंगले अनुगमन गरेर निश्चित स्थानमा धूम्रपान तथा सुर्तीजन्य पदार्थलाई निषेध गर्ने तयारीमा जुटेका छौं ।’ उनका अनुसार पहिलो चरणमा अस्पताल र विद्यालयबाट निषेध कार्यक्रम सुरुवात गर्नेछौं । उपमेयर खड्गीले वडाका जनप्रतिनिधिसँगको समन्वयमा टोल र विद्यालय स्तरीय कार्यक्रम चलाउनुपर्ने बेला भएको बताइन्।

राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक डा. सुनिलराज शर्माले धुम्रपान छोड्न चाहनेलाई विकल्प दिएर कार्यक्रम बढिरहेको जानकारी दिए ।  विश्व बैंकका जनस्वास्थ्य प्रशासक डा. खुर्सिद आलाम हैदरले नेपालले सुर्तीजन्य वस्तुको नियमनमा प्रगति हासिल गर्दै गएको उल्लेख गर्दै संघ सरकारबाट प्राप्त उपलब्धिलाई स्थानीय सरकारमा हस्तान्तरण गर्नुपर्ने बताए।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्रका स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक डा. भक्त केसीका अनुसार विश्वमा हरेक ५ सेकेण्डमा १ व्यक्ति धूम्रपानजन्य रोगका कारण मरिरहेको हुन्छ । यसबाट विश्वका वार्षिक करिव ७० लाख व्यक्ति र नेपालमा करिव २७ हजार व्यक्ति अकालमा मरिरहेका छन् । यही अवस्थामा मृत्यु हुने हो भने विश्वमा सन् २०३० सम्ममा धूम्रपानबाट वार्षिक ८० लाख व्यक्तिको मृत्यु हुनेछ । अहिलेको कार्यक्रमले यो संख्यालाई घटाउने हो । धूम्रपान तथा सुर्तीजन्य वस्तुको प्रयोगकर्ताको संख्या घटाउँदै लैजाने र नयाँ प्रयोगकर्ता बढ्न नदिने कार्यक्रम सफल बनाउन तयार गरिएको रणनीति हो। 

सार्वजनिक स्थान (जस्तै : सरकारी कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्य सम्बन्धी संस्था, विमानस्थल, सार्वजनिक शौचालय, उद्योग तथा कलकारखाना कार्यस्थल, चलचित्र घर, नाटकघर, होटल, मोटल, रिसोर्ट, रेस्टुरेन्ट, बार, भोजनालय, चमेनागृह, छात्राबास, रंगशाला, कर्भडहल, पौडी पोखरी, डिपार्टमेन्टल स्टोर, धर्मशाला तथा टिकट काउन्टर आदि) मा धूम्रपान तथा सुर्ती सेवन गर्न पाइँदैन।  निषेधित स्थानमा कसैले धुम्रपान गरेमा स्थानीय अधिकारीले तत्कालै एक सय रूपैयाँ जरिवाना गराउन सक्ने व्यवस्था छ। 

शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द, वृद्ध आश्रम, अनाथालय र नेपाल सरकारले तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटर भित्रको पसलबाट सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न पाइँदैन । निःशुल्क रूपमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको वितरण वा उपहारका रूपमा दिन पाइँदैन । सुर्तीजन्य पदार्थलाई बिक्रीस्थलमा सजावट गर्न तथा त्यस्ता पदार्थको प्रदर्शन गर्न पाइँदैन।  ऐनविपरित सुर्तीजन्य पदार्थको बिक्री गरेमा दस हजार रूपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । सुर्तीजन्य पदार्थको हानीका बारेमा सूचना टाँस नगरेमा पाँच हजार रूपैयाँसम्म जरिवाना हुनेछ। 

प्रकाशित: २७ फाल्गुन २०७५ ०५:५६ सोमबार

काठमाडौं_महानगरपालिका सुर्ती बिक्री_वितरण