अन्य

जेनतेन चल्दै हुलाकसेवा

आधुनिक प्रविधिको विकास भएसँगै हुलाक सेवा ओझेलमा परेको छ । विगतमा सञ्चारको भरपर्दो माध्यम मानिने हुलाक सञ्चारको प्रविधिको विकास भएसँगै ओझेलमा पर्यो । कुनै बेला बिहान दस बजेदेखि बेलुकासम्म भीडभाड हुने काठमाडौं गोश्वारा हुलाक अचेल सुनसान देखिन्छ ।

हुलाकमा चिठी आदानप्रदान घटे पनि इएमएस र पार्सलबाट दिइने सेवा भने यथास्थितिमै रहेको गोश्वारा हुलाक कार्यलयले जनाएको छ । ‘अमेरिका, जापान, बेलायत लगायतका विकसित मुलुकमा भने हुलाकको प्रयोग अरु सञ्चार प्रविधिसरह नै प्रयोगमा रहेको छ,’ काठमाडौं उपत्यका हुलाक कार्यालयका प्रमुख वेदप्रसाद भण्डारी भन्छन्, ‘हुलाक सेवा पूर्णरूपमा परिचालन नभएको होइन । तर, सूचना प्रविधिका अरु माध्यम प्रभावकारी हुँदा हुलाकको उपयोगमा कमी आएको हो ।’

२०७३/७४ को तथ्यांकअनुसार काठमाडौंको सुन्धारास्थित गोश्वारा हुलाक कार्यलयमा एक लाख १५ हजार आठ सय ४४ वटा चिठी दर्ता भएका थिए । उक्त चिठीको कूल तौल १६ हजार ८१ केजी रहेको छ । दर्ता भएका चिठीबाट एक करोड ६५ लाख ६९ हजार रूपैयाँ राजस्व संकलन भएको गोश्वारा हुलाक कार्यालयले जनाएको छ ।

त्यस्तै २०७४/७५ को तथ्यांकअनुसार गोश्वारा हुलाक कार्यलयमा जम्मा ८८ हजार तीन सय ९७ वटा चिठी दर्ता भएका र त्यो चिठीको कूल तौल १५ हजार तीन सय थियो । यसरी दर्ता भएका चिठीबाट एक करोड २९ लाख एक हजार राजश्व संकलन भएको थियो । विगत चार वर्षको तथ्यांकअनुसार हुलाकमा चिठीको कारोबारमा कमी आएको देखिन्छ ।

नेपालमा हुलाकका चारवटा क्षेत्रीय कार्यालय, ७० वटा जिल्ला हुलाक कार्यालय र करिब आठ सय २४ वटा इलाका हुलाक कार्यालय रहेको केन्द्रीय हुलाक कार्यालयले जनाएको छ । जम्मा नेपालमा तीन हजार नौ सय ९५ हुलाक कार्यालय रहेको छ । हुलाकका सात हजार स्थाई कर्मचारी र १० हजार आठ सय ५३ जना अस्थायी कर्मचारी छन् ।

केन्द्रीय हुलाक सेवा विभागका महानिर्देशक आनन्दराम रेग्मीका अनुसार हुलाकको वार्षिक आम्दानी करिब ४५ देखि ५० करोड छ जबकी खर्च ३ अर्बमाथि छ । खर्चको झन्डै ८१ प्रतिशत रकम कर्मचारीको तलब भत्तामा नै जाने गरेको रेग्मी बताउँछन् । पर्याप्त जनशक्ति र स्रोत साधनको अभावका कारण एक ठाउँबाट पठाएको चिठी अर्को ठाउँमा पुग्न बढी समय लागेको रेग्मीले बताए । यसलाई छिटो र छरितो बनाउन सञ्चार मन्त्रालय तथा सम्बन्धित निकायसँग समन्वय गरेर प्रभावकारी रूपमा अगाडि बढाइने काम भइरहेको जानकारी दिए । अबको केही महिनामा सेवाग्राहीले महसुस हुने गरी काम भइरहेको समेत उनले बताए ।

नेपालबाट ‐इएमएस) दु्रत डाँक सेवामार्फत् जम्मा ३९ वटा देशमा सञ्चालन छ भने हुलाकमार्फत् विश्वका प्रायः सबै मुलुकमा चिठी पठाउन सकिन्छ । कुनै पनि आन्तरिक तथा बाह्य चिठीलाई पठाउनु परेमा त्यसको दूरी र तौलअनुसार मूल्य निर्धारण गरिएको केन्द्रीय हुलाक कार्यलयले जनाएको छ । हुलाक सेवा कम खर्चिलो र विश्वासनीय हुने हुँदा नेपालमा यो सेवालाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने देखिन्छ ।

गत आर्थिक वर्ष २०७४/७५ मा (इएमएस) दु्रत डाँक सेवामा आन्तरिकतर्फ सात हजार एक सय चालिस वटा चिठी भित्रिएको र १६ हजार एक सय ११ वटा चिठी नेपालबाट अन्य मुलुकमा गएको थियो । चालू आर्थिक वर्षको साढे तीन महिनामा दु्रत डाँक सेवाबाट १३ हजार चार सय ५३ वटा चिठी नेपाल भित्रिएको छ ।

नेपालमा हुलाक सेवा १९३५ सालमा स्थापना भएको हो । यो सेवा पृथ्वीनारायण शाहको पालामा यसलाई थाप्ले हुलाक अथवा कागजे हुलाकको नाममा स्थापना भएको थियो । प्रथम पञ्चवर्षीय योजनाको प्रारम्भ भएसँगै नेपालमा यो योजनावद्ध विकास भएपश्चात यो क्रमैसँग नेपालभर विस्तार भएको छ ।

 

प्रकाशित: २४ फाल्गुन २०७५ ०६:२२ शुक्रबार

हुलाक_सेवा ओझेलमा गोश्वारा_हुलाक