अन्य

देउराली–जनता उदारणीय कम्पनी हो

हरिभक्त शर्मा मुलुकको आर्थिक क्षेत्रमा परिचित नाम हो। हाल नेपाल उद्योग परिसंघको अध्यक्षसमेत रहेका शर्माले झन्डै तीन दशकदेखि देउराली–जनता फर्मास्युटिकल्स उद्योग सञ्चालन गरिरहेका छन्। औषधि उद्योगमा पायनियर शर्मा आर्थिक क्षेत्रका ज्ञाता र स्पष्ट वक्ताका रुपमा चिनिन्छन्। बुबाको चाहनाअनुसार मेडिकल शिक्षामा लागेका शर्माले आफ्नै निर्णयले व्यवस्थापन पढ्नतिर लागे। पर्वतको पहाडमा जन्मेका शर्मा पढ्नमा अम्बल थिए। विश्वको कहलिएको विश्वविद्यालयमा शिक्षा लिने मौका पाएका शर्माले आफ्नो कम्पनीलाई नेपालकै उत्कृष्ट नमुना कम्पनीको रुपमा विकास गर्न चाहेका छन्।  ५० वर्षको दौरानमा नेपालका तीन चारवटा राजनीतिक परिवर्तनलाई नजिकबाट अनुभव गर्न पाएका शर्मा भन्छन्। ‘यस्तो संसारको कुनै पनि ठाउँमा भेट्नुहुन्न। राजनीतिक परिवर्तन आउँदा राम्रोका लागि आउनुपथ्र्यो तर हामीले त्यही ‘मिस’ गर्याें।’

शर्मासँग मुलुकको वर्तमान अर्थ व्यवस्था, उद्यम र व्यापार लगायतका विषयमा विश्वमणि पोखरेलसन्तोष न्यौपानेले गरेको कर्पोरेट कुराकानी : 

तीन दशकअघि उद्योग व्यवसायमा छिर्नु भयो। यस क्षेत्रमा आउने वातावरण कसरी बन्यो ? 
मेरो चाहना नै उद्योग गर्ने थियो। मेरो स्टानफोर्ड विश्वविद्यालयका प्रोफेसरले औषधि उद्योगमा लाग्दा राम्रो हुन्छ भनेर सल्लाह दिनुभएको थियो। प्रविधियुक्त र भोलिका दिनमा केही गर्न सकिनेखालको उद्योगमा लाग्नुपर्छ भन्ने सुझाव पाएको थिएँ। म पनि अन्डरग्राजुएट मेडिकल साइन्स भएकाले यसमा ज्ञान पनि थियो। 

हाम्रो लक्ष्य भनेको नेपालमा राम्रो गुणस्तरीय औषधि उत्पादन गरौं भन्ने थियो र अहिले पनि त्यही छ। हामीले बनाएको औषधि हाम्रो बालबच्चाले सहजै खान सकून् भन्ने मेरो चाहना हो। त्यसका लागि गुणस्तरीय र राम्रो हुनुपर्छ। 

आज नेपालका वरिष्ठ चिकित्सकहरुले देउराली–जनताले बनाएको औषधिमा विश्वास गर्नुहुन्छ। हामी त्यसलाई अभिक्षिन्न रुपमा प्रयत्न पनि गरिरहेका छौं। हामीले प्रविधिलाई पनि त्यसै किसिमले संयोजन गर्याैं। हामी पहिलो कम्पनी हो जसले विदेशी कम्पनीसँग ‘टेक्नोलोजी ट्रान्सफर’ गरेर प्रविधिको आयात गर्याैं। 

हामीले गुणस्तरीय उत्पादन प्रतिस्पर्धात्मक मूल्यमा प्राप्त गर्नुपर्छ भन्ने मेरो मान्यता छ। हामीले उत्पादन गर्ने वस्तु पनि राम्रो हुनुपर्छ। गुणस्तरीय वस्तु उत्पादन गर्न जहिले पनि धेरै लगानी पर्छ। 

कति प्रकारको औषधि उत्पादन गरिरहनु भएको छ ?
हामीले अहिले ३२० प्रकारको औषधि उत्पादन गरिरहेका छौं। त्यसपछि हामीले २०० थरी औषधि नेपालमा पहिलो चोटी बनाएका हौं। नेपालमा जति पनि औषधि चाहिन्छ हामीले बनाउने कोसिस गरिरहेका छौं। 

३० वर्षअघि उत्पादन गर्ने औषधि र अहिले उत्पादन गर्ने औषधिको आवश्यकता कति परिवर्तन भएको छ ? 
आवश्यकताहरु परिवर्तन हुँदै गएका छन्। पहिला नेपालमा इन्फेक्सियस, कम्युनिकेवल रोग धेरै हुन्थ्यो। अहिले बिस्तारै लाइफस्टाइल रोग धेरै आएको छ। उदाहरणका लागि हाइपोटेन्सन, कार्डिया, डायबिटिज, क्यान्सर, अंकहरु काम नगर्ने रोगहरु धेरै आएका छन्। किड्नी, लिभर फेल हुने रोग आएका छन्। 

हामी ४०–५० वर्षदेखि धेरै खालका स्वास्थ्य समस्याबाट गुज्रिरहेका छौं। हामीले भोग्ने केही स्वास्थ्य समस्या धेरै मुलुकले भोग्दैनन्। जस्तो, पेटमा जुका पर्ने। विकसित मुलुकमा पेटमा जुका पर्ने औषधि भेट्न गाह्रो हुन्छ। सुद्ध पिउने पानी नभएको कारणले लाग्ने रोक उनीहरुलाई कम छन्। जुन हामीलाई लाग्छ। झाडापखाला, कलेरा हुन्छ। 

तपाईंको उद्योगमा कतिले रोजगारी पाएका छन् ? 
हामीले अहिले ५ सय जनालाई रोजगारी दिएका छौं। 

नेपालमा कति औषधि उद्योग छन् ? 
सरकारको तथ्यांकमा मुलुकमा ५३ वटा औषधि उद्योग छन्। 

यीमध्ये देउराली–जनता कहाँनेर छ ? 
हामीले मुलुकभित्र गनिने उत्कृष्ट एक दुई उद्योगभित्र पर्छौं। हामीले उद्योग सुरु गर्दा सरकारीसहित केही उद्योग आएका थिए। हामी नेपालको सातौं औषधि उद्योग हौं। 

तपाईंको औषधि उद्योगको विशेषता के हो ? 
हामीले उत्पादन गर्ने उत्पादन गुणस्तरीय छन्। नेपाली जनतालाई आवश्यक पर्ने औषधि कसरी चाडो उत्पादन गर्ने भनेर लागिरहेका छौं। त्यस्तै, सकेसम्म हाम्रोमा काम गर्ने कर्मचारीको काम गर्ने क्षमता बढोस्, दक्षता बढोस्, उनीहरुको करियर राम्रो होस् भन्ने चाहन्छौं। त्यस्तै, सबैभन्दा महित्वपूर्ण ‘सिस्टम’ चाहिन्छ। सिस्टम कार्यान्वयन गर्न प्रयत्न गरिरहेका छौं। देउराली जनतालाई हामीले विधिसंगत चल्ने संस्था बनाउन चाहेको हो। तर, यो असाध्यै चुनौतीपूर्ण काम हो।

अन्य व्यवसायमा संलग्न हुनुहुन्छ ?
म औषधि उद्योग मै छु। यो मेरो प्यासन हो।    

पछिल्लो अर्थतन्त्रको वातावरणलाई कसरी लिनुभएको छ ? 
अर्थनीति के आउने भन्ने अहिले पनि द्विविधा छ। अहिले समाजवाद उन्मुख अर्थ व्यवस्था संविधानमा भनियो। तर, यो भनेको के हो ? समाजवाद उन्मुख अर्थव्यवस्थाको मोडल के हो ? अबको सरकार नेपालको अर्थतन्त्रको मोडल के हुने भनेर परिभाषित गर्नुपर्छ। जुन अहिले छैन। 

त्यही संविधानमा सरकार, निजी क्षेत्र र सहकारीको तीन खम्बे नीति लिन्छु भनेको छ। यो तीन खम्बे नीतिले निजी क्षेत्रलाई कसरी प्रवद्र्धन गर्छ र सहकारी क्षेत्रले के गर्छ स्पष्ट नै छैन। निजी क्षेत्रको प्रवद्र्धन गर्न अहिले भनिएको संविधानको व्याख्यालाई अर्थतन्त्रमा कसरी देखाउन सक्छौं ? त्यसैले हाम्रो अर्थनीति पनि स्पष्ट हुन आवश्यक छ।

त्यसो भए पर्ख र हेरको अवस्था हो ? 
मलाई लाग्छ सामान्यतया धेरै उद्यमीले अहिले पर्ख र हेरको अवस्था मै छन्। मैले भने मेरो उद्योगलाई विस्तार गरिरहेकै छु। तर, अब यो कानुनहरु संसदबाट पारित भएर आएपछि राम्रो वातावरण बन्छ भन्ने लाग्छ। सरकारले कहिले नीति ल्याउला भनेर पर्खेर बसेका छैनौं। काम त गरिरहेका छौं। सरकारले जतिसक्दो छिटो स्पष्ट पार्दा प्रशस्त लगानीका ढोकाहरु खुल्छन्। नेपालीले पनि लगानी गर्ने क्षमता वृद्धि गरिरहेका छन्। 

तपाईं औषधि उद्योगमा हुनुहुन्छ। अन्य सम्भावनाका क्षेत्र के–के हुन् ? 
हरेक्ष क्षेत्र सम्भावनायुक्त छन्। यसमा सरकारले वातावरण र नीति बनाउनु पर्याे। सरकारको सहयोग नभई संसारका कुनै पनि उद्योग विकास भएका छैनन्। हाइड्रो, सोलार, पर्यटन, खाद्य, जडिबुटी उत्पादन सबैको क्षेत्र छ। यसका लागि सरकारले इन्टरभेन्सन जरुरी छ। 

समस्या कहाँ हो त ? 
सरकारले डेलिभर गर्न सकेको छैन। सरकारको ध्येयमा शंका छैन तर सिस्टम चाहिन्छ। संस्थागत क्षमता चाहिन्छ।

कर्पोरेट कल्चरको कुरा गर्दा कस्तो अवस्था पाउनुहुन्छ ? 
हामी राम्रो कर्पोरट कल्चर भएको मध्ये पर्छौं। हामीले कानुन मान्छौं, कर्मचारी संलग्न गराउँछौं। कर्पोरेट कल्चरमा हामी उदाहरणीय कम्पनी हौं। हाम्रो क्षेत्रमा आउने कम्पनीले हाम्रै नीति अवलम्बन गर्छन्। अरु क्षेत्रले पनि गरेका छन्। यो भनिरहँदा देशमा पनि यस्तै कल्चर चाहिन्छ। राम्रो कर्पोरेट कल्चर बनाएको संस्थालाई सरकारले कति सहयोग गरेको छ, यो पनि महत्वपूर्ण पक्ष हो। 

अहिले मुलुकमा ब्रेनड्रेनको समस्या छ ? तपाईंले मानव स्रोतसाधनको समस्या कस्तो भोग्नु भएको छ ? 
अरू नेपाली उद्योगले जे भोगिरहेका छन्, हाम्रो पनि समस्या त्यही हुन। तर, केही मात्रामा हाम्रा कर्मचारीको पढाइलेखाइ, क्षमता अभिवृद्धि गर्छौं। यस कारणले त्यत्ति ठूलो समस्या भोगिरहेका छैनौं। समस्या नै छैन भनेको चाहिँ होइन, मात्रा भने कम छ। 

सरकारले औषधि लगायत केही वस्तु आयात रोक्ने भनिरहेको छ नि ? 
यो भनेको धेरै भइसक्यो। अरु मुलुकमा यी कुराहरु दसकौं पहिला भइसकेका छन्। अमेरिकाले पनि आफ्ना उद्योगधन्दालाई संरक्षण गर्न चिनियाँ सामान आयातमा दुरुत्साहित गरिरहेको छ। भारत, चीन, जापान, बंगलादेशले आयातलाई दुरुत्साहित गरिरहेका छन्। 

नेपाली औषधिलाई सरकारबाट केही प्रवर्द्धन भयो भने यहाँ चाहिने ७० प्रतिशत औषधि बनाउन सम्भव छ। अहिले हामीलाई चाहिने ४५ प्रतिशत उत्पादन गरिरहेका छौं। जुन वस्तु नेपालमा प्रशस्त बन्छ, त्यो रोक भनेको हो। हामी भारत, चीन, बंगलादेश जान नपाइने तर उनीहरुको भने सहज रुपमा आउन पाउने ? त्यहाँको ल्याएर खानुपर्ने बाध्यता नेपालीलाई किन भन्ने हाम्रो प्रश्न हो। हाम्रो अनुरोध भनेको नेपालमा बन्ने २०० औषधिको आयात रोक्नु पर्छ भन्ने हो। यो देशका लागि पनि अत्यन्तै संवेदनशील छ। अन्य देशबाट हामीले सिक्नुपर्छ। 

सबै देशले आफ्नो उद्योगको वस्तु निर्यात होस् भनेर सहुलियत दिन्छ। आफ्नो वस्तुको बजार अन्य देशमा पनि बनाउन चाहन्छन्। यसलाई डब्लुटिओको भाषामा ‘डम्पिङ’ भनिन्छ। नेपाल संसारभरिका ठुल्ठुला कम्पनीले डम्पिङ गर्ने ‘ग्राउन्ड’ हो। यहाँ न कति चाहिन्छ भन्ने अध्ययन छ, न गुणस्तरको आधारमा बन्देज छ, परिणाम र रजिष्ट्रेसनको पनि बन्देज छैन। यस्तो खालको भद्रगोले आयात नीति भएको मुलुकमा नेपाल पर्छ। 

उपभोक्ता हितलाई पनि हेर्नुपर्छ होला नि ? 
विदेशी कम्पनीले नेपाली उपभोक्ताको हित सोचेका छन् भनेर काम गर्छन् भन्ने तपाईंलाई विश्वास छ ? तपाईंले बनाउने यो पत्रिका दिल्लीमा उत्पादन गर्याे भने यसको मूल्य आधा कम पर्छ। त्यसैले यस किसिमले सोच्ने हो भने नेपालमा उत्पादन नगर्ने र आयात मात्र गरे हुन्छ। 

कुनै पनि देशको कम्पनीले अर्को देशको उपभोक्ताको हितलाई सोच्दैन। आफ्नै देशका लागि गर्ने हुन्। विदेशी कम्पनी नेपालमा नाफाका लागि आएका हुन्। हामीले के व्याख्या गरिरहेका छाैं भने नेपाली कम्पनीले नेपालका उपभोक्ताको अहितमा काम गर्छन् भनेर भनिरहेका छौं। हाम्रो उपभोक्ताको हित संरक्षण गर्नु मेरो दाहित्व हो। हरेक मुलुकले हरेक वस्तु नेपालमा उत्पादन भएको भन्दा सस्तो बनाउँछन्। एक दुई कम्पनीले बदमास गरे भने त्यसलाई कारबाही गर्नुपर्छ।

अहिले त राजनीतिक स्थिरता छ। आर्थिक उन्नतिले किन लय समात्न सकेन होला ?  
राजनीतिक स्थिरता भनेको नीतिगत स्थिरता हो। नीतिहरु आएकै छैनन्। बजेट पहिला जस्तै आयो। पुराना काम केही पनि फेरिएका छैनन्। संविधान फेरियो तर संविधानले कुनै पनि व्यक्तिलाई काम गर्न प्रोत्साहित गर्दैन। प्रोत्साहन गर्ने कानुन बनाएर मात्र हो। अहिलेको संविधान पनि खिचडी संविधान हो। धेरैले प्रशंसा गर्छन्। मैले बुझ्न खोजिरहेको छु। मैले नागरिकका रुपमा अधिकार त धेरै पाएँ। संविधानले स्वच्छ पानी पिउन पाइन्छ भन्छ, के तपाईंकोमा पानी आउँछ ? हावा स्वच्छ भन्छ, के हामी स्वच्छ हावा लिन पाएका छौं ? 
मुलुक संघीयतामा गयो। संघीयतामा जानु भनेको समृृद्धिका लागि हो। जनताको जीवनस्तर उकास्न, अपनत्व महसुस गर्न हो। काम गर्न खान गाह्रो हुने र केही सीमित व्यक्तिले मात्र फाइदा लिने सिस्टमलाई संघीयता भनिँदैन। 
त्यस कारणले जनताले आफ्ना काम गरेर खाने, व्यवसायमा लाग्न सक्ने र व्यवसायमा लाग्नलाई उत्प्रेरित गर्ने, प्रेरणा गर्ने, सहयोग गर्ने खालका संस्था बन्न जरुरी छ। अहिले यस्ता खालका संस्था छैनन् र यो कुरा नीतिहरुमा पनि छैन। 
अहिलेको अर्थनीति भनेको विदेशमा बनेको सामान सहजरुपमा ल्याउन दिने मात्र भयो। त्यसले अलिकति राजस्व तिर्नेगरी भन्सारका दरबन्दीहरु तोकेका छौं। यसले नेपालको अर्थतन्त्र जोखिमतिर लगेको छ।  
हाम्रो अर्थतन्त्र ‘इम्पोर्ट ट्रयाप’मा परेको छ। अब यो अर्थतन्त्रलाई उकास्न आयात मात्र गर्ने नीति जति दिनसम्म यो सरकारले सुधार गर्दैन। त्यो दिनसम्म हाम्रो अर्थतन्त्रमाथि जान सक्दैन। 

हाम्रो नीति त निर्यातलाई प्रवर्द्धन गर्ने खालका छन् होइन र ? 
छैनन्। तपाईंले भन्नुस् त हाम्रो कुन नीतिले निर्यातलाई प्रवद्र्धन गरेको छ ? हामी के बुझ्न जरुरी छ भने, हामीले कुनै उद्योग भारत, चीन, बंगलादेशमा खोलेको भए के पाइन्छ र हाम्रो देशमा के दिन्छ ? अन्तर्राष्ट्रिय प्रतिस्पर्धा त यसरी हुने हो नि। 

विदेशमा के सुविधा छन्, र नेपालमा छैनन् ?
यहाँ औद्योगिक क्षेत्र छैनन्। यहाँ उद्योगी आफैँले जमिन किनेर उद्योग लगाउनु पर्छ। उद्योग लगाइसकेपछि सारा गाउँ ठाउँ स्थानीयसँग झगडा सुरु हुन्छ। स्थानीय निकाय पनि कर लिनलाई उद्दत हुन्छन्। नेपालको ‘स्किल’मा दक्षिण एसियाकै कमजोर छौं। हाम्रो उत्पादन, हाम्रो क्षमता, मानसिकता, उद्यामशिलता, उद्योगधन्दामा काम गर्ने प्रवृत्ति, अनुशासनको स्तर कमजोर छ। बाहिर सबै नेपाली यी कुरामा अनुशासित छाैं तर देशभित्र कम अनुशासित छौं। 

औद्योगिक क्षेत्रको कुरा गर्दा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना हुँदैछन्। भैरहवामा पनि आकर्षण कम छ किन होला ? 
सेज भनेको धेरै सानो क्षेत्र हो, ५० बिघामा बनेको। त्यो पनि निर्यातका लागि भनेर खोलेका छौं। जुन देशमा उद्योगधन्दाको हालत खराब छ, त्यो देशले निर्यात गर्न गाह्रो हुन्छ। अन्तर्राष्ट्रिय बजारमा ब्रान्ड, गुणस्तर, प्रतिस्पर्धी क्षमता खोजिन्छ। जुन नेपालको बजारले दिन सकेको छैन। 

त्यसो भए सरकारले के गर्नुपर्छ त ? 
हामीले स्पष्ट रुपमा सरकारलाई विभिन्न सुझाव दिएका छौं। पहिलो सुझाव भनेको नेपालका कानुनहरुको सुधार हो। धेरै जसो कानुनहरु धेरै पुराना छन्। जुन कानुनहरु शासन नियन्त्रणका लागि बनाइएका थिए। केही कानुन त म जन्मनुभन्दा पहिलेका छन्।

यी कानुन असान्दर्भिक मात्र होइनन्, पूर्णरुपमा मिति सकिएका छन्। ती कानुनहरुलाई सुधार गर्नुपर्छ, कतिलाई खारेज गरेर नयाँ कानुन बनाउनु पर्छ। हामीले पहिचान गरेका ३६ वटा कानुन सुधारको प्रक्रियामा चाडै लैजानुपर्छ। केही सुधार गर्न प्रक्रिया सुरु भएको छ। केहीमा अझै काम नै गर्न बाँकी छ। 

दोस्रो, हामीले उद्योगधन्दा स्थापना गर्ने ठाउँ चाहियो। कहाँ लगेर उद्योग स्थापना गर्ने ? आफैँ जग्गा किन्न नसकिने अवस्था भएको छ। संसारको सबैभन्दा महँगो जग्गामध्ये नेपालको पनि पर्छ। 

नेपालमा ठूल्ठूठूलो उद्योगका लागि धेरै जग्गा राख्न पनि दिइँदैन। यसमा पनि नियन्त्रण छ र किन्न पनि सकिँदैन, धेरै महँगो छ। जग्गा नै महँगो भएपछि कुनै पनि उद्योग सञ्चालन गर्न सकिँदैन। जग्गामा मात्र पैसा हालेर भएन, प्रविधि, पूर्वाधार, मानव स्रोत साधन, क्षमता अभिवृद्धिका लागि पनि पैसा चाहियो।  

त्यसैले ठुल्ठुला औद्योगिक क्षेत्रको स्थापना गर्नुपर्छ। सातै प्रदेशमा यस्ता औद्योगिक क्षेत्रको आवश्यकता छ। पाँच–सात हजार विघाका यस्ता औद्योगिक क्षेत्र स्थापना भएमा कम मूल्यमा उद्योग स्थापना गर्न सकिन्छ। एकै ठाउँमा भएपछि सरकारले सुविधा दिन पनि सजिलो हुन्छ र सञ्चालन खर्च पनि कम हुन्छ। 

तेस्रो, उद्योगधन्दालाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नुपर्छ। यसका लागि प्राविधिक विश्वविद्यालय स्थापना हुनुपर्छ। अहिलेको पुरानो र खराब नीति अवलम्बन गरिरहेका छौं। पञ्चायत कालमा एउटै विश्वविद्यालय राख्ने र त्यसैले अरुलाई धेरैलाई सम्बन्धन दिने खराब नीति अहिलेसम्म छ। 

हामीले राजनीतिक व्यवस्था त फेर्याैं तर ती पुराना, खराब नीति जसका कारणले नेपाली जनता पछि परेका छन्, ती फेरेनौं। नेपालका ग्राजुएटहरु अन्तर्राष्ट्रिय रुपमा योग्य हुन गाह्रो छ। विश्व विद्यालयबाट दीक्षान्त पाएका विद्यार्थी भाइबहिनी आफ्नो काममा फिट हुन गाह्रो भइरहेको छ। त्यसकारण यस्ता शिक्षा नीति परिवर्तन गर्न आवश्यक छ। 

हाम्रो शिक्षा अहिले कुन अवस्थामा पाउनुहुन्छ ? 
हामी अहिले धेरै सामान्य अवस्थामा छौं। विश्वविद्यालयबाट ग्राजुएट गरेर आउने तर त्यही विषयमा काम गर्न नसक्ने अवस्था छ अहिले। डिग्री लिए पनि काम गर्न सक्ने क्षमता छैन। विश्वविद्यालयको पढाइ बजारको आवश्यकतामा मिल्दोजुल्दो छैन। हाम्रोमा मेडिकल शिक्षा र केही मात्रामा इन्जिनियरिङ जस्तो कि सिभिल, इलेक्ट्रिक, इलेक्ट्रोनिकमा सुधार भएको छ। अरु विधामा अत्यन्तै पछाडि छौं।

सरकारलाई अरु सुझाव के छन् ? 
उद्योगधन्दाको प्रवद्र्धन गर्ने वातावरण बनाउनु पर्छ। यसलाई ‘इन्डष्ट्रियल इको सिस्टम’ भन्न सकिन्छ। यो भनेको हामीले थुप्रै गाउँपालिका, नगरपालिका बनायौं। त्यसको आम्दानीको स्रोत के हो त ? बालुवा मात्र बेचेर पैसा कमाउने हो कि !
त्यस कारणले गाउँपालिका, नगरपालिकालाई उद्योग चलाउने अवसर छ। तर, त्यहाँ पुग्ने उद्योगलाई सुरुमै कर लगाएर धेरै राजस्व संकलन गर्नतिर लागियो भने यो भन्दा दुर्भाग्य अरू केही हुँदैन। अहिले त्यही भएको छ। 

अहिलेका युवा कि व्यापार गर्ने, कि विदेश जाने चलन छ। उद्योगमा लागेकै छैनन्। यसलाई कसरी हेर्ने ? 
युवा व्यापारमा पनि छैनन्। अहिले हरेक नेपालीको सोच के छ भने जग्गा किनबेच गरेर पैसा कमाउने र राम्रो घर बनाउने। त्यो घरमा सटर बनाउने वा कोठा भाडामा दिएर पैसा कमाउने। अहिलेको ‘एभरेज ट्रेड’ त्यही हो। यसमा प्रशासक, प्रहरी, आर्मी, नेता, व्यवसायी, प्राध्यापक, कृषिकको ध्यान नै जग्गा किनबेचमा छ। अहिले जसरी जग्गा होल्ड गर्ने कानुन ल्यायौं, यो यसको प्रतिफल हो। यसलाई सुधार गर्न सकिएन भने नेपाल ठूलो ट्रयापमा पर्नेवाला छ। यस्तै हुँदै जाने हो भने नेपाल उद्यमशीलता नभएको देशमा गनिनेवाला छ। त्यसैले उद्यमशिलताको ‘इको सिस्टम’ विकास गर्नुपर्छ। 

निजी क्षेत्रले सरकारलाई दिएका विभिन्न सुझावमा प्रतिक्रिया कस्तो छ ?
सरकार त भर्खर आएको छ। एक वर्ष पुग्दैछ। आफूलाई नै नीति बनाउँदै छ। सरकारको धारणा उद्यमशीलतामै लाग्ने भन्ने पाएको छु तर संस्थागत सुधार भएको छैन। कर्मचारीतन्त्र र राजनीतिक संस्थाहरु एकदमै कमजोर छन्। कुनै एक पार्टीलाई चुनावको बेलाको प्रतिबद्धता के भयो भनेर सोध्नु भयो भने केही पनि भेट्नु हुन्न। त्यो घोषणापत्र कसले कार्यान्वयन गर्ने। घोषणापत्र जनतालाई मात्र बाँड्न बनाइएको होइन होला ! 

राजनीतिक, प्रशासनिक, उद्योग चलाउने संस्था सबै कमजोर छन्। यी सबै संस्थाहरु कमजोर भएकाले पनि चाहेर पनि कार्यान्वयन हुन सकेको छैन। अहिलेको प्रधानमन्त्रीले धेरै गर्न चाहनुभएको छ तर कार्यान्वयन हुन सकिरहेको छैन। यति धेरै राजनीति भयो कि सबैलाई कमजोर बनाइदियो।   

अहिले गर्न नसकिएको कुरा भनेको उद्यमशीलताको शिक्षा पनि हो। यत्तिकै कोही उद्यमी बनिँदैन। सिकाउनु पर्छ। उद्यमशीलता सिकाउन, इनोभसन सेन्टर, इनोभसन हब, एक्सिलेन्स सेन्टर, म्यानेजमेन्ट स्कुल आवश्यक छ। जहाँ व्यावसायिक रुपमा यसरी काम गर्न सकिन्छ भनेर विद्यार्थीलाई सपना देखाउन सकियोस्। हामीले अहिले जे शिक्षा दिइरहेका छौं। समय सान्दर्भिक नभएको शिक्षा लिइरहेका छौं। अहिले सन्दर्भ, समय, प्रविधि, व्यवसायको मोडल सबै फेरियो, तर हामी उही पुरानो मोडलमै छौं।

पछिल्लो समय व्यापार घट्यो, अर्थतन्त्र नै सुस्तायो भनिन्छ ? खास के भएको हो ? 
अहिले मुख्य त दुई प्रकारको समस्या छ। पहिलो आयात व्यापक बढेको छ। त्यसकारण सबै व्यापार घटेको होइन। कुनै कुनै व्यापार घट्छ। किन भने त्यो ‘च्याचुरेसन’मा पुग्छ। 

अहिलेको अर्थतन्त्र एकदमै कठिन परिस्थितिमा छ। आयात बढेको, उत्पादन गर्न नसकेको, संघीय संरचनाको सञ्चालन खर्च बढेको अवस्था छ। हामी महँगो व्यवस्थामा गयौं तर अर्थतन्त्र कमजोर अवस्थामा छ। तर, अवसर पनि त्यत्तिकै आएको छ। समस्या सँगसँगै मौका पनि आएको छ। अवसरको उपयोग गर्ने प्रयत्न गर्न आवश्यक छ। 

कस्तो खालको अवसर देख्नु भएको छ ? 
जस्तो, लगानी कै अवसर छ। अहिले मुलुकमा सात प्रदेश छन्। बुद्धि पुग्ने हो भने हरेक प्रदेश, नगरपालिका, गाउँपालिका सरकारले उद्योगधन्दाको विकास गर्ने मोडल बनाउन सक्छन्। उद्योगधन्दा गरेर आफैँ सक्षम बनेर अरुभन्दा उत्कृष्ट नगरपालिका बन्ने अवसर छ। यसका लागि उनीहरुसँग अधिकार पनि छ। त्यो अधिकारलाई खाली कर मात्र उठाउँछु भन्यो भने अर्थतन्त्र माथि जाँदैन। यस्तो प्रवृत्तिले नियन्त्रण मात्र गर्छ। 

भारत र चीनसँग जोडिएका छौं, हामी। दुवै देशको अर्थतन्त्रसँग समन्वय गरेर काम गर्ने र यहाँका परिश्रमी जनताको क्षमता प्रयोग गर्ने अवसर छ। नेपालका लागि दुई चार वर्ष ठूलो अवसरको रुपमा हेर्न सकिन्छ। अन्यत्र अर्थतन्त्र खुम्चिँदो छ। हामीलाई फैलाउने अवसर छ।

लगानीको हिसाबले अहिलेको अवस्था कस्तो छ ? 
अहिले लगानी खासै आएको छैन। विदेशी लगानी आउन उनीहरुले नेपालमा के सुविधा छ, के फाइदा छ हेर्छन्। उनीहरुले कानुनमा के उल्लेख छ भनेर हेर्छन्। कानुनको जटिलता व्यापक छ। यसमा सरकार र निजी क्षेत्रले संयुक्तरुपमा काम गर्नुपर्छ। 
नेपालभित्रका लगानीकर्ताले उत्साहका साथ लगानी बढाउने गरी वातावरण बनेको छैन। मुलुकको अर्थतन्त्रमा धेरै ठूलो ‘क्यास फ्लो’ अर्थात् लिक्विडिटीको समस्या आएको छ। कुनै परियोजनाका लागि लगानी उपलब्ध छैन। त्यसैमाथि ब्याजको दर बढेको छ। उद्योगधन्दा चलाउन गाह्रो छ।   
अब पनि निजी क्षेत्रको कुरा सुनेनौं भने त्योभन्दा ठूलो दुर्भाग्य कहीँ हुँदैन। हामीले बारम्बार यो भनिरहेका छौं। पाँच वर्षको अधिकार लिएर आएको यो सरकारको दाहित्व धेरै छ। यसले यो संवेदनशीलतालाई बुझ्नुपर्छ। 

तपाईं तीन दशकदेखि उद्योग व्यवसायमा हुनुहुन्छ। तीनचार व्यवस्था हेरिसक्नु भएको छ। एक उद्यमीको हिसाबले यी परिवर्तनलाई कसरी हेर्नुहुन्छ ? 
हामी जन्मिँदा पञ्चायत आएको थियो। त्यसपछि सुधारिएको पञ्चालयत हेर्याैं। त्यसपछि बहुदल आयो। त्यही बहुदलसँगै खोलिएको कम्पनी हो यो देउराली–जनता।  २०४५ सालतिरको कठिन परिस्थितिमा लाइसेन्स लिएका हौं। सबैभन्दा कठिन र विकराल अवस्थामा हामीले उद्योग चलायौं। नेपाल मात्र त्यस्तो देश हो जहाँ मेरो ५० वर्षको दौरानमा तीनचार वटा राजनीतिक परिवर्तन हेर्ने मौका पाएँ। यस्ता संसारको कुनै पनि ठाउँमा भेट्नुहुन्न। त्यो राजनीतिक परिवर्तन आउँदा राम्रोका लागि आउनुपथ्र्यो तर हामीले त्यही ‘मिस’ गर्याैं।

अब सामान्य पारिवारिक कुरा गराैं, सामान्यतया तपाईंको दैनिकी कस्तो छ ?
हरेक बेलुका भोलि के गर्ने भनेर सामान्य योजना बनाउँछु। जे–जे काम सक्ने योजना छ त्यो काम नसकी घर जान्नँ। कति बज्छ भन्ने मतलब हुँदैन। बिहान उठिसकेपछि चिया पिउने बाहेक जीवनका लागि केही सोच्ने, मन परेका इलेक्ट्रोनिक किताब छन् भने पढ्ने। मन लागेको कुनै लेख छ भने पढ्ने गर्छु

अफिस कति बजे आउनुहुन्छ ?   
सामान्यतया १० बजे अफिस आउँछु। काम नसकेसम्म हिँड्दिन। खाना अफिसमै खान्छु तर नेपाल उद्योग परिसंघ (सिएनआइ)को अध्यक्ष भएपछि विभिन्न कार्यक्रममा हिँड्नुपर्छ। खाना पनि बाहिरबाहिरै भइरहेको छ। 
सिएनआईको अध्यक्ष भएपछि मेरो परिवारलाई मिस गरिरहेको छु। असाध्य धेरै सार्वजनिक कार्यक्रममा समय दिनुपर्छ। एकदमै कम मात्र घरमा खाना खान्छु। जिम्मेवारी लिएपछि त्यो दाहित्व पनि पूरा गर्नुपर्छ।

तपाईको जन्म कहाँ भयो ? 
पर्वत जिल्लाको कार्किनेटा भन्ने ठाउँ मेरो जन्मथलो हो। मेरो बुबाको दुकान छ। अहिले बुबा ९० वर्षको भइसक्नुभयो। मेरो आमा म सानै हुँदा बित्नुभयो।

कहाँ कहाँ पढ्नु भयो ?
म स्कुल पहाडमै पढेको हुँ। १० सम्म त्यही पढेँ। काठमाडौंमा २०३५ सालमा महाराजगञ्जमा मेडिकल साइन्स (सर्टिफिकेट लेभल अफ जनरल मेडिसिन) पढेँ। बुबाको रहर डाक्टर बनाउने थियो। तर म म्यानेजमेन्टतिर लागेँ। यो मेरो जीवनको ‘टर्निङ प्वाइन्ट’ हो।   
त्यसपछि पोखरामा अमेरिकी सहयोग नियोग (युएसआइडी) को प्रोजेक्टमा काम गर्दा स्टानफोर्डको प्रोफेसरसँग भेट भयो। उहाँको प्रेरणाले म स्टानफोर्ड गएँ। अमेरिकी युनिभर्सिटीहरुको शिक्षा प्राप्त गर्ने मौका पाएँ।

परिवारमा को–को हुनुहुन्छ ? 
श्रीमती दुर्गा उपाध्याय। विवाह गरेको २० वर्ष भयो। हामी सँगै काम गर्छौं। हामीसँगै कम्पनीलाई योगदान गरिरहेका छौं। 
दुई छोरा छन्। जेठो छोरा सुरजभक्त पौडेल मास्टर सकेर भर्खर फर्केको छ। पहिलो अन्डर ग्राजुएट अमेरिका र युनिभर्सिटी अफ लन्डनमा मास्टर गरेर फर्किएको छ। कान्छो छोरा आयुषभक्त पौडेल ब्याचलर सकेर मास्टरको तयारी गरिरहेको छ। 

तपाईंले आफ्नो सुरुको लगानी कसरी जुटाउनु भयो ? 
मैले धेरै काम गर्थेँ। राम्रो जागिर पनि पाएँ। जे जति मसँग पैसा जम्मा भएको थियो। त्यो सबै यसैमा लगानी गरेँ। त्यो बेला झन्डै ३० लाख रुपैयाँ लगानी गरेको थिएँ। अहिले यो कम्पनीमा १६० करोडभन्दा धेरै लगानी भइसकेको छ

प्रकाशित: १८ फाल्गुन २०७५ ०६:४३ शनिबार

हरिभक्त_शर्मा नेपाल_उद्योग_परिसंघ देउराली–जनता_फर्मास्युटिकल्स_उद्योग औषधि_उद्योग नागरिक परिवार