अन्य

तिर्खा मेटाउने कविता

प्रतिरोध कार्की

बिम्ब प्रतीकलाई कलात्मक ढंगले प्रस्तुति दिने सुन्दर शब्दशील्पको सशक्त माध्यम हो कविता। नेपाली साहित्यमा भन्ने गरिन्छ– सबैभन्दा बढी लेखिने र सबैभन्दा थोरै पढिने विधा हो कविता। कविता भन्नेबित्तिकै समग्र काव्य बुझ्न सकिन्छ। कविता वा काव्यभित्र अनेक उपविधा पनि छन्, जस्तो कि मुक्तक, हाइकु, ताङ्का, चोका, गजल, गीत आदि। अनि कविताकै बृहत र बृहत्तर रूप पनि छन्, खण्डकाव्य र महाकाव्य।

केही समयअघि कवि राधाकृष्ण भट्टराईको कविताकृति ‘नदीसँग मनको तिर्खा’ नेपाली कविता बजारमा आएको छ। निकै लामो समयदेखि कविता लेखनमा सक्रिय राधाकृष्ण सरल र शालीन प्रभावकारी कविता लेख्ने कवि हुन्। उनका कवितामा प्रचलित र सरल अनि सरस शब्द शिल्पी छ। 

पर्दापछाडि नै रहेर, कसैका पक्ष, विपक्षका बहसबाट टाढा रहेर आफ्नै सुरमा, आफ्नै स्वभावमा निरन्तर काव्यप्रवाहमा बगिरहनु उनको स्वभाव हो। त्यसैले त उनी काव्य सिर्जनामा मात्र तल्लीन हुन पाउँछन् र सुन्दर सिर्जना कविताका पारखीलाई पस्कन्छन्। विज्ञापनमा कम रुचाउने मध्येका एक युवा कवि हुन् उनी। उनका कविताले माटो, हावा पानी र प्राकृतिक सुन्दरतालाई एक स्थानमा ल्याएर पाठकलाई आनन्द प्रदान गरेको छ। 

उनले कविता लेखनकलाको एक रूप र साहित्यको विधा हो भन्ने तथ्य बिर्सेका छैनन्।

उनको ‘नदीसँग मनको तिर्खा’मा ४५ कविता संगृहीत छन्। विभिन्न विषय र भाव समेटिएका कृतिभित्रका कविता पढ्दा लाग्छ, राधाकृष्ण कविता लेख्नकै लागि जबर्जस्ती लेख्दैनन्। जब कुनै विषयले छुन्छ, छोएपछि भित्रसम्म महसुस हुन्छ। उनका कविताको शिल्प वा बुनोट पक्ष साँच्चै लोभलाग्दो पनि छ। सामान्य पाठकदेखि विशिष्ट पाठकसम्मले यिनका कविता सहजै बुझ्छन्। प्रकृति, समाज, मानिस, राजनीति, संस्कृति आदि धेरैजसो पक्ष यिनका कविताका विषय भएर आएका छन्। 

शताब्दीयौंदेखि 
मान्छेभित्र आगो छ 
र आगोभित्र छ सर्वत्र 
विनाशको तान्डव
म आफ्नै भविष्यको
मुखाकृति 
रगडिएको हेर्दै आक्रोशको इरेजरले 
मात्र लाटकोशेरो आँखा भएको छु 
यस क्षण  

जुनसुकै विधा वा माध्यम अपनाए पनि साहित्यको उद्देश्य हो– समकालीन समाज तथा मानिसका पीडा, दुःख, खुसी, अभाव, असन्तुष्टि, आग्रह आदि अभिव्यक्त गर्नु र ती कुराबाट समाजमा र व्यक्तिको मुक्ति कामना गर्नु।

पछिल्लो समय नेपाली साहित्यले साहित्यिक गुणवत्ताभन्दा राजनीतिक, जातिय, धार्मिक, लैंगिक आग्रह बढी प्रस्तुत गरेको भन्ने आलोचना पनि बढिरहेको देखिन्छ। अत्यन्तै थोरै सर्जक मात्र साहित्यको गुणवत्ताप्रति सचेत भएर लेखिरहेका छन्। कतिपय सर्जक भने शब्दका भारी बोकाएर साहित्यलाई भद्दा बनाउन उद्यत् देखिन्छन्। राधाकृष्णमा त्यो कुण्ठा पोखिएको छैन। उत्साह प्रवाह भएको पाइन्छ। उनले कविता लेखनकलाको एक रूप र साहित्यको एक विधा हो भन्ने तथ्य बिर्सेका छैनन्। जीवन र जगतका बारेमा आ–आफ्नै ढंगले सोच्नु नित्य नयाँ–नयाँ विकल्पहरू ठम्याउनु र त्यसलाई जनमानसमा स्थापित गर्नुको अर्थमा कविता देखापरेका छन्। कविता एकजनाको चिन्तन वा सिर्जना नभई प्रकाशन वा प्रवाह भएपछि अनेक चिन्तक, द्रष्टा, स्रष्टा, र कविका सिर्जनाहरूको संकलन हो र शताब्दियौँका लागि चुनिएका सिर्जनाको संकलन हो भन्ने तथ्यलाई बुझी यो कवितासंग्रहले पाठकको तिर्खा मेटाउने कोसिस गरेको छ। 

 

प्रकाशित: १८ फाल्गुन २०७५ ०१:४० शनिबार

पुस्तक  तिर्खा_मेटाउने_कविता बिम्ब