ज्ञानेन्द्र विवश
अहिले प्रकाशन र प्रचारको बाढीसँगै गहकिलो प्रकाशन र तिनको चर्चाको पाटो विरलै पाइन्छ । त्यही विरलै कोटीमा पर्ने कृतिको नाम हो– क्षितिजको स्पर्श । आर. मानन्धरकृत प्रस्तुत कृति जीवन–दर्शनको सग्लो विवरण हो । उनका लेखले प्रत्येक पाठकीय दृष्टिलाई क्रमशः नयाँ विचार र अनुभूतिको उचाइतिर हिँडाउने चेष्टा गर्दछ । संक्षिप्त अक्षर र अनुभूतिका अभिव्यक्तिमा पाइने जीवनबोधका अनुभूतिमय चिन्तनहरुले नयाँ क्षितिजको दृश्य–दर्शन गराउने चेष्टा गर्दछ ।
मन छुने, जीवन बुझिने र आत्मसात् गर्नुपर्ने भावनाका साथ प्रकाशित क्षितिजको स्पर्शले नयाँ अध्यायको ढोका खोलेको छ ।
दर्शनको गहिराइमा डुबुल्किँदा जीवनले कति र कस्तो उपलब्धिको उपहार हासिल गर्न सक्छ भन्ने प्रत्यक्ष महसुस प्रस्तुत कृतिको अध्ययनबाट पुष्टि हुन्छ । आजका पुस्तामा दर्शनको प्रभाव र प्रयोग आवश्यक छ । त्यस्तै समयको हतारोका कारण संक्षिप्त अनुभूतिको गहिरो तर्कले जीवनलाई नयाँ ढंगबाट बुझ्न सकिन्छ । यही कारण पनि प्रस्तुत कृतिले विचारलाई, हेर्ने दृष्टिकोणलाई केही नवीनतम् आरोहणका साथ प्रतिस्थापित गर्दछ ।
दर्शन–साहित्य विधा अन्तर्गत् लिखित समीक्ष्य कृतिमा छोटा तर काव्यिक र मर्मस्पर्शी विचारका उठानमा सत्य–सन्दर्भ समयको चित्रण सविस्तार गरिएको छ । प्रत्येक रचना निबन्ध, कविता र दर्शनका समष्टिगत विम्ब हुन् । तिनले आजको जीवन, दृष्टिकोण, स्वभाव, संस्कारलगायत मानवजगत्का तमाम पात्र र पाटाहरुलाई सिलसिलाबद्ध रुपमा चित्रण गरिएको छ । ती चित्रणमा अनुभूति गर्न पाइन्छ–पृथक शैली, चिन्तन र चरित्रका भावना । तिनै शैलीमा, त्यही चिन्तनमा अनि ती चरित्रका वर्णनमा गम्भीर अनुभूतिका उच्छ्वासले पाठकीय मनलाई स्पर्श गरिहाल्छ ।
प्रस्तुत पुस्तकमा पट्यारलाग्दो पाठकीय झिजो र झमेला छैन । सन्देश, उपदेश वा अथवा विचारकै मात्र बग्रेल्ती भीड भेटिँदैन ।
मानन्धरले वैयक्तिक अनुभूति मात्रै प्रकट गरेका छैनन् । तिनमा जीवन सादृश्य समयका चिन्तन समाविष्ट छन् । अनेक अर्थ–अध्यायका अभिप्रायमा लेखकीय मनले सचेत र गम्भीर पाठकलाई केही छिन सोंच्न बाध्य पार्दछ । त्यो बाध्यकारी परिस्थिति अन्ततः चिन्तनको प्रयोग हो, दर्शनको उपयोग र अनुभूतिको चैतन्य चमत्कार हो भन्न सकिन्छ । त्यही दार्शनिक भावनाहरुको उडानमा जीवनको संकल्प छ । जीवन र जगत्प्रतिको कर्तव्यको प्रतिबद्धता सन्निहित छ । यसरी क्षितिजको स्पर्शमा समकालीनताका कालजयी सन्दर्भहरुले प्रवेश पाएका छन् । प्रयोगका सरल सिलसिलामा पनि विशाल विचारका विम्बहरु उद्घाटित छन् । पट्यारलाग्दो पाठकीय झिजो र झमेला छैन । सन्देश, उपदेश वा अथवा विचारकै मात्र बग्रेल्ती भीड भेटिँदैन । आरोपको अध्याय छैन । आाक्षेपको आधार पनि छैन । बरु सद्भावको स्वर छ । मौलिक लेखनको छवि छ । अलग्ग चिनारीको चित्रण पाइन्छ ।
मिथकीय अभिव्यञ्जनाका कतिपय भावपुञ्जहरुमा जीवन र जगत्लाई महसुस गर्ने फरक धारको धरातल निर्माण भएको अनुभूति हुन्छ ।
संग्रहभित्रको एउटा दर्शन–साहित्यको नमुना प्रस्तुत गर्दै लेखनी बिट मार्दछु ।
क्षितिजको स्पर्श
क्षितिज जताबाट हेर, त्यति नै टाढा । नियाल्दै जान्छु, ऊ र ममा रत्ति फरक छैन । जसलाई हामी वास्तविक ठान्छौं ती भ्रम हुन्। जोडिएको देखिने जुन भ्रम हो, त्यो नै यहाँको वास्तविकता । क्षितिजसँग जति नजिकिन्छु उति नै प्रष्टिन्छ–म स्वयं संयोजनको भ्रम ।
क्षितिजको अवास्तविकता बुझेर पनि मैले आफ्नो वास्तविकता किन बुझ्न सकिनँ ?
प्रकाशित: १८ फाल्गुन २०७५ ०१:१७ शनिबार