अन्य

न्याय मरेकाे छैन निर्मला  !

आशिष पौडेल

प्रिय निर्मला,
खोेइ सम्बोधन कसरी गरौं। हामी जुन समाज समुदायमा हुक्र्याै, खेल्यौं र बढ्यौं, त्यहाँ सम्बोधनले ठूलो अर्थ राख्छ। तर, तथ्य प्रमाण र बुझाइले के संकेत गर्छ भने बलात्कार नजिकका चिनेजानेका छरछिमेक र आफन्तबाटै भएको देखिन्छ। यो मात्रै पर्याप्त त होइन। तर, तथ्य यसको नजिक पुग्छ। यसो भन्दैमा के सम्बोधनमै पूर्णविराम लाग्छ त। कदापि होइन। 
आफूले आजसम्म भौतिकरूपमा उपस्थिति नजनाएको जिल्ला हो कञ्चनपुर। तर, पनि यसपटक बढी नै दुखेको छ मुटु। सुदूरपश्चिमका थुप्रै जिल्लाका आ–आफ्नै पीडा, व्यथा छ। राज्यसँग उसको असहमति, विरोध र द्वैषका आफ्नै अन्तहिन शृंखला छ। यसका बापजुद राज्यले सुदूरप्रति बेपरवाह गरेको सछ। ऊ निरोको बाँसुरीमै मग्न छ। सुदूर बेलाबेला यसको बहिखाता पल्टाउँछ। हिसाब हेर्छ। हिसाब माग्छ। तर, उसका जोड घटाउमा खोट देख्छ राज्य। धेरै शृंखलाहरू यहि तवरमा अगाडि बढेको छ। राज्यको तेवर बदलिएको छैन। भलै मुलुक थुप्रै राज्य व्यवस्था संचालनको अनुभव र फेहरिस्तको धनी छ। रजौटाहरूको नागरिक हुने तीव्र अभिलाषामा दह्रो ब्रेक लागेको छ। गणतन्त्र ‘रजौटाहरूमाथि’ ‘फँणातन्त्र’को रूपमा प्रस्तुत हुँदैछ। ऊ हरदम डस्न तयार देखिन्छ। पीडा, चित्कारमा लठ्ठिएको राज्य, जनताको न्यायिक आवाजसामु बहिरो बन्छ। कति ओकल्नु आक्रोशका यी अलंकारहरू, निर्मला। 
निर्मला, शाशनसत्ताको दम्भ, अहंकार र अर्घेल्याइँका लाखौं पदचाप तिमीले जीवनमा प्रत्यक्ष नभोगेकी होइनौ। त्यसका प्रत्येक अंश तिम्रा सुक्ष्म शरीरमा अहिले पनि लेग्रालेग्रा बनेर अझै टाँसिएका होलान्। यसबाट तिमीलाई कसरी मुक्त बनाउने, यी रागहरूले मलाई त्यसै–त्यसै रगडिरहेका छन्। जिउँदाको जन्ती हुन नसकेको राज्य तिमी जस्तो मृतात्माको मलामी बन्ने हकदार कसरी होला र ? जिउँदो छँदा करको भरमा रम्ने राज्य दुई करजोडीको बिन्ती सकार्दैन। जिउँदाको हक अधिकारमा सौहार्द हुन नसकेको राज्य तिमी जस्तो मृतात्माको पछि न्यायको लागि कसरी लामवद्ध होला र ? तिमी मृत्युपछि पनि हरपल न्यायका लागि तड्पिएकी छौ। यो मेरो अनुभूति म राज्यका कुन अंग निकाय र तालुकदारमा जाहेर गरौं र तिमीलाई आश्वस्त गराउँ कि तिमीले छिट्टै न्याय पाउनेछौं। र, मनमनै दीपावली मनाउँ। अनि तिम्रो चीरनिद्राको बेचैनीलाई शान्त बनाउँदै म पनि एक रात चैनले निद्रादेवीको काखमा मस्त रहन पाउँ। मन त्यसै–त्यसै भक्कानियर आउँछ। आँसुका बलिन्द्र छचल्किएर त्यसै त्यसै कोषसम्म आउँछन् र फेरि निर्मम बन्दै गुँडुल्किएर मनको मैदानमा फ्यात्त झर्छन्। यो मन र तिम्रो त्यो मनलाई म के जवाफ दिऊँ। म निरुत्तर मान्छे, निर्मला।  
निर्मला, तिमी र म बीच कुनै साइनो छैन। तिमी सुदूरपश्चिमकी म दक्षिण पूर्वको। न नातो न चिनजान। न आउजाउ न कतै जम्काभेट। न परिवेश न त धरातल एउटै। न छिमेकी, न मित्र बन्धुकी सखी। हो त केवल राज्य एउटै। राज्यले यसरी भाइचारा वृद्धि गर्न सक्थ्यो त विरोध र विद्रोहका यत्रा आवाज किन घनीभूत हुन्थे। म यो पर्गेल्ने कोशिश गर्दैछु की यति विघ्न मन हुँडल्ने तिम्रो र म बीचको सम्बन्ध के ? हरेक मनको सम्बन्ध आत्मासँग रहन्छ भन्ने आध्यात्मिक कथ्य हो त यो ? त्यसो हुँदो हो त हरेक मनसँग यो भाव रहनुपर्ने हो, त्यो किन हुँदैन ? हरेक रात यो ऐंठनको जवाफ खोज्दा खोज्दा अनायास मेरा आँखा लाग्छन्। र, पलक झपकमै फेरि यो प्रश्नले गिजोल्न थाल्छ। म के–केको जवाफ खोजुँ र के–केको जवाफ दिउँ तिमीलाई, निर्मला। 
निर्मला, मैले तिम्रा लागि कुनै विरोध र सभाहरू गरिनँ। आमसभा र कोणसभा गरिनँ। ब्यानर र प्लेकार्ड बोक्दै ‘जस्टिस फर निर्मला’ भनेर चर्को घाममा हिँडिनँ। राज्यको बर्बर यातना सहेर लाठी, अश्रुग्याँस र बुट खेपिनँ। राज्यले उभ्याएको कथित निरपराध अपराधी पनि म परिनँ। राज्यले दिएका काला मसिका बयानहरूमा हठात मेरा औंलाका ल्याप्चेहरू पनि छैन। अथवा बर्दीमा रहेर बर्दीका खिलाफ पनि मेरा कर्तुतहरू छैन। राज्यले जारी गरेको तिम्रो विरुद्धको कुनै मुचुल्कामा मैले सहिछाप गरेको छैन। यति हुँदाहुँदै पनि म चैनले निदाउन पाएको छैन। मलाइ अपराधवोधको पीडाले पिरोलेको छ। यो के हो ? कसो हो ? मैले बुझ्न सकेको छैन। हरेक रात म तिमीसित यो विषयमा गफिन खोज्छु। तर, तिम्रो मौन, अवोध र निश्चल मुहारले मलाइ यो गर्नबाट पर–पर हुर्‍याउँछ। 
निर्मला, यदि म राज्यको जिम्मेवार अधिकारी भएको भए, सबैभन्दा पहिले १० लाख रूपैयाँ सहायतास्वरूप प्रदान गर्ने घोषणा गर्थें। सत्यतथ्य जाँझबुझका लागि ५ सदस्यीय आयोग गठन गर्थें। आयोगको अवधि तीन महिना तोक्ने थिएँ। बलात्कार एक जघन्य अपराध भएकाले अपराधीले हदैसम्मको सजाय पाउने र केही समयका लागि अपराधी पत्ता नलागे पनि उसलाई पानीमुनि गए पनि नछोड्ने र कठघरामा उभ्याएरै छोड्ने प्रतिवद्धता व्यक्त गर्थें। यसमा कतै तालीको कञ्जुस्याइँ देखिए आफ्ना कर्मीलाई आँखाले इसारा गर्थें र तरर ताली पड्काउने माहोलको सृजना गर्थें। मैले राज्यका तर्फबाट गर्ने भनेको यहि हो। झिँझो नमान्नुहोला, यसमा दुई–चार कुरामा अझ जोड दिनुपर्ने देखियो। महिलाहरूलाई छोटा तिघ्रा देखिने र उत्तेजक पहिरनमा निषेध गर्नुपर्ने देखियो भने, अभिभावकले पनि हाम्रो संस्कृति परम्पराको ज्ञान दिँदै पहिरनलगायत अधिक प्रोटिनयुक्त खानामा परहेज गर्नुपर्‍यो, जसले गर्दा हार्मोनको विकासमा कमी आई जाँगरविहिन लुते, ख्याउटे मुहार देखियोस्। जोश, जाँगर र उमंगले भरिँदा लाउँलाउँ खाउँखाउँ हुने र त्यसका लागि आफ्नो वृत्ति विकासमा पछि नहट्ने स्वभावका कारण पनि पहिरनदेखि रूपरंगसमेत चम्काएर हिँड्दा पछिल्लो समय बलात्कारका घटना बढेको मेरो ठम्याइ हो। पछिल्लो दुई महिनामा घटेको १५०० बलात्कारका घटनालाई त्यसरी बुझेको छु। 
निर्मला, अझ म यसमा एक कदम अघि बढेर क्रान्तिकारी छवि निर्माण गर्दै भन्थें, ‘हेर्नुस् यो बलात्कार भनेको रोगी मानसिकताको उपज हो र यो अहिले सामाजिक रोगको रूपमा विकसित भएको छ। यसको मूल जड भनेकै पूँजीवाद हो।’ पूँजीवादी अनि विकसित भनिएका युरोप, अमेरिकादेखि अन्य अल्पविकसित, विकासोन्मुख र गरिब, निर्धन तथा तन्नम राष्ट्रमा समेत यो महामारी देखिएकाले यसको सर्वत्र निन्दा, आलोचना, विरोध र अझ भन्नुपर्दा अन्तर्राष्ट्रियरूपमा यसको विरोध अभियानलाई अघि बढाउनुपर्नेछ। निर्मलाको बलात्कार भएको दिन १० अगस्टलाई हामीले अन्तर्राष्ट्रिय बलात्कार विरुद्धको दिवसको रूपमा मनाउनुपर्ने र त्यसका लागि राष्ट्रसंघमा एक ठोस प्रस्ताव पेश गर्ने निणर््ाय पनि रहनेछ हाम्रो। तब मात्र यो मुद्दाको अन्तर्राष्ट्रियकरण भई पूर्णरूपमा नभए पनि धेरै हदसम्म यो समस्याको समाधान हुने देखिन्छ। ताली। शतप्रतिशत नतिजा गणितमा त हुँदैन भने यो त व्यवहार विज्ञान। विज्ञानको पनि शतप्रतिशत नतिजा कहाँ देखिएको छ र ! केही त छुटेनन् नि ? ल निर्मलाको आत्माले शान्ति पाओस्। सायद मेरो बोली, वचन र व्यवहार यस्तै हुन्थ्यो होला निर्मला, यदि म सरकारी सेतो पहिरनमा कलुषित भएर प्रदूषित भएको भए। 
निर्मला, अन्तिममा, मैले अघि नै भनें, मैले तिम्रो समर्थनका विरोध र्‍यालीहरू ‘ज्वाइन’ गर्न सकिनँ। एक कलमजीवी भएका नाताले मैले आफ्नो कलम चलाएँ। उसो भए एक नागरिक भएका नाताले पनि मेरो नागरिक दायित्व सकियो त ? प्रश्न जन्मिन सक्छ। फेरि यहाँ प्रश्न जन्मिने भन्दा पनि जन्माउने प्रचलन अधिक छ। मैले फेरि क्रान्तिकारी सहारा लिएँ , गाउँ गाउँबाट उठ...हातमा कलम लिनेहरू कलम लिएर उठ। तर, यो नसोच कलम लिएर उठ्दैमा मेरो आफ्नो दायित्व पूरा भयो। अपराधका यी र यस्ता अनेकौं मुद्दामा मेरो खबरदारी रहिरहनेछ। मृत्युपर्यन्त लडेका त धेरै इतिहास छन्। तर, मृत्युपश्चात पनि न्यायका लागि तड्पिनुपरेको इतिहास विरलै होला। तिमी त्यो इतिहासकी साक्षी हौ। तिमीलाई इतिहासको त्यो विरासतमा सुम्पेर हामी ध्यानस्थ हुन सक्दैनौं। हरेक रात तिम्रा ती अवोध मुहारले, अब मैले कहिले न्याय पाउँछु त कलमजीवी भनेर प्रश्न तेस्र्याएका बखत मैले आत्मग्लानी, सरम र पीडाबोधले आफ्नो नूर गिराउनु बाहेकको मौन उत्तर मसँग अहिलेलाई छैन। तर, यति कबुल गर्छु सत्य टरेको छैन, न्याय मरेको छैन। निशंकोच तिमीले न्याय पाउनेछौ ! त्यसका लागि हरपल खबरदारी जारी रहनेछ। तिम्रो आत्माले अवश्य शान्ति प्राप्त गर्नेछ। अन्यथा सम्झ– यो कलमजीवीको हरेक रात अनिदो रहनेछ। अस्तु। 
दलदचकज्ञद्ध२नmबष्।िअयm

प्रकाशित: ११ फाल्गुन २०७५ ०५:०३ शनिबार

न्याय निर्मला चिठ्ठी