अन्य

खुसी लुटिएको जन्मदिन

लक्ष्मी घिमिरे

मनमा धेरै दिनदेखि अनेक खालका भावना मडारिरहेका थिए। त्यस्ता भावना भविष्यका भन्दा विगतका ज्यादा थिए, दुःखका भन्दा खुसीका धेरै थिए। वर्तमान जति कष्टपूर्ण भए पनि विगत भुलेर रमाउन चाहन्थें म। तिनै सुखद क्षणलाई जीवन्त रूपमा लिपिबद्ध गर्ने सोचाइमा थिएँ म। त्यसमा खुसी नै खुसी होस्, उमङ्गैउमङ्ग होस्, पढ्नेका लागि प्रेरणा बनोस्, उदाहरणीय बनोस् भन्ने उत्कट चाहना थियो मेरो। म निरन्तर बग्ने यात्राको सुखानुभूतिलाई मात्र कैद गर्न चाहन्थें आँसु र दर्द लुकाएर। खुसीको आभाले जीवन रङ्ग्याइदिने अठोटमा थिएँ। तर सोचेजस्तो हुन्न जीवन त्यत्तिकै कहाँ भनिएको हो रहेछ र ? बल्ल आज त्यो महसुस गर्दैछु। जीवन त दुःखको पोको पो रहेछ। हो आज म त्यही दुःखको एउटा पोको फुकाउँदैछु। यस्तो दुःख, जुन तपाईंलाई कहिल्यै नपरोस्।

म सानै छँदा बुबाले राजपरिवारको तस्बिर ल्याएर बैठक कोठामा झुन्ड्याउनुभएको थियो। त्यसकै आडमा हाम्रो परिवारको ठूलो तस्बिर थियो। तस्बिरमा बुबा, आमा, म र दुई भाइ थियौँ। राजपरिवारको पाँचै सदस्य अनि हामी पनि पाँचजना। संयोग नै थियो त्यो। दुवै तस्बिर हेरेर आमा पटकपटक भन्ने गर्नुहुन्थ्यो– राजाको जस्तै छ मेरो परिवार। उहाँले आफ्नो परिवारलाई राजाको परिवारसँग तुलना गर्दा हाम्रो बालसुलभ मन फुरुङ्ग हुन्थ्यो। सबैको विश्वास र आस्थाको केन्द्र बनेका प्रिय राजाको वंशनाशपछि मेरी आमा असाध्यै दुःखी हुनुभयो।

२०५८ जेठ १९ गतेको त्यो घटनामा उहाँ निकै पीडित भएको म प्रस्ट महसुस गर्थें। उहाँ राजपरिवारबाट असाध्यै प्रेरित हुनुहुन्थ्यो। त्यतिबेला आमाले राजपरिवारको फोटो हेरेर कैयाैं दिनसम्म बरबर आँसु झारेको घटना मेरो मानसपटलमा ताजै छ। छेउमै झुन्ड्याइएको परिवारको फोटो हेरेर उहाँ भन्नुुहुन्थ्यो– ‘हे भगवान् ! मेरो परिवारमा कसैको नजर नलागोस्।’ उहाँको हृदय अत्यन्त कोमल छ, सन्तान हुनाको नाताले त्यो मैले बुझेकी छु। परिचितका त कुरै छोडौँ अपरिचित व्यक्तिमाथि परेको भवितव्य वा दुर्दशाका खबरले आँसु झार्दै भक्कानिने मेरी आमालाई आज म कुन शब्दले सम्झाऊँ ? यतिबेला आफंैलाई सम्हाल्न गाह्रो भइरहेका बेला म कसरी उहाँलाई सहानुभूति दिऊँँ ? उहाँले आफ्नो परिवारमा कसैको नजर नलागोस् भनेर गर्नुभएको कामना व्यर्थ भएको छ यतिबेला। 

धर्ती र माता भनेको समान रहेछन्, जसले जे गरे पनि सहनैपर्ने ! जस्तो विपत् पर्दा पनि सम्हालिनैपर्ने !! सहनुको विकल्प केही रहेन अब, न नियतिसँग संघर्ष गर्न सकिन्छ, न मृत्युलाई चुनौती दिन सकिन्छ।

पुसको कठ्याङ्ग्रिदो जाडोले मधेसलाई पनि सताउन थालेको थियो। घडीमा बिहानको ६ बजिसके पनि हुस्सुको बाक्लो पर्दाले राम्ररी उज्यालो नभइसकेको प्रतीत हुन्थ्यो। काम पनि खासै थिएन। आँखा उघ्रेको दुई घन्टा भए पनि बिछ्यौना छोड्न पटक्कै मन थिएन मलाई। छोरो मस्त निद्रामा थियो। म पनि सिरकभित्र गुँडुल्किएर हातमा मोबाइलको स्क्रिनमा आफूलाई व्यस्त बनाइरहेकी थिएँ। 

त्यो दिन मेरा लागि विशेष थियो। आशा र निराशाको द्वन्द्वमा हेलिँदै मेरो जीवनले थप अर्को वसन्त चढेको थियो। बिहानैदेखि विभिन्न माध्यमबाट शुभकामना प्राप्त भइरहेका थिए। सामाजिक सञ्जाल, एसएमएस र फोनबाट शुभेच्छुकहरूले दिएका शुभकामना र आशीर्वचनले म आनन्दित भइरहेकी थिएँ। फेसबुकको भित्तो शुभेच्छाका शब्दहरूले खचाखच भरिँदै थियो। मेरो प्यारो सानो भाइ प्रदीपले बिहानको साढे ३ बजे नै शुभेच्छाका शब्दहरूसहित फोटो अपलोड गरिसकेको रहेछ। उसको सन्देश पढ्दा म भित्रभित्रै पग्लिएँ।

बालापनदेखिका एकएक घटना शृंखलाबद्ध बनेर अगाडि आए। सँगै पढेको, एउटै थालमा खानेकुरा खाएको, कहिले कुटाकुट गरेको अनि केहीबेरमै मिलेर बसेको ! कति रमाइला थिए ती दिनहरू ! ऊ मेरो भाइमात्र होइन, साथी थियो। पछिल्लो समयमा मैले हरेक काम गर्दा ऊसँगै सल्लाह लिन्थें। मेरो मार्गनिर्देशक थियो भाइ। मेरो खुसीको एउटा खम्बा थियो ऊ। त्यति बेला मेरो भौतिक उपस्थिति मेरो प्रिय भाइ, आफन्त र शुभेच्छुकमाझ थिएन। तर सबैको शुभेच्छा प्राप्त गर्न प्रविधि काफी थियो। सबैको शुभकामनाले म गौरवान्वित भइरहेकी थिएँ। मैले मेरा जन्मदाता मातापिता सम्झेँ, उहाँहरूको न्यानो स्पर्शको अनुभूत गरेँ र यस वर्ष अझ विशेष बनाउने दृढसंकल्प गर्दै कल्पनाको सुन्दर संसारमा रमाइरहेँ म। केही बेरमा उठेर आफ्नो दैनिकीमा व्यस्त हुन थालेँ।  

गर्नुपर्ने काम धेरै थिए। आज केही काम गर्न मन लागेन। बाबु उठिसकेको थियो। उसले पनि ‘ह्याप्पी बर्थडे मामु’ भन्दै अँगालो हाल्यो। मामुछोरा रमायौं केहीबेर। छोरी प्रान्जल र उनका बाबालाई धेरै सम्झिएँ। भाइ प्रदीपको निकै याद आयो। उसलाई साँझतिर फोन गर्नुपर्ला भन्दै बाबुलाई खाना खुवाएर स्कुल पुर्‍याएँ। अनि आफू पनि तयार भएर स्कुल गएँ। स्कुलमा दोस्रो त्रैमासिक परीक्षाको नतिजा वितरण कार्यक्रम थियो। करिब दुई बजे विद्यालयको काम सकियो। एक दिन भए पनि कम खटिन पाउँदा शिक्षण पेसामा लागेका हामीलाई निकै हल्का हुन्छ। आज त्यस्तै भयो। स्कुल सकेपछि छोरा प्रणवलाई लिन गएँ। आज मामुको बर्थ डे भनेर उसले अनेक कुरा फर्माइस गर्‍यो। उसकै इच्छाअनुसार केही सामान किनिदिएँ। निकै खुसी भयो। उसको खुसीमा म पनि रमाएँ। उसलाई खाना खुवाउनु, गृहकार्य गराउनु मेरो नियमित कार्य नै थियो। आफ्नो काम सकेर बाबु खेल्न निस्कियो। म जन्मदिनको अवसरमा प्राप्त शुभकामना हेर्दै मोबाइलमा रमाउन थालेँ। 

साँझपख आफन्त र साथीभाइसँग भर्चुअल संसारमा रमाइलो ‘च्याट’ भइरहेको थियो। म्यासेज बक्समा एकजना सञ्चारकर्मी मित्रले दाङमा भएको दुर्घटनाबारे जानकारी गराए। कृष्णसेन बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी चढेको बस दाङको राम्री भन्ने ठाउँमा दुर्घटना भएको खबर थियो त्यो। हुन त ती सञ्चारकर्मी मित्रलाई मेरो भाइ यात्रामा रहेको के थाहा ? मेरो माइती दाङ भन्ने उनलाई थाहा थियो। त्यसैले उनले जानकारी गराएका रहेछन्। तर यो खबर मेरा लागि निकै भयानक बनेर आइदियो। शैक्षिक भ्रमणमा रहेका दुई शिक्षकमध्ये मेरो सानो भाइ प्रदीप पनि एक थियो। केहीबेरअघि आमासँग फोनमा कुराकानी हुँदा अब भाइ आउने बेला हुनै लाग्यो भन्नुभएको थियो।

दुर्घटना विवरण त पूरै आएको थिएन। तैपनि म नराम्ररी दुखेँ। शरीर थरथर काप्न थाल्यो। के गरूँ के गरूँ भयो। केही सोच्नै सकिनँ। मन भतभत पोल्न थाल्यो। आफ्ना अगाडि आइपरेका हरेक परिस्थितिसँग नजुधेर उपाय रहेनछ भन्ने यथार्थ मलाई त्यतिबेलामा मात्र बोध भयो, जति बेला मेरो प्रिय भाइ दुर्घटनामा परेको खबरले म स्तब्ध बनेकी थिएँ। भगवान्सँग सहस्र बिन्ती गर्दै घरमा फोन लगाएँ। बुबाले फोन उठाउनुभएन। बुहारी शीतललाई फोन गरें। उनलाई भाइ घर आइसकेको भ्रम परेछ र ‘आइसक्नुभयो दिदी’ भनिन्। मैले स्वीकार गर्न सकिनँ। यतिबेलासम्म विभिन्न अनलाइन पोर्टल र टेलिभिजनका स्क्रिनहरूमा ‘राम्री बस दुर्घटनामा १० जनाको मृत्यु’ भन्दै ‘ब्रेकिङ न्युज’ र ‘फ्ल्यास न्युज’ आइरहेका थिए। तर मेरो भाइको अवस्थाबारे सबै अनभिज्ञ थिए।

मेरो हडबडीको मात्रा बढ्दै गयो। तैपनि आफूलाई सम्हाल्दै अन्य दुईचार ठाउँमा फोन लगाएँ। सबैले दिएका खबर प्रतिकूल थिए, मेरो शङ्कालाई थप बलशाली बनाउने खालका थिए। जीवनमा पहिलोपटक ज्यादै अस्थिर भएँ म। चितवनको भण्डारास्थित डेरामा अडिन सकिनँ। तत्काल यात्रा गर्ने निर्णयमा पुगेँ। अनि झोला र छोरो च्यापेर निस्किएँ सडकमा। पूर्णिमाको अघिल्लो दिन भएकाले आकाशमा टहटह जून लागेको थियो। मेरो मनमा भने चुक घोप्टिएको थियो। त्यसैले मैले पूरै संसार कालो अन्धकारमात्रै देखेँ। सडकमा पुगेर वीरगन्जबाट तुलसीपुरका लागि गुडेको बसलाई हात दिएँ। सिट नपाए पनि चालकनजिकैको इन्जिनमाथि बसी छोरा च्यापेर सुरु भयो मेरो अप्रत्याशित यात्रा। काठमाडौंबाट रहेका छोरी र उनका बाबालाई भाइ चढेको गाडी दुर्घटनामा परेर आफू दाङतर्फ हिँडेको जानकारी गराएँ।

गाडीको रफ्तारभन्दा मेरा मनका ज्वारभाटा कैयाँै गुना तीव्र भएर दोडिरहेका थिए। जीवित केही आशा पनि निराशामा परिणत हुने संकेत देखिँदै थिए। बुबालाई थप फोन गर्नै आँट हराइसकेको थियो। यात्रा जतिजति छोट्टिँदै थियो, मन उतिउति भक्कानिँदै थियो। फोन सम्पर्कमा रहेका आफन्त र साथीहरू ‘मन दरो बनाउनुस्, आफूलाई सम्हाल्नुस्, जे हुनु भइहाल्छ, भगवान् भरोसा गरौं’ भनेर सम्झाउँथे। तर मेरो मन किन मान्थ्यो ? उनीहरूले पनि पाएजत्ति जानकारी दिइरहे। म झन्झन् भयको दलदलमा भासिँदै जान थालेँ।

रात बढ्दै थियो। मेरो मानसपटलभरि प्यारो भाइ प्रदीपको अनुहार हाँसिरहेको थियो। रातको १० बज्दासम्म उसको कुनै खबर थिएन। मन भक्कनिएर हिक्का छुट्थ्यो। आँखाबाट बलिन्द्र धारा आँसु झरिरहेको थियो। यात्राको साथी छोरो आँखा छामेर ‘नरुनुस् मामु’ भन्दै रुन्थ्यो। म आफूलाई सम्हाल्नै सकिरहेकी थिइनँ। बेलाबेला मोबाइलमा भुल्न खोज्थेँ। अहँ कसै गरे पनि मन थामिँदैनथ्यो। मेरा सहपाठी एवम् महेन्द्र बहुमुखी क्याम्पसमा मेरा भाइका सहकर्मी अम्बिकाप्रसाद डाँगीले राति १०ः४ बजे फेसबुकमा पोस्ट गरेको मेरो भाइको तस्बिरमा आँखा पुग्दा म झन् पछारिएँ। विश्वासै लागेन तर मृत्यु कसले पनि रोक्न सक्दो रहेछ र ? सर्वत्र कालो बादल मडारियो। यो अप्रिय घटना स्वीकार्न म बाध्य भएँ। त्यसपछि मे अर्धचेत् जस्तै भएछु। 

त्यसपछि मेरो यात्रा कसरी घोराहीसम्म पुग्यो मलाई केही याद छैन। घरमा पुग्दा भाइ प्रदीप, उसको सहकर्मी नरेश ओली र १९ किशोरकिशोरी अब संसारबाट सधैंका लागि बिदा भएको स्पष्ट भयो। एउटा निर्जन दुःखको साक्षी बनेँ म। मेरा बुबाआमाले पुत्री प्राप्त गरेर हर्षविभोर भएको त्यस दिनमा पुत्रशोकले छटपटाएको पीडादायी क्षणको के बयान गरूँ र ? मैले जन्मदिनमा फेसबुकमार्फत बिहान भाइबाट पाएको शुभकामना सन्देश एक मुठी सास रहुन्जेलसम्मका लागि अमूल्य उपहार बन्यो। त्यो सन्देश कहिल्यै नमासिने, ननासिने अनि कसैले खोसेर लान नसक्ने सौगात बन्यो मेरो जीवनका लागि। त्यो कहालीलाग्दो दुर्घटनाले मेरो प्रिय भाइ, मेरो खुसी लुटेर लग्यो, कहिल्यै नफर्कने गरी। यसरी २०७५ पुस ६ गते मेरा लागि जीवनकै कालो दिन बन्न पुग्यो।

यतिबेला मेरो आमाले हामीसँग तुलना गर्नुभएको त्यो राजपरिवार त कोही छैन नै। मातृभूमिले कुनै बेलाका प्रिय राजपरिवार गुमायो। मेरी आमाले प्यारो छोरालाई अल्पायुमै गुमाउनुभयो। मलाई लाग्न थालेको छ, धर्ती र माता भनेको समान रहेछन्, जसले जे गरे पनि सहनैपर्ने ! जस्तो विपत् पर्दा पनि सम्हालिनैपर्ने !! सहनुको विकल्प केही रहेन अब, न नियतिसँग संघर्ष गर्न सकिन्छ, न मृत्युलाई चुनौती दिन सकिन्छ। त्यसैले पनि होला कविशिरोमणि लेखनाथ पौड्यालले भनेका : ‘आयो टप्प टिपी लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, इन्द्रै बिन्ती गरून् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो।’

प्रकाशित: ११ फाल्गुन २०७५ ०४:३२ शनिबार

अनुभूति खुसी लुटिएको जन्मदिन