अन्य

जीवनको उत्तरार्धमा खुसीको यात्रा

टुइलमाया प्रजापतीले जीवनमा निकै संघर्ष गरिन्। छोराछोरी सानै छँदा पतिको मृत्युसँगै सिंगो परिवारको जिम्मेवारी उनको काँधमा आइपुग्यो। उनी त्यतिबेला आर्थिक तथा सामाजिक कठिनाइ सामना गर्दै अगाडि बढिन्।

माटोको काम गर्दै जीविका चलाउँदै आएको उनको परिवारको जीवनचक्र रोकिने अवस्थामा आइपुगेको थियो। उनले हिम्मत नहारी आफ्नो परिवारको रथ अगाडि बढाइन्। तिनै ८२ वर्षीय टुइलमायालाई रथमा राखेर केटाकेटीदेखि ठूलासम्मले  परिक्रमा गराउँदा बिहीबार सवै हर्षित देखिए।

बुढेशकालमा मिलेको उनको सम्मान यात्रामा किशोर बाँसुरी बजाउँदै, युवा धिमेको तालमा नाच्दै सहभागी बने। त्यस्तै, हाकुपटासीमा सजिएका महिला धानको लावा छर्दै अगाडि  बढ्दा मध्यपुर नगरपालिका थिमीको चपाचो टोल उत्सवमय बन्यो। बिहीबार आयोजित जंको (भीमरथारोहण) नियाल्दा टुइललाई परिवारले मात्र होइन, सिंगो समाजले सम्मान गरेको महसुस भयो।

‘आमा आज निकै खुसी देखिनुभयो,’ टुइलका छोरा कमलकृष्णले भने, ‘हामी पनि धेरै रमाएका छौं।’ ७७ वर्ष सात महिना, सात दिन पूरा भएको उत्सवमा जंको गरिने भए पनि त्यति बेला साइत नजुरेका कारण ८२ वर्षको उमेरमा गरिएको उनले सुनाए।

टुइललाई अन्य सहभागीसँगै नाति तथा पनातिले रथको डोरी समाएर मठमन्दिर घुमाए। नेवारी पहिरनमा सजिएकी प्रजापतिलाई विभिन्न मठमन्दिर हुँदै बालकुमारी मन्दिर परिक्रमा गराइयो। यात्रामा सहभागी जमातसँगै चोकचोकमा जम्मा भएका सर्वसाधारणले उनीहरूलाई दीर्घजीवनको आशीष दिए।

जंको सकेर घरमा पुगेपछि देवी देवताजस्तै मान्ने चलन छ। ‘त्यसो त आमाबुबा सधैँ भगवान हो,’ कमलकृष्णले सुनाए, ‘जंको गरेपछि सच्चिकै भगवानसरह मान्ने चलन छ।’ अब आमाले आराम गरेर सन्तानका साथ रहने उनले सुनाए।

खटमा बसेर मन्दिर परिक्रमा गरेको क्षण रमाइलो रहेको टुइलले सुनाइन्। ‘यसरी खटमा बसेर यात्रा गर्ने रहर सबैमा हुन्छ,’ उनले भनिन्, ‘अरुलाई जस्तै मलाई पनि रमाइलो लागेको छ।’

बिहीबार बिहान घरबाट निकालिएको उनीहरूको यात्रा दिनभर विभिन्न मठमन्दिर हुँदै साँझ घर फर्कियो। घरमा विभिन्न भोजको आयोजनासमेत गरियो। जसमा जंको गरेका ९० वृद्धवृद्धालाई  समेत भोजन गराइने चलन छ।

जंको यात्रा सकाएपछि साँझ सहभागी सबैले आशीष लिने चलन छ। प्रजापति समुदायमा जंको गरेका वृद्धको गुठीसमेत छ। त्यसमा करिब  सय व्यक्ति सामेल भइसके। जंकोमा ती सबैलाई बोलाएर भोज खुवाइएको थियो।

संस्कृतिविद् ओम धौभडेलले जंको ज्येष्ठ नागरिकलाई सम्मान सिकाउने संस्कृति भएको बताए। ‘ज्येष्ठ नागरिकलाई देवतासरह सम्मान दिनुपर्छ भन्ने जंकोको सन्देश हो,’ उनले भने, ‘यसले परिवार र समाजमा खुसियाली ल्याउँछ।’

जंकोको रथ परिवार र आफन्तले तान्छन्। यसले वृद्धवृद्धाको जीवनयात्रामा परिवार र समाजको सहयोग आवश्यक छ भन्ने देखाइएको धौभडेल बताउँछन्। ‘हिजो आफूले डोर्‍याएका नानीहरूले आज आफैलाई डोर्‍याउँदा उनीहरूमा खुसीको सीमा हुन्न,’ उनले भने, ‘यही उमंगले उनीहरूको बाँकी जीवन रमाइलो रहनेछ।’

प्रकाशित: ११ फाल्गुन २०७५ ०४:०५ शनिबार

जीवन उत्तरार्ध खुसी यात्रा