अन्य

फूलको भूत

मीना बज्राचार्य

दीपकका हजुरबा र हजुरआमाले बगैँचामा थुप्रै जातका फूल रोपेका थिए। तर दीपकले भने फुलिरहेका फूलहरू टिपेर फ्याँकिदिन्थ्यो। उसलाई उसका हजुरबा र हजुरआमाले धेरै सम्झाइसक्नुभयो। तर उसको बानीमा परिवर्तन ल्याउन सकेन। बरु झन्झन् बदमास हुँदै गयो ऊ। पूmल मात्र होइन भर्खर फुल्न लागेका कोपिलाहरू पनि टिपेर फ्याँकिदिन्थ्यो। यसले गर्दा उसका हजुरबा र हजुरआमा धेरै दुःखी हुनुहुन्थ्यो। तर दीपक भने आफूखुसी  गरेर रमाउँथ्यो।

हजुरआमा र हजुरबुबा दुवै मिलेर बगैँचामा गोडमेल गरेर फूलमा पानी हाल्दै हुनुहुन्थ्यो। त्यसैबेला दिपक बगैंचामा आएर कोपिला र पूmलहरू टुक्रा–टुक्रा पारेर फ्याँक्न थाल्यो। यो देखेर हजुरआमाले सम्झाउँदै भन्नुभयाे, ‘हेर बाबु, कोपिला टिप्नुहुँदैन, पाप लाग्छ नानी। तिमी अब ठूलो भईसक्यौ।’ हजुरबा निराश हुँदै सुईंया सुस्केरा हालेर भन्नुभयो, ‘ए बुढी ! भैगो यसलाई नसम्झा। यो केटो सम्झनेवाला छैन।’ तैपनि हजुरआमाले सम्झाउने कोसिस गर्दै भन्नुभयो, ‘हेर बाबु ! यो कोपिला भनेको पूmलका बच्चाहरू हुन्। त्यसलाई फक्रन दिनुपर्छ। फक्रेर पूmल फुलिसकेपछि भगवानलाई चढाउन मात्र टिप्नुपर्छ। नत्र पाप लाग्छ। पूmलले सराप्छ बाबु।’ दीपकले उहाँहरूको कुरा सुने नसुनेजस्तो अटेर गरेर पूmलमा जथाभावी चलिरहेकोले दीपकको बुबाले गाली गर्दै कुट्नुभयो। त्यसदिन बुबाको कुटाई खाएकोले दीपक रिसाएर कसैले नदेख्ने गरी राती गएर फूलका बोटहरू समेत उखेलेर फ्याँकिदियो। त्यसपछि राती खाना नै नखाई सुत्न गयो।

राति ऊ जङ्गल नै जङ्गलको बाटोमा हिँडिरहेको थियो। हिँड्दाहिँड्दै दीपक एउटा बगैँचा भएको रमाइलो ठाउँमा आइपुग्यो।

राति ऊ जङ्गल नै जङ्गलको बाटोमा हिँडिंरहेको थियो। हिँड्दाहिँड्दै दीपक एउटा बगैँचा भएको रमाइलो ठाउँमा आइपुग्यो। थाकेर गुलाफको बोटमुनि शीतल छायामा आराम गर्न मात्र के लागेकोे थियो, गुलाफको पूmलको काँडाले च्वास्स घोच्यो। ‘ऐया ! आत्था !’ भनी उठेर चमेली फूलको बोटमुनि बस्न गयो। त्यहाँ ह्वास्स गनायो। हत्तपत्त नाक थुनेर झ्वाम्म फूलेगु सयपत्री फूलनिर बस्न गयो। तर त्यहाँ पनि डाँठले घोच्यो। ‘ऐया !’ भन्दै उठेर अर्को ठाउँमा गएर बस्यो, तर जहाँ गए पनि उसलाई पूmलको काँडाले त कुनै पूmलका डाँठ र पातले घोच्थ्यो। दीपकलाई असह्य भयो। ऊ रुँदै त्यहाँबाट भाग्न खोज्यो। तर भाग्न नपाउँदै बगैँचाका सबै फूलहरूले घेरा  हाले। ती फूलहरू निकै डरलाग्दो आवाज निकालेर हाँस्न थाले। फूलहरू जतिजति दीपकको नजिक आयो त्यतित्यति नै नमिठो गन्ध पनि आइरहेको थियो। दीपक डरले काँप्न थाल्यो। त्यत्तिकैमा गुलाफ कड्केर बोल्न थाल्यो, ‘हे मूर्ख बालक ! हामी तिमीले फ्याँकेका फूलका भूत हौँ। तिमीले चुँडालेर फ्याँकेका फूलहरू मरेर सडेकोले गन्ध आएको हो। अब हामी पनि तिमीलाई काँडैकाँडाले घोचेर सजाय दिन्छौँ। यस घनघोर जङ्गलमा तिमीलाई बचाउन कोही पनि आउँदैन हा हा हा हा...।’

सबै फूलहरू एकसाथ डरलाग्दो आवाजले हाँस्न थाल्यो। दीपक डराएर रुँदै भने, ‘फूलको पनि कहीँ भूत हुन्छ त ? फूलहरू पनि गनाउँछ र ? फूलहरू पनि कसरी बोल्न सकेका ?’

सयपत्रीले भन्यो, ‘हेर बालक मान्छे मर्‍यो भने भूत हुन्छ। हो त्यस्तै हामी पनि मरेपछि भूत भयौँ। फेरि बोल्नै नजान्ने के हामी निर्जीव हो र ? तिमीले किताबमा पढेका छैनौँ र ? रुख, बोटबिरुवा पनि सजीव नै हुन् भनेर। उनीहरूले पनि सास लिन्छन्, खाना खान्छन्, पानी पिउँछन्। तिमीले टुक्राटुक्रा गर्दा हामीलाई पनि दुख्छ।’

फेरि गोदावरी रुँदै कराउन थाल्यो, ‘यो पापीले हाम्रो कोपिला बच्चाहरूलाई समेत छोडेनन्। यसले हाम्रो बच्चा हुर्कन नपाउँदै टिपेर मारिदियो। आज हामी पनि तिमीलाई बाँकी राख्दैनौँ।’

फेरि मखमली फूल रिसाउँदै भन्यो, ‘हामी फूलहरू भनेको त शुभकार्य गर्न, पूजापाठ गर्दा देउतालाई चढाउन वा उपहार दिनको लागि टिपेमा हामी खुशी हुन्छौँ। तर तँ दुष्ट बालकले त्यस्तो शुभकार्य हामीलाई केही गर्न नदिई चकनाचुर पारिदियौ। त्यसको सजाय अब तिमीले पनि भोग्नुपर्छ। आओ साथीहरू हो ! यस पापीलाई हामी सबै मिलेर सजाय दिऔँ।’

त्यसपछि सबै फूलहरूले उसलाई लखेट्न थाल्यो। दीपक भाग्दाभाग्दै एउटा खाल्डोमा खस्यो र ऊ बेस्सरी चिच्याउन थाल्यो। ‘ऐया नि बाबा ! मरेँ नि बाबा ! बचाऊ बचाऊ !’

दीपक कराएको सुनेर उनकी आमाले दीपकलाई उठाउँदै भन्नुभयो, ‘छोरा ! के भयो ? डरलाग्दो सपना देख्यौ कि कसो ?’ दीपकले त सपना पो देखेको रहेछ। सपनामा भएको सबै कुरा दीपकले रुँदै घरका सबैलाई सुनायो। उनले हिजो राति आफूले बदमासी गरेको कुरा पनि भन्यो। अबदेखि जथाभावी फूल नटिप्ने कसम पनि खायो। दीपक हत्तपत्त उठेर हातमुख धोई भगवानलाई फूल चढाएर प्रार्थना गर्‍यो। त्यसपछि बगैँचामा गएर फूलहरूमा पानी हालिदियो। सबैजना मिलेर बगैँचामा फेरि फूल रोपे। बगैँचामा धेरै थरीका फूलहरू फुलेको देखेर सबैजना दङ्ग भए।

प्रकाशित: ११ फाल्गुन २०७५ ०३:२५ शनिबार

कथा फूल भूत