अन्य

‘कालिघाट–झौखेल सडक कालोपत्रे गरेका छौं’

श्यामसुन्दर धिमाल वडा अध्यक्ष चाँगुनारायण नगरपालिका वडा नं ३ झौखेल, भक्तपुर

जनप्रनिनिधि भएपछि मुख्य के–के काम गर्नुभयो ? 
हामीले २०७४ जेठ १९ गते पदबहाली गरेका थियौं। पदबहाली गर्नेबित्तिकै वडा स्वास्थ्य क्लिनिक खोल्ने निर्णय गर्यौं। त्यो कार्य पूरा गरेका छौं। त्यसपछि भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका वडा नं ३ झौखेलको सिमाना छुटाउने कालिघाटदेखि झौखेलसम्मको मुख्य सडकमा कालोपत्रे गर्न सघायौं। ठेकेदारको लापरबाहीका कारण ढिलाई भएको सडक विस्तार तथा कालोपत्रे गर्ने कार्यलाई सरोकारवालालाई घच्घच्याई सफलता पायौं। चार किलोमिटर सडकमध्ये एक हजार सात सय मिटरको कालिघाटदेखि झौखेल सडक कालोपत्रे गरेका छौं। यस्तै वडाका विभिन्न स्थानमा नयाँ ट्रयाक खोल्ने, सडक विस्तार गर्ने अनि स्तरोन्नति गर्ने काम ग¥यौं। वडाको सुन्दर थलीको यापु भैरव सडक विस्तार गरी सुन्दर थलीलाई नाम अनुसारको सुन्दर बनाउने काम ग¥यौंैं। वडा कार्यालयबाट ज्योतिलिंगेश्वर जाने बाटो आठ मिटरको फराकिलो बनायौं।  

वडामा के–कस्ता समस्याहरू देख्नुहुन्छ ? 
भौतिक पूर्वाधारका समस्या नै मुख्य रूपमा छन्। तत्कालीन झौखेल गाउँ विकास समिति रहेको यहाँ विकास निर्माणका काम गर्न धेरै बाँकी छन्। सडक विस्तार, स्तरोन्नति, खानेपानीलाई पुग्ने पानीको वितरण, किसानका समस्या, फोहोरमैला समस्या देखिएका छन्। 

यी समस्याको समाधानको योजना के छ ? 
वडाका यी समस्यालाई क्रमशः समाधान गर्दै लैजाने योजना बनाएको छु। सीमित बजेट, स्रोतसाधनमा रहेर समस्यालाई निरन्तर समाधान गर्ने योजना बनाएको छु। 

किसानको समस्या कस्तो देखिएको छ ?
त्यही हो, किसानहरूले समयमै बीउबिजन, रासायनिक मल नपाउने लगायतका छन्। चाहिने बेला चाहिने बीउबिजन नपाउनु, रासायनिक मल नपाउने समस्या छन्। साथै किसानलाई व्यावसायिक रूपमा ढाल्न नसक्नु समस्या छ। सात हजारको हाराहारीमा जनसंख्या रहेको यो वडामा एक हजार एक सय घरधुरीमा छन्। त्यसमा सय डेढ सय परिवार सबैको खेत छ। तर, व्यवसायिक रूपमा किसानलाई अगाडि बढाउन सकिएको छैन। 

यहाँ धेरै पानी उद्योगहरू पनि छन्, यसलाई कसरी व्यवस्थित गरिरहनुभएको छ ? 
हो, तपार्इँले भनेजस्तै यहाँ पानीका उद्योगहरू छन्। तर, वडासँग केही पनि अधिकार छैन। उद्योग दर्ता, कर लगाउने, योजना बनाउने केही नीति निर्णयको अधिकार वडासँग छैन। सबै अधिकार नगरपालिकामा छ। नगरपालिकाको कार्यपालिका सदस्य भएको नातामा मात्रै अधिकार छ। चाँगुनारायण नगरपालिकाले कर लगाएको छ। पानी उद्योगीसँग यहाँको पानी बाहिर बेच्न लैजाँदा नाकामा कर संकलन केन्द्र स्थापना गरी कर उठाइरहेको छ। पानी करमात्रै चाँगुनारायण नगरपालिकाले वार्षिक ८० लाख रूपैयाँ उठाउने गरेको छ। यहाँको पानी उद्योगबाट संकलित यो कर नगरपालिकाभरि बाँडिन्छ। 

वडाका इँटाभट्टालाई कसरी व्यवस्थित गरिरहनुभएको छ ? 
चुनौतीको विषयवस्तु भएको छ यो पहिलेदेखि नै। २०५९ सालमा भट्टाविरोधी आन्दोलन चलेका थियो यहाँ। त्यो बेला पनि धेरै इँटाभट्टाहरूलाई उठाएका थियौं। अहिले कानुनी रूपमा दर्ता भई कानुनको मापदण्डमा रहेको इँटाभट्टाहरू चलिरहेका छन्। तिनीहरूबाट वातावरण प्रदूषण भइरहेका छन्। जहाँ ती धुलो र धुवाँ भइरहेका छन्। माटो झिक्दा समस्या भएको छ। इँटा पार्न आवश्यक माटो जथाभावी झिक्दा समस्या हुने गरेको हो। तैपनि उहाँहरूले राजस्व तिरेर काम गरिरहनुभएको छ। इँटाभट्टाको धुवाँधुलोबाट मुक्त पार्न धुवाँधुलोको प्राविधिक रिपोर्ट हेरी प्रदूषित गर्नेलाई कारबाही गर्ने योजना बनाएका छौं। 

भूकम्प पुनर्निर्माणको अवस्था कस्तो छ ? 
म आफू पनि भूकम्पपीडित नै हुँ। वडाका पुराना घर सबै भत्केका थिए। ३० प्रतिशतबाहेक सबै वडाका घर भग्नावशेष थिए। नयाँ घरबाहेक सबै भत्केका थिए। वडामा एक हजार दुई सय ३१ लाभग्राही भेटिए। यो मंसिर महिनासम्मको तथ्यांक हो। त्यसमा थप गर्नुपर्ने छुटेकाहरू पनि बाँकी छन्। त्यसमध्ये पहिलो किस्ता एक हजार ७४ परिवारले लिए। दोस्रो किस्ता तीन सय १९ परिवारले लिए। तेस्रो भने तीन सय १६ परिवारले लिए। 

महिला तथा बालबालिकाको पक्षमा केही काम गरिरहनुभएको छ कि ?
यसका लागि तीन वटा प्राथमिकता छुट्याएका थियौं। पहिलो सडक, दोस्रो खानेपानी र तेस्रो स्वास्थ्य। त्यसपछि बालबालिका। बालबालिकाको विकासका लागि समिति बनायौं। कस्तो प्रेरणा गर्ने वा दिने विषयमा छलफल गर्‍यौं। अब समाजमा कसरी घुलमिल सिकाउने भने कुरा सिकायौं। यो सबै काम समितिले गर्छ। दुई–तीन तालिम दियौं यसबाहेक। नैतिक शिक्षा सिकाउने गयौं। योग शिविर गरेका पनि थियौं। चेतना फैलाउन काम गर्‍यौं बालबालिकामार्फत्। फोहोरमैला व्यवस्थापन गराउने काम गरेका थियौं बालबालिकाहरूमार्फत् नै। फोहोर टिप्न लगाएका थियौं बालबालिकालाई। ताकि तिनीहरूबाट अभिभावकले केही ज्ञान लिउन्। त्यसका लागि ‘कार्यक्रम क्यालेण्डर’ बनाएका छौं। महिलाको पक्षमा महिला लक्षित कार्यक्रम गर्‍यौं।

लोकसेवाको क्लासमा सहभागी गराउने काम गर्‍यौं। ब्युटिसियन, मन्टेश्वरी तालिममा वडाका महिलाहरूलाई सहभागी गराउने काम गर्‍यौं। नगरपालिकाले दिएका तालिममा वडावासी महिलाहरूलाई पठाएका हौं तालिममा जाने तर काम नगर्ने परिपाटीको अन्त्यका लागि काम गर्‍यौं। 

प्रस्तुति : रेणु त्वानाबासु

प्रकाशित: १० फाल्गुन २०७५ ०६:१५ शुक्रबार

श्यामसुन्दर_धिमाल प्रतिनिधि प्रश्न