अन्य

गोदावरी खोला किनारबाट अवैध रूपमा पानी तानिँदै

ललितपुरस्थित गोदावरी खोलाबाट अवैध रूपमा पानी तानिँदै।

ललितपुरको गोदावरी खोला किनारबाट अवैध तरिकाले पानी तानिँदा पनि सरोकारवाला निकायले मौन छ। सिद्धि खानेपानीले महालक्ष्मी नगरपालिका वडा नम्बर ६ र ८ को सीमामा रहेको गोदावरी खोला किनारबाट अवैध तरिकाले पानी निकालेर बिक्री वितरण गरिरहेको स्थानीय बताउँछन्।

नियम अनुसार खोला किनारबाट १० मिटर छाडेर मात्र पानी निकाल्न पाइन्छ। तर,  सिद्धि खानेपानीले खोलाको किनारबाट नै पानी झिकिरहेको छ। यसबाट वातावरणमा प्रतिकूल असर परेको भन्दै स्थानीयले विरोध गरेका छन्। तर, रोक्न खोज्दा उल्टै खानेपानी संचालकहरूले धम्की दिँदै आएको स्थानीय बताउँछन्।

स्थानीयवासी श्याम थापाले खोलाबाट पानी झिक्दा उल्टै धम्की दिने गतिविधि भइरहँदा पनि प्रशासन मौन बसेकोमा आश्चर्य व्यक्त गरे। उनका अनुसार गोदावरी खोला सुक्नुमा अवैध खानेपानीको व्यापार पनि कारण बनेको छ।

‘नियम अनुसार खोलाको किनारबाट १० मिटर छाडेर मात्र पानी निकाल्न पाइन्छ। तर, सिद्धि खानेपानीले खोलाको किनारबाट नै पानी झिकिरहेको छ। यसबाट वातावरणमा प्रतिकूल असर परेको भन्दै स्थानीयवासीले विरोध गर्दै आएका छन्। अवैध तरिकाले खोलाको पानी निकालेर बेचिरहँदा महालक्ष्मी नगरपालिका मौन छ भने प्रशासन समेतले कुनै कारबाही चलाएको छैन।’

दैनिक दुई सयभन्दा बढी ट्यांकरको ओहोरदोहोरले बाटो जीर्ण भइसक्दा पनि नगरपालिका नबोल्नुमा कम्पनीका शेयर होल्डरहरूको रानजनीतिक पहुँच र प्रभाव मुख्य कारण हो। पहुँच र प्रभावले पानी बिक्री गर्दै आएको कम्पनीका कारण धार्मिक तथा ऐतिहासिक महŒवको खोला संकटमा पर्नुका साथै वातावरणमा समेत समस्या आएको स्थानीय बताउँछन्। स्थानीयवासीले खोला किनारबाट पानी निकाल्ने र ट्यांकरका कारण बाटो बिग्रेको भन्दै पानी बिक्रेता कम्पनिप्रति असन्तुष्टि जनाउँदै आएका छन्। तर, बिक्रेता कम्पनीले आफूहरूको आवाजलाई बेवास्ता गरेको स्थानीयको आरोप छ। ट्यांकरले बाटोसमेत बिगारिदिएको स्थानीय आरोप लगाउँछन्। अति भार बोक्ने गरेको पानी ट्यांकीका कारण खाल्डाखुल्डी निकै बढेर दुर्घटना भएको छ।

स्थानीय हरिनारायण महर्जनका अनुसार दैनिकजसो पानी ट्यांकरबाट पानी लिक भई बाटो चिप्लो हुँदा दुर्घटना हुनेगरेको छ। सबैभन्दा बढी दुर्घटना सिद्धिपुर—बिष्णुडोल पुलछेउको उकालोमा हुँदै आएको स्थानीय राजेश खड्काले बताए। ‘अवैध तरिकाले पानी तान्दै गर्दा ट्यांकरबाट पानी लिक भई बाटो चिप्लो हुन्छ,’ उनले भने, ‘सडक चिप्लो हुँदा दुर्घटनामा परी हात र खुट्टा समेत भाँच्चिएको छ। उकालोमा सधैं चिप्लो भई कुनै पनि बेला गम्भीर दुर्घटना हुनसक्ने खतरा बढेको छ।’

वडा ६ का वडा अध्यक्ष वासु महर्जनले धेरै पहिले देखि पानी निकाल्दै आएकाले यसलाई रोक्न नसकिएको स्वीकारे। ‘अहिले मात्रै होइन पहिले देखी खोलाबाट पानी निकाल्दै आएको छ,’ उनले भने, ‘यसलाई रोक्नको लागि धेरै पहल गरेका थियौँ। सबैलाई पानीको सुविधा दिनकै लागि प्रक्रिया पूरा गरेर खोलाबाट पानी तानेको भन्छन्। हामीले यसलाई रोक्न सकेनौँ।’ उनका अनुसार अवैध रूपमा गोदावरी खोलाबाट पानी निकास गरी अनियन्त्रित रूपले बिक्री वितरण गरेपछि स्थानीयले आन्दोलन समेत गरेका थिए। तर, पनि केही पहुँचवालाले अहिले पनि अवैध रूपमा पानी बिक्री वितरण गरिरहेका छन्।
जनप्रतिनिधिले समेत यसमा चासो नदेखाएको स्थानीयको आरोप छ। ‘ललितपुर जिल्लाका सिडिओले समेत पानी निकासलाई रोक्न र कार्वाही गर्न सकेको छैन। हामीले त झन् कसरी रोकेर कार्वाही गर्न सक्छौँ ?’ उनले थपे।

गोदावरी खोलाको पानी अवैध रूपले बिक्री गरिएकोे विषयमा कुनै पनि कार्यालयमा जानकारी नआएको ललितपुर जिल्लाका सिडिओ प्रेमराज जोशी बताउँछन्। ‘खोलाको पानी अवैध रूपले निकालिएको विषयमा हाम्रो कार्यालयमा स्थानीय, वडा र नगरपालिकाले कुनै जानकारी गराएको छैन,’ उनले भने, ‘बल्ल मलाई जानकारी भयो। मेयरलाई फोन गरेर बुझेपछि रोक्न लगाउँछौँ।’ उक्त खोलाको पानी अवैध रूपले बिक्री वितरण गरेको पाइएमा कारबाहीको दायरामा ल्याउने उनले बताए।  यस विषयमा बुझ्नका लागि नगरपालिकाका प्रमुखलाई फोन गर्दा उनले फोन रिसिभ गरेनन्।

सिद्धि खानेपानीका सञ्चालक बाबुराम महर्जनले गोदावरी खोलाको पानी निकास गरे पनि अवैध रूपले बिक्री वितरण नगरेको दाबी गरे। यस विषयमा नागरिककर्मीसँग कुरा गर्दा उनले सूर्यविनायक वाटर सप्लाएरर्सका सञ्चालक बाबुराम श्रेष्ठ समेत भनेर नाम नै परिवर्तन गरेर ढाटेका  थिए। ‘पानीको सेवा दिनको लागि केयुकेयल, रजिस्टर कार्यालयलगायत संस्थामा दर्ता गराएर नै खोलाको पानी निकालेका हौँ,’ उनले भने, ‘कसैलाई असर नपर्नेगरी सुरक्षित तरिकाले खोलाको पानी निकालेका छौँ।’ स्थानीयले पानी निकासलाई रोक्न खोज्दा कुनै पनि धम्की नदिएको उनले बताए। ‘पानी निकासको विषयमा स्थानीयलाई धम्की दिएका छैनौँ,’ उनले भने, ‘सडक हिलाम्मे नबनाउनको लागि करिब एक लाख रूपैयाँको लागतमा हामीले ग्राबेल हालेका छौँ। नपत्याए आएर हेर्नुस्।’ उनले उक्त खोलाबाट पानी निकाल्दा सडक हिलाम्मे नभएको बताए।

प्रकाशित: १० फाल्गुन २०७५ ०३:३२ शुक्रबार

ललितपुर गोदावरी अवैध पानी_तानिँदा