अन्य

ज्येष्ठ नागरिकलाई सुविधासम्पन्न आश्रम

सबै घरका उस्तै संरचना। रंगरोगन पनि उस्तै। करिब दुईदेखि नाैँ सय वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएका पुरातात्विक नेपाली शैलीमा झल्किएका घर, एक तले घरमाचाहिँ जस्ता, अरु धुरीमा टिनका छाना। साढे चार तले एउटा ठूलो भवन, अरु तीन, दुई र एकतले गरी ३० वटा घर झुरुप्प एकै ठाउँमा छन्। खुला कम्पाउण्ड, बाटो तथा बत्तीको सुविधा र हरियाली तथा शान्त वातावरण। 

झट्ट हेर्दा सुविधा सम्पन्न विदेशी होटल वा बस्ती जस्ता लाग्छन्। तर, यी न होटल हुन् न त बस्ती नै। यो शंकरापुर नगरपालिका–४ मा जेपी प्रतिष्ठान द्वारा संञ्चालित मैत्रिसेवाश्रम हो। आश्रम २०७३ फागुन ३ गते सञ्चालन गरिएको छ। 

ज्येष्ठ नागरिकलाई शान्त तथा प्राकृतिकमैत्री वातावरणमा जीवनयापन गराउनका लागि आश्रम खोलिएको हो। 
यहाँ रमणीय प्रकृतिस्थल साँखु मेलम्ची राजमार्गको नजिकको दक्षिणमा पौराणिक एवं ऐतिहासिक साँखु सहर र प्रसिद्ध वज्रयोगिनीको मन्दिर, उत्तर लाङटाङ हिमाल मनोरम हिमशृंखला, गोसाइँकुण्ड र हेलम्बु, पूर्वमा पर्यटकीय नगरी नगरकोट र पश्चिममा रहेको शिवपुरीको डाँडाबाट सुर्योदयको समयमा सगरमाथा हिमशृंखलाको मनोरम दृश्य देख्न सकिन्छ।

यस प्रतिष्ठानले ६० वर्ष नाघेका स्वदेशी तथा विदेशी व्यक्तिहरूलाई मासिक न्यूनतम शुल्क लिई आधारभूत आवश्यकतासहित भोजन, विश्राम, काम, मनोरञ्जन र स्वास्थ्य सेवाको सन्तुलित व्यवस्था गरेको यस प्रतिष्ठानका अध्यक्ष मित्रसेन दाहालले बताए। ‘निश्चित संख्यामा अशक्त, असाहय र राष्ट्रलाई उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिहरूलाई निःशुल्क सेवाहरू प्रदान गर्दै आएका छौं,’ दाहालले भने। 

सिंगो कुटीको ११ हजार, एउटा कोठाको सात हजार र एउटा मात्रै बेड प्रयोग गर्न चाहनेको लागि ३५ सय लिइने गरेको प्रतिष्ठानले जनाएको छ। यसमा आवास, भोजन र स्वास्थ्य सेवा उपलब्ध गराइएको प्रतिष्ठानका अध्यक्ष दाहालले बताए। आश्रममा करिब २२ जना ज्येष्ठ नागरिक छन्।  

मैत्रिसेवा आश्रमको प्रांगारीक भोजन गृह, जेरियाट्रिक अस्पताल, योगध्यान केन्द्र, आध्यात्मिक केन्द्र, प्राकृतिक उद्यान तथा पार्क र खेल मैदान सहितको नमुना गाउँ छ। प्रतिष्ठाले आफूले उपयोग गर्ने धान खेती, अन्नबाली, तरकारी बीउबिजनका साथै गाई पालनबाट प्रशस्तरूपमा दुग्धजन्य पदार्थ आफै उत्पादन गरी उपयोग गर्ने गरेको छ। ‘हामीलाई यहाँ बाहिरबाट धेरै खाद्यवस्तु किन्दैनौं। हामीले बरु यहाँ उत्पादन गरी बढी भएका खाद्य पदार्थ बिक्री गर्ने गरेका छौँ,’ दाहालले भने। 

यहाँ ज्येष्ठ नागरिकहरूलाई मौलिक संस्कृतिमा आधारित शिक्षाको व्यवस्था गरिएको र अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्नमैत्रि सेवा आश्रम भएको दाहालको दाबी छ। 

विशुद्ध सामाजिक सद्भावबाट अभिप्रेरित भएर समाजका विभिन्न व्यक्तिहरूको सामूहिक प्रयास र संग्लनतामा २०५१ सालमा स्थापना भएको यस जेपी प्रतिष्ठानले आफ्नो स्थापना कालदेखि नै प्रतिष्ठानको विधानबमोजिम सदस्यता माग गर्ने व्यक्तिहरूलाई आवश्यक प्रक्रिया पुर्‍याई विभिन्न किसिमका सदस्यता पनि प्रदान गर्दै आइरहेको छ।

प्रतिष्ठानले गरिबी निवारण र रोजगारीमा सघाउ पुर्‍याउने उद्देश्यले दीर्घकालीन कृषि योजना, सहयोग कार्यक्रम, ओखलढुंगाको साझेदारीमा जिल्लाको बेतिनी र सल्लेरी तथा बरुणेश्वरको विभिन्न वडाहरूमा पशुपालन कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ, जसले गर्दा यसबाट धेरै किसानहरू लाभान्वित भएका प्रतिष्ठानका अध्यक्ष दाहालले बताए।

‘सरकारले वृद्धवृद्धालाई नयाँ नीतिनियम ल्याए तापनि अधिकारका दृष्टिले भन्दा पनि दयाको भावनाले हेर्ने गरेको छ, जसले गर्दा ज्येष्ठ नागरिकप्रति नैराश्यतापन उत्पन्न भएको पाइन्छ,’ एजिङ नेपालका संस्थापक अध्यक्ष कृष्णमुरारी गौतमले बताए। 

२०६८ सालको जनगणना अनुसार वृद्धवृद्धाहरूको संख्या २३ लाख रहेको थियो भने पछिल्लो समयमा यो संख्या बढेर करिब ३० लाखको हाराहारीमा पुगेको संस्थापक अध्यक्ष गौतमले बताए।

प्रकाशित: ७ फाल्गुन २०७५ ०२:४२ मंगलबार

शंकरापुर_नगरपालिका जेपी_प्रतिष्ठान ज्येष्ठ_नागरिक सुविधासम्पन्न_आश्रम