एभान्जेलिना कार्की, कक्षा – ९ , श्री जुगल बोर्डिङ स्कुल, कपन, काठमाडौँ
म भ्रमण गर्न असाध्यै मन पराउँछु। मलाई जीवनका लागि भ्रमण एक महत्वपूर्ण पाटो हो भन्ने लाग्छ। अझ हामी विद्यार्थीहरूका लागि त भ्रमण एक शैक्षिक उपलब्धी नै हो। हरेक भ्रमणबाट नयाँनयाँ कुरा सिक्न सकिन्छ। अहिले संसारका धेरै मानिस हजारौँ माइलको यात्रा गरेर विभिन्न देशको धर्म, संस्कृति, रहनसहनका साथै प्राकृतिक सौन्दर्य र इतिहासको खोजी गर्न उत्साहित देखिएका छन्।
भ्रमणले मानिसको जीवनमा सकारात्मक उर्जा मात्रै प्रदान गर्दैन, मानसिक रूपमा समेत निक्कै स्वस्थ र आनन्द अनुभूति पनि दिन्छ। यदि मानिसलाई भ्रमण आनन्ददायक हुँदैनथ्यो भने लाखौँ रुपैयाँ खर्च गरेर टाढाटाढा जाने थिएनन्।
भ्रमणले हामी विद्यार्थीलाई धेरै कुराको ज्ञान दिने गर्दछ। म पोहोर साल बाबा ममीसँग मुगल शैलीमा निर्मित प्रसिद्ध जानकी मन्दिर घुम्न जनकपुर पुगेको थिएँ। किताबको पन्नामा मात्रै अध्ययन गरेको उक्त मन्दिर पुगेर मैले धेरै कुरा जान्न र देख्न पाएकी थिएँ। जानकी मन्दिरको यात्राबाट मैले पहिलोपटक तराई जनजीवन प्रत्यक्ष अनुभव गर्न पाएँ। किताबको अक्षरबाटभन्दा भ्रमणबाट धेरै कुरा सिक्न सकिँदोरहेछ ।
भनिन्छ, पानीको कुरा पोखरीको डिलमा बसेर हेर्नेलाई भन्दा पोखरीमा झरेर पौडी खेल्नेलाई थाहा हुन्छ। मैले भ्रमणलाई शैक्षिक अध्ययनको एक महतेवपूर्ण पाटो बनाउँदै आएको छु।
म समय मिलाएर हाम्रो देशका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र कलाकौशलले भरिएका सम्पदाहरूको भ्रमण गर्न रुचाउँछु। यो पटक म भक्तपुर जिल्लाको प्रसिद्ध दरबार क्षेत्रको भ्रमण गर्न मामा डा. सुशील सुबेदीको साथमा पुगेको थिएँ। विश्वसम्पदा सूचिमा रहेको भक्तपुर दरबार क्षेत्र हाम्रा पूर्वजहरूको अनुपम कलाले भरिएको स्थान साँच्चै सुन्दर र आकर्षक रहेछ।
पर्यटकका लागि निकै आकर्षक गन्तव्य रहेको भक्तपुर दरबार स्क्वायर कलाकौशलका साथै मल्लकालीन सांस्कृतिक सभ्यता, प्राचीन शिल्पकला एवम् हस्तकलाको लागि समेत निक्कै महत्वपूर्ण रहेको देखिन्छ। मल्ल कालमा मल्ल राजाहरूको बसोबास रहेको यो क्षेत्रमा प्रसिद्ध पचपन्नझ्याले दरबार पनि रहेको छ।
आकर्षक काष्ठकलाले सुसज्जित यो दरबार तत्कालीन राजा भूपतीन्द्र मल्लले वि. सं. १७६५ मा निर्माण गर्न लगाएका हुन् भन्ने शिलालेखमा अध्ययन गर्न पाइन्छ। यही क्षेत्रभित्र भुपतीन्द्र मल्लको सालिक, भगवतीको मन्दिर, ठूलो घण्टा, तलेजु भवानीको मन्दिर , कलात्मक सुनौलो ढोका लगायतका संरचनाहरू निर्माण गरिएका छन्।
आन्तरिक तथा बाह्य पर्यटकका लागि काठमाडौं उपत्यकाभित्र रहेको यो दरबार क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा प्रसिद्ध छ। ०७२ साल वैशाख १२ गते गएको विनाशकारी भुकम्पले भक्तपुर दरबार स्क्वायरमा पनि ठूलो क्षती पुर्यायो। प्राकृतिक विपत्तिका कारण इतिहासका यी कलाकौशलमाथि पुगेको अपूरणीय क्षतिले हामी सबैको मन नराम्रोसँग कुँडियो। विनाशकारी भुईंचालोले हाम्रो देशभरि धेरै मानवीय तथा भौतिक क्षति पुर्यायो।
भुईंचालोपछि हाम्रा सबै सम्पदाहरूको संरचना जोखिममा पर्यो। कति संरचना पूर्ण रुपमा नष्ट भए कैयौं सम्पदामा टेको दिएर जोगाउने काम भयो। तर विपत्तिको लामो समय हुँदा समेत हाम्रा सम्पदाहरू पुनर्निर्माण ढिलो हुनुमा सम्पदाप्रति सरकार उदासिन त छैन ? भन्ने शंका जगाउँछ।
लाखौं पर्यटकको आकर्षण रहेको हाम्रो मौलिक धरोहरहरूको संरक्षण र पुनर्निर्माणमा सरकारले यति बेवास्ता गर्न पटक्कै सुहाउँदैन। सम्पदा क्षेत्रका कैयौं मठ, मन्दिर, देवालय, दरबार र कलाकौशल निर्माणमा ढिलो हुँदा हामीले लाखौं पर्यटक मात्र गुमाउँदैनौ, हाम्रा ऐतिहासिक, धार्मिक र सांस्कृतिक रूपमा रहेको मौलिक कला र आफ्नोपन समेत गुमाउँदै जानेछौं।
प्रकाशित: ४ फाल्गुन २०७५ ०४:४२ शनिबार