अन्य

विकास भईसक्यो

आरजू विष्ट सल्यानी

ए ! गाउँबासी
ए ! कुना कन्दराका मनुवा
ए ! राज्यका चेपुवाहरु
खरखलियान, खोरीयाका दौंतरीहरु

सुन,
जसरी हेरेरै बस्यौ
सहेरै बस्यौ
नबुझेरै बस्यौ
झुक्किएर बस्यौ
अझैं पनि त्यसैगरि बस
हर तरहको आसन
विरक्तिलो शासन
पहाड, मधेश, हिमाल 
भोकाहरुको पहुँचमा नपुग्ने
गोदाममै कुहिने तिम्रो रासन र
छाँवलि छाँवलिका आश्वासनलाई,
त्यस बाहेक
अब के गर्छौ ?

स्वनाम, बद्नाम, छलछाम
नीलडाम लगाउने
काटछाँट गर्नेहरुको
भूगोलको
विकासको घोषणापत्र
लिपु
चुरे
चारकोशे झाडी उजाड बन्दै गर्दा
मेची काली अत्तालिदैं गर्दा
सबै हेरेर बस्यौ
अझैं पनि हेरेरै बस
हर तरहका आसन
विरक्तिलो शासन
गोदामै कुहिने रासन,
हर तरहको आश्वासन
छाँवलि छाँवलिको आश्वासनलाई,
त्यस बाहेक
अब के गर्छौ ?

बाजेबज्यै
बाबाआमाको पालामै 
देशको मुखपत्रमा कोरिए 
राजमार्ग, हुलाकी मार्ग
रातो किताबमा दर्ज भयो  
के साँच्चै बन्यो पहाडको, 
मधेशको हिमालको सडक ?
त्यस बाहेक
अब के गर्छौ ?

तर,
हटेन, असर्दो यात्राको
पक्षपक्षमा कतिको काख रित्तियो ?
कति एकल बने ?
कति घरबारबिहिन बने ?
कति बेरोजगार बने ?
कयौं दशक बिते
कयौं वर्ष धकेलिए 
ए ! पहाड
ए ! मधेश 
ए ! हिमाल
ए ! पखेरुहरु
के तिमीले थाहा पायौ ?
तिम्रो सडक कयौं वर्ष अघि 
रेडबुकमा पिच भईसकेको थियो नि
त्यस बाहेक
अब के गर्छौ ?
चाल पायौ ?
विकास भईसक्यो।

प्रकाशित: ४ फाल्गुन २०७५ ०२:०२ शनिबार

कविता  विकास गाउँ कुना_कन्दरा