अन्य

शेर्पाको नालीबेली

सेर्कु शेर्पाले आफ्नो संस्कृति चिनाउने पुस्तक ‘शेर्पा समुदायको मौलिक पहिचान’ लेखेका छन्।  उनले पुस्तकमा शेर्पा जातिको भाषा, संस्कार, संस्कृति, परम्परागत मान्यतालाई सरल ढंगले पस्किएका छन्।   

‘हिमालयन शेर्पा सांस्कृतिक केन्द्र’का महासचिव समेत रहेका शेर्पाको कामले शेर्पा समुदायलाई बुझ्न सजिलो भएको छ भने शेर्पा समुदाय पनि बौद्धिक कार्यमा अघि बढ्दैछ भन्ने सन्देश समेत प्रवाह भएको छ।  

सामाजिक रुपान्तरण र सांस्कृतिक जागरणमा क्रियाशिल शेर्पाको अथक प्रयासबाट जन्मिएको हो पुस्तक।  यसमा शेर्पा समुदायको इतिहास, जनसंख्या, वसोवास, भाषा, लिपी, धर्म, थर विभाजन, भेषभूषा, पोशाक, शारीरिक विशेषता, आर्थिक क्रियाकलाप, चाडपर्व  आदि समेटिएको छ।  त्यस्तै जन्मसंस्कार, विवाह संस्कार, दाइजो प्रथा, मृत्यु संस्कार, बाजाहरु, खानपान, कला, संगीत, साहित्य, हस्तकला आदिका बिषयमा चर्चा गरिएको छ।   

पुस्तकले शेर्पा समुदायको जनसंख्याका बारेमा प्रष्ट रुपमा उल्लेख गरेको छ।  लेखकले नेपाल शेर्पा संघलाई आधार बनाउँदै शेर्पाहरुको कुल जनसंख्या पाँच लाख रहेको दाबी गरेका छन्।  उता ०६८ सालको जनगणनाले भने शेर्पाको कुल जनसंख्या १ लाख १२ हजार ९ सय ४६ रहेको देखाउँछ।  यहाँ लेखकले सरकारी आँकडालाई मिथ्याङकका रुपमा औंल्याउने सहास गरेका छन्।   

पुस्तकले शेर्पा समुदायको इतिहास, मौलिकता, सामाजिक अवस्था, भूगोल, परम्परागत पेशा र हालको अवस्था आदिको जानकारी दिन्छ। 

 जनसंख्याकै सन्दर्भमा लेखकले ‘बहुआयमिक तत्व’ भन्ने शब्द प्रवेश गराएका छन्, तर कसलाई इंगित गर्न खोजेको ?  के भन्न खोजेको ? भन्ने चाँही प्रष्ट हुँदैन।  अर्कोतर्फ शेर्पा समुदायले जनगणनामा जातको सट्टा थर टिपाउने गरेकाले पनि कम जनसंख्या देखिएको हो भन्ने तथ्य पेश गरिएको छ।  यसबाट अब जात र थर दुबै उल्लेख गर्नुपर्छ भन्ने संकेत मिल्छ।   

मुलतः शेर्पा समुदायको विषयमा र हाम्रो मौलिकताको विषयमा छोटकरीमा आम पाठकलाई पस्कने कार्यबाट आगामी दिनमा थप तथ्यसहित लेखकले मिहिनेत गर्नेछन् भन्ने आशा गर्न सकिन्छ।  ‘तत्कालिन अवस्थामा राज्यहरुबीच सिमांकन नभएको र पछि सिमांकन हुँदा शेर्पाहरु एकातिर र तिब्बत अर्कोतिर परेकाले शेर्पाहरुको सामाजिक, सांस्कृतिक, आर्थिक क्रियाकलापहरु तिब्बतीयनसँग मिल्दोजुल्दो हुन गएको’ लेखकले प्रष्ट पार्न खोजेका छन्।  यसबाट शेर्पाहरु अदिमकालदेखि नै नेपाल भूमिमा रहेको भन्ने पुष्टि नजिक लेखक पुग्न खोजेका छन्।  

त्यस्तै, शेर्पाको बसोवासको विषयमा उनले पुराना लेखक, इतिहासविद् क्रिष्टोफ् वोन् फुरर हैमेडर्फ लगायतले भनेका कुरा उल्लेख गरेर तथ्य पेश गरेका छन्। 

सामाजिक संस्था र तिनका गतिविधिले ठाउँ पाएपछि राजनैतिक इतिहासलाई पनि समेट्न सकेको भए पुस्तक थप ओझिलो बन्थ्यो।  लेखकले तथ्य र तथ्याङ्क संकलन गर्दै कृति तयार पार्दै गर्दा एउटै नामलाई धेरै ठाउँमा दोहोर्‍याएका छन्।  यसबाट पुस्तकमा शब्द थोपार्ने काम मात्रै भएको होकी भन्ने लाग्न सक्छ।  जस्तैः राष्ट्रिय योजना आयोगको सचिवालय, केन्द्रीय तथ्याङ्क विभागले प्रकाशन गरेको’ भन्ने वाक्य धेरैठाउँमा पढ्न पाइन्छ।  यसको सट्टामा ‘जनगणना–२०..’ अनुसार मात्रै पनि लेख्न सकिन्थ्यो।  त्यस्तै, विदेशी भूमिका सट्टा नेपाल बाहिर वा मुलुक बाहिर, बाहिरी देशहरुको सट्टामा ‘अन्य मुलुक’हरु जस्ता शब्द राख्दा कृति थप सरस हुने थियो।  

पुस्तकमा दुई जना भाषा सम्पादक राखेर मिहिनेत गरेको पाइन्छ।  विशेषगरी खस–नेपाली भाषा सम्पादनका लागि सुरेश घिमिरे र जनकराज अधिकारीलाई जिम्मेवारी दिएको देखिन्छ।  तर, पुस्तकमा नेपाली भाषालाई शुद्ध उल्लेख गर्न धेरै ठाउँमा चुकेको भेटिन्छ।  जस्तैः जनसंख्या हुनुपर्नेमा ‘जन संख्या’, घुन्सा हुनुपर्नेमा ‘गुन्सा’, संस्था हुनुपर्नेमा ‘संस्थ’, पर्तुगल हुनुपर्नेमा ‘पर्चुगल’ आदि लेखिएको छ।  त्यस्तैः कतै घिउ, कतै घ्यू लेखेको पाइन्छ।  यसलाई शुद्ध ‘घ्यू’ लेख्न सकिन्थ्यो।  त्यस्तै, वाक्य गठनमा समेत समस्याहरु पुस्तकमा भेटिन्छ।  जस्तैः ‘नृत्य नाचिन्छ’ आदि।  

पुस्तकलाई अन्तिम रुप दिन शेर्पा समुदायका विज्ञहरु आचार्य नुर्बु शेर्पा, आचार्य सार्की शेर्पा र भाषिक अभियन्ता नुरु छेपाल शेर्पाले सम्पादनको जिम्मा लिएका छन्।  यसरी हेर्दा प्रस्तुत पुस्तकले पुस्तकले सबै विषयबस्तु सविस्तार समेट्ने प्रयास गर्दागर्दै पनि तथ्यहरुको गहिराईमा पुग्न नसकेको होकी भन्ने आभास मिल्छ।  परन्तु, शेर्पा समुदायको इतिहास, मौलिकता, सामाजिक अवस्था, भूगोल, परम्परागत पेशा, हालको अवस्था आदिलाई यसले सरसर्ती जानकारी दिन्छ।  

पुस्तक एकै बसाईमा पढ्न भ्याइन्छ।  यसमा १ सय ४१ पृष्ठ छन्।  सर्की शेर्पा, खाङडु शर्पा, आङ ग्याल्जेन शेर्पा, दावा छम्जी शेर्पा, ङिम पसी शेर्पाको आंशिक आर्थिक सहयोगमा पुस्तक प्रकाशन गरिएको हो।

 

प्रकाशित: २६ माघ २०७५ ०४:२८ शनिबार

पुस्तक  शेर्पा पहिचान