अन्य

इँटाभट्टा व्यवस्थित गर्न चाँगुनारायण नपाकाे निर्देशन

इँटाभट्टा व्यवस्थित रुपमा सञ्चालन गर्न भक्तपुर चाँगुनारायण नगरपालिकाले व्यवसायीहरुलाई निर्देशन दिएको छ। नगरपालिकाले आयोजना गरेको छलफलमा नगरपालिका प्रमुख सोम मिश्रले इँटाभट्टालाई धुवाधुलोरहित रुपमा सञ्चालन गर्न व्यवसायीलाई निर्देशन दिए।

प्रमुख मिश्रले इँटाभट्टालाई धुवाधुलो न्यूनीकरण गरी व्यवस्थित रुपमा सञ्चालन गर्न निर्देश गरे। पुननिर्माणको लागि नभई नहुने इँटा उत्पादन गर्ने स्वदेशी उद्योगको प्रबद्धर्नमा उनले विशेष चिन्ता व्यक्त गरे। प्रमुख मिश्रले इँट्टा उद्योगीव्यवसायीलाई वातावरणमैत्री इँटा उद्योग सञ्चालन गर्न भने।

ईट्टा उद्योगीव्यवसायीहरुसँग इँटा व्यवसाय सञ्चालन गर्दाका कार्यविधि, मापदण्ड र प्रदूषण नियन्त्रणको व्यवस्था विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख मिश्रले नगर क्षेत्रभित्र इँटा उद्योग सञ्चालन गर्दा नगरपालिका र व्यावसायीबीच भएको सम्झौता अनुसार कार्य गर्न सल्लाह दिए।

इसिइसिपिका इन्ष्ट्रक्टर अर्जुन भट्टले चाइनिज प्रविधिमार्पmत प्रदूषणमुक्त अत्याधुनिक इँटा उद्योग सञ्चालन गर्न सकिने भएकाले सो प्रविधिबारे जानकारी गराए। साथै हालको विकसित प्रविधि जिक ज्याक प्रविधि दक्षिण एसियामा उपयुक्त भएको पनि जानकारी गराए।

भक्तपुर इँटा व्यवसायी संघका पूर्व अध्यक्ष एवं सल्लाहकार विश्वराम कवाँले इँटाभट्टा व्यावसायलाई व्यवस्थित रुपमा सञ्चालन गर्न गरेको नगरपालिकाको चासोप्रति कृतज्ञता व्यक्त गरे। उनले व्यावसायीहरु नगरपालिकाको सल्लाहसुझाव अनुसार इँटाभट्टालाई समायानुकूल व्यवस्थित रुपमा सञ्चालन गर्न तत्पर रहेको बताए।

चाँगुनारायण नगरपालिका वडा नं. ३ का वडा अध्यक्षश्याम सुन्दर धिमालबाट माटो कटान, माटो ढुवानी, काँचो इँटा ढुवानीमा नगरपालिकासँग ६ बुँदे सम्झौता भए बमोजिम कार्यान्वयन नभएको गुनासो गरे। त्यहीअनुसार कार्य गर्न र गराउन उनले निर्देशन दिए।

प्रकाशित: २५ माघ २०७५ ०४:०१ शुक्रबार

चाँगुनारायण_नगरपालिका भक्तपुर इँटाभट्टा