केही युवाहरु ओहोरदोहोर गर्दै थिए, हातमा मेन्यु बोकेर केही युवती अर्डर लिन व्यस्त देखिन्थे। कुनातिर एक युवा हातमा बाक्लो गत्ताले हम्किएको देख्न सकिन्थ्यो। कोइलाको रापमा माटोको साना घैंटा माटाकै ढकनीले ढाकिएको थियो। नजिकैको टेवलमा मिलाएर राखिएको थियो, खसीको मासु र मासु पकाउन चाहिने मसलाहरु। कोइलाको रापमा मासु पकाउन व्यस्त थिए, हरि। यो दृश्य हो कालिकास्थान चौतारा नजिकै ‘कटिया हाउस’ को। कटिया हाउस सञ्चालनमा आएको केहि दिन मात्र भएको छ। खसीको मासुको परिकार रुचाउनेका लागि राम्रो विकल्प हुनसक्छ कटिया हाउस। प्राकृतिक तरिकाले पकाइने भएकाले मासु निकै मुलायम र मिठो हुने बताउँछन् सञ्चालक हरि पाण्डे।
बिएचएम सकेर कटिया हाउसको सञ्चालन गरेका हरि सेफ पनि हुन्। ‘विदेश गएर काम गर्नुभन्दा नेपालमै केही नयाँ भिजनका साथ काम गरौं भनेर कटिया हाउस खोलेका हौं,’ उनले भने। कटिया रौतहटको मासुको परिकार हो। ‘एक महिना तराईमै बसेर कटियामा मासु पकाउने आइडिया सिकेका हौं। चार महिनाको बजार अनुसन्धानपछि कटिया हाउस थालेका हौं,’ उनले भने।
कटिया हाउसले काठमाडौंमा नयाँ स्वाद दिने सोचका साथ सञ्चालन गरेको उनले बताए। भन्छन्, ‘हामीले सोचे अनुसार नै हाम्रा ग्राहकले रुचाउनु भएको छ, सोचेभन्दा राम्रो माग छ।’ कटिया पकाउन समय, मसलालगायत तापक्रममा विशेष ध्यान दिनुपर्ने उनी बताउँछन्। ‘हातले नै हम्किएर हावा दिएर एकाग्रताका साथ पकाउनुपर्छ, माटोको भाडा प्रयोग गरिने भएकाले विशेष तापक्रममा ध्यान दिनुपर्छ,’ उनी भन्छन्, ‘धेरै तापक्रम भयो भने माटोको भाडा फुट्न सक्छ। त्यसैले विशेष ध्यान दिनुपर्छ।’
रौतहटमा स्थानीय भाषामा माटोको भाडालाई ‘कटिया’ भनिन्छ। माटोको भाडामा पकाइने भएकाले रेष्टुरेन्टको नाम नै ‘कटिया हाउस’ राखिएको हरि बताउँछन्। कटियाको मेन डिस भनेको खसिको मासु हो, साइड डिसको रुपमा ग्राहकका इच्छाअनुसार प्लेन राइस, सादा रोटी, सलाद, चिउरा, भुजा दिने उनले बताए। एक प्लेट कटियालाई सात सय रुपैयाँ पर्ने उनी बताउँछन्। खसीको मासु मनपराउने पारखीका लागि कटियाको स्वाद मन पर्नसक्ने उनको भनाइ छ।
कोइलाको रापमा हावाले हम्केर पकाउने भएकाले यसको स्वाद अन्य मासुको भन्दा विशेष हुने उनी बताउँछन्। कटिया तयार गर्नका लागि विशेष मसलाको प्रयोग गरिने उनी बताउँछन्। उनी भन्छन्, ‘मासुमा राखिने अन्य मसला उही नै भए पनि हामीले राख्ने विशेष मसला आफैंले बनाएका छौं, जसको नाम नै कटिया मसला राखेका छौं।’ कटिया अर्थात माटोको स–सानो घैंटो तराईबाटै मगाउने उनी बताउँछन्। ‘दुई, चार पटक यतैको माटोको भाडामा बनाएका थियौं तर त्यसमा माटो गन्हाएको स्वाद आएपछि तराईबाट नै मगाउन सुरु गरेका हौं,’ उनले भने। कालो, मलिलो माटोबाट बनाइएको माटोको घैंटो अलिक गन्हाउने भएकाले मासुको स्वाद बिगाछै त्यसैले तराईकै कटिया प्रयोगमा ल्याएको उनी बताउँछन्।
कोइलाको तापमा कटिया पकाउन ४५ मिनेट लाग्छ। कटियामा सामान्य मासु पकाउने तरिकाले नै पकाउने तर रापमा बाँसको छेस्काले बिस्तारै चलाएर पकाइने उनी बताउँछन्। हरि भन्छन्, ‘कटिया बनाउँदा उभिएर, कोइलाको रापमा पकाउने भएकाले शारीरिक परिश्रम धेरै गर्नुपर्छ।’ पहाडबाट मगाएको खसीको कटिया तयार गर्ने उनले जानकारी दिए।
कलाकार सिपी पौडेल, हरि पाण्डे, राज तिमिल्सिना, नवीन धामीलगायत चारजना साथीहरु मिलेर कटिया हाउस सञ्चालन गरेका हुन्। कटिया हाउसमा अन्य खाजाहरुको साथसाथै कटिया बनाउन थालनी गरेको सिपी पौडेल बताउँछन्। कटिया बजारमा ल्याउँदा धेरै राम्रो प्रतिक्रिया पाएको उनले बताए। उनी भन्छन्, ‘अधिकांश ग्राहकले रुचाउनु भएको छ।’ कटिया बनाउनै समय लाग्ने भएकाले कम समय भएका ग्रहाकहरु फर्केने गरेको उनी बताउँछन्। कटिया नै खानको लागि कटिया हाउस जानु अघि एक पटक कल गरेर जाँदा समयमा कटियाको स्वादमा रमाउन पाइने उनी सुझाउँछन्।
पिरो, मसला, नुनलाई विशेष ध्यान दिएर कटिया बनाइने उनले बताए। तराई गएर कटियाको स्वाद लिनु भएका ग्रहाकहरु पनि स्वाद उस्तै भन्ने प्रतिक्रिया दिँदा खुसी लाग्ने उनी बताउँछन्। ‘खासमा हामीले तराई नपुगेका ग्रहाकहरुको लागि तराईको नयाँ स्वाद दिन खोजेका हांै,’ उनी भन्छन्, ‘नाम नै नसुनेका अधिकांश ग्रहाकहरु के हो भनेर बुझ्न, चाख्न आउनुहुन्छ। नयाँ स्वाद खान रुचाउनेहरुका लागि एक पटक चाख्न आउन उनी अनुरोध गर्छन्।
फुर्सदमा खसीको मासुमा रमाउन चहानेलाई कटिया हाउसमा आउन उनी अनुरोध गर्छन्।
कटिया हाउसमा खसीको मासु खान व्यस्त थिए, गाएक प्रमोद पान्डे। ‘फेसबुकमा कटिया हाउसको विज्ञापन हेरेपछि के रहेछ भनी चाख्न आएका हौं,’ उनले भने। मासुको पारखी भएकाले कटिया निकै स्वादिलो रहेको उनले बताए। माटोको भाँडामा पकाएको मासुको स्वाद अन्यभन्दा फरक र मिठो रहेको उनी अनुभव सुनाउँछन्। उनी भन्छन्, ‘एउटा कटिया सेटले दुई जनालाई पुग्छ। कटिया सँगैको साइड डिस रोजेर खान सकिने भएकाले अझ विशेष लाग्यो।’ अन्य मासुको परिकारभन्दा कटियाको स्वाद बेग्लै रहेको उनले बताए।
शम्भु पन्त पनि कटियामा पहिलो पटक आएका हुन्। सानो माटोको घैंटोमा पाकेको मासु प्लेटमा राखिएको चिउरासँग खाँदै गरेका उनी कटियाको स्वाद निकै रुचाएको बताए। अन्य मासुभन्दा विशेषगरी खसीको मासु खान रुचाउनेले एक पटक कटिया टेस्ट गर्नुपर्ने उनी सुझाउँछन्।
कटिया हाउसमा कटिया त लोकप्रिय छ नै साथमा विशेष कोदोको मःमः पनि रहेको छ। बुद्ध लामा कोदोको मःमः बनाउने सेफ हुन्। वैदेशिक रोजगारमा गएर फर्किएपछि कोदोको मःमः बनाउने उपाय आएको उनले बताए। मःमः खान मन पराउने तर रोगका कारण खान नपाउनेका लागि यो मःमः विशेष हुने उनले बताए। उनी भन्छन्, ‘मैदाको पिठो खान नहुने, नरुचाउनेहरुका लागि र सधैं एउटै स्वादको मःमः खाएका पारखीहरुका लागि नयाँ स्वाद दिन खोजेका हौं।’ कोदोको मःमः चिकेन र भेजमा उपलब्ध छ। मैदाको पिठो प्रयोग गरेर बनाएजस्तो सजिलो नहुने उनी बताउँछन्। कोदोको पिठोको मःमःको नयाँ स्वाद लिन आउने धेरै भएको उनले बताए।
प्रकाशित: २५ माघ २०७५ ०३:४९ शुक्रबार