अन्य

वडामै स्वास्थ्य प्रयोगशाला

तारकेश्वर नगरपालिका वडा ९ को पहल र नगर सहरी स्वास्थ्य केन्द्रको आयोजनामा स्वास्थ्य प्रयोगशाला कक्ष उद्घाटन तथा दुई दिने निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण गर्न सजिलो होस् भन्ने लक्ष्यले स्वास्थ्य प्रयोगशालाको व्यवस्था गरिएको बताइएको छ।

तारकेश्वर नगरपालिका–९ का वडाध्यक्ष बलराम सिटौलाले स्वास्थ्य प्रयोगशालाको व्यवस्थाले स्वास्थ्य परीक्षण गर्न टाढा जानुपर्ने झन्झटबाट स्थानीयबासी मुक्त हुने बताए। ‘स्वास्थ्य परीक्षण गराउन टाढा जानुपर्ने बाध्यता थियो। अब आफ्नै वडामा स्वास्थ्य प्रयोगशाला स्थापना भएको छ,’ उनले भने, ‘छिमेकी वडा ८, १० र ११ लाई पनि पायक पर्ने भएको छ। पहिले स्वस्थ परीक्षण गराउन टाढा जानुपर्दा घण्टौं समय बिताउनु पथ्र्यो ।’ स्वास्थ्य परीक्षण प्रयोगशालामा अपांग र ज्येष्ठ नागरिकलाई निःशुल्क तथा अरू सेवाग्राहीहरूलाई न्यून शुल्कमा सेवा पुर्‍याउने र जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्न महिनैपिच्छे घरदैलो कार्यक्रम गर्ने पनि उनले बताए।’

तारकेश्वर नगरपालिका स्वास्थ्य शाखा सहरी स्वास्थ्य केन्द्र ९ का प्रमुख राधाकुमारी शर्मा सुवेदीले प्रयोगशाला कक्ष उद्घाटन तथा जेष्ठ नागरिक निःशुल्क स्वास्थ्य सेवा अभियान सुरु गरेको बताइन्। ‘जेष्ठ नागरिकलाई ध्यान दिई प्रयोगशाला कक्ष उद्घाटन तथा जेष्ठ नागरिक निःशुल्क स्वास्थ्य सेवा शिविर चलाएका हौं,’ उनले भनिन्, ‘प्रयोगशाला कक्ष उद्घाटन तथा मनमैजु मन्दिर र वासुकी नागटोलमा दुई दिने शिविर चलाइयो। यो कामले ज्येष्ठ नागरिकको मुहारमा खुसी छाएको छ ।’ शिविरमा २ सय ६४ ले स्वास्थ्य परीक्षण गराएकोमा २ सय ८ रगत जाँच, ९० जना वृद्धको मुटु जाँच र ३० जनाको खकार जाँच भएको पनि उनले बताइन्।

वडाको ५ लाख बजेटमा स्थापना भएको स्वास्थ्य परीक्षण प्रयोगशालामा खकार, जण्डिस, टाइफाइड, मधुमेह, युरिक एसिड, रगत आदिको परीक्षण हुने भएको छ। स्थानीय समाजसेवी लवकुमार बस्नेतको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो।

प्रकाशित: २१ माघ २०७५ ०६:१९ सोमबार

तारकेश्वर स्वास्थ्य_प्रयोगशाला उद्घाटन स्वास्थ्य_परीक्षण