अन्य

आधुनिक धोबी

काठमाडौंको घट्टेकुलोमा तुलसीदेवी राईले ‘चाम्लिङ लण्ड्री एन्ड क्लिनिङ सर्भिस’ चलाएकी छन्। हरेक दिन त्यहाँ लुगा धुने काम हुन्छ। त्यहाँ ९ जना सफाई मजदुर काम गर्छन्। त्यसैगरी बुढानिलकण्ठमा रहेको शाखामा अन्य ९ जनाले काम पाएका छन्।

उनी ग्यालेक्सी पब्लिक स्कुल, प्यारागन पब्लिक स्कुल, बुढानिलकण्ठ स्कुल र वीर अस्पतालका कपडा धुन्छिन्। दिनमा ३५ हजार थान बराबर कपडा धुलाइ गर्छिन्। खर्च कटाएर उनी मासिक ५० हजार रुपैयाँ बचत गर्दै आएकी छिन्। उनकोमा काम गर्नेहरुले कामको प्रकृति हेरेर मासिक ९ हजारदेखि ३४ हजार रुपैयाँसम्म पारिश्रमिक पाउँछन्। अचेल उनलाई व्यवस्थापनको काम गर्न भ्याई नभ्याई हुन्छ। विगतमा उनी आफैं हातैले लुगा धुन्थिन्, समयसँगै प्रविधि भित्रिएपछि हिजोआज मेशिनमा लुगा धुलाई गरिन्छ।

यहाँसम्म आई पुग्न उनले कम्ता दुःख गरेकी छैनन्। उनको संघर्षको कथा निकै कहाली लाग्दो छ। उदयपुर, बलाम्ताकी तुलसीदेवी पढ्ने सिलसिलामा गाईघाट बस्थिन्। त्यही बेला उनको घरधनीको छोरासँग माया बस्यो। १६ वर्षको उमेरैमै तिनै मायालु दिपकसँग भागेर उनी दुहबी पुगिन्। त्यहाँ पुगेपछि दिपकले आरा काट्न थाले। उनी बालबालिकालाई ट्युसन पढाउन थालिन्। ‘ट्युसन पढाएबापत दिनको एक माना चामल र नुन दिन्थे’, उनले पुराना दिन सम्झिइन्, ‘हामीलाई टिक्न गाह्रो भएपछि ६ महिनामै गाइघाट फर्कियौं।’

पूर्वेली किरातीले लुगा धुने काम गरेपछि धेरैले कुरा काटे। ‘धोबी’ भन्न थाले। तर, उनीहरु हच्किएनन्। आखिर कुनै पनि काम आफैंमा सानो वा ठूलो हुँदैन।

उनीहरु गाईघाट पुगेर बसेका बेला धरानबाट पेन्सन थापेर फर्केका बुबाले उनलाई घर लगे। ‘अहिले पढ्नु पर्छ’ भनेर छुट्टयाउन खोजे। मायाजालमा जेलिएका उनीहरु छुट्टिएर कसरी बस्न सक्थे र ! त्यसैले दुबै जना भागेर काठमाडौं आए। बिरानो सहरमा जीवन संघर्ष सुरु भयो। काठमाडौंमा आएर खोटाङका ध्यानबहादुर राईकोमा आश्रय लिए। काम खोज्दै जाँदा अढाई वर्ष जनस्वास्थ्य कार्यालय बारामा स्वास्थ्य कार्यकर्ताका रूपमा खटिइन् उनी। र, फेरि काठमाडौं फर्किइन्। 

तुलसीदेवीले पाटन जिल्ला हुलाकमा २ वर्ष र गोदावरी किटेनी छोटी हुलाकमा ६ महिना काम गरिन्। तिनताका जीवन धान्न निकै गाह्रो थियो। ‘छोरा पाल्न धौधौ थियो। ०४५ सालमा ठूली छोरी जन्मिइन्। त्यसपछि छोरालाई दुई वर्ष गाईघाट बजूकहाँ पठाएर छोरीलाई पिठ्यूँमा बोक्दै अफिस धाएँ’, उनले सुनाईन्, ‘त्यसबेलै गर्भवती भएँ र बाध्य भएर जागिर छोडें।’

समयक्रममा ग्यालेक्सी पब्लिक स्कुलकी प्रिन्सिपल गीता राणासित भेट भएपछि उनीहरूको जीवनले काँचुली फे¥यो। दिपक त्यही स्कुलमा काम गर्थे। त्यतिबेलै राणाले उनलाई लुगा धुने मान्छे खोज्ने जिम्मा लगाइन् तर उनीहरूले भरपर्दो कोही भेटेनन्। त्यसपछि आफैंले त्यो कामको जिम्मा लिए। उनीहरूले तिनै मनकारी राणाको ६० हजार लगानीमा लुगा धुलाइ काम सुरु गरे। मासिक ८ सय पारिश्रमिक र खानबस्न दिएर पाँच जना सहयोगी राखे सुरुमा।
पूर्वेली किरातीले लुगा धुने काम गरेपछि धेरैले कुरा काटे। ‘धोबी’ भन्न थाले। तर, उनीहरु हच्किएनन्। आखिर कुनै पनि काम आफैंमा सानो वा ठूलो हुँदैन।

मिहिनेत गर्दा पनि राम्रो कमाइ नभएपछि उनीहरूले घर फर्कने सोच बनाए। तर, फर्केनन्। निरन्तर संघर्ष गरेपछि सफलता मिल्यो। गरे पछि नहुने केही रहेनछ। अभावसँग जुझ्दै संघर्षपूर्ण यात्रा गरिरहे उनीहरुले। आज उनका छोरा आइटी इन्जिनियरका रुपमा अमेरिकामा काम गर्दै छन् । जेठी छोरी, बुहारी र नातिनी अमेरिकामै पढ्दै छन्। कान्छी छोरी र धर्मपुत्री जर्मनमा छन्। घट्टेकुलोमा उनीहरुको आफ्नै घर छ।  

काठमाडौंको सुरुवाती दिनमा सम्झना निकै छन्। पाहुना आउँदा कति पाहुना आएको र  साइकलले घर भत्कायो भनेर धरधनीले हप्काएको नमीठो अनुभव छ उनमा।  संकुचित सोचकै कारण हामीले दुःख पाएको उनी बताउँछिन्। ‘जबसम्म हाम्रो सोचमा परिवर्तन आउँदैन तबसम्म दुःख पाइरहन्छौं’, उनले भनिन्, ‘बाहिर को इन्जिनियर, को डाक्टर र को मजदुर फरक छुट्टिदैन। हामी यहाँ काम गर्न लजाएर विदेश जान्छौं र त्यहाँ जस्तोसुकै काम गर्न तयार हुन्छौं। रिनमा चुर्लुम्म डुबेर विदेश जानुभन्दा यहीँ काम गर्नु जाती हुने रहेछ।’

उनले कामलाई इज्जत गर्नुपर्ने बताइन्। ‘हामी नेपाली न कामलाई इज्जत गर्छौ न काम गर्नेलाई उचित पारिश्रमिक नै दिन्छौं’, उनले भनिन्, ‘यहाँ श्रम शोषण र कामचोर प्रवृत्ति झ्याँगिएको छ। यस्तो प्रवृत्तिले देश कहिले उँभो लाग्छ र ?’ कुनै पनि काम सोचे जस्तो सजिलो हुँदैन। गर्दै जाँदा अनेक समस्या आउँछन्। ‘मान्छेमा व्यक्तिपिच्छे सोच फरक हुन्छ। रिझाएर काम लिनु पर्छ’, उनले भनिन्, ‘त्यतिबेला धोबीले मात्रै लुगा धुन्छन् भन्थे तर अहिले धेरैले यो काम गर्न थालेका छन्। काम भनेको काम नै हो। टिकिरहन कला चाहिन्छ।’  शरीरले साथ दिएसम्म धोबी कामलाई निरन्तरता दिने र सामाजिक काममा लागिरहने उनको चाहना छ। उनको होस्टेमा श्रीमान् दिपक राईले हैंसे गरिरहेकै छन्।

प्रकाशित: १९ माघ २०७५ ०३:२६ शनिबार

घट्टेकुलो क्लिनिङ सफाई मजदुर बुढानिलकण्ठ वीर_अस्पताल