अन्य

सुनै किन चाहियो सुनौलोले हुन्छ भने

सामाजिक सञ्जाललगायतको प्रयोगले फेसन पच्छ्याउनेहरुको संख्या निकै बढेको छ। समय अनुसार फेसन गर्न रुचाउनेहरुको जमात निकै छ। त्यो जमात अरुभन्दा फरक र मौलिक देखिन लालायित छ। शहरिया जीवनशैलीमा रमाउनेहरु प्रायः शिरदेखि पाउसम्म फेसनेबल हुन रुचाउँछन्। झन् अहिलेको फेसनको दुनियाँमा शिरदेखि पाउसम्म सेट मिलाएर लगाउनेको ट्रेन्ड निकै छ।

ट्रेन्ड फलो गर्नेहरुले अचेल गोल्ड प्लेटेड गहनालाई रुचाएका छन्। सुनजस्तै देखिने, सुनको काम गर्ने तर सुनलाई पर्ने मूल्यभन्दा निकै कम मूल्यमा पाइने भएकाले गोल्ड प्लेटेड गहनाको चल्ती ह्वात्तै बढेको बताउँछिन् एसपी कलेक्सनकी सञ्चालिका सुमित्रा श्रेष्ठ। टेबहाल संकटामा रहेको एसपी कलेक्सन सञ्चालनमा आएको १७ वर्ष  भएको उनी बताउँछिन्। विवाहको समारोह होस्, या भोजभतेर, सांस्कतिक कार्यक्रम किन नहोस् नेपालीहरुले धेरै गरगहनाको प्रयोग गर्ने बताउँछिन् सञ्चालीका सुमित्रा। ‘हिजोआज बजारमा पौराणिक डिजाइनका गरगहनादेखि नयाँ फेसनेबल गहना निकै चलेको छ,’ उनले भनिन्। उनकोमा गोल्ड प्लेटेड गहनाहरु ग्यारेन्टीमा पाइन्छ। ‘बिल र गहना लिएर आए साट्न वा केही रकम थपेर अर्को डिजाइनको लिन पनि सकिन्छ,’ उनले भनिन्।

विभिन्न समुदाय र धर्मअनुसारका गरगहनाहरु मिलाएर राखिएको पसलकी सञ्चालीका श्रेष्ठ भन्छिन्, ‘हाम्रोमा एक सय रुपैयाँदेखि दश हजार रुपैयाँसम्म पर्ने गोल्ड प्लेटेट गहना छन्।’ एसपी कलेक्सनमा पौराणिक गहनादेखि चल्तीमा रहेका थरीथरीका डिजाइनका गरगहना पाइन्छ। उनी भन्छिन्, ‘मैले गोल्ड प्लेटका गहनाको व्यापार सुरु गर्दा मानिसमा यसप्रतिको रुचि कम थियो, तर अचेल भने अधिकांशको रोजाइमा नै गोल्ड प्लेटेड नै पर्छ।’ गहना लाउने तरिकामा पहिलभन्दा धेरै परिवर्तन आएको उनी बताउँछिन्। उनी भन्छिन्, ‘मानिसमा गहनाप्रतिको दृष्टिकोण निकै परिवर्तन भएको छ, पहिला थोरै भए पनि सुनकै गहना लगाऊँ, भन्ने सोच थियो भने अचेल फेसनेबल फेरिफेरीकन लगाऊँ भन्ने भावनाको विकास भएको छ।’

कपनकी राधिका घले रामलीला झुम्का हेर्नमा व्यस्त थिइन्। अहिले बजारमा चलेको रामलीला डिजाइनको झुम्का लगाउन मन लागेपछि गोल्ड प्लेटेड झुम्का किन्ने सोच आएको उनले बताइन्। ‘मलाई गहना लगाउन निकै मन पर्छ, फेरिफेरि लुगा अनुसार लगाउँछु,’ उनी भन्छिन्, ‘सबै गहना सुनको लगाउन सम्भव नै छैन त्यही भएर गोल्ड प्लेटेड किन्ने सोच बनाएँ।’ देख्दा सुनभन्दा कम नदेखिने र किन्न सकिने भएर ग्यारेन्टी गहना लगाउने गरेको उनले बताइन्।

विवाहको समयमा, विभिन्न चाडपर्वमा गोल्ड प्लेटेडको निकै फेसन चलेको व्यापारी सुमित्रा श्रेष्ठ बताउँछिन्। पहिला विवाहमा प्रयोग गरिने सबै गहना सुनको नै चलाउँने गरिए पनि अचेल भने प्रायः गोल्ड प्लेटेड प्रयोग गर्ने उनी बताउँछिन्। नेपाली परम्पराअनुसार सुनको गरगहनालाई मान्यता दिइएको भए पनि सबैसँग सुन किन्ने क्षमता नहुने भएकाले गोल्ड प्लेटेड गहनाले सहज भएको उनको भनाइ छ। विवाहमा प्रयोग गरिने अनिवार्य गहनाहरु पोते, मंगलसुत्र, औंठीबाहेक अन्य गहनाहरु शिरबन्दी, चन्द्रमा, नेकलेस, सिक्रीलगायत गहनाहरु गोल्ड प्लेटेड नै प्रयोग गर्ने चलन बढेको उनी बताउँछिन्। मध्यमवर्गीय परिवारमा आर्थिक स्थितिले गर्दा सुनको गहना प्रयोग गर्न कठिन हुने भएकाले पनि गोल्ड प्लेटेड गहना राम्रो विकल्प भएको उनको भनाइ छ।

शहरमा फेसन निकै बढेको पाइन्छ। गोल्ड प्लेटेड फेसनमा रम्नेहरु दिनानुदिन बढेको उनी सुनाउँछिन्। एउटा पार्टीमा लगाएको गहना आर्को पार्टीमा लगाउन नचहानेहरु, मोर्डन र फेसनेबल देखिन चहानेहरुको विशेष रोजाइमा परेको उनी बताउँछिन्। ‘मान्छेले अचेल शरीरको लुगाअनुसार गहना लगाउने चलन बढेको छ,’ उनी भन्छिन्, ‘साता दिनमै गहनाका डिजाइन परिवर्तन भइहेको हुन्छ तसर्थ फेसन गर्न रमाउनेहरुको लागि उपयोगी छ, गोल्ड प्लेटेड।’

थरीथरीका संस्कार मान्नेहरुको देश भएकाले मौलिक गहनाप्रति मानिसहरु आकर्षित भएको अनुभव सुनाउँछिन् सुजता तामाङ। बेनटेक्स् कलेक्सनकी कर्मचारी हुन्, सुजता। मौलिक ड्रेस लगाएर चाडपर्व मनाउने चलनले गर्दा पनि गोल्ड प्लेटेड गहनाको चल्ती बढेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘आफ्नो संस्कृति अनुसारको लुगा लगाएर चाड मनाउँे भएकाले, लुगामा सुहाउँदो गहना खोज्नेहरु हामीकोमा आउने गर्छन्।’ विवाह, भोजमा जाँदा फेरिफेरि गहना लगाउन रुचाउनेहरुको लागि गोल्ड प्लेटेडले सहज बनाएको उनले बताइन्। ‘जमाना फेसनको छ, राम्रो र आकर्षक देखिन कस्लाई पो मन नलाग्ला र ?’, उनी भन्छिन्, ‘फेरी–फेरी लगाउन मन हुने तर लगाउन नसक्नेहरुका लागि गोल्ड प्लेटेड विशेष रोजाइमा परेको पाइन्छ।’ पारिवारिक, सांस्कृतिक कार्यक्रममा परम्परागत पहिरनमा सजिन रुचाउनेको जमात निकै छ। सांस्कृतिक पहिरनमा मिलाएर गहना लगाउने फेसन नै बनेको छ। थारु समुदायको माघि, जनजातीहरुको ल्होसार, नेवारी समुदायको विभिन्न जात्रामा छुट्टै सांस्कृतिक  पहिरन लगाउन चहानेहरुको लागि राम्रो विकल्प बनेको छ गोल्ड प्लेटेड गहना।

पछिल्लो समय, गोल्ड प्लेटेडमा महिला मात्र नभएर पुरुषको आकर्षण समेत बढेको बताउँछिन् एसपी कलेक्सनकी सुमित्रा। संख्यात्मक रुपमा महिलाले नै धेरै गहना प्रयोग गर्ने भएता पनि पुरुषले समेत गोल्ड प्लेटेडका गहना प्रयोग गर्ने गरेको उनले बताइन्। उनी भन्छिन्, ‘समय अनुसार सजिन चहाने पुरुषहरु हामी कँहा डिजाइन लिएर गहना खोज्न आउँछन्।’ विशेष गरी आंैठी, सिक्री, ब्रास्लेट लगायतका गहना पुरुषको रोजाइमा पर्ने उनले बताइन्।
 

प्रकाशित: १४ माघ २०७५ ०६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App