मानिसको शरीरका विभिन्न अंगले छुट्टाछुट्टै काम गर्छन्। शरीरका अंगमध्ये मस्तिष्क महत्वपूर्ण भाग हो। मस्तिष्क हाम्रो टाउकोभित्र सुरक्षित हुन्छ। जसरी फोक्सोमा निमोनिया र टिबीजस्ता रोग लाग्छन्, कलेजोमा खराबी भएर कमलपित्त लाग्छ, त्यसैगरी, मस्तिष्कमा पनि विभिन्न रोग लाग्न सक्छन्। त्यसरी लाग्ने रोगहरुले मस्तिष्कमा मात्र असर पार्दैनन्, हाम्रो मन, विचार, भावना र बुद्धिमा पनि प्रतिकूल असर पार्छन्। फलस्वरूप मानसिक रोग देखा पर्छ।
मानसिक रोग लागेपछि व्यक्तिको स्वभाव, बानी र व्यवहारमा परिवर्तन देखा पर्न थाल्छ। उसले पहिले कहिल्यै नगरेका अनौठा कृयाकलाप देखाउन थाल्छ। बदलिएको उसको बानी प्रचलित संस्कृति, धार्मिक विश्वास र परम्परासँग मिल्दैन र सामाजिक मान्यता पाउँदैन भने मात्र मानसिक विकृति र कुनै मानसिक रोगको लक्षण हो कि भन्ने सोच्नुपर्छ। मानसिक रोगबाट पीडितले समाजका अरू मानिससँग राम्रो सम्बन्ध राख्न सक्दैन र भावी योजना र कार्यक्रम पनि सही रूपले तर्जुमा गर्न सक्दैन। साथै ऊसँग सम्बन्धित वातावरण र उसको भित्री वा बाहिरी परिस्थितिको ठीक मूल्यांकन पनि गर्न सक्दैन।
वैज्ञानिकले अरू रोगजस्तै मानसिक रोग पनि शरीरको एक केन्द्रीय स्नायु प्रणालीको खराबीबाट उत्पन्न हुने रोग हो भन्ने पत्ता लगाए। संसारभर जनसंख्याको लगभग १५ प्रतिशत मानिस साधारण वा कडा कुनै न कुनै मानसिक रोगबाट पीडित देखिन्छन्। आजको मानव समाजमा मानसिक रोगले ठूलै समस्या निम्त्याएको पाइन्छ।मानसिक स्वास्थ्य सेवा राम्रो नभएसम्म स्वास्थ्य सेवा नै अधुरो रहन्छ। स्वास्थ्य सेवालाई प्रभावकारी र स्तरीय बनाउन मानसिक स्वास्थ्य सेवामा त्यत्तिकै जोड दिनु नितान्त आवश्यक छ।
रोग कसरी चिन्ने ?
निम्न लिखित लक्षण राम्रोसँग केलाएर बिरामीको अध्ययन गरेमा मानसिक रोगले पीडित व्यक्तिलाई सजिलै चिन्न सकिन्छ।
क) बिरामी आफूले गर्दै आएको दैनिक कामकाज गर्न छोड्छ, जथाभावी गर्छ र आफन्तसँग बिनाकारण रिसाउने गर्छ। ऊ अरूले भनेको मान्दैन र समाजमा प्रचलित चालचलन तथा मान्यताको पनि कदर गर्दैन। आफन्त र घरका मान्छेले सम्झाउँदा पनि ऊ सुध्रेको देखिँदैन। यस्तो व्यक्ति प्रायः कडा मानसिक रोग साइकोसिसबाट पीडित भएको हुन सक्छ। साइकोसिसबाट पीडित व्यक्ति कहिलेकाही“ झट्ट हेर्दा ठीकै जस्तो लाग्ने भए पनि अरूमाथि नचाहिने शंका गर्ने, अरूलाई शत्रु सम्झने र डराउने हुन सक्छ। उसलाई अरूले सुन्न नसक्ने आवाज सुनेको भ्रम हुन सक्छ। साइकोसिसको मुख्य लक्षण बिरामीले आपूmलाई रोग लागेको छ भन्ने थाहा नपाउनु नै हो। यही कारण बिरामी आफ्नो उपचार गर्नुपर्छ भन्ने बुझ्दैन र औषधि खान मान्दैन। बेलैमा ध्यान दिन सकेमा यसको उपचार हुन्छ।
ख) कुनै–कुनै प्रकारका मानसिक रोगी झोक्राएर बस्ने, काम नगर्ने, कम बोल्ने या बोल्दै नबोल्ने, दिक्क मानी बस्ने र कहिलेकाही“ रुने पनि गर्छन्। यस्ता बिरामी राम्रोसँग निद्रा नपर्ने, खानामा रुचि नहुने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, पेट दुख्ने, ढाड दुख्ने र कमजोरी भएको अनुभव गर्छन्। यस्तो रोगको मुख्य लक्षण निराश हुनु र अनावश्यक सोचाइ आउनु हो। यस किसिमका लक्षण बढ्दै जाँदा पनि उपचार नभएमा देखिने रोगलाई डिप्रेसन भनिन्छ। डिप्रेसन भएपछि उसमा आत्महत्यासमेत गर्ने चाहना आउन सक्छ। कहिलेकाहिँ डिप्रेसनबाट पीडित व्यक्तिले बोल्न, हि“डडुल गर्न र खान–पिउन पनि छाडिदिन्छ। यस्तो अवस्थाको बिरामी शारीरिक रूपमा चाँडै कमजोर हुने हुनाले उसको उपचार पनि तुरुन्तै सुरु गर्नुपर्छ।
ग) अपर्झट मुर्छा पर्ने रोगका बिरामी पनि भेटिन्छन्। यस्तो रोग प्रायः बाल्यकाल या युवा अवस्थामा सुरु हुन्छ। मुर्छा पर्ने क्रम बीचबीचमा दोहोरिन्छ। मुर्छा पर्दा बिरामी लड्ने, चोटपटक लाग्ने, ओठ–जिब्रो टोक्ने, आँखाका गेडी चलेको देखिने, मुखबाट फिँज निस्कने, जीउ काँप्ने र कहिलेकाही“ बेहोस भई दिसापिसाब पनि चुहुने हुन सक्छ। यस प्रकारको मुर्छा पर्ने रोगलाई छारेरोग भनिन्छ। समाजमा यसलाई रोगका रूपमा नलिई लागो–भागो लागेको रूपमा लिइन्छ। समयमै उपचार भएन भने कालान्तरमा यस्ता बिरामीमा मानसिक विकृति आउँछ र पागलपन पनि देखा पर्न सक्छ। तसर्थ, यस्ता बिरामी र तिनका आफन्तलाई सम्झाएर समयमै उपचार गरेमा मिर्गी निको हुन्छ।
घ) समयानुकूल शारीरिक र बौद्धिक विकास हुन नपाएका केटाकेटीको बुद्धिको विकास ढिलो हुन्छ र बुद्धि पनि मन्द हुन्छ। यस्ता बच्चाको बोली ढिलो फुट्छ, उनीहरु हि“डडुल गर्न पनि ढिलै सुरु गर्छन्। उनीहरुमा भाषाको पूरा विकास भएको हुँदैन। आफ्नो उमेरका अरू बच्चासरह स्कुलमा पढ्न सक्दैनन्। प्रायः गर्भावस्था या जन्मेपछिको अवधिमा लाग्ने रोग र खराबीले यस्तो अवस्था सिर्जना हुन जान्छ। यसलाई सुस्त मनस्थिति भनिन्छ। यो समस्या अरू नै रोगको असरको परिणाम भएकाले यसको उपचारभन्दा पनि रोकथाममा बढी ध्यान दिनुपर्छ। गर्भवती र सानो उमेरका बालबच्चाको स्वास्थ्यको समयमै उपचार गरिनु पर्छ।
ङ) केही व्यक्तिमा अनावश्यक चिन्ता लिने र डराउने रोग हुन्छ। यस्ता व्यक्तिलाई चिन्ताकै कारण राति निद्रा नपर्ने, सपना धेरै देख्ने, तर्सिने र मन आत्तिने समस्या हुन्छ। बिरामीलाई आपूm रोगी भएको पूर्ण महसुस हुन्छ। उसलाई आफ्नो रोगबारे आवश्यकभन्दा पनि बढी चिन्ता हुन्छ। प्रायः यस्ता बिरामीले धेरै समयदेखि अस्पताल धाउने र विभिन्न औषधि खाने गरे पनि त्यसले राम्रो असर पारेको हुँदैन। यिनीहरुमा अस्पताल र क्लिनिक चहार्ने बानी बस्छ। यस किसिमले बढी चिन्ताबाट पीडित हुने रोगलाई न्यूरोसिस भनिन्छ। यस्ता बिरामीलाई कुनै औषधि दिएर भन्दा पनि राम्रोसँग सम्झाएर रोगबारे वास्तविक जानकारी दिलाउनुपर्छ। उसको समस्या केलाएर उत्साहित गराउँदै उपचार गर्नुपर्छ।
कहिलेकाहीँ चिन्ताबाट उत्पन्न हुने सामान्य रोग अनौठो किसिमले देखा पर्छ। जस्तैः बेहोस भएजस्तो गरी पल्टिनु, बेहोसीमा कराउनु, हातखुट्टा दह्रो पारेर दाँत किट्नु, अरूले उसलाई जतन गरी सम्हाल्न खोज्दा विरोध गर्नु इत्यादि। यस्ता बिरामीको मुर्छा चाहिँ त्यति खतरनाक हुँदैन। बेहोस हुँदा पनि बिरामीलाई चोटपटक लाग्ने, जिब्रो वा ओठ टोकिने, दिसापिसाब छुट्ने आदि लक्षण हुँदैनन्। छोप्न छाडेपछि बिरामी पूरै ठीक। यो रोग प्रायः कमजोर मन भएका, अरूप्रति निर्भर हुने तर आफ्नो प्रशंसा होस् भन्ने चाहना राख्ने अपरिपक्व मन भएका व्यक्तिलाई हुन्छ।
च) समाजमा अत्यधिक रक्सी पिउने मानिसको कमी छैन। त्यस्तै, लागूपदार्थ सेवन गर्नेको सङ्ख्या पनि बढ्दै छ। कुलतमा लागेकाहरु मानसिक रूपले स्वस्थ हँुदैनन्। त्यसैले यिनीहरुलाई केवल शारीरिक रोगको उपचार गरेर पुग्दैन। मानसिक स्थितिमा परिवर्तन र सुधार ल्याउनु पर्छ। सामाजिक, आर्थिक, मनोवैज्ञानिक र अरू धेरै वैयक्तिक कारणको प्रभावले मानिस लागूपदार्थको दुव्र्यसनमा पर्छन्। त्यसैले जबसम्म दुव्र्यसनका यी विभिन्न कारण हटाउन सकिँदैन, तबसम्म उपचारका प्रयास असफल नै भइरहन्छन्। (मनोचिकित्सक शर्माको प्रकाशोन्मूख पुस्तक ‘मानसिक स्वास्थ्यका विविध अनुभव’बाट)
प्रकाशित: १२ माघ २०७५ ०५:३२ शनिबार