हाम्रो समाजमा गायक/गायिकाको एकल गायन कार्यक्रम बरोबर भैरहन्छ। तर, संगीतकारको एकल साँझ आक्कलझुक्कल मात्रै आयोजना हुन्छ। एउटै मञ्चबाट छोटो समयमा एउटा प्रतिभाको क्षमता पस्कने राम्रो अबसर हो–एकल साँझ। त्यही क्षमता प्रदर्शन गरेर वाहवाहि कमाए संगीतकार मनराजा नकर्मीले पनि।
माघ ५ को चिसो साँझमा प्रज्ञा प्रतिष्ठानको हलमा खचाखच दर्शक सामुन्ने बसेर उनले तीन घन्टासँग बाजा बजाइरहे। त्यो स्वर्णिम साँझमा मुलुकभित्रका स्थापित १९ जना गायक/गायिकाले उनीद्वारा संगीतबद्ध गीत गाए। उनले चाहिँ हार्मोनियमको सुरमा उनीहरुलाई हौस्याइरहे भने शास्त्रीयपनाका गीतमा तबलाको कलात्मक धुन पनि पस्किरहे। जीवनका तीन दशक संगीतकर्ममा विताएका नकर्मीलाई एकल साँझमा उभ्याएको थियो नेपाल मण्डल टेलिभिजनले। ‘यति धेरै मान्छेका माझ लाइभ सृजना पस्कन पाउनु गर्ब कुरा हो’, सांगीतिक साँझबाट उत्साहित बनेका नकर्मीले शुक्रबार साँझ सुनाए, ‘एकल साँझ गर्नु पर्यो भनेर साथीभाइले झक्झक्याएका थिए, कार्यक्रम उपलब्धिमुलक बन्यो।’
उनको हुट्हुटि बढाउने साथीहरु हुन्–मंगल महर्जन, मोहन शाक्य, निर्मलरत्न शाक्य, जुगल डंगोल, हरिशरण सायमी, भुपेन्द्र बज्राचार्य, रामकृष्ण कार्की लगायत। संगीतकार नकर्मी बहुमुखि प्रतिभा हुन्। उनले भजन, शास्त्रीय, आधुनिक गीत, गजल, लोकगीत, पपगीत, फिल्मी गीत, बालगीत, भाषाभाषिका गीत आदिमा संगीत भरेका छन्। एकल साँझमा चाहिँ प्रायः आधुनिक गीत गाइयो भने पपगीत, लोकशैली र गजल पनि गाइएको थियो।
भलाद्मी संगीतकार मनराजा नकर्मीको जीवनमा ५ माघ ०७५ को साँझ स्वर्णिम बन्यो। त्यो दिन काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित उनको एकल साँझमा सयौं दर्शकले बरर तालि पिटिरहे। त्यसबाट उत्साहित बनेका छन् उनी।
स्टेजको केन्द्रमा बसेर नकर्मीले हार्मोनियम बजाइरहँदा संगीत संयोजक दिनेशराज रेग्मीको संयोजनमा अरु १९ जनाले बाजा बजाइरहेका थिए। त्यो सांगीतक माहौलमा गाउनेहरु थिए–मदनकृष्ण श्रेष्ठ, आनन्द कार्की, संगीता प्रधान राना, जुजुकाजी रञ्जित, संगीता शाक्य थापा, धनबहादुर गोपाली, रमना श्रेष्ठ, स्वयम्भुराज शाक्य, यम बराल, विश्व नेपाली, दिपक लिम्बु, रामचन्द्र काफ्ले, नीशा देसार, टीका प्रसाईं, प्रकाश तिमिल्सिना, सन्तोष लामा, मेनुका पौडेल, सरीता शाही र रत्नशोभा महर्जन।
उनीहरुले दुर्गालाल श्रेष्ठ, यादव खरेल, डा. रामविक्रम सिंजापति, डा. कृष्णहरि बराल, डा. दीर्घसिंह बम, केशवराज राजभण्डारी, शुरेशकुमार कार्की, सुरेन्द्र राना, राजकुमार श्रेष्ठ, आनन्दरत्न बज्राचार्य, रमेश गाउँले, हेमन्त विवश, देवदत्त भट्ट, भीमबहादुर नकर्मी, नातीबज्र बज्राचार्य, डा. सुनलाल थापा, तुल्सीनारायण महर्जन र संगीतकार मनराजाले लेखेका गीत गाएका थिए। एउटा रमाइलो कुरा, मोहन शाक्य र संगीतकार नकर्मीकी जीवनसाथी आशाले गाएको गीतमा छोरी आशिषमा नाचेकी थिइन्।
‘आजको दिन मेरा लागि धेरै किसिमले उपलब्धिपूर्ण छ’, कार्यक्रममा नकर्मीले आफ्नी आमालाई उभ्याउँदै भने, ‘सांगीतिक क्षेत्रमा लागेर यो उमेरसम्म मेरो कार्यक्रम प्रत्यक्ष रुपले आमाले हेर्न पाउनु भएको यो पहिलोपटक हो।’
उनका शब्द सुनेर सिंगो दर्शक दिर्घा भावुक बनेको थियो। टिकट काटेर एकल साँझमा झुमे दर्शकहरु। त्यसबाट बचेको पैसाले सांगीतिक क्षेत्रमा समर्पित स्रष्टाहरुको सहयोगका लागि कोष स्थापना गर्ने योजना छ। कोषले स्रष्टाहरु दुःख बिमार पर्दा सघाउनेछ।
यसरी नकर्मीको जीवनमा एउटा अर्को राम्रो काम भयो। प्रज्ञाको मञ्चमा उनले पहिलो पटक बजाएका होइनन, ३० वर्षे सांगीतिक जीवनमा धेरैपटक त्यहाँ बसेर बजाइसकेका छन्। तर, ५ माघको साँझ जस्तो स्वर्णिम साँझ कहिल्यै आएको थिएन। त्यो साँझको जस्तो खुसी उनले त्यस अघि पाएकै थिएनन्। गीत/संगीतको तरंगले ढुंगो पनि पग्लिन्छ भन्छन्। मनराजा आफैंमा भावुक प्रबृत्तिका स्रष्टा भएकाले उनले कार्यक्रममा हृदय खन्याइरहेका थिए। खुसीसँगै भावुकताका धर्सा उनको अनुहारमा देखिन्थे।
उनले सयौं गीतमा संगीत भरिसकेका छन्। तबलाका उस्तादै हुन्। मुलुकका स्थापितदेखि नव गायक÷गायिकाले उनको संगीतमा गाएका छन्। अरुको गीतमा संगीत भर्ने काम उनले रेडियो नेपालमा जागिर खाएदेखि गर्न थालेका हुन्। जागिरे हुनु अगाडि स्कुले जीवनदेखि नै संगीतमै रमाउँथे। घरकै सांगीतिक माहौलले उनलाई संगीतमा डोर्यायो। उनका पिताजी भीमबहादुर आफ्नो जमानाका भजन गायक एवं संगीतकार हुन्। ९० वर्षको उमेरमा हिँड्दै गरेका उनी आज पनि जन्मथलो बलम्बु (काठमाडौं)मै बसेर नित्य भजन चलाइरहेका छन्।
बुबाले नै उनलाई सारेगम...सिकाए। ९ वर्षको उमेर नपुग्दै मनराजा भजन गाउन थालिसकेका थिए। छोराको संगीतमा रस बसेको देखेर बुबाले उनलाई साथी उस्ताद रामहरि गुरुङसँग तबला बादन सिक्ने व्यवस्था मिलाइदिए। हुने विरुवाको चिल्लो पात भने झैं उनले संगीतमा कुशलता देखाउँदै गए। अनि गाउँमा नेपाली र नेपाल भाषाका भजन र गीत गाउन थाले। तिनताका रेडियो नेपालबाट प्रत्यक्ष शास्त्रीय संगीत प्रसारण हुन्थ्यो। त्यसमा प्रतिभाहरुलाई मौका दिइन्थ्यो। उनले पनि १३ बर्षकै उमेरमा त्यहाँ तबला बजाउने अबसर पाए।
विद्या मन्दिर मावि, नैकापबाट एसएलसी सकेपछि रेडियो नेपालमा जागिर खाने मौका मिल्यो उनलाई। उनका बुबाले पनि विगतमा रेडियोमा बाद्यबादकको काम गरेका थिए। रेडियोमा कार्यरत बुबाका साथी बद्रीबहादुर केसीले संगीतकार नातिकाजीलाई ‘यो केटो तबला राम्रो बजाउँछ’ भनेर तारिफ गरिदिए। नातिकाजीले भुपेन्द्र रायमाझी र राजु अग्रवाललाई भने, ‘यो केटोको प्रतिभा कस्तो छ परिक्षण गर्नुस्।’ परीक्षामा सफल भए र बाद्यबादकका रुपमा काम गर्न थाले। यसरी ०४५ सालबाट उनी रेडियो नेपालका जागिरे भए। आज पनि उनी मुख्य संगीत संयोजकका रुपमा त्यहीँ काम गर्छन्।
निरन्तर संगीत साधनामा लागेका नकर्मीद्वारा संगीतबद्ध धेरै एल्बम आइसकेका छन्। नेपाली भाषाका १३, नेपाल भाषाका ९, भजन २ र सांगीतिक धुनका ३ एल्बम छन्। नेपाली भाषाका–लेखेर तिम्रो नाम, चोखो माया, खैल्दै गर्दा, प्रेमल, पहिलो किरण, कृति, दुनिँया, महसुश, सुशान्तको स्मृति, प्रभुको लिला, कसरी दर्शन पाउँ, कलाकार, मञ्जरी, मन आनन्द गीति संग्रह हुन्। त्यस्तै नेपालभाषाका मिखाया अजलं, नानु, तय्जु, मन, सिमाकचा, निर्मल मन, छ्यनय् तकुस्वां, जोभनया रंग सांगीतिक कोसेली हुन्। रिदमिक फ्युजन, सितार कासा, सितार तबला तानपुरा चाहिँ धुनका एल्बम हुन्। चलचित्रमा नेपाली भाषाका शंकरा, एकदिन एकरात तथा नेपाल भाषाका शंकरा, तारेमाम, कुलङ्गार, व मिसा, याःहू, अजःमिखा, लाखेभाजु गरी ८ चलचित्रमा उनले संगीत दिएका छन्।
जीवनका विभिन्न कालखण्डमा उनले स्वदेश र विदेशबाट विभिन्न सम्मान पाएका छन्। उनी नेपाल सांगीतिक संघका कार्यकारी सदस्य तथा नेपाल रोयल्टी संघका संस्थापक सदस्य हुन्। उनी राम्रा कलाकार त हुँदै हुन्, व्यबहारिक जीवनमा पनि सरल र भलाद्मी छन्। हाल अनामनगरमा बसोबास गर्छन्। उनको परिवारमा श्रीमती आशा, छोरी आशिषमा, अञ्जला र आयुश्ना छन्। तीनवटै छोरी कला क्षेत्रमै छन्। आशिष्मा नेपाली फिल्मकी अभिनेतृ हुन्। अञ्जला नृत्यंगना हुन् भने कान्छी छोरी आयुश्ना गायिका। उनी ५२ वर्षका भए। बाँचुञ्जेल संगीतकर्ममै लागिरहने उनको इच्छा छ। समग्रमा, सांगीतिक फूलबारीका परिश्रमी माली हुन् उनी। नेपाली संगीतले उनबाट निरन्तर सुन्दर सृजना पाइरहोस्। धेरै धेरै शुभकामना।
आधृुनिक गीत गाउँछु
भजन गायनबाट सांगीतिक दुनियाँमा पाइला टेकेका मनराजा नकर्मीको स्वरमा नेपाल भाषाका दुई गीत रेकर्ड भएका छन्। उनकी जीवनसाथी आशाले पनि नेपाल भाषाको भजन गाएकी छिन्। संगीतकारको चिनारी बनाएका मनराजाको मनमा गीत गाउने भोक तृष्णा मेटिएको छैन। ‘गीत गाउने रहर कायमै छ’, उनी भन्छन्, ‘अब म आधुनिक गीत गाउँछु।’
प्रकाशित: १२ माघ २०७५ ०४:५७ शनिबार