अन्य

आवश्यकता १३९, बल्छ ६ स्थानमा

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न कम्तिमा पनि एक सय ३९ चोकमा ट्राफिक लाइट आवश्यक  पर्छ। तर, देशकै राजधानी सहरमा आधा दर्जन स्थानमा मात्रै ट्राफिक लाइट मात्रै बल्छन्। अन्य स्थानका ट्राफिक लाइट भने बेकामे अवस्थामा छन्।

महानगरीय ट्राफिक महाशाखाका अनुसार उपत्यकाको ट्राफिक जाम न्यूनीकरण गर्न कम्तिमा पनि १ सय ३९ भन्दा धेरै स्थानमा ट्राफिक लाइट आवश्यक भइसक्यो। तर, सरोकारवाला निकायको बेवास्ताका कारण उपत्यकाको अधिकांश स्थान ट्राफिक बत्तीविहीन छन्। जसले गर्दा लाखौं सवारीसाधन व्यवस्थापन गर्न समस्या भइरहेको छ।

‘उपत्यकाको मुख्य र भित्री चोकमा करिब एक सय ३९ भन्दा धेरै ट्राफिक बत्ती आवश्यक देखिन्छ,’  महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराम सापकोटा भन्छन् , ‘तर अहिले आधा दर्जन जति ट्राफिक लाइटकै भरमा व्यवस्थापन गर्दै आइरहेका छौं। उनका अनुसार अहिले उपत्यकाको मुख्य चोकमा मात्रै होइन, भित्रीचोक–चोकमा पनि ट्राफिक लाइट आवश्यक भइसक्यो।

उपत्यकाका मुख्यमुख्यचोकदेखि भित्रीचोकसम्म ट्राफिक बत्ती आवश्यक भइसकेको जानकार बताउँछन्। ‘उपत्यकाका मुख्यमुख्य चोकमा ट्राफिक बत्ती अनिवार्य चाहिन्छ। तर, त्यहाँ ट्राफिक प्रहरीले हातकै इसाराले काम चलाइरहेका छन्। जति ट्राफिक प्रहरी खटिए पनि जाम भने जस्ताको त्यस्तै छ,’ ट्राफिक इन्जिनियर आशिष गजुरेलले भने, ‘अहिलेको समयमा हातकै इसाराले ट्राफिक व्यवस्थापन गर्नै सकिँदैन। बिनाप्रविधि जति ट्राफिक खटिए पनि ट्राफिक जाम उस्तै भइहाल्छ।’

सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख दीप बाराही काठमाडौं उपत्यकाको मुख्य र भित्री चोकमा गरेर दुई सय ट्राफिक बत्ती आवश्यक पर्ने बताउँछन्। ‘उपत्यकाको मुख्य र भित्री चोकमा करिब दुई सयभन्दा धेरै ट्राफिक बत्ती आवश्यक पर्ने देखिन्छ,’ उनले भने, ‘तत्कालै दुई  सय स्थानमा जडान गर्न नसके पनि कम्तिमा ६० स्थानमा जडान गर्नुपर्ने बेला भइसक्यो।’ उनका अनुसार ट्राफिक बत्ती एकदेखि अर्काे जक्सनसँग जोडिएको हुन्छ, जसले सवारी चापबमोजिम जाम कम गर्न सकिन्छ। ‘अत्याधुनिक प्रविधिको ट्राफिक बत्ती हुन्थ्यो भने एउटै ट्राफिक प्रहरीले काम गर्न सक्थ्यो। तर, अहिले यहाँ दर्जनभन्दा धेरै जनशक्ति चोकमा खटाउनुपरेको छ,’ उनले भने, ‘ट्राफिक बत्ती भएसँगै ट्राफिक प्रहरीहरू लेन अनुशासन तथा अन्य काममा सक्रिय हुन पाउँथे।’

कहाँकहाँ बल्छन् ट्राफिक लाइट
महानगरीय ट्राफिक प्रहरीका अनुसार सल्लाघारी, गठ्ठाघर, जडीबुटी, बानेश्वरचोक र महाराजगन्ज, दरबारमार्ग  मात्रै ट्राफिकबत्ती सञ्चालनमा आएको छ। तीबाहेका अन्य स्थानमामा भएका ट्राफिक लाइट बेकामे भएका छन्।

कुन ठाउँमा बल्दैनन् बत्ती
करिब १० वर्षअघि बानेश्वर, माइतीघर, थापाथली, सिंहदरबार, पुतलीसडक, केशरमहल, गौशालालगायत क्षेत्रमा ट्राफिक बत्तीबाट सवारी र पैदल यात्रु व्यवस्थापन गरिन्थ्यो। अहिले तिनै स्थानमा दोब्बरदेखि पाँच गुणासम्म ट्राफिक प्रहरी खटिनु परेको ट्राफिक प्रहरी बताउँछन्। ट्राफिक बत्ती नचलेपछि यी क्षेत्रमा सडक दुर्घटना पनि बढेको छ।
तथ्यांक अनुसार उपत्यकामा १५ वर्षअघिदेखि नै ट्राफिक बत्तीमार्फत सवारी र पैदल यात्रु व्यवस्थापन हुन थालिसकेको थियो। त्यसबेला उपत्यकाका २० स्थानमा ट्राफिक बत्ती जडान गरिएका थिए। अहिले २० मध्ये १७ स्थानका बत्ती कामै नलाग्ने भएका छन्। उपत्यकाभित्र सवारी व्यवस्थापन गर्न थापाथली, माइतीघर, तीनकुने, कोटेश्वर, केशरमहल, दरबारमार्ग, पुतलीसडक, सिंहदरबार, पद्मोदय मोड, गौशाला, कालीमाटीलगायत मुख्य चोकमा ट्राफिक बत्ती जडान गरिएको थियो। अहिले यहाँका ट्राफिक बत्ती बल्दैनन्।

जिम्मेवारी निकाय पन्छने मात्रै
ट्राफिक बत्ती सञ्चालन र मर्मतको जिम्मा सडक विभाग, सडक बोर्ड नेपाल, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं उपत्यका विकास प्राधिकरणलगायत निकायले लिनुपर्ने हो। तर, यी सबै निकाय एक–अर्कालाई दोष दिँदै जिम्मेवारीबाट पन्छिने गरेका छन्।

उपत्यकामा जापान सरकारले सन् २००० ताका ट्राफिक बत्ती जडान गरिदिएको थियो। त्यसबेला जडान गरेका ट्राफिक बत्तीमध्ये हाल कुनै पनि सञ्चालनमा छैनन्। डेढ दशकअघि बानेश्वर, माइतीघर, थापाथली, सिंहदरबार, पुतलीसडक, केशरमहल, गौशालालगायत क्षेत्रमा प्रहरीको साटो ट्राफिक बत्तीमार्फत नै सवारी र पैदलयात्रु व्यवस्थापन हुने गथ्र्यो। अहिले तिनै स्थानमा दोब्बरदेखि पाँच गुणासम्म ट्राफिक प्रहरी खटिएर व्यवस्थापन गरिरहेका छन्।

यी क्षेत्रमा सडक दुर्घटना संख्या समेत बढेको छ। सरकारी विवरणअनुसार उपत्यकामा १५ वर्ष अघिदेखि नै ट्राफिक बत्तीमार्फत सवारी र पैदलयात्रु व्यवस्थापन हुन थालिसकेको थियो। त्यसबेला उपत्यकाका २० स्थानमा ट्राफिक बत्ती जडान गरिएका थिए। अहिले २० मध्ये १७ स्थानका बत्ती कामै नलाग्ने भएका छन्। ट्राफिक इन्जिनियर आशिष गजुरेल भन्छन्, ‘सरकारले लोकप्रियताका लागि मात्रै निर्देशन दिने गरिरहेको छ,’ उनले भने, ‘पूर्वाधार निर्माणमा सिन्को नभाँच्ने र निर्देशन कार्यान्वयन नगर्ने प्रवृत्तिले उपत्यकामा ट्राफिक लाइट जडान हुन नसकेको हो।’

चार महिनामा आठ स्थानमा ट्राफिक बत्ती
राजधानीको आठवटा चोकमा चार महिनाभित्रै ट्राफिक लाइट जडान गरिने भएको छ। सडक विभागले सिंहदरबार, पद्मोदय मोड, कालीमाटी पुरानो बानेश्वर, तिनकुने, बागबजार, मित्रपार्क, गौशाला चोकमा अत्याधुनिक  ट्राफिक लाइट जडान गर्न लागेको हो। सडक विभागले ट्राफिक लाइट जडान गर्ने प्रिजिल कन्स्ट्रक्सनसँग पुस १२ गते सम्झौता गरिसकेको छ। सम्झौताअनुसार आठ वटै चोकमा चार महिनाभित्रै ट्राफिक लाइट जडान गर्नुपर्नेछ।

सडक विभागअन्तर्गत सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख दीप बाराही बानेश्वर र महाराजगन्जमा जडान गरिएको प्रविधिकै आधारमा थप आठ वटा चोकमा ट्राफिक लाइट जडान गर्न लागेको बताउँछन्। ‘आठवटा चोकमा ट्राफिक लाइट जडानको प्रक्रिया अघि बढिसक्यो,’ उनले भने, ‘चार महिनाभित्रै ट्राफिक लाइट सञ्चालनमा ल्याउनेछौं।’ आठ वटा चोकमा ट्राफिक बत्ती जडान गर्नका लागि भ्याटबाहेक ९७ लाख ५० हजार रुपैयाँ लाग्नेछ।

‘ट्राफिक बत्ती वायरलेस र रिमोट कन्ट्रोल प्रणालीमा आधारित छ, त्यसको कन्ट्रोल महानगरीय ट्राफिक प्रहरी महाशाखाको कन्ट्रोल रुटबाट मनिटरिङ र व्यवस्थापन गर्नसक्ने व्यवस्था छ,’ उनले भने, ‘रिमोट सिस्टमबाट सञ्चालन गरिनेछ।’

सबै ट्राफिक बत्ती सोलारबाट चल्नेछ। उनका अनुसार राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलगायत भिभिआइपी सवारी हुँदा, एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सवारीसाधन पास गराउन चोकमा बस्ने ट्राफिक प्रहरीका लागि रिमोट कन्ट्रोलबाट ट्राफिक बत्ती सञ्चालन गर्नसक्ने व्यवस्था मिलाइएको छ। ट्राफिक बत्ती पाँच वर्षसम्म सञ्चालन गर्न सकिने छ। ‘ट्राफिक बत्ती अटोमेटिक तथा रिमोट कन्ट्रोलबाट सञ्चालन गर्न सकिने बनाएका छौं,’ प्रमुख बाराहीले भने, ‘ट्राफिक लाइट बनेसँगै ट्राफिक जामको अन्त्य हुनेछ।’

‘इन्टलिजेन्ट लाइट’ असफल  
‘इन्टलिजेन्ट ट्राफिक सिग्नलाइजेसन लाइट’ जडान गर्न स्थापना भएको काठमाडौं उपत्यका दिगो सहरी यातायात आयोजनाको म्याद यस्ता बत्ती जडान नगर्दै सकिएको छ। आयोजनाले काम चार वर्षसम्म अर्थात (२०७४ असारसम्म ) पनि ट्राफिक लाइट जडान गर्न नसकेर आयोजना नै बन्द हुनपुग्यो। एसियाली विकास बैंक (एडीबी)कोे अनुदान तथा ऋण सहयोग आयोजना सुरु भएको थियो। आयोजनाले तीन पटकसम्म ‘इन्टलिजेन्ट ट्राफिक सिग्नलाइजेसन लाइट’का लागि बोलपत्र आह्वान गर्यो। तर, प्रक्रिया अघि बढ्न नसक्दा अलपत्र परेको हो।

पर्याप्त प्रविधि अभाव
सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख बाराहीका अनुसार नेपालमा ट्राफिक लाइटसम्बन्धि जानकार भएको दक्ष जनशक्ति अभाव भएको बताउँछन्। ‘नेपालमा आइटिएस जानेको इन्जिनियर भेट्टाउनै मुस्किल पर्छ। जसका कारणले ट्राफिक लाइट व्यवस्थापनमा विदेशी इन्जिनियर नै मगाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘ट्राफिक लाइटमा समस्या आइराख्ने गर्छ। त्यसैले दक्ष जनशक्ति ल्याउने तर्फ ध्यान दिनुपर्ने हुन्छ।’ उनका अनुसार नेपालमा ट्राफिक लाइट व्यवस्थापनमा विदेशी इन्जिनियर हायर गर्नुपर्ने बाध्यता रहँदै आइरहेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराम सापकोटा उपत्यकाको मुख्य ३५ चोक र अन्य भित्रीचोकमा समेत ट्राफिक बत्तीको आवश्यक भइसकेकको बताउँछन्। ‘अत्याधुनिक प्रविधिमार्फत ट्राफिक व्यवस्थापन गर्नुपर्ने हो, हामीले भने म्यानुअल’का रूपमा काम गरिरहेका छौं। म्यानुअलले गर्दा  सबैतीर न्यायसंगत हुन सक्दैन,’ उनले भने, ‘ट्राफिक लाइट सिस्टमले चल्नेगर्छ। तर, म्यानुअल्ली गर्दा सबैतिर बराबर ढंगले गर्न सकिँदैन।’ उनका अनुसार पर्याप्त ट्राफिक लाइट नहुँदा थोरैले गर्नसक्ने काममा समेत धेरै जनशक्ति खटाउँदै आइरहेका छौं।

काठमाडौं उपत्यकामा एक सय ३९ वटा मुख्य तथा भित्रीचोकमा ट्राफिक लाइट आवश्यकता पर्दछ। ‘हामीले विभिन्न तीन चरणमा ट्राफिक लाइट व्यवस्थापन गर्न सरोकारवाला निकायलाई अनुरोध गरेका छौं,’ उनले भने, ‘पहिलो चरणमा ३५ स्थानमा तत्कालै ट्राफिक लाइट जडान गर्नुपर्ने आवश्यकता देखिन्छ।’ पहिलो चरणमा ३५ स्थानमा, दोस्रो चरणमा ३४ स्थान र तेस्रो चरणमा ७० वटा स्थानमा ट्राफिक लाइट जडान गर्न अनुरोध गरेका छौं। हाल उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि दैनिक १४ सय ट्राफिक प्रहरी खटिँदै आएका छन्।

प्रकाशित: ११ माघ २०७५ ०७:२३ शुक्रबार

काठमाडौं_उपत्यका ट्राफिक_व्यवस्थापन ट्राफिक_लाइट