अन्य

‘अनलाइन सपिङ’ ट्रेन्ड

जावलाखेलकी रितु बोगटी सपिङ गर्न अचेल पसल–पसल धाउँदिनन् । इन्टरनेटबाटै घरमै बसीबसी सामान किन्ने गरेकी छन् । घरमै बसीबसी आफूले चाहेको सामान किन्न पाइने भएकाले अनलाइन सपिङ गर्ने उनी बताउँछिन् । ‘अनलाइनमा सपिङ गर्दा पसल चहारी रहनुपर्ने झन्झट हुँदैन, चाहेको सामान भनेकै समयमा पाइन्छ,’ उनले सुनाइन्।

उनी कस्मेटिक सामान, लुगाकपडा, जुत्ता अनलाइनबाटै किन्ने गरेको बताउँछिन् । यसअघि पसलमा किन्दा झमेला हुने गरेको र अहिले सहज भएको उनको बुझाइ छ । ‘अनलाइनमा सामानको मूल्य र क्वालिटि स्पष्ट लेखिएको हुन्छ । जसका कारण ग्राहक ठगिने सम्भावना हुँदैन,’ उनले सुनाइन्, ‘तर, पसलमा बार्गेनिङ नगरी किन्दा सामान महँगो पर्छ । त्यसैले मजस्ता बार्गेनिङ गर्न नजान्नेका लागि अनलाइन सपिङ नै उपयुक्त हुन्छ।’

अनलाइन सपिङले जीवनशैली सहज बनाएको छ । मेरो सपिङका सञ्चालक सीताराम रिमाल पछिल्लो समय नेपालमा अनलाइन सपिङ गर्ने ट्रेन्ड बढेको बताउँछन् । ‘अनलाइन सपिङबाट ग्राहकले चाहे अनुसारको सामान उचित मूल्यमा किन्न पाएका छन्,’ उनी भन्छन्, ‘अहिले ग्राहकले खोजेको जस्तो सामान पाइएन भन्ने गुनासो गरेका छैनन्।’

उनले पसल सञ्चालन गरेको पाँच वर्ष भइसकेको छ । उनको अनुभवमा अनलाइन सपिङ गर्नेको संख्या बढिरहेको छ । ‘विशेषगरी अनलाइन सपिङमा युवापुस्ता आकर्षित छन्,’ उनले भने।
नेपालमा इ–कमर्सको सम्भावना देखेपछि व्यापार सुरु गरेको उनले बताए । पछिल्लो समय अनलाइन सपिङमा ग्राहक ठगिएको सुनिए पनि सबै त्यस्तो नभएको उनको भनाइ छ । तर, सामान किन्दा ग्राहकले सचेत हुनुपर्ने उनको सुझाव छ । ‘अनलाइनबाट सामान किन्दा नाम र ब्रान्ड हेर्नुपर्छ,’ उनले भने।’

झोला र ल्यापटपको भरमा अनलाइन सपिङ चलाएको पसलबाट किनमेल गर्दा ठगिने सम्भावना रहने उनी बताउँछन् । पसल रहेको ठाउँ, सञ्चालन अवधि हेरेर सामान किन्नुपर्ने उनको सुझाव छ । उनी भन्छन्, ‘अनलाइनबाट समान मगाउँदा त्यसको पेजमा गएर रिभ्यु तथा कमेन्ट हेर्न सकिन्छ, सामानको बारेमा खोजतलास गर्न सकिन्छ । ब्रान्डेड सामानमा मूल्य वा डुब्लिकेटको समस्या पर्दैन ।’

रितुजस्तै अनलाइनबाटै सामान किन्नेमा पर्छिन्, रिमा शर्मा । उनी पनि किन्न सहज भएकाले नै अनलाइन सपिङमा आकर्षित भएकी हुन् । उनले अनलाइनबाटै चार किताव मगाइसकेकी छन् । उनी भन्छिन्, ‘अनलाइनमा सामान किन्न सहज छ । घरसम्मै सामान आइपुग्छ ।’

नेपालमा अनलाइन सपिङ गर्ने ट्रेन्ड ह्वात्तै बढेको पाइन्छ । खानाका परिकारदेखि घरायसी सरसामान, लत्ताकपडा लगायत सामग्री चाहेको ठाउँसम्मै आइपुग्छ । यो व्यस्त जीवनशैली भएकाहरूको लागि सामान किनमेलको गतिलो विकल्प बनेको छ ।

लाजिम्पाटका प्रकाश सुवेदी इलेक्ट्रोनिक ग्याजेटहरू अनलाइनबाट मगाउने बताउँछन् । आइटी पढ्दै गरेको उनले मोबाइल सेट, एयर फोन, हेड सेट लगायत इलेक्ट्रोनिक सामग्री नाम चलेको अनलाइन पसलबाट किन्ने गरेको बताए । ‘अनलाइनमा नै सामानको बारेमा सबै कुरा प्रष्ट लेखिएको हुन्छ । त्यसैले सामान किन्न समस्या हुँदैन,’ उनले भने । त्यसो त उनी पसलमा सामान किन्न जाँदा पनि इन्टरनेटबाट त्यसको मूल्य, क्वालिटी हेरेर जाने गरेको बताउँछन् । ‘सामान किन्न जानुअघि इन्टरनेटमा त्यसबारे हेरियो भने मूल्य र क्वालिटीबारे जानकारी हुन्छ,’ उनी भन्छन्, ‘यसबाट सामान छान्न पनि कम समय लाग्छ ।’
अनलाइन सपिङ सहज भएकै कारण यसप्रगि ग्राहकको आकर्षण बढेको सीताराम बताउँछन् । गृहिणीदेखि कर्मचारीका लागि यो उपयुक्त भएको उनको बुझाइ छ । कतिपयले अनलाइन सपिङबाट साथीभाइ तथा आफन्तलाई सरप्राइज गिफ्ट दिने गरेको पाइएको छ । यसो गर्नेमा विदेशमा रहेका नेपाली बढी छन् । मकाउमा बस्ने राजु गुरुङले काठमाडौंमा रहेकी प्रेमिकालाई जन्मदिनको अवसरमा अनलाइन सपमार्फत सरप्राइज गिफ्ट दिएको म्यासेन्जरमार्फत् बताएका छन् । उनी भन्छन्, ‘प्रेमिकालाई भेटेर जन्मदिनको शुभकामना दिन नसके पनि अनलाइनमार्फत उनको रोजाइको उपहार दिए ।’ त्यसकारण अनलाइन सपिङले टाढा भएका पे्रमिल जोडीलाई सँगैै भएको आभास गराएको उनको बुझाइ छ । 
उनले परिवारका सदस्यहरूलाई पनि अनलाइन सपिङमार्फत् उपहार पठाउने गरेको बताए।

अनलाइन सपिङमा फलानोको लुगाको राम्रो माग भएको फलानो लुगाका कर्मचारी जीवन खत्री बताउँछन् । ‘नेपालीपन झल्किने खालका आर्ट, स्लोगन लेखिएका टिसर्टको माग धेरै छ, चिसो महिनाको लागि हुडी, विन्ड ज्याकेटहरू छन्,’ उनले भने। यी लुगा विदेशीले पनि मनपराएको उनी बताउँछन् । ‘यी कपडा विदेशमा उपहार दिनका लागि ग्राहकले किन्ने गरेका छन्,’ उनले भने ।

नेपालमा विभिन्न अनलाइन सपिङ पसलसँग सहकार्य गरी ग्राहकलाई सेवा सुविधा दिइरहेको फलानो लुगाका कर्मचारी जीवन बताउँछन् । अनलाइनमार्फत् फोटो हेरेर ग्राहकले लुगा अर्डर गर्ने उनले बताए । चिसो मौसमका लुगाभन्दा गर्मीका लुगाको माग धेरै हुने उनी बताउँछन्।

प्रकाशित: ७ माघ २०७५ ०४:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App