अन्य

उत्तरको खोजीमा

प्रकाश आचार्य
गौंथली !
उस्तै–उस्तै लाग्छ मलाई  
तिमीले आफ्ना बचेराको आहाराको निम्ति गर्ने विचरण
र मेरी आमाले
मेरो भोको पेट भराउनका निम्ति गर्ने दिनैभरिको दौडधूप,
तर फरक भेट्टाउँछु,
क्षणभरमै खुराक बटुलेर फर्कने तिम्रो
छोटो यात्रा र साँझ परेपछि मात्र
अन्न–अनाजको पोको फुकाउन बाध्य
मेरी आमाको लामो यात्राका बीचमा।

तिमी आफ्ना लालाबालालाई
पटक–पटक भेटिरहन्छौ तर,
सबेरै भालेको डाँकोअगावै
मैले हेर्ने आमाको मुहार
त्यसपश्चात् एक्कासी साँझ मात्रै
जूनको उज्यालोमा हेर्दछु।

गौंथली, मैले जाने–बुझेसम्म
तिमीले आहारा निःशुल्क ल्याएकी छ्यौ,
परन्तु
मेरी आमाले सबै अन्न–अनाज
दौलत खर्चिएर ल्याउनुपर्छ
तिमीले उपभोग गर्ने तमाम
सुविधाबाट वञ्चित छिन्, मेरी आमा।

गौंथली, तिमी पंक्षी हौ,
मेरी आमा सर्वश्रेष्ठ प्राणी
अर्थात् मानव हुन्,
तिमी र मेरी आमाबीचमा रहेका
अरू भिन्नताहरू के–के हुन् ?
यो प्रश्नको उत्तरमा अल्पबिराम छ,
पूर्णविराम छैन,
आजैदेखि अनवरतरूपमा
म यस प्रश्नको उत्तर खोजिरहनेछु,
र पक्कै एक दिन टुङ्याउनेछु,
लगाएर विशाल पूर्णबिराम।

अराजक सिक्री                     
अहम्ले ओतप्रोत यो सिक्री
बिन्ती छ, नदेऊ मलाई
हुन सक्छ– यो बहुमूल्यवान्,
हुन सक्छ– यो कृत्रिम तवरको इज्जतदार
तर, मलाई यो सिक्री किमार्थ चाहिंँदैन
किनभने यो स्वाभिमानी कदापि छैन
अनि सोचिरहेछु,
यो भर्खर रगतको तलाउबाट पौडिएर निस्कदै छ
जस कारण, देखिएको छ राताम्य।

सुन्दै छु;
सुन्दर पुष्पहरूको गला रेटेपश्चात्
हत्याराको रुपमा कैदी–जीवन बिताएको इतिहास,
कारागारमा रहँदा कुनै दिन
समीपका हितैषीको पसिनामार्फत् सिञ्चित
त कुनै दिन हाकिमसाहेबको गलामा झुण्डिँदा
दुर्गन्धित पसिनाले निथ्रुक्क भिजेको समाचार
त्यस्तै, कारागारको परिधि जबर्जस्त तोडेपछि  
अर्धपागल बनी भौँतारिई हिँडेको सूचना
त्यसैले, अपूर्ण मस्तिष्कका साथ बाँचिरहेको
यो सिक्री नदेऊ मलाई।

पुनः एकनासले सुन्दै छु;
आजसम्म यसले छोएको छैन देशको एक चिम्टी माटो
न त लगाएको छ निधारमा देशभक्ति अक्षता
आफ्नै जन्मभूमिलाई घृणा गर्न उद्यत,
आफ्नै राष्ट्रलाई अपमान गर्न लालयित
यो सिक्री,
अराष्ट्रिय हो,
अराजक हो
तसर्थ; मलाई स्वीकार्य छैन यो सिक्री
कृपया, नदेऊ मलाई यो सिक्री।

प्रकाशित: ५ माघ २०७५ १०:१९ शनिबार

गौंथली आमा आहारा