अन्य

गोरुको जित, किसानलाई प्रोत्साहन

पूर्णबहादुर डंगोल (५८) गोरु जुधाई कार्यक्रममा आफ्नो खेलाडी गोरु लिएर उपस्थित भएका थिए। नौ पटक सम्म गोरु जुधाई सकेका डंगोलले हरेक बर्षको माघेसंक्रान्तिमा खेलाडीलाई भिड्नको लागि आफ्नै तरिकाले तयार गर्ने बताए। ‘म किसान हुँ, किसानले गोरु त पाल्नै पर्छ, आफुले पालेको गोरुलाई खेलको रुपमा प्रतियोगितामा सामेल गर्न पाउँदा हामी किसानमा एक प्रकारको उर्जा प्राप्त हुन्छ,’ उनले भने। परम्परादेखि नै चलिआएको गोरु जुधाई खेलमा हरेक वर्ष भाग लिने उनले बताए।

पाँच बर्षको ‘लाले’ र तीन बर्ष भएको ‘काले’ गरी दुवै खेलाडी गोरुलाई जुधाई प्रतियोगितामा सामेल गराएको उनले बताए। चार पटकसम्म जितेको लालेले भने यो वर्ष जित्न सकेन। ‘उमेर भइसक्यो लगातार भिड्दा हारेको हो,’ उनले भने। माघेसंक्रान्तिमा गोरु जुधाइने खेलको विषयमा विभिन्न किंवदन्ती रहेको पाइन्छ। तिब्बत र बेत्रावती नेपाल बीचमा भएको भोट युद्धको सन्धीमा गोरु जुधाइन थालिएको डंगोल बताउँछन्। उनी भन्छन्, ‘मान्छे–मान्छे बीचमा भै–झगडा गर्नु हुँदैन, पशुको व्यवहार मानवमा हुनु हुँदैन भन्ने सन्देश दिनको लागि यो खेल खेलाइएको भन्ने मान्यता छ।’

माघेसंक्रान्तिमा गोरु जुधाईने खेल निकै रमाइलो खेल रहेको बताउँछन्, भीम बहादुर दहाल। तीन वर्षदेखि लगातार गोरु जुधाउँदै आएका उनी यो वर्ष पनि ‘बादरे’ लिएर आएका थिए। उनी भन्छन्,‘मैले गोरु जुधाउन थालेको तीन वर्ष भइसक्यो, पोहोर सालको अनुभबबाट यसपाला भने जुध्न लायक बनाएको छु।’  बहादुर र आटिलो गोरु भएकाले गोरुको नाम ‘बादरे’ राखिएको उनले बताए। पाँच वर्ष पुगेको बादरे हेर्दा सानो भए पनि बुद्धिमान रहेको उनको भनाइ छ। गोरु जुधाई विगतको तुलनामा प्रचलित रहेको उनको बुझाइ छ। विभिन्न ठाँउबाट गोरु जुधाई खेल हेर्न आउनु हाम्रो ठाँउको लागि सकारात्मक कुरा रहेको उनले बताए। ‘गोरु जुधाईलाई संस्कारको रूपमा फैलाउँदै र संरक्षण गर्दै जानुपर्छ,’ उनले भने। ६ वर्ष पुगेको बादरेले दुई पटक (पाँच र सात हजार रूपैयाँ) जितिसकेको उनले बताए।

माघेसंक्रान्ति अर्थात घ्यु, चाकु, तरुल, सखरखन्डका परिकार खाने दिन। नेपालीहरुले माघ एक गतेलाई आ–आफ्नै मूल्य र मान्यता अनुसार मनाउँदै आएको पाइन्छ। नुवाकोटमा माघी रौनक भने भिन्दै थियो। बेत्रावती बजारको पुलमा जसले नुवाकोट र रसुवा जिल्ला जोड्ने गर्छ, एक हुल मानिस लाइनै उभिएका थिए। बालकदेखि वृद्धसम्म बेत्रावतीको चौरमा माघेसंक्रान्तिमा गोरु जुँधाई कार्यक्रम हेर्न आएका थिए। किसानमा छुट्टै उत्साह देख्न सकिन्थ्यो। गोसाइकुन्ड युवा क्लबले आयोजना गरेको उक्त कार्यक्रममा ९ हल गोरु जुधाइएको थियो।

गोरु जुधाइका लागि दुई–तीन महिनाअघि देखि नै गोरु तयार गरिने बताउँछन् ईश्वरबहादुर तिमिल्सेना। विदुर–११ का उनी चार वर्ष लागेको लाले गोरुलाई पहिलो पटक गोरु जुधाई खेलमा सहभागी गराएका थिए। लालेले गोरु जुधाई खेलमा पहिलो भयो। प्रतियोगिताको लागि चामल, पिठो, हरियो घाँस खुवाएर तयार गर्ने उनले बताए। विगतमा भएका गोरु जुधाई कार्यक्रममा दर्शकको रुपमा हेरेपछि गोरु जुधाउने आईडिया दिमागमा आएको उनले बताए।

प्रकाशित: ४ माघ २०७५ ०४:२२ शुक्रबार

पूर्णबहादुर_डंगोल गोरु_जुधाई माघेसंक्रान्ति किसान