अन्य

घुम्ती चिया पसल

राजधानीको बौद्धमा चिया बेच्दै गीता खरेल। तस्बिर : श्याम राई

चिसो मौसम। यतिबेला धेरैजसोको बिहान सिराकभित्रै बित्छ। तर, गीता खरेलको दैनिकी भिन्न छ। बिहानको ४ बज्दै निन्द्राले छोड्छ उनलाई। चिया बनाएर बिहानै ग्राहकलाई पुर्याउन हतारिन्छिन् उनी। उनी बिहान ५ बजे चिया बेच्न निस्किसकेकी हुन्छिन्।

कुमारीगालमा बस्दै आएका ३५ वर्षीय खरेल गत शनिबार बिहानै ६ बजे बौद्धमा भेटिइन्। उनको दुवै हातमा चिया राखिएका दुई थर्मस थिए। उनलाई ग्राहकलाई चिया पुर्याउँदै थिइन्। ‘बिहानको समयमा जाडो त हुन्छ नि,’ उनले भनिन्, ‘सुतेर बसियो भने हातमुख जोर्न मुस्किल पर्छ। घर खर्च चलाउनै पर्छ।’ उनी बौद्धमा विभिन्न ठाउँमा चिया बेच्छिन्। एक गिलास चिया १५ रूपैयाँ पर्ने उनी बताउँछिन्।

चिया बेच्न थालेको दुई वर्ष भएको उनले सुनाइन्। यसबाट उनले घरखर्च धानेकी छन्। ‘चिया बेचेर दैनिक ४ हजार रूपैयाँ कमाइ हुन्छ। सबै सामानको खर्च कटाउँदा पनि एक हजार पाँच सय जति बच्छ,’ उनले सुनाइन्।

यसकै कमाइबाट उनले छोराछोरीलाई बोर्डिङ स्कुल पढाएकी छन्। उनका छोरा कक्षा ७ र छोरी कक्षा ८ मा पढ्छिन्।
चियाको व्यवसायबाट आफू खुसी रहेको उनी सुनाउँछिन्। ‘यो पेसामा धेरै खुसी छु। लजाएर जिन्दगी चल्दैन्,’ उनले भनिन्, ‘परिवारमा खुसी रहनको लागि जस्तो सुकै काम गर्न पछि हट्दिनँ।’

उनको पुख्र्याैली घर कार्भे हो। काठमाडौं आएको करिब १५ वर्ष भएको उनले सुनाइन्। धेरै आम्दानी हुने भएकाले घुम्ती चिया व्यापार गरेको उनी बताउँछिन्। ९ बजे सम्ममा सबै चिया बेच्न सकाउछिन्। त्यसपछि घर फर्किन्छन्।  

उनी मात्र होइन, बौद्धमा चिया बेच्नेहरू थुप्रै छन्। मिना बस्नेत पनि गत शनिबार बौद्ध गेटमा चिया बेचिरहेकी भेटिइन। बौद्ध, तीनचुलीमा बस्दै आएका ४० वर्षीय बस्नेत चिया बेच्दै आएको करिब एक वर्ष भइसकेको बताउछिन।  ‘बिहान ३ बजे नै उठेर चिया बनाउँछु। ५ बजेतिर त चिया लिएर बौद्धमा आइसकेको हुन्छु,’ उनले भनिन, ‘चियाबाटै राम्रोसँग मेरो परिवारलाई पाल्दै आएकी छु।’

चियाबाट दैनिक ४ सय रूपैयाँ फाइदा हुनेगरेको उनी बताउँछिन्। गर्मीको तुलनामा चिसोमा चिया बढी बिक्री हुने उनको अनुभव छ। उनी काम गर्ने हो भने स्वदेशमै मनग्ने आम्दानी गर्न सकिने बताउँछिन्। ‘कामको लागि विदेश जानु पर्छ भन्ने छैन। परिश्रम गर्ने हो भने नेपालमा पनि राम्रो कमाई हुन्छ,’ उनी भन्छिन्।

प्रकाशित: ४ माघ २०७५ ०४:१५ शुक्रबार

मौसम चिसो चिया पसल