अन्य

अमरराजको नागरिक अभिनन्दन

संगीतज्ञ अमरराज शर्मा राजोपाध्यायको नागरिक अभिनन्दन गरिएको छ। संगीतबाट देशको राजनीतिक परिवर्तनमा योगदान पुर्याएको भन्दै उनलाई ‘जन संगीत स्रष्टा’को उपाधिसहित नागरिक अभिनन्दन गरिएको हो।

वरिष्ठ संगीत स्रष्टा अमरराज सम्मान समारोह समितिद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा समितिका सह संयोजक आकाश राजोपाध्यायले खादा तथा समिति संयोजक विराजकाजी राजोपाध्यायले दोसल्ला ओढाएर सम्मान गरे। त्यसैगरी जनकवि दुर्गालाल श्रेष्ठले सम्मानपत्र प्रदान गरेका थिए। उनलाई महर्जन कम्प्लेक्स, महर्जन बिजनेस एसोसिएट्सका अध्यक्ष कृष्णलाल महर्जनले दुइ लाख ५० हजारको चेक हस्तान्तरण गरे।

सम्मानले आफूलाई थप ऊर्जाशील बनाएको महसुस भएको अमरराजले बताए। समितिका संयोजक विराजकाजीले कलाकारलाई राष्ट्रले उचित सम्मान नगरेको बताए। कार्यक्रममा गायक तथा संगीतकार अमरराजको दुई सिडी एल्बमको पनि लोकार्पण गरिएको थियो। ‘अजर अमर १’ र ‘अजर अमर २’ को लोकार्पण गरिएको हो। दुवै एल्बममा अमरराजकै एकल संगीत छ। कार्यक्रममा शर्माको चित्र अंकित टिसर्ट पनि सार्वजनिक गरिएको छ।

कार्यक्रममा शर्माले प्रगतिशील लगायत विभिन्न लोक, आधुनिक गीत समेत प्रस्तुत गर्नुभयो। उनलाई वदन शर्मा राजोपाध्याय र शैलेस प्रधानले साथ दिएका थिए। यस्तै, कार्यक्रममा गायक सानुबाबु महर्जन, सुरज व्यन्जनकार, सुरजबीर बज्राचार्य, दीपा महर्जन, धनबहादुर गोपाली, पवित्र कसाः, अन्जन श्रेष्ठ, पंकज राजोपाध्याय, भुपेन्द्र बज्राचार्यले गीत गाएका थिए।

सम्मानित शर्मा चार दशकभन्दा बढी समयदेखि आधुनिकको साथै सुगम संगीत क्षेत्रमा निरन्तर सक्रिय छन्। उनका ‘भोलि फेरी सल्लाघारीमा’, ‘झमक्क साँझ पर्दाको’ साथै नेपालभाषाको ‘यः बाबा छ बाबा’, ‘निभाः लुइवं’, ‘ग्वाहालि रे ग्वाहालि’ लगायतका गीत लोकप्रिय छन्।

प्रकाशित: ४ माघ २०७५ ०४:०९ शुक्रबार

अमरराज_शर्मा_राजोपाध्याय नागरिक_अभिनन्दन जन_संगीत_स्रष्टा